कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रमाइलो होली

राजाराम पौडेल

काठमाडौँ — रंगीविरंगी अनुहार, हातहातमा रंग  । कसैसँग पिचकारी, कसैसँग सफा पानी भरिएका बेलुन  ।

रमाइलो होली

यसै गरी आपसमा रंग र पानी छ्याप्दै गत साता बालबालिका होलीमा रमे ।
पछिल्लो समय होली खेल्ने तौरतरिका बदलिएको छ । व्यवस्थित तरिकाले मनाउन थालिएको छ ।

बालबालिकालाई मन्टेश्वरी तथा स्कुलमा केही दिन अगाडिदेखि नै होली पर्वबारे जानकारी दिइन्छ । यसबाट उनीहरूले पर्वको महिमा मात्र नभई होलीमा गर्न हुने, नहुने कुरा पनि थाहा पाउँछन् । ती कुरा अनुसरण गर्छन् ।
गत बुधबार हिमाल–पहाड र बिहीबार तराईमा होली मनाइयो । अन्य उमेर–समूहका भन्दा बालबालिकाकै होली बढी रमाइलो देखिन्थ्यो । उनीहरूको आफ्नै शैली थियो । पहिले सबै मिलेर रंग, लोला र पिचकारी तयार पारे अनि आफ्नै साथीहरूलाई लगाइदिए । केही समय खेलिसकेपछि सबै आ–आफ्नो गन्तव्यतिर लागे ।


पोखराकी ६ वर्षीया आहना पौडेलले साथीहरूसँग होली मनाउँदा रमाइलो लागेको बताइन् । युकेजीमा अध्ययनरत उनी रंग लगाइदिँदै पिचकारीले पानी छ्यापाछ्याप गर्न पाउँदा मक्ख थिइन् । कक्षा दुईमा अध्ययनरत अभिनव कोइराला पानी बोकेर साथीहरूसँग रमाउँदै थिए । होली खेल्न पाउँदा रमाइलो लागेको उनले बताए । पश्चिमाञ्चल माविमा एलकेजीमा अध्ययनरत विनिसा थापा साथीहरूलाई रंग दलिदिँदै थिइन् । एक कक्षामा अध्ययनरत मानसी अधिकारी पनि दंग थिइन् ।


दुई कक्षामा अध्ययनरत नतिजा अर्याल र यूकेजीका सौरभ अर्यालले साथीहरूसँग मिलेर होली खेलेको बताए । कतिपयले साथीहरूसहित परिवारसँग होली मनाए । कति बालबालिकालाई होलीबारे थाहा नभए पनि रंग दल्दै, पानी छ्याप्दै उफ्रन, दौडन पाउँदा रमाइलो मानिरहेका थिए । होली खेल्दा चोटपटक लाग्ला भनेर अभिभावक उनीहरूलाई निगरानी गरिरहेका थिए । लेकसाइडको माहोल अझ बेग्लै थियो । त्यहाँ केही बालबालिका विदेशी पर्यटकसँग होली खेल्दै थिए । उनीहरूले रंग लगाइदिँदा पर्यटक खुसी भए । कति पर्यटक आफ्ना बाबुनानीलाई पनि खेल्न हौस्याइरहेका थिए । होलीलाई लक्षित गरेर लेकसाइडमा बाजागाजा, डिजे र कन्सर्ट व्यवस्था गरिएको थियो । रंगमा रंगिएर कन्सर्टमा झुम्न पाउँदा सबै खुसी थिए । यस्ता कार्यक्रमले बालबालिकासमेतलाई आकर्षित गर्‍यो । उनीहरू पनि कन्सर्टमा रमाए ।


पोखरामा बिहानैदेखि अनुहार रंग्याएर हिँडेका बालबालिकाको जमात देखियो । यो क्रम दिनभरि नै चलिरह्यो । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने होली खेल्ने तौरतरिकामा सकारात्मक परिवर्तन हुँदै गएको प्रस्ट देखिन्थ्यो । जबर्जस्ती रंग छ्याप्ने, लोला हान्ने क्रममा कमी आएको छ । यसमा बालबालिका उत्तिकै सचेत थिए । विभिन्न ठाउँमा आयोजित सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा पनि उनीहरूको बाक्लो सहभागिता देखिन्थ्यो । यस्ता कार्यक्रमले बालबालिकामा पर्व, कला संस्कृतिप्रति आकर्षण बढाएका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?