सराङकोटमा सूर्योदय

मनोज पौडेल

काठमाडौँ — मौसम त्यत्ति राम्रो थिएन  । तर झिसमिसेमै ठूलो समूह पुगिसकेको थियो, सराङकोट डाँडा  ।

सराङकोटमा सूर्योदय

द वेस्ट सन राइज भ्यु पोइन्टमा ठेलमठेल थिए स्वदेशी–विदेशी पर्यटक । सबैभन्दा तल रहेको उक्त भ्यु पोइन्टभन्दा माथि पनि २/३ वटा भ्यु पोइन्ट छन् । सबै खचाखच भरिएका थिए । सबैका हातमा क्यामेरा र मोबाइल तम्तयार छन्, फोटो खिच्न । तर सूर्योदयको दृश्य देखिने छाँट छैन ।


समय बित्दै जान्छ । भ्यु पोइन्टमा बसेकाहरू निन्याउरो अनुहार बनाउँछन् । मुख खुम्च्याउँछन् । अब निस्कँदैन भन्दै थकथकी मान्छन् । यताउता टोलाउन थाल्छन् । जब ६ बजे ४० मिनेट गयो, सराङकोट डाँडै खुसीले उचालिएजस्तो भयो । पूर्वतिर आकाशमा विस्तारै गुलाबी लाली निस्कन थाल्यो । यो सूर्योदय हुनुअघिको संकेत थियो । सबै जना रमाउन थाले । २ मिनेट नबित्दै सूर्यको माथिल्लो टुक्रा छिसिक्क देखियो । स्वदेशी–विदेशी रोमाञ्चित भए । ताली बजाएर स्वागत गरे । विस्तारै सूर्य निस्कन थाल्यो । सबैका हात र औंला चल्न थाले । मोबाइल र क्यामेराका मेमोरी भरिँदै गए । सूर्योदय र त्यसलाई पृष्ठभूमि बनाएर तस्बिर लिनेहरू बढे । ‘विस्तारै निस्कँदै गएको सूर्य देख्दा निक्कै रोमाञ्चित भएँ,’ जर्मन पर्यटक हर्टमुट मेयरले भने, ‘धेरै मुलुक घुमे पनि यस्तो अद्वितीय दृश्य कहीँ देखेको थिइनँ ।’ उनको ६ जनाको टोली नै रमायो । सूर्योदय पनि एकै पटक नभएर पहिले एक चौथाइ भयो । त्यसपछि आधा देखियो । तीन भाग देखियो ।


सूर्य पूरै उदाएलगत्तैको दृश्य निक्कै गजब लागेको थाई पर्यटक मोन्त्री चिन्ताङले बताए । ‘प्राकृतिक छटाको आनन्दको बखानै गर्न सकिँदैन, तस्बिर पनि उत्कृष्ट लिएँ, थाइल्यान्ड पुगेर ठुल्ठूला पोस्टर बनाई घरमा राख्छु,’ उनले भने, ‘बिहान घरमै बसेर सूर्योदय हेर्न पाउनुको मज्जाले सधैं नेपालको सम्झना आइरहन्छ ।’ अद्वितीय आकर्षण बोकेको छ पोखराले । सूर्योदयपछि आकाश खुलेसँगै डाँडाबाट उत्तरतिरका हिमालले सबैका आँखा लोभ्याउन थाले  । सबै लट्ठ परे । सराङकोटबाट तल उत्तर देखिने गाउँसहरले उत्तिकै मोहित बनाउँछन् । जति हेरे पनि मन भरिँदैन ।


सराङकोटको गोठादी डाँडालाई छुने गरी उड्ने जहाज र अल्ट्रालाइजरले हिमाली दृश्यावलोकन थप रोमाञ्चक बनाइदिन्छन् । त्यहाँबाट फेवाताल र पोखरा बजार, दक्षिणमा रहेको विश्व शान्ति स्तूप पनि गजबको देखिन्छ । सराङकोटबाट धौलागिरि, माछापुच्छ्र्रे, अन्नपूर्ण पहिलो, दोस्रो, तेस्रो, चौथो र मनासलु हिमशृंखलाले सबैलाई लोभ्याइरहेको हुन्छ । पोखरा लेखनाथ नगरपालिका १८ गोठादीमा पनि सूर्योदय अवलोकनका लागि भ्यु टावर बनाइएको छ । त्यहाँबाट उत्तरतिर तल हेम्जा, लाहाचोक र घाचोक गाउँ पनि उत्तिकै मनमोहक र चित्ताकर्षक लाग्छन् । टावरमा ३ सय ६० डिग्री घुम्ने बाइनाकुलर जडान गरिएको छ । त्यसबाट हिमाल, गाउँसहर, फेवाताल र पोखरा बजारनजिकैको दृश्य हेर्न सकिन्छ । सराङकोट चिहाउन प्याराग्लाइडिङमा कावा खानेको उत्तिकै भीड हुन्छ । ९ देखि दिउँसो १ बजेसम्म डाँडामा कावा खानेहरूलाई देखेर रोमाञ्चित हुनेहरू पनि उत्तिकै हुन्छन् ।

प्रकाशित : फाल्गुन १९, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?