कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाटोको केटा

काठमाडौँ — गरिब परिवारमा जन्मिएकी आरध्या पढाइमा अब्बल थिइन्  । घमन्ड रत्तिभर थिएन  ।

उनी सधैं साझा बस चढेर घर जान्थिन् । एक दिन बाटोमा सानो केटो देखिन् । केटो हातमा कटौरो लिएर उनीसँग पैसा मागिरहेको थियो । उनले केटोसँग बोल्न मुख खोलेकी मात्र के थिइन्, टुँट्टुँट् गर्दै गाडी आइहाल्यो । चढेर घर गइन् । ‘अब भोलि ढिलो फर्कन्छु र त्यो केटोसँग बोल्छु,’ मनमनै विचार गरिन् । ‘आज किन ढिलो आएकी हँ ? ’, आमाले सोध्नुभयो । आरध्या मुसुक्क हाँसिन् तर बोलिनन् । आमालाई त्यति सन्चो थिएन । आफ्नै काममा लाग्नुभयो ।


आरध्याले त्यो केटालाई खानेकुरा किन्ने विचार गरेकी थिइन् । भोलिपल्ट बिहानै आमासँग पैसा मागिन् । आमाले खाजाका लागि २५ रुपियाँ दिनुभयो । उनले दिउँसो स्कुलमा खाजा खाइनन् । घण्टी बज्नेबित्तिकै दौडँदै सडकपेटीमा गइन् । सानो केटो त्यही कटौरो थाप्दै मान्छेहरूका पछि लागिरहेको थियो । आरध्या नजिकै पुगिन् । ऊ अर्को मान्छेको पछि लाग्नै आँटेको थियो, आरध्याले च्याप्प उसको हातमा समातिन् । त्यो केटो डरायो । ‘मदेखि नडराऊ,’ उनले भनिन् । त्यो केटोले भाग्ने प्रयत्न गर्न छोड्यो ।


‘तिम्रो नाम के हो ?’
‘नाम छैन,’ केटोले डराउँदै भन्यो ।
‘त्यसो भए अबदेखि तिम्रो नाम रामु है,’ आरध्याले भनिन् ।
‘हस् ।’ केटो दङ्ग पर्‍यो । आरध्यालाई उसको नाम र खाना नभएको कुराले दुःखी बनायो ।
‘तिमी कहाँ बस्छौ ?,’ सोधिहालिन् ।
‘यहाँ ।’ रामुले भुइँतिर देखायो ।
‘तिम्रो घर छैन ?’
‘अहँ, अस्ति नै गएको पहिरोले हाम्रो घरबारी सप्पै लग्यो । काठमाडौंमा काम पाइन्छ भनेर हामी यहाँ आएको ।’ रामुका आँखामा टिलपिल आँसु भरिएर आयो ।


‘अनि तिम्रा बाआमा खोइ त ?,’ आरध्याले अँध्यारो मुख लगाएर सोधिन् । ‘बुबालाई गाडीले हानेर बित्नुभो ।’ उसले लामो सुस्केरा हाल्यो र आफ्नो दुःखद कथा सुरु गर्‍यो, ‘बुबा बितेपछि म आमाको जिम्मा भएँ । बाटामा मागेर केही दिन बितायौं । एक रात केही डरलाग्दा मान्छेहरूले आमालाई घिस्याउँदै लगे । भोलिपल्ट आमा त्यहीँ खोलाको किनारमा भेटिनुभयो तर बाँच्नुभएन ।’ रामुको कुरा सुनेर आरध्याको आँखाबाट आँसु झर्न थाल्यो ।
‘तिमी स्कुल जान्छौ ?,’ उनले सोधिन् ।


‘पैसा छैन, कसरी स्कुल पढ्नु म ?’ उसको अनुहार मलिन भएको थियो । आरध्याले फेरि सोधिन्, ‘तिम्लाई पढ्न मन लाग्छ ।’ उसले स्वीकृतिको भावमा टाउको हल्लायो ।
‘भोक लागेको छ ?’ आरध्याले सानो स्वरमा सोधिन् ।
‘छ ।’ रामुले कामिरहेको स्वरमा जवाफ दियो ।
आरध्याले गोजीबाट २५ रुपियाँ झिकिन् र रामुलाई नजिकैको पसलमा लगेर बिस्कुट किनिदिइन् । रामु कपाकप खान थाल्यो । उनी हेरिरहिन् । कक्षामा पहिलो हुँदाभन्दा बढी खुसी आज आरध्यालाई रामुलाई मद्दत गर्न पाएकामा भएको थियो ।

रामुको अनुहारमा अचानक हाँसो देखियो । आरध्या दङ्ग परिन् । अब उनलाई घर पनि जानु थियो । हरियो साझा बस टाँटुटाँटु गर्दै आइहाल्यो । तीन–चार दिनसम्म आरध्याले आफ्नो खाजाको पैसा बचाएर रामुलाई दिइन् । उनी घर फर्किन ढिलो गरेकाले आमालाई चिन्ता पर्न थालेको थियो । आरध्याका बुवाको कमाइ धेरै थिएन । स्कुल फिस र घर खर्चमै सिद्धिन्थ्यो ।


‘किन तिमी अचेल ढिलो घर आउँछ्यौ ?,’ आमाले सोध्नुभयो । उनी सधैं अरू नै बहाना बनाउँथिन् । आज साँचो बोल्ने विचार गरिन् । आरध्याका कुराले आमाबुवा दुबैको मन पग्लियो ।
‘अनि उसलाई किन यहाँ नल्याएकी त ?’ बुवाले सोध्नुभयो ।
‘मलाई पाल्न त हजुरहरूलाई गाह्रो भइरहेको छ, दिनरात नभनी काममा जोतिनुहुन्छ । उसलाई झन् कसरी पाल्नुहुन्छ ?’ उनले दुःखी हुँदै भनिन् । हुन पनि बाआमालाई तीन जनाको परिवार धान्नै कठिन थियो ।
बुबाआमाले रामुलाई राख्न सक्ने परिवार खोज्ने सल्लाह गर्नुभयो । सुनेर आरध्या केही ढुक्क भइन् । केही दिनपछि आमाले एउटा घर फेला पार्नुभयो जहाँ उहाँ बिहानबेलुका भाँडा माझ्न तथा सरसफाइको काम गर्न जानुहुन्थ्यो । रामुलाई त्यही घरमा बिहानबेलुकी काममा सघाउने र स्कुल पठाउने गरी राखियो । केही दिनपछि रामु आरध्या पढेकै स्कुलमा पढ्न जान थाल्यो । रामु घरपरिवार पाएर खुसी थियो । आरध्या पनि भाइ पाएर खुसी थिइन् ।
उपासना बराल, कक्षा : ५
फोनिक्स स्कुल, ललितपुर

प्रकाशित : चैत्र ३, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?