कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ खेलाडी

राजाराम पौडेल

काठमाडौँ — पोखरा रंगशालाको फुटबल मैदान नजिकैको चौरमा गएको बुधबार बिहान बेग्लै माहोल थियो ।

नयाँ खेलाडी

त्यहाँ करिब ३० जोसिला बालबालिका भेला भएका थिए । फरक परिवार र परिवेशबाट आएका उनीहरूको लक्ष्य भने एउटै छ– सफल फुटबल खेलाडी बन्ने । आर्थिक अभावलगायत विभिन्न कठिनाइका कारण यो लक्ष्य त्यति सहज छैन । तैपनि जसोतसो अभ्यास गरिरहेका छन् । त्यो दिन भने उनीहरू विशेष खुसी थिए । कारण– उनीहरू पाउँदै थिए नयाँ बल र बुट ।


त्यही चौरको अर्को लहरमा थिए जापानको रिस्सो युनिभर्सिटीका खेलाडी टोली । उनीहरू पोखरा कप खेल्न जापानबाट आएका हुन् । उनीहरू भविष्यका खेलाडीको अनुहारमा खुसी ल्याउन चाहन्थे । यसको चाँजोपाँजो मिलाएका थिए– नेपालका पूर्वराष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनले । वसन्त १० वर्षदेखि जापानमा बस्दै आएका छन् । फन्ड्स एकेडेमीमा कोचका रूपमा कार्यरत उनको पहलमा फन्ड्स एकेडेमी र रिस्सो युनभिर्सिटीले यो सहयोग गरेका हुन् । उपस्थित जापानी खेलाडीले पालैपालो बालकहरूलाई बल र बुट प्रदान गरे । नयाँ बुट र बल पाएका साना खेलाडी जापानका ठूला खेलाडीको साथ पाएर हौसिए । उनीहरूले जापानका खेलाडीसँगै पोखरा रंगशालामा फुटबल पनि खेले ।साना खेलाडी समूहका अंकित केसी १२ वर्षका भए । उनी कक्षा ५ मा पढ्छन् । उनको लक्ष्य फुटबल खेलाडी बन्ने नै हो । पाँच कक्षामै पढ्ने स्याङ्जाका निश्चल अधिकारीको लक्ष्य पनि उस्तै छ ।


१३ वर्षका सुजन थापा कक्षा ७ मा पढ्छन् । उनी ३ कक्षा पढ्दादेखि फुटबल खेल्न थालेका थिए । कक्षा ५ मा अध्यनरत ११ वर्षीय विनोद गिरीको सपना पनि फुटबलर बन्ने हो । १२ वर्षीय स्वरूप गुरुकुलमा ७ कक्षामा पढ्छन् । गोलकिपर बन्ने उनको लक्ष्य छ । मालेपाटनका विमल रेग्मी १२ वर्षका भए । उनी पनि फुटबल खेलमार्फत चिनिन चाहन्छन् । सिम्पानीका विनय तामाङ १२ वर्षका भए । मेन डिफेन्समा खेल्न रुचाउने उनी ७ कक्षामा पढ्छ्न् । प्राप्त सहयोगले खेलाडीलाई अगाडि बढ्न जोस थपेको छ । उनीहरू अहिले एन्फामा फुटबलसम्बन्धी प्रशिक्षण लिइरहेका छन् ।


पोखरामा यतिबेला जापानमा हुने अन्डर १२ फुटबल खेलका लागि बालकहरूको छनोटसमेत भइरहेको छ । कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा खेलाडी छनोट गरिँदै छ । १२ खेलाडी छनोट गरेर जापान लगिने गौचनले जनाए । ‘यसरी छनोट गरेर जापान लैजान लागिएको अहिले चौथो पटक हो । गएको वर्ष छनोट भएका खेलाडीले राम्रो खेले,’ उनले भने, ‘उनीहरू विभिन्न मुलुकबाट छनोट भएर आएका ४० टिमसँग प्रतिस्पर्धा गर्नेछन् । यसपालिको खुला छनोटमा नेपालभरबाट ३ सय बालक सहभागी भए । तीमध्येबाट ३५ जना छनोट भइसकेका छन् । अब उनीहरूमध्येबाट १२ जना छानिनेछन् । यसरी छनोट भएका खेलाडी मार्च महिनामा जापान जानेछन् । खेलाडी छनोटमा फुटबल प्रशिक्षक शम्भु केसी र राजेन्द्र तामाङले सघाएका छन् ।


नेपाल र जापानमा फुटबलका लागि वातावरण भने फरक रहेको वसन्त बताउँछन् । ‘जापानमा सानो उमेरबाटै खेल्न सिकाइन्छ । अन्डर ६, अन्डर ८, अन्डर १०, अन्डर १२ को प्रतिस्पर्धा हुन्छ । नेपालमा पनि पछिल्लो समय सानैदेखि फुटबल सिकाउन थालिएको छ,’ उनी भन्छन्, ‘तर ट्ेरनिङ मात्र भएर हुँदैन, प्रतियोगिता नै हुनुपर्छ । अन्डर १०, अन्डर १२ का प्रतियोगिता यहाँ पनि नियमित गर्न सके नयाँ खेलाडी उत्पादनमा सहज हुनेछ ।’

प्रकाशित : माघ २७, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?