संस्कृतिको जगेर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ —  संस्कृति र जाति—भाषा, कला इतिहास,रीति—रिवाज भूगोलको, गर्नुहुन्न उपहास  । यो नै रै’छ समाज, देशको चिनाउने पहिचान,यसको मर्म बुझ्न सके, देशकै मानसम्मान  ।

देशवासीको तन—मनमा, संस्कृतिको बास ।
साहित्य र कला चिन्तन, भर्छौं यसलाई श्वास ।
क्रियाकलाप जीवनशैली, परिष्कृत गर्दै,
कालान्तरमा संस्कृति नै, परिचय बन्दै ।
सभ्यता र संस्कृतिको, कस्तो तालमेल,
चेतनाको विकाससँगै, अनुभूति मेल ।
मानिस—मानिसबीच यसले, छुट्टयाउँछ फरक,
औचित्यता पुष्टि गर्छ, नबुझे त नरक ।
ब्रह्माण्डका जाति—पेसा, धर्म—संस्कृतिको,
सञ्चार रै’छ अलौकिक, एक अर्काको सिको ।
संस्कृति र राष्ट्रियता, जीवन्तता दिन,
विदेशीलाई चासो बढ्यो, नेपालीपन लिन ।
परम्परा, भेषभूषा, सद्भाव बढाउने,
स्वस्थ, सरल प्रकृतिको, प्रेरक बनाउने ।
अनमोल संस्कृतिलाई जोगाएमा नासो,
नत्र भोलि पुस्तालाई होला गलपासो ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

बुद्धका पाइला

मनोज पौडेल

काठमाडौँ —  “संसारी माया विचित्रमरेर के पो लानु छनगर बेर्थै लोभी मनछोडेर जान्छौं व्यर्थैको धनआखिर एक पेट खानु छहाँसी खुसी जिउनु छअधर्म कहिले नसोचसके पुण्य कमाऊ...”

रत्नलामा घिसिङको शब्द र चन्द्रकुमार दोङको स्वर रहेको मर्मस्पर्शी र सन्देशमूलक गीत सुन्दा धेरैलाई राम्रो लाग्छ । धेरै गृहस्थीहरू गीत सुन्दासम्म निक्कै प्रभावित हुन्छन् । व्यवहारमा उतार्ने भने औंलामा गन्न सकिने अवस्थामा हुन्छन् । तर धुतांङगधारी भिक्षु भने निक्कै दुःखकष्ट सहेर शान्तिका लागि काम गर्छन् । गीतकै अनुसरण गर्छन् । जंगल र एकान्त बास बस्न मन पराउने धुतांङगधारी भिक्षु सुख सुविधाभन्दा परै बस्छन् । दुःखकष्ट गरेर भएको साधना दिगो हुन्छ त्यही भएर उनीहरू मिहिनेत र परिश्रममा बढी विश्वास गर्छन् ।


फरक परिवेशको मौसम, हावापानी र भौगोलिक अवस्था । त्यो छिचोल्दै ५० थाई, नेपाली, चीन र रुसका भिक्षुभिक्षुणी र उपासक उपासिकाले स्वयम्भू टु शाक्यमुनि शान्ति पैदल यात्रा गरे । सुरुमा उनीहरूले खाली खुट्टा यात्रा थाले । ग्रयावल, कालोपत्रे, उकालीओराली हिँड्दा कतिपयको खुट्टामा घाउ लाग्यो । एकले अर्कोको उपचार गरे । करुणा, मैत्री र सद्भाव देखाउँदै उनीहरू अघि बढे । कतिपय ठाउँमा हिउँ, खोला, पुलपुलेसा र कुनाकन्दरा छिचोल्द उनीहरू अघि बढे ।


काठमाडौंको स्वयम्भूबाट पैदल यात्रा थालेका उनीहरूले ललितपुरका विभिन्न विहार हुँदै थानकोट पुगे । त्यहाँबाट चन्दागिरिबाट चित्लाङ, कुलेखानी, हेटौंडा र नारायणघाट हुँदै दाउन्ने पुगे । त्यसपछि बुद्धको अस्तुधातु राखिएको पश्चिम नवलपरासीको रामग्राम आएर पूजा गरे । त्यहाँबाट लुम्बिनी हुँदै बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमाबुवासँग भेटघाट गरेको स्थल निग्रोधारामा गए । पूजाआजा गरे । त्यसपछि भारतीय सम्राट अशोकले क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा र कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवामा बनाएको अशोक स्तम्भ पुगे । शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तुबाट जन्मस्थल लुम्बिनी पुगेर यात्रा सम्पन्न गरे । उनीहरूले विश्वशान्तिका १८ दिनमा ४ सय १५ किमि पैदल यात्रा पूरा गरे । फागुन पहिलो साता यात्रा पूरा गर्दा नेतृत्वकर्ता थाई भिक्षु अचान दाव निक्कै खुसी थिए– थोरै भए पनि बुद्धका पाइला पछ्याउन पाएकोमा । ‘हाम्रो यात्राले विश्व शान्तिका लागि थोरै मद्दत पुग्यो,’ उनले भने, ‘ठाउँठाउँमा शान्तिका लागि प्रवचन दियौं ।’


शान्तिको धर्मदेशना गर्दै भगवान् गौतम बुद्ध ४५ वर्षसम्म पैदल यात्रामा निस्केर हजारौं माइल हिँडेर विभिन्न मुलुकमा धर्मदेशना गर्नुभएको थियो थाई भिक्षु शान्तचित्तोले भने, ‘हामी पनि सयौं माइल हिँडेर शान्ति, सद्भाव र करुणाको कुरा बतायौं ।’ बुद्धमार्ग अनुसरण गर्दै आफू सच्चा अनुयायी बन्न कठिन पैदल यात्रा सम्पन्न गरेको उनले बताए । ३ बुद्धस्थल आसपास पैदल शान्तिको धर्मदेशनाबाट पुण्यसञ्चय गरेको बताए । खाली खुट्टा हिँडेका भिक्षुहरू तीन दिन हिमपातमा परेका थिए । ‘दामन कुलेखानी आसपास हिउँमा हिँडनेमा पर्‍यौं,’ यात्राका सहभागी नेपाली भिक्षु सुमंगलोले भने, ‘तर भिक्षुहरू सजिलै यात्रा गरे ।’ यात्रा कठिन भए पनि शान्तिको खोजीमा लागेकाले भिक्षुहरूलाई कुनै समस्या भएन । अझ रोमाञ्चित बने । नयाँ खालको अनुभूति भयो ।


उनीहरू दैनिक २० देखि ३५ किमि हिँड्थे । त्यसपछि बास बस्थे । एक छाक खान्थे । त्यो पनि भिक्षा मागेर । ठाउँठाउँमा स्थानीयको माया पाएर विदेशी भिक्षुभिक्षुणी उत्साहित थिए । बाटोमा स्वतःस्फुर्त पानी र खानेकुरा स्थानीयले उनीहरूलाई दिएका थिए । संसारभर हिंसा बढिरहेका बेला उनीहरूले शान्तिको कामना गर्दै स्वयम्भूबाट यात्रा थालेका हुन् ।‘दुःखकष्ट गरेर अघि बढे शान्ति र विकासले गति लिन्छ,’ नेपाली भिक्षु बजिरप्रेमले भने, ‘त्यही भएर आफूहरू बुद्धमार्ग अनुसरण गरेका हौं ।’ विश्वमा बढिरहेको अहंकार र महत्त्वाकांक्षाले द्वन्द्व र अशान्तिलाई प्रश्रय दिइरहेकाले बुद्धदर्शनको अनुसरण गर्दै आफुहरू यात्रामा निस्किएको उनले बताए । उनीहरू ठाउँठाउँमा भिक्षा माग्दै भोजन गर्दै हिँडेका थिए । बुद्धस्थलमा उनीहरूलाई स्थानीयले मैत्री र सद्भाव दिए । भोजन दान गरे । उनीहरूले सबैले आफ्ना लागि खानबस्न, सुत्न चाहिने समान आफैं बोकेका थिए । सँगै टेन्ट लिएर हिँडेका थिए । रात पर्दा सुत्न त्यही टेन्टलाई गाडेर घर बनाउँछ । उनीहरूले ठाउँठाउँमा स्थानीय बासिन्दालाई बुद्ध र शान्ति शिक्षाबारे जानकारी दिएका थिए ।

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्