२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जंगलको भाषा

दुर्गालाल केसी

काठमाडौँ —  
कुनै समय थियो  । हाम्रो देशमा मात्रै होइन, जंगलमा पनि राजा थिए  ।

जंगलको भाषा

जंगलका राजालाई ‘वनराजा’ भनिन्थ्यो । त्यो जाति हो कुसुन्डा । कुसुन्डा राजा थिए भने राउटे रैती वा जनता । जंगल बसेबापत राजालाई कर तिर्नुपर्ने भएकाले राउटेहरू कुसुन्डादेखि भाग्थे । राउटे अहिलेसम्म पनि गाउँमा बस्न मानिरहेका छैनन् । अझै पनि जंगलमै फिरन्ते जीवन बिताइरहेछन् । त्यस बेलाका राजा कुसुन्डा भने अहिले जंगलमा छैनन् ।


उनीहरू बास बस्न जंगलमा ओढार खोज्दै हिँड्थे । गाउँमा भिक्षा माग्थे । फेरि जंगलमै फर्केर खान्थे । समाजमा बस्ने, आफ्नै घरबास बनाउने, सम्पत्ति कमाउनेजस्ता काममा उनीहरूलाई कुनै चासो थिएन । आफ्नै भाषा, संस्कृति र परम्परा थियो । गाउँ बस्न थाले पनि अहिलेसम्म उनीहरूको आफ्नै जग्गाजमिन छैन । जंगल छेउछाउ ससाना घर बनाएर बसेका छन् ।


जंगली जीवन बिताएका मध्ये थोरै मात्र अहिलेसम्म जीवित छन् । जंगलमै बोल्ने गरिएको कुसुन्डा भाषा जान्ने त झन् दुई जना मात्रै । दाङको लमही नगरपालिका–६ कुलमोडमा बस्ने ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला कुसुन्डा मात्रै उक्त भाषा बोल्न जान्दछन् । उनीहरूको सेखापछि भाषा नै लोप हुन सक्ने भएकाले अहिले वनराजाका स–साना साथीहरू पनि कुसुन्डा भाषा पढ्न थालेका छन् । कहिले ज्ञानीमैयाकै घरमा पुगेर त कहिले विद्यालयको कोठामा बसेर उनीहरू भाषा सिकिरहेका छन् ।


घोराही उपमहानगरपालिका ५ धर्नास्थित महेन्द्र माविमा ७ कक्षा पढ्ने प्यूठानका रमेश कुसुन्डा आफ्नो जातिको भाषा सिकिरहेका छन् । आफ्नो पुस्ताको इतिहास आमाबुवाबाट सुने पनि उनलाई भाषा थाहा थिएन । अहिले नयाँनयाँ शब्द सिक्दा रमाइलो मानिरहेका छन् । ‘हामीलाई वनराजा भन्छन् । पहिले जंगलमा बस्दा छुट्टै भाषा रहेछ । घरमा नबोल्ने भएकाले सिक्न पाइएन,’ रमेशले भने, ‘अहिले सिक्न पाउँदा खुसी लागेको छ । रमाइलो पनि भइरहेको छ ।’


८ कक्षामा अध्ययनरत प्यूठानकै हिमा कुसुन्डा पनि नयाँनयाँ शब्द पढ्दै र लेख्दै गर्छिन् । कुसुन्डा भाषामा सोजाक भनेको नमस्कार हो । अहिले सबैजना साथीहरू नमस्कार गर्दा ‘सोजाक’ भन्छन् । हजुरको नाम के हो भन्दा ‘नु गिजी नटी’ भन्छन् । ‘धेरै शब्दहरू सिक्न थालेका छौं । अब धेरै कुरा बोल्न सकिन्छ,’ उनले भनिन्, ‘साथीहरूबीच यही भाषामा कुरा गर्न सुरु गरेका छौं ।’ प्यूठानकै श्याम कुसुन्डा ७ कक्षामा पढ्छन् । उनी पनि भाषा सिक्दै छन् । उनी अहिले आफ्नै भाषामा वाक्य बनाउने र साथीहरूसँग बोल्न सक्ने भइसकेका छन् ।


अहिले भाषा पढ्न दाङ, सुर्खेत र प्यूठानबाट २० जना कुसुन्डा साथीहरू जम्मा भएका छन् । उनीहरूलाई पढाउन सहजकर्ताका रूपमा कुसुन्डा भाषाको अध्ययन गरेका उदय आले छन् । उनले ज्ञानीमैया र कमलाको साथमा रहेर विद्यार्थीलाई भाषा सिकाइरहेका छन् । भाषा सिक्न कक्षामा कहिलेकाहीं साना बालबालिकासँगै वयस्कहरू पनि सहभागी हुने गरेको आलेले बताए । तीन महिनादेखि उनीहरू नियमित कुसुन्डा भाषा पढिरहेका छन् ।

भाषा जान्ने दुई जना महिला मात्रै बाँकी रहेकाले उनीहरूलाई मासिक ३ हजारका दरले भाषिक वृत्तिको व्यवस्था गरेर कक्षा चलाइएको भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । चार चरणमा ३ सय ६० घण्टाको पढाइ हुने उनले जानकारी दिए । पहिलो चरणमा खानपिन, सरसफाइ, नातागोता, घरायसी व्यवहारजस्ता आधारभूत कुरा सिकाइन्छ । दोस्रो चरणमा सामाजिक सम्बन्ध, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणसहित विज्ञ बन्नेखालको शिक्षा दिने अवस्थीले बताए । सबै चरणमा ९०/९० घण्टाको पढाइ हुन्छ । चार चरण पार गर्दा भाषामा विज्ञ भएर निस्कने उनको भनाइ छ ।


नयाँ पुस्ताले भाषा सिक्न थालेपछि ज्ञानीमैया र कमला पनि निकै खुसी छन् । ‘हामी मरेपछि भाषा पनि मर्ने चिन्ता थियो । नयाँ पुस्ताले नसिके कसले भाषा बचाइदेला ?,’ ज्ञानीमैयाले भनिन्, ‘आजसम्म सिक्ने कोही भएनन् । अब पढाइ हुन थालेपछि आशा लागेको छ ।’ कमला पनि नयाँ पुस्ताले सिक्न थालेपछि भाषा बच्नेमा आशावादी भएकी छिन् । ‘भाषा बाँचे कुसुन्डाको संस्कृति पनि बाँच्थ्यो । हाम्रो इतिहास बच्थ्यो,’ उनले भनिन्, ‘अब यी केटाकेटीले बचाउँछन् कि भन्ने आश लागेको छ ।’ कमला ज्ञानीमैयाका काकाकी छोरी हुन् । उनीहरूले जंगलको फिरन्ते जीवन भोगेका छन् । जंगलमा बाबुआमासँग सिकेको भाषा अहिलेसम्म उनीहरूलाई याद छ । उनीहरूका बुबाहरू मृगका चाल सुन्दै सिकारका लागि हिँड्थे । बालबच्चा र महिला ओढारमै बस्थे । बेलुकीपख ‘इङ्गिन चिर्ते’ अर्थात् ‘रात पर्‍यो जाऊँ’ भन्दै बुबाहरू बास बस्ने ठाउँमा आइपुग्थे । चार–पाँच जनाको समूह भएर वनमा तरुल खन्ने, धनुकाँड बोकेर सिकार खेल्ने गर्थे ।


जंगलमा घुम्ने, बस्ने वातावरण नभएको र अग्रजहरूको मृत्युपछि पछिल्लो पिँढी त्यत्तिकै लोप हुँदै गएको ज्ञानीमैयाले बताइन् । दाउरापानी नजिक हुने, सिकार गर्न पाइने, खेतीपाती गर्नु नपर्ने र एकान्तमा बस्न पाइने भएकाले जंगली जीवन रमाइलो लाग्ने गरेको उनले बताइन् । ‘तर बिस्तारै हाम्रो जातिको संख्या कम भएकाले जंगल छोड्नुपर्‍यो,’ उनले भनिन्, ‘समूहमा हिँड्न पुग्ने संख्या नभएपछि जंगलमा बाँच्ने अबस्था भएन ।’


उनीहरूले जंगल छोडेको धेरै भएको छैन । ज्ञानीमैया नौ वर्षकी हुँदा गाउँ पसेकी थिइन् । अरु पछिसम्म पनि जंगलमै थिए । कमला धेरै पछि गाउँमा आइन् । जंगलमा बस्दा सिकार खेल्ने क्रममा धेरैको लडेर मृत्यु भयो । कति बिरामी भएर बिते । बिस्तारै संख्या घट्दै गयो । अनि कुसुन्डा जाति जीवन बचाउन गाउँ पस्यो ।


कुसुन्डा विकास समाजका अनुसार दाङमा ९८ र देशभर २ सय ७३ जना कुसुन्डा छन् । सबैको बसोबास एकै ठाउँमा नभएकाले भाषा बोल्न र सिक्न समस्या भएको समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । नियमित पढाइ हुन थालेपछि भने सिक्न, सिकाउन सजिलो भएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?