कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होलीको उमंग

काठमाडौँ —  
होलीका दिन सबेरै उठिन् सखिया  । छुट्टै उत्साह छ  ।

होलीको उमंग

अघिल्लै दिनबाट रेडियो– टिभीमा होलीका गीत घन्किरहेका छन् – जोगिरा सररररर, होलीले मेरो रङ्गायो चोली । काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएका समाचार आइसकेका छन् । सखियालाई होली खेल्न खुब रमाइलो लाग्छ । उनले दुई दिनअगाडिबाटै पिचकारी, रङ र नयाँ लुगा किनिसकेकी छिन् । साथीहरू हुरबनिया, नन्दिनी, लुना सबै मिलेर होली खेल्ने सल्लाह भइसकेको छ ।


होलीका दिन बनाइने विशेष मालपुवाका लागि आमाले पिठो भिजाइसक्नुभयो । भान्सामा मालपुवाका लागि किसमिस, नरिवल, काजु तयार गर्न सघाउँदै उनले भनिन्, ‘आमा यसपटक लड्डु नबनाउने ?’ अघि नै तयार पारिसकेका सामग्री देखाउँदै आमाले भन्नुभयो, ‘किन नबनाउनु ? मेरी छोरीलाई मन पर्ने लड्डु बनाउँदिनँ होला त ?’ सखियाको मुहारमा उज्यालो छायो । बाहिरबाट सखिया–सखिया भनेर बोलाइएको सुनियो । साथीहरू आएका रहेछन् ।


आमाले बाहिर हेर्दै भन्नुभयो, ‘ल तिमीहरू यति चाँडै होली खेल्न निस्केका ?’ नन्दिनीले हरियो रङ हातमा राख्दै भनिन्, ‘सबै त निस्की सके ।’ सखिया पनि पिचकारी र रङ बोकेर निस्कन लागिन् । आमाले भन्नुभयो, ‘लौ है ∕ चाँडै आएस् । बाहिरको केही नखाएस् । मैले मालपुवा र लड्डु घरमै बनाएको हुन्छु, यहीँ आएर खानू ।’ सखिया खिसखिस हाँस्छिन् । आमाले थप सचेत गराउनुभयो, ‘केको हाँसो नि ? बाहिरको खानेकुरा खान हुन्न, होलीको दिन भाङ पनि मिसाइएको हुन सक्छ ।’


‘हुन्छ आमा हुन्छ ।’ यति भन्दै सखियाको टोली निस्क्यो । रमाइलो मौसम । निलो आकाशभरि सप्तरंगी बादल । कोही पिचकारीले रङसहितको पानी खेलिरहेका त कोही रङ मात्र उडाइरहेका । आहा कति रमाइलो ∕ त्यसैमा मिसियो सखियाको टोली ।


टोलका दाजुदिदीले विभिन्न खेल आयोजना गर्नुभएको रहेछ– हाँडी फुटाउने, डोरी नाघेर रङसहितको हन्डी फुटाउने । खुला चौरमा आयोजित होली कार्यक्रममा धेरै मान्छे भेला भएका थिए । छेउछाउमा विभिन्न प्रकारका मिठाई राखिएका थिए– जेरी, बर्फी, लालमन आदि । सखिया र उसका साथीहरूले खुब रमाइलो गरे ।


खेलमा पहिलो हुनेहरूले मिठाई–लस्सी खुवाउने भए । सखिया र उनका साथीहरूले पनि मिठो मानेर खाइदिए । आमाले भनेको कुरा भुसुक्कै बिर्सिए । खाँदाखाँदै सखिया र नन्दिनी हाँस्न थाले । सखियाले घुर्मैलो देख्न थालिन् । सबै हाँसिरहेका थिए । सखियाले आमाले भनेको झल्याँस्स सम्झिइन । अनि सबै साथीलाई लिएर हतारमा घर पुगिन् ।


आमाले लड्डु, मालपुवा बनाइसक्नुभएको रहेछ । तर उनलाई खाऊँजस्तो लागेन । बमिट हुन खोज्यो भन्दै बाथरुमतिर लागिन् । बमिटपछि दुई–तीनपटक लगातार पातलो दिसा पनि भयो । बाबाले तुरुन्त मेडिकलबाट डाक्टर अंकललाई ल्याउनुभयो । खुला ठाउँमा राखेको र सरसफाइ नगरी बनाइएको खानेकुरा खाएकाले यस्तो भएको डाक्टर अंकलले बताउनुभयो । केही औषधि पनि लेखिदिनुभयो ।


आमाले भनेको नमानी जथाभाबी मिठाई खाएकोमा उनलाई पछुतो भयो । आमाले छोरीलाई नै भनेर बनाइदिएको लड्डु र मालपुवा पनि खान सकिनन् । ‘आमा हजुरले भनेको ध्यान नदिएर मैले आफ्नो खुसी गरें । अबदेखि हजुरले भनेका सबै कुरा मान्नेछु, माफी दिनुस् ।’ यसो भनिरहँदा उनको टाउको निहुरिएको थियो । आमाले सखियाको अनुहार आफूतिर फर्काउँदै भन्नुभयो, ‘तिमीले यति भन्यौ खुसी भएँ, अबदेखि ठूला मान्छेले भनेको मान्नु ।’ उहाँले छोरीलाई अँगालोमा कस्नुभयो । सखियाले लामो सास फेरिन् ।

प्रकाशित : चैत्र ३, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?