कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

विन्टर कार्निभल 

काठमाडौँ — पुष अन्त्यतिर अधिकांश विद्यालयमा जाडोको बिदा दिइन्छ । त्यसैले यो समयमा विद्यार्थी निकै फुर्सदिला हुन्छन् । घर बिदामा बसेका विद्यार्थीहरू प्राय: टीभी तथा मोबाइल स्क्रिनमा आउने कार्टुन हेर्नमै व्यस्त हुन्छन् ।

विन्टर कार्निभल 

साना विद्यार्थीको यस्तो बानीबाट अभिभावकहरू वाक्कदिक्क हुने मात्र होइन, शारीरिक तथा मानसिक रूपमा कतिपय बालबालिका निष्क्रियसम्म बन्ने गर्दछन् । त्यसो त विद्यार्थीहरूका लागि मनोरञ्जन लिने स्थानको पनि काठमाडौंमा अभाव नै छ । जाडो बिदामा घरमा नै बसेका विद्यार्थीहरूका लागि काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स स्कुलमा विन्टर कार्निभल आयोजना गरियो । टीभीमा मात्र देखिएका चर्चित कार्टुन पात्रहरू मोटु पतलुलाई कार्निभलमा देख्न पाउँदा स–साना नानीहरू निकै उत्साहित देखिन्थे । मोटु पतलुसँग फोटो खिच्नेहरूको निकै भीड नै लागेको थियो । हास्य कलाकारहरू रवि डंगोल, कुमारमणि गजुरेललगायतले बालबालिकाको अभिनय गर्दै उनीहरूलाई नियमित होमवर्क गर्न, धेरै मोबाइल नचलाउन उत्प्रेरित गरेका थिए । जादुगरको प्रदर्शनमा पनि विद्यार्थी भाइबहिनीहरू निकै रमाएका थिए । घोडचढीमा धेरै रमाएको पाइयो । जाडो बिदामा कही कतै जान नपाएका बालबालिकाहरूले निर्धक्कसँग नाच्दै गाउँदै मनोरञ्जन लिएका थिए ।


आफ्ना नानीहरूसँगै अभिभावकहरूले पनि विविध खेलमा सहभागी हुँदै रमाइलो गरेका थिए ।


जाडो बिदामा बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्निभलमा हर्स राइडिङ, फेस पेन्टिङसहित अन्य विविध रोमाञ्चक खेलमा विद्यार्थीसहित अभिभावकसमेत उत्साहपूर्वक सहभागी भए । कार्टुन तथा मस्कटहरूको प्रदर्शनी, म्याजिक सोले पनि स–साना नानीहरूको ध्यान खिचेको थियो । हास्य कलाकारहरूको प्रदर्शन विशेष आकर्षण रह्यो । विभिन्न प्रतिस्पर्धाहरूमा विजयी भएकालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको स्कुलका प्रिन्सिपल सुवास लामाले जानकारी दिए । फुड स्टलबाट संकलित रकम परोपकारी संस्था कमन इफोर्ट नेपालमार्फत् गरिब तथा जेहनदार विद्यार्थीहरूलाई नि:शुल्क स्टेसनरी उपलब्ध गराउन खर्च गरिने लामाले बताए ।


-लक्ष्मी भण्डारी

प्रकाशित : माघ ६, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?