अभिभावक नै शिक्षक

दुर्गालाल केसी

काठमाडौँ — हामी कक्षामा सधंैजसो उही शिक्षकशिक्षिकासँग पढ्छौं । उही शिक्षकसँग उस्तै विषय पढ्दा–पढ्दा पट्यार पनि लाग्छ । कहिलेकाहीँ नयाँ अनुहार हेर्न र फरक कुरा सुन्न मन लाग्छ । यस्तै रुचिलाई ख्याल गर्दै दाङमा नयाँ अभियान थालिएको छ ।

अभिभावक नै शिक्षक

वयस्कहरूका अनुभव सुन्न विभिन्न क्षेत्रमा सफल अभिभावक र सामाजिक अगुवालाई नै कक्षामा ल्याउने कार्यक्रम सुरु भएको छ ।


अभिभावकहरू पालैपालो विद्यालय जान्छन् र आफ्ना अनुभव सुनाएर विद्यार्थीलाई प्रोत्साहन गर्छन् । आफूसँग भएको क्षमता बालबालिकासामु प्रदर्शन गर्छन् । एउटा अभिभावकले वर्षमा एक दिन विद्यालय पुगेर पढाउन पाउँछन् । यो अभियानको नाम छ– ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एक दिन’ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यो अभियानको सुरुवात गरेका हुन् । उनले तुलसीपुर उपमहानगरपालिका ७ स्थित एक विद्यालयमा एक घण्टाभन्दा बढी समय पढाएर यो अभियान थालनी गरे ।


पोख्रेलले कक्षा १० को सेक्सन ‘ए’ मा पढाए । उनले कसरी पढाइमा सफलता हासिल गर्ने, अप्ठेरो लागेको विषयसँग कसरी नजिक हुने भन्ने सिकाए । शिक्षकहरूसँग कसरी अन्तरक्रिया गर्ने र जीवनमा कसरी सफल हुने भन्नेबारे पनि बताए ।


त्यसयता समाजका विभिन्न क्षेत्रमा नेतृत्व तहमा रहेका अभिभावकहरू कक्षाकोठामा पुगेका छन् । प्रहरी अधिकारी, जनप्रतिनिधि, व्यवसायी, डाक्टर, पत्रकार लगायतले सामुदायिक विद्यालयका कक्षाकोठामा अनुभव बाँडेका छन् । बिस्तारै अन्य अभिभावकले पनि कक्षा दिइरहेका छन् । अघिल्लो सातासम्म तुलसीपुरका ८ बिद्यालयमा तीन दर्जनभन्दा बढी समाजका विभिन्न क्षेत्रका अगुवा र अभिभावकले पढाइसकेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिन यो अभियान थालिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । उनले पनि कक्षामा गएर पढाएका थिए ।


प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीआईजी पीताम्बर अधिकारी पनि अम्बेश्वरी मावि अम्बापुरको कक्षामा गए । उनले सुरक्षासम्बन्धी विभिन्न उपयोगी कुरा सिकाए । विद्यार्थीले सुरक्षा, शिक्षा र देशको अवस्थाबारे विभिन्न प्रश्न सोधे । जनजागृति मावि पातु वनगाउँ पुगेका बालरोग विशेषज्ञ डा. किशोर खत्रीले जीवनमा सफलता हासिल गर्ने सूत्रहरू बताए । उनले स्वस्थ रहन कस्तो जीवनशैली अपनाउने भन्नेबारे विद्यार्थीलाई जानकारी दिए । उच्च अदालत तुलसीपुरका रजिस्ट्रार श्रीलाल पौडेलले पशुपति मावि हरिपौरीमा पुगेर विभिन्न कानुनी कुरा सिकाए । उनले कानुन कसरी बन्छ र यसलाई कसरी लागू गरिन्छ भन्नेबारे ज्ञान दिए ।


तुलसीपुरका पुराना व्यवसायी चिरञ्जीवी रिजालले बाल्यकालमा अध्ययन गरेको जनज्योति मावि रनियापुरमा पढाए । लक्ष्मी बैंक घोराहीका म्यानेजर पदमबहादुर केसीले मावि भित्री संक्राममा विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी दिए । पाठ्यक्रममा मात्रै केन्द्रित बालबालिकाले विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूका अनुभव सुन्दा निकै नौलो अनुभव गरे । उनीहरूले आफूले जीवनमा लिएको लक्ष्य पनि सुनाए । ‘म चलचित्रको हिरो बन्न चाहन्छु ।

आफ्नो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने कुरा सिक्न पाइयो,’ मावि कालाखोलामा १० कक्षा अध्ययनरत समीर दाहालले भने, ‘हाम्रो जीवनमा निकै नौलो सिकाइ भइरहेको छ । हामीलाई पनि सफलता हासिल गर्न हौसला मिलेको छ ।’ मावि भित्री संक्राममा ७ कक्षामा अध्ययनरत एक छात्रको डाक्टर बन्ने सपना छ । तर उनका बुबाको मृत्यु भएको छ भने आमाको दोस्रो विवाह भएको छ । उनले यो समस्या राखे । जवाफमा उनले आश्वासन पाए– छात्रवृत्तिमार्फत स्थानीय सरकारले सहयोग गर्न सक्छ । यसबाट उनी लक्ष्यमा पुग्न झनै उत्साहित भएका छन् । ‘घरायशी समस्याले लक्ष्यमा पुग्न सकिँदैन कि भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘सफल व्यक्तिहरूको सहयोगले समस्याहरूलाई कसरी पार गर्दै अघि बढ्ने भन्ने थाहा भएको छ । यसले मलाई उत्साहित बनायो ।’


अहिले तुलसीपुर उपमहानगरपालिकाभरि लागू गरिएको यो अभियान विस्तारै प्रदेशभरि नै चलाइने मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

प्रकाशित : माघ ६, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?