१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सानाको तयारी

राजाराम पौडेल

काठमाडौँ — (पोखरा) - फुटबल खेल्न मज्जा आउँछ ? सबैको एकै स्वरमा उत्तर आयो– ‘मज्जा आउँछ  । ’ शनिबार पोखरा रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका प्रशिक्षक राजेन्द्र तामाङ यसै गरी हौस्याउँदै थिए  ।

सानाको तयारी

वरिपरि थिए १२ वर्षमुनिका फुटबल खेलाडी । उनीहरू जापानमा हुने अन्डर १२ कोपा पुमा टोरेस फुटबलका लागि छानिएका हुन् । साना खेलाडीले अनुभवी तामाङले भनेका हरेक कुरा ध्यान दिएर सुने । फुटबल खेलमा करिअर बनाउन खोजेका उनीहरूलाई अब्बल बनाउन तामाङ मिहिनेत गरिरहेका थिए ।


उनले विथ बल, विथआउट बल कसरी खेल्ने, टिम सन्तुलनको महत्त्व, खेल अवधिभर देखाउनुपर्ने सक्रियता, साथीलाई हेर्ने बानी, बल नियन्त्रण र धैर्य महत्त्वपूर्ण पक्ष हुने बताए । कोपापुमा टोरेरस फुटबलमा नेपालबाट चौथोपटक सहभागिता हुन लागेको हो । विगत वर्षमा पोखराका खेलाडी मात्र लैजाने गरिएकोमा यसपटक देशैभरिबाट छानिएका छन् । छनोटमा ३ सय ५० जना सहभागी थिए । जापानमा प्रतिस्पर्धी टोलीहरूलाई जित्न नेपाललाई सजिलो भने छैन । विदेशमा एकेडेमीमा राखेर पूर्वाधारसहित प्रशिक्षण गराइन्छ । नेपालमा त्यस्तो अवसर छैन । तैपनि नेपाली टोलीले कम्तीमा फाइनल पुग्ने लक्ष्य राखेको छ । उनीहरू चैत ११ मा जापान प्रस्थान गर्नेछन् । नेपालले पहिलो खेल चैत १५ मा खेल्नेछ । एक–दुई दिन जापानमा अभ्यास गरी ‘टिम सेट’ गर्ने तयारी छ । प्रतियोगितामा युरोप, जापान र अन्यत्रका गरी ४० टिम सहभागी हुँदै छन् ।


नेपाली टोलीमा छानिएका काठमाडौंका एलेक्स पौडेल ११ वर्षका भए । भविष्यमा सफल खेलाडी बन्ने लक्ष्य राखेका उनी प्रतियोगितामा राम्रो खेल्दै टिमलाई उपाधि जिताउने धोको सुनाउँछन् । पोखराका ११ वर्षीय समीर गौतमको पनि उस्तै रहर छ । ‘राइट डिफेन्स’बाट खेल्ने उनले भविष्यमा फुटबल खेलाडी नै बन्ने चाहना राखेका छन् । विगत ४ वर्षदेखि फुटबल खेल्दै आएका उनी आफ्नो टोलीले जित्नेमा आशावादी छन् । ११ वर्षीय विश्वास ओझा काठमाडौंमा बस्छन् । ‘लेफ्ट डिफेन्स’बाट खेल्न रुचाउने उनको जन्मघर कास्की हो । ८ वर्षको उमेरदेखि फुटबल खेलेका उनको लक्ष्य पनि जापानमा उत्कृष्ट खेल देखाउनु हो । उनलाई फुटबलमा अघि बढाउन ममी मीनाको साथ छ । ममी पनि रंगशाला परिसरमै भेटिइन् । बागलुङका १२ वर्षीय विविध थापा ७ कक्षामा पढ्छन् । ‘राइट ब्याक’ पोजिसनबाट खेल्ने उनी टिमलाई जिताउन मिहिनेत गर्ने बताउँछन् । फुटबलमै भविष्य बनाउने योजनामा छन् ।


कास्की हेम्जाका १२ वर्षीय सफल थापा गोलकिपरको जिम्मेवारी सम्हाल्दै छन् । ७ कक्षामा पढ्छन् । परिवारबाट पनि साथ पाएका उनी खेल जित्न उच्च मनोबलसाथ खेल्ने बताउँछन् । जापानबाट फर्किएपछि फुटबलमै करिअर अगाडि बढाउने उनले सुनाए । पोखरा, कसेरीका विनय तामाङ ७ कक्षामा पढ्छन् ।

१२ वर्षका उनले पनि खेलाडी नै बन्ने सपना बुनेका छन् । आफूलाई ‘अलराउन्डर’ बनाउन मिहिनेत गरिरहेका छन् । लेखनाथका १२ वर्षीय आर्यन गुरुङ सेन्टर फरवार्डबाट खेल्छन् । अभ्यासदेखि नै मिहिनेत गरिरहेकाले सुखद परिणाम आउने उनको विश्वास छ । ७ कक्षामा अध्ययनरत पोखरा, नागढुंगाका विज्ञ गौचन ‘सेन्टर मिडफिल्ड’बाट खेल्न रुचाउँछन् । उनी पनि उपाधि जितेरै जापानबाट फर्कनेमा विश्वस्त देखिन्छन् । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय प्रकाश तामाङ ‘लेफ्ट डिफेन्स’मा खेल्छन् । सबैको साथ–सहयोगले खेलयात्रा यात्रा सहज बन्दै गएको उनको अनुभव छ । १२ वर्षीय सविन नेपाली ६ कक्षामा पढ्छन् । गोलकिपरको भूमिकामा रहेका उनले प्रतियोगिता जित्दै भविष्यमा पनि फुटबलमा रमाउने रहर पालेका छन् । स्याङ्जा, वालिङका ११ वर्षीय विशाल विक फरवार्डको जिम्मेवारीमा छन् । परिवारको साथले फुटबलर बन्ने जोस बढेको उनले बताए । बुटबलका १२ वर्षीय सरोज दर्लामी सेन्टर मिडफिल्डमा खेल्नेछन् । खेलमा लाग्न परिवारबाटै हौसला पाएका उनी आफ्नो टोलीलाई जिताउन सक्दो मिहिनेत गर्ने बताउँछन् ।


वरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसी पनि रंगशालामै भेटिए । जापान जान छानिएका खेलाडीलाई राजेन्द्रले प्राविधिक र शम्भुले फिटनेसको तालिम दिइरहेका छन् । साना खेलाडीको टोलीबाट राम्रो नतिजा अपेक्षा गरिएको वरिष्ठ प्रशिक्षक केसीले बताए । ‘टिम गजब छ, फस्ट वा सेकेन्ड हुने हो, त्यसपछाडि अरू अवसर प्राप्त हुनेछन्,’ उनले भने । अघिल्ला वर्ष जापानमा खेलेर फर्किएपछि ‘रिटर्न ट्रेनिङ’मा आउनेको संख्या निकै कम हुने गरेको उनले सुनाए । प्रतियोगितापछि अधिकांश पलायन हुने गरेका छन् । उनीहरूलाई टिकाउन राज्यले ध्यान दिनुपर्ने केसीलाई लाग्छ ।छानिएका खेलाडी दैनिक दुईपटक प्रशिक्षण लिइरहेका छन्– बिहान र साँझ । ‘खेलाडीको प्रस्तुति राम्रो बनाउन सक्दो प्रयास गर्दै छौं,’ प्रशिक्षक तामाङले भने, ‘अहिलेका खेलाडी गत वर्षका भन्दा राम्रा छन् ।’ टोलीलाई जापान लिएर उनै जाँदै छन् ।


प्रतियोगिताका लागि बाह्रै जना खेलाडी निकै उत्साही छन् । भविष्य नै फुटबलमा बनाउने लक्ष्य राखेका उनीहरू यो अवसर सदुपयोग गर्दै करिअरको सुखद सुरुआत गर्ने सोचमा छन् । पूर्वराष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा बर्सेनि यसरी नै नेपाली खेलाडीलाई जापानमा अवसर दिने गरिएको छ । गौचन जापानको फन्ड रुट एकेडेमीमा प्रशिक्षक छन् ।

प्रकाशित : चैत्र ३, २०७५ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?