कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

साना धावक

अर्जुन राजवंशी

काठमाडौँ — १२ वर्षीया सन्ध्या तामाङ विद्यालयमा हुने दौड प्रतियोगितामा सधैं प्रथम हुन्छिन् । पातलो र छरितो शरीरकी उनी विद्यालयमा जस्तै ‘दमक रन’ मा पनि प्रथम भइन् ।

साना धावक

माघ २६ मा सम्पन्न दमक रनको तेस्रो संस्करणमा सन्ध्याले ५ किलोमिटर दूरी मात्र १८ मिनेट १७ सेकेन्डमा पार गरिन् । शरणार्थी शिविरको अभाव र निश्चित एरियाभित्र हुर्किएकी सन्ध्याले राष्ट्रिय स्तरका धावकहरू सामु प्रथम भएर सबै शरणार्थीलाई खुसी तुल्याइन् । उनीसँगै दौडिएकी १२ वर्षीया लक्ष्मी भुजेल द्वितीय भइन् । लक्ष्मी ०७३ सालदेखि सुरु भएको दमक रनको नियमित धाविका हुन् । उनी गत वर्षकी विजेता हुन् । तर, यो पटक उनी सन्ध्यासँग मात्र १२ सेकेन्डले पछि परिन् र, द्वितीय स्थानमा चित्त बुझाइन् ।


५ किलोटिर दूरी लक्ष्मीले १८ मिनेट २९ सेकेन्डमा पार गरेकी थिइन् । दमक रनको प्रथम संस्करणमा लक्ष्मी तृतीय भएकी थिइन् । लक्ष्मी दमक नगरपालिकामा रहेको दीपिनी प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । दमककै अलिशा राजवंशी तृतीय भइन् । उनले २३ मिनेट ५७ सेकेण्डमा दूरी पार गरेकी थिइन् । १२ वर्षीया अलिशा झापा मोडल बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् । ७ देखि १२ वर्ष उमेर समूहमा दौडिएका सन्ध्या, लक्ष्मी र अलिशाले क्रमश: नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । सोही उमेर समूहको पुरुषतर्फ रोदन राई प्रथम भए । उनले ५ किलोमिटर दूरी १६ मिनेट २० सेकेन्डमा पार गरेका थिए । युवराज लिम्बू १७ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै द्वितीय भए भने समीर लिम्बूले १७ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै तृतीय पुरस्कार जिते । उनीहरूले पनि क्रमश: नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए ।


दमक रनमा १३ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले १५ किलोमिटर दौड पार गरे । उक्त विद्यातर्फ पुरुषमा किरण लिम्बू ५२ मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भए । उनका पछिपछि दौडिएका सागर श्रेष्ठले उक्त दूरी ५३ मिनेट ५ सेकेन्डमा पूरा गरेका थिए । उनी द्वितीय भए । पुजन राईले ५४ मिनेट १७ सेकेन्डमा दूरा पार गर्दै तृतीय पुरस्कार हात पारे । उक्त विद्याको महिलातर्फ चन्द्रकला श्रेष्ठ एक घण्टा १२ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै प्रथम भइन् । एक घण्टा २० मिनेट ५ सेकेन्डमा दौड पूरा गर्दै मनिषा राई द्वितीय भइन् । आचल मुर्मु एक घण्टा २२ मिनेटमा दूरी पार गर्दै तृतीय भइन् । उक्त विद्याको पुरुष र महिला दुवै विजेताहरूले क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । उनीहरू सबैलाई नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र वरिष्ठ धावक बुद्धवीर लामाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।


इटहरीको विश्व आदर्श बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत विषय ढुंगाना प्रतियोगितामा कुनै स्थान हासिल गर्न सकेनन् । इटहरीबाट मावली घर दमक आएको बेला दौडमा भाग लिएका उनी ५ किलोमिटर दौड भने पूरा गरे । ‘यति लामो दौडमा फस्ट टाइम भाग लिएको हुँ’, हस्याङफस्याङ गर्दै उनले भने, ‘यो पटक कुनै पोजिसन नल्याए पनि केही छैन । अर्को वर्ष पुरस्कार जित्छु ।’ कक्षा ३ मा अध्ययनरत ८ वर्षीया ग्रीष्मा पनेरु पनि ५ किलोमिटर दौडिइन् । सबै साथीहरू दौडमा भाग लिन आएको देखेर उनलाई पनि दौडिन मन लागेको बताइन् । दमक रनमा यो वर्ष ७ देखि १६ वर्ष उमेर समूहका २ सय बढी बालबालिकाले भाग लिए । ‘स्वास्थ्यका लागि दौड’ नारा दिएर दमक रनले ३ वर्षदेखि नियमित दौड प्रतियोगिताहरू गर्दै आएको छ । वार्षिक रुपमा विभिन्न विधाको दौड गर्दै आएको दमक रनले प्रत्येक शनिबार ५ किलोमिटर अप्रतियोगी दौड पनि गर्दै आएको छ ।
शनिबार बिहान ५ देख ८ बजेसम्म हुने दौडमा स्थानीय तीन दर्जन बालबालिकाहरू सहभागी हुने गर्छन् । उनीहरूलाई दमक रनका प्रशिक्षकहरूले दौडमा भाग लिँदा ध्यान दिनुपर्ने कुराहरू, दौडमा भाग लिँदा शारीरिक रूपमा हुने फाइदाहरूबारे जानकारी दिने गरेको दमक रनका अध्यक्ष दिवस राईले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?