२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भारत भ्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यालयले हामीलाई देशका विभिन्न स्थानको भ्रमणमा सहभागी गराइरहन्छ  । हामी नौदिने भारत भ्रमणमा सहभागी भयौँ  ।

लामो प्रतीक्षापछि भारत प्रस्थान गर्ने दिन आयो । भ्रमण जाने अघिल्लो रात मनमा विभिन्न कुरा खेले । भ्रमणका लागि अभिभावकसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । त्यहाँ अरू साथी पनि आइसकेका थिए । बिहानको ८ बजे उडान निश्चित गरिए पनि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी विमान उड्यो । हामी चढेको विमान ‘एयर बस ए थ्री थर्टी’ थियो । पहिलोचोटि अन्तर्राष्ट्रिय विमानमा यात्रा गर्न पाउँदा हामी निकै हर्षित थियौँ ।


हामी दिल्लीमा ओर्लियौँ । विमानस्थलका सम्पूर्ण प्रक्रिया पूरा गरेर बाहिर निस्कँदा निकै ढिलो भयो । त्यहाँबाट हामी सिधैं बस्ने होटलमा पुग्यौँ । भोलिपल्टदेखि हाम्रो भ्रमण सुरु भयो । पहिलो दिन अक्षरधाम पुग्ने कार्यक्रम थियो । त्यसका लागि बिहानै मेट्रो बस चढ्यौँ । मेट्रोबसका अधिकांश यन्त्र स्वचालित रहेछन् । त्यसैमा चढेर अक्षरधाम मन्दिर पुग्यौँ । मन्दिर दर्शनपछि खाना खायौँ । त्यसपछि सिधै रेल स्टेसनतिर लाग्यौँ । रेल स्टेसन जाने क्रममा म, कुसुम प्रणव, तथास्तु, विराश्मालगायत साथी कताकता अलमलिएछौँ । केही समय हामी आफ्नो समूहसँग सम्पर्कविहीन भयौँ । बल्लतल्ल रेल स्टेसनमा पुग्यौँ । त्यहाँबाट मुम्बई पुग्ने कार्यक्रम थियो । मुम्बई पुग्न रातभरिको रेलयात्रा गर्नुपर्ने रहेछ । हामीमध्ये धेरैको पहिलो रेलयात्रा गर्ने अवसर थियो । सबैले यात्राको भरपुर आनन्द लियौँ । लामो रेलयात्राबाट भोलिपल्ट मुम्बई पुग्यौँ । मुम्बईको एकछेउमा ठूलो जलराशि भएको समुद्र रहेछ । जसलाई त्यहाँ ‘पानी अधिराज्य’ का नामले पनि चिनिँदो रहेछ । हामीले आनन्दपूर्वक जलक्रीडा गर्‍यौं । नीलो पानीमा साथीसँग खेल्दा रमाइलो भयो । भारत भ्रमणभरि आनन्दमयी क्षण त्यहीँ लाग्यो ।


हामी साँझपख एउटा होटलमा पुग्यौँ र बास बस्यौँ । अर्को दिन सबेरै उठेर जुहु नामक सामुद्रिक तटमा पुग्यौँ । त्यहाँबाट सिद्धिविनायक मन्दिर पुगेर भगवान्को दर्शन गर्‍यौँ । त्यसपछिको गन्तव्य एउटा ठूलो व्यापारिक महल थियो । त्यहाँ प्रायः सबै सामान उपलब्ध थिए । सामान किन्न जाने कुराले हामी झनै रमायौँ । त्यहाँ डोबिनोज, म्याकाडो, नल्स र स्टारबक्सजस्ता मिष्ठान्न परिकार किनेर खायौँ । कहिल्यै नाम नसुनेका थरीथरीका परिकारको स्वाद लिँदा औधि खुसी लाग्यो । त्यहाँबाट झुलन बगैँचातिर लाग्यौँ । बगैँचाको प्राकृतिक सौन्दर्य देखेर सबै साथीहरू आश्चर्यचकित भए । सबै मिलेर त्यहाँ सामूहिक तस्बिर पनि खिचियो । त्यसपछि रेल स्टेसनमा पुगेर गोवा जाने रेलमा चढ्यौँ । झन्डै बाह्र घण्टाको रेलयात्रापछि गोवा पुग्यौं ।


नेपालमा खपिनसक्नु चिसो हुने पुस–माघको मौसममा पनि त्यहाँ निकै गर्मी थियो । रेलबाट हामीलाई सिधै होटलमा लगियो । हामीले त्यस दिन गोवाकै कोल्वा बीचमा रात बितायौँ । त्यहाँ ‘चिकेन सुर्मा’ नामक स्वादिष्ट परिकार भोजन गर्‍यौं । गोवा घुम्दा निकै आनन्द लाग्यो । त्यस दिन होटलमा नाचगान गरेर बेस्सरी रमाइलो पनि गर्‍यौँ । याक्राका त्रममा हामी अर्को दिन उत्तरी गोवा पनि पुग्यौँ । त्यहाँ रहेको कोको बिच, अञ्जना बिच, हिन्द महासागर आदिको भ्रमण गर्न पाउँदा हामीलाई बेग्लै संसारमा पुगेझैँ अनुभूति भयो । त्यसमाथि हिन्द महासागरमा ठूलो पानीजहाज चढ्न पाउँदा त हर्षको सीमा नै रहेन । यी सम्पूर्ण मनमोहक स्थलको भ्रमण गरेर झन्डै चार घण्टाको बसयात्रामा होटल फर्क्यौँ । धेरै ठाउँमा पुगेकाले त्यस दिन निकै थकित थियौँ । त्यसैले खाना खानेबित्तिकै निदाइहालेछौँ ।


भोलिपल्ट बिहान पनि गोवा बिचमा रमाइलो गर्ने अवसर पाइयो । यसरी दुई रात तीन दिनको गोवा बसाइपछि हामी पुनः छत्तीसघण्टे रेलयात्रामा सहभागी भयौँ । यात्रा अवधिभरिको सबैभन्दा लामो उक्त रेलयात्रापछि आग्रा पुग्यौँ । आग्रामा हामीले आग्रा किल्ला, ताजमहल आदिको अभिरुचिपूर्वक अवलोकन गरेर सबैभन्दा तीव्र गतिमा कुद्ने रेल ‘गतिमान एक्सप्रेस’ बाट दिल्ली फक्यौँ । नयाँदिल्लीका कुतुक मिनार, लालबहादुर शास्त्री संग्रहालय, राष्ट्रपति भवनजस्ता स्थल घुम्ने अवसर पाइयो । त्यसपछि नेपाल फर्कन दिल्ली विमानस्थलमा पुग्यौँ ।


यसरी नौदिने भ्रमण–अवधिभर हामीलाई निकै रमाइलो अनुभूति भयो ।
अनुजय भट्टराई, कक्षा–९
काञ्जीरोवा नेसनल मावि, काठमाडौँ

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?