१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाँदरको नक्कल

लक्ष्मी उप्रेती

काठमाडौँ — पशुपति नजिकै राजुको घर छ । घरको छतमा पानीको ट्यांकी छ । त्यही एक छेउमा पानीको धारो छ ।

बाँदरको नक्कल

राजुका घरमा पशुपतिका बाँदरहरू नुहाउन आउन थालेका छन् । छतमा जान्छन् र मनलागी गर्छन् । हरेक शनिबार धारो खोलेर मानिसले झैं नुहाउँछन् । धारो खुलै राख्छन् । लुगा भेटे भने लगाएर भाग्छन् । बाँदरले धारो खुलै राख्ने कुरो कसैलाई थाहा हुन्न । शनिबार पानी छिट्टै सकिँदा सबैजना छक्क पर्छन् ।


यसरी निकै समय बित्यो । जाडो महिनाको शनिबार राजुलाई घाम ताप्न मन लाग्यो । ऊ आमासँग सोधेर घाम ताप्त छतमा गयो । घाम तापिरहेका बेला बाँदरहरू उप्रँmदै छतमा आए । ती बाँदरहरूलाई राजुले डराइडराई हेरिरह्यो । एउटा बाँदरले धाराको पानी खोल्यो अनि धाराको पानीमा ती बाँदर एकएक गरी थापिए । टाउको मिचे, जिउ मिचेर फेरि यसरी नै पानीमा थापिए । धारो खुलै छाडेर एकछिन जिउ हल्लाए अनि पानीको पाइपमा झुन्डिँदै घाम ताप्न थाले । धाराबाट पानी खेर गइरहेको थियो । सरक्क आएर राजुले धारो बन्द गर्‍यो । त्यसबेला एउटा बाँदर राजुलाई हेरेर ङिच्च हाँस्यो अनि झुन्डिएको राजुको सर्ट झिकेर लगाउँदै भाग्यो । त्यसपछि अरू बाँदरहरू पनि सटासट भागे । त्यो शनिबार भने पानी सकिएन । राजुले पानी सकिनुको कारण थाहा पायो । त्यसपछि अघिपछि छुट्टी हुँदा पनि घाम ताप्न राजु छतमा जान थाल्यो । अरू दिन बाँदरले धारो खोलेनन् । त्यसै वरपर गरिरहेको उसले देख्यो । आज शनिबारको दिन हो । बाँदरहरूले के गर्छन् भनेर राजुका मनमा कुरा खेले । सधैंझैं शनिबार राजु छतमा गयो । एकछिनमा बाँदर आएर धारो खोल्यो । सबैले पहिलेजस्तो पालैपालो गरी नुहाए । त्यसबेला अन्तिममा नुहाउनेले भने धारो बन्द गर्‍यो । त्यसपछि बाँदरहरू पाइपमा झुन्डिँदै यताउता गर्न गर्न थाले । धारो बन्द गर्ने बाँदर राजुछेउ आएर ङिच्च हाँस्यो । अब तिमीलाई लुगा चाहियो । राजुले बाँदरलाई सोध्यो । बाँदर राजुको कुरा बुझेर उफ्रियो । एकछिन पर्ख है त । राजु कुद्दै तल गयो अनि आफ्नो पुरानो सर्ट लिएर आयो । त्यहीं बसिरहेको बाँदरलाई दियो । सर्ट पाउनासाथ त्यो बाँदर उप्रँmदै त्यहाँबाट फुत्त गयो । ऊ पछिपछि अरू बाँदर पनि उप्रँmदै गए ।


अर्को शनिबार पनि राजु छतमा गयो । बाँदरहरू पल्याकपुलुक गर्दै उसरी नै आए । सर्ट लगाएको बाँदरले ङिच्च हाँसेर राजुछेउ मोबाइल फ्याँक्यो । त्यसपछि बुरुक्क उप्रँmदै फुत्त अरूसँग मिसियो । बाँदरले फ्याँकेको मोबाइल लिएर राजु आमा भएका ठाउँमा गयो । आमा बाँदरले मलाई मोबाइल दियो । यी हेर्नुस् त ? उसले देखायो ।आमा भान्छामा काम गर्दै थिइन् । छोराको कुरा सुनेर के नचाहिँदो कुरा भनेको नि तैंले ? बाँदरले तँलाई कहाँ भेटेर मोबाइल दियो ? हावा कुरा नगर् । आमाले पत्याउँदै पत्याइनन् । त्यसपछि राजुले आमाको हात समाउँदै छतमा लग्यो ।छतमा धारो पुरै खोलेर बाँदरहरू नुहाउँदै थिए । पानीको नोक्सान भएको देखेर आमालाई रिस उठ्यो । बाँदर धपाउन छेउमा भएको काठको मुङ्ग्रो उठाइन् । त्यसको झटारो हानेर बाँदर धपाउन खोजिन् । राजुले आमाको हात समाउँदै रोक्यो । आमाले राजुलाई एक झापड हानिन् । त्यसैबेला एउटा बाँदर पछाडिबाट फुत्त उफ्रिएर आयो अनि आमालाई पनि झापड हान्यो । त्यसपछि धारो खुलै छाडेर सबै बाँदर भागे ।


राजुले आमालाई बाँदरका कुरा भन्यो अनि आमाले बाँदरलाई भड्काउन नहुने रहेछ भन्ने बुझिन् । त्यसपछि बाँदरलाई नुहाउने पानी प्लास्टिकको ड्रममा भरेर राख्न थालिन् । त्यसबेलादेखि बाँदरहरूले शनिबार पनि धारो खोलेनन् । त्यही ड्रमको पानीमा नुहाउँछन् । एकछिन टहलिन्छन् र जान्छन् । यसबेला राजु र उनीहरू साथीसाथीजस्ता छन् । आमालाई पनि केही गर्दैनन् । बदमासी नगरी नुआएर जाने बाँदरहरूलाई आमा पनि राम्रै गर्छिन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?