प्रश्न

काठमाडौँ — हामी दिनहुँ कैयौं व्यक्तिलाई कैयौं प्रश्न सोध्ने गर्छौं । आफूलाई थाहा नभएको कुरा थाहा पाउने सबैभन्दा सजिलो तरिका प्रश्न सोध्नु हो । कक्षामा नबुझेको विषय शिक्षकलाई सोधिन्छ । घरमा नजानको कुरा अभिभावकलाई । हिँड्दा हिँड्दै अल्मलियो भने नचिनको मानिसलाई पनि बाटो सोधिन्छ ।

प्रश्न

प्रश्न सोध्नुलाई हामी खासै ठूलो कुरा ठान्दैनौं । तर मनोवैज्ञानिकहरू यसको ठूलो महत्त्व हुने ठान्छन् । उनीहरू भन्छन्– हामीले कस्तो प्रश्न सोध्छौं भन्ने कुराले हाम्रो स्वभाव, चालचलन र आनीबानी मात्र नभई सिंगो व्यक्तित्व कसरी विकास भइरहेको छ भन्ने संकेत गर्दछ ।


हामीले कस्तो प्रश्न सोध्छौं भन्ने कुराले हाम्रो निर्णय क्षमता कस्तो छ भन्ने पनि दर्साउँछ । कसैले केही प्रश्न सोध्नेबित्तिकै उसको ज्ञानको स्तर कस्तो छ भन्ने थाहा हुन्छ । कतिपयको प्रश्नबाट उसको नियत पत्ता लगाउन सकिन्छ । त्यसैले त कैयौं अवसरहरूमा उत्तर दिने व्यक्तिले प्रश्नकर्तालाई हौस्याउँदै भन्छन्– धन्यवाद, धेरै राम्रो प्रश्न गर्नुभयो ।



गर्ने कि नगर्ने?


होमवर्क गर्ने कि खेल्न जाने ? कुनै काम गर्ने कि नगर्ने भन्ने पत्तो लगाउन हामी प्रश्न सोध्छौं । कतै हिँड्ने कि घरमै बसिरहने ? कसैलाई फोन गर्ने कि कसैको फोन पर्खने ? यी सबको टुंगो हामी प्रश्न सोधेर नै गर्छौं । यस्तो प्रश्न अरू कसैलाई सोधेनौं भने पनि आफ्नै मनलाई सोधिरहेका हुन्छौं । कक्षाकोठामा चुपचाप बसिरहनुभन्दा प्रश्न सोध्नु राम्रो । लेख्दै नलेखी बस्नुभन्दा केही न केही लेखेकै राम्रो । लेखपढ गर्न मन नलागे चित्र बनाउनु वा कविता लेख्नु जाती । एक्लै हुँदा केही काम भएन भने गीत गुन्गुनाएको राम्रो । किनभने सक्रिय रहने बानीले सधंै हाम्रो रचनात्मकता बढाउँछ ।


मान्ने कि नमान्ने ?

कसैले केही अह्रायो भने हाम्रो मनमा प्रश्न उठ्छ– मान्ने कि नमान्ने ? कतिपय काम मान्नुपर्ने खालका हुन्छन् तर गर्न अल्छी लागिरहेको हुन्छ । कति काम गरूँ गरूँ लाग्छन् तर गर्न नहुने खालका हुन्छन् । सकारात्मक काम हो भने मान्नुपर्छ । नकारात्मक विषय हो भने त्यसबाट पर सरेकै राम्रो । तर कुनै पनि काम सकारात्मक हो कि नकारात्मक भन्ने छुट्याउन पनि प्रश्नै सोध्नुपर्छ । त्यस्तो प्रश्न सबैभन्दा पहिले आफैंलाई सोध्ने । उत्तर पाइएनजस्तो लाग्यो भने अभिभावक, शिक्षक वा आफूलाई विश्वास लाग्ने व्यक्तिलाई सोध्नुपर्छ ।


सोच्ने कि नसोच्ने ?

हाम्रो दिमागले तत्कालका कामकुरामा बढी ध्यान दिन्छ । पढ्नभन्दा खेल्न सजिलो मान्छ । दु:ख गरेर कमाउनभन्दा सजिलै चाँडै धनी हुने उपाय खोज्छ । कुनै पनि कुरामा तत्काल सन्तुष्टि खोज्छ । तर लक्ष्य निर्धारण गरी उपलब्धि हात पार्न तत्कालको खुसी छाड्न पनि सक्नुपर्छ । तत्कालको खर्च रमाइलो हो तर बचत गर्नु भनेको भविष्यको बाटो बनाउनु हो । आजको दिन बिगार्ने कि सपार्ने, हाम्रै हातमा छ । जो खुसी हुन्छ र सकारात्मक सोच्छ, उसको आजको दिन सफल बन्छ । जो दिक्क मान्छ र नकारात्मक सोच्छ उसको दिन खराब बन्छ ।


जोखिम लिने कि नलिने ?

कुनै पनि खेल जित्नकै लागि खेलिन्छन् हार्न होइन । तर पक्का जितका लागि हाम्रो मिहिनत र लगानी अत्यधिक हुनुपर्छ । जो सधंै सुरक्षित मात्रै रहन खोज्छ, उसले जोखिम नरुचाउन सक्छ । उसको मनमा प्रश्न आउन सक्छ– हारियो भने ? मासियो भने ? जोखिम नमोल्ने व्यक्तिले सफलता पाउने सम्भावना पनि कमै हुन्छ । तर यसको अर्थ जस्तोसुकै खतरामा पनि जोखिम मोल्नुपर्छ भन्ने होइन । ती चुनौती मात्रै सामना गर्नु राम्रो हो, जुन आफ्नो क्षमताले पार लगाउन सकिन्छ ।


आफूलाई प्राथमिकता दिने कि अरुलाई ?


हामी आफूले आफैंलाई महत्त्व दिँदैनौँ भने अरू कसले दिन्छ ? तर सबैले आफैंलाई मात्र महत्त्व दिने हो भने अरूले कसरी महत्त्व दिन्छन् ? हरेकको पहिलो प्राथमिकता आफैं हो । तर कतिपय अवस्थामा अन्य व्यक्तिलाई पनि प्राथमिकता दिनुपर्छ । आफूभन्दा कमजोर र अभावमा रहेको व्यक्तिलाई गरिने सहयोगले आफूमा सकारात्मक ऊर्जा पैदा गर्छ । यसको बदला कुनै व्यक्ति ठूलो समस्यामा परेको थाहा हुँदाहुँदै पनि उसलाई मद्दत गरिएन भने आफैं दु:खी होइन्छ ।

(साइकोलोजी टुडेमा प्रकाशित आलेखमा आधारित)

प्रकाशित : माघ ६, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?