कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

छुट्टीको दिन

जानुका खतिवडा

काठमाडौँ — नौबज्न लागेको थियो  । आमा अफिसका लागि हतारिँदै हुनुहुन्थ्यो  ।

छुट्टीको दिन

सुयश टीभी हेर्दै बसेका थिए ।
‘हैन कति अटेरी भएको आज ? उठ, छिटो तयार होऊ ।’
आमाले भनेको त सुनेका थिए सुयशले तर उनी उठेनन् । टीभीमा उनको मनपर्ने कार्टुन आइरहेको थियो ।
आमा तयार भएर आउँदा पनि उनी त्यसैगरी टीभीकै अगाडि बसिरहेका थिए ।


‘कत्ति टीभीमा झुन्डिन सक्या होला ?’ आमाले झर्को मान्दै सुयशका हातबाट रिमोट खोसेर टीभी बन्द गरिदिनुभयो । सुयश रिसाएर अर्कोपट्टि फर्किए ।
‘ढिलो हुन लागिसक्यो, उठ बाबु ।’
‘नाइँ, आज त म जाँदै जान्नँ हजुरसँग ।’
‘नगएर के गर्छौ त ?’ सुयशको एकोहोरो जिद्दी सुनेर आमाको स्वर केही ठूलो भयो ।
‘घरै बस्छु,’ उनले अझै हठ गर्न छाडेनन् ।
‘एक्लै ?’ आमा अलि नरम हुनुभयो ।
‘अरू को छ त ? कोही नभएपछि एक्लै त बस्छु नि,’ सुयशले आमातिर नहेरी ठुस्किएरै जवाफ दिए ।
वार्षिक परीक्षा सकिएर स्कुल छुट्टी भएको थियो । एकल परिवार भएकाले घरमा अरू कोही मानिस थिएनन् । बुवा बिहानै अफिसका लागि निस्कनुहुन्थ्यो । फर्किने समयको टुंगो हँॅदैनथ्यो । स्कुल छुट्टी भएका बेला आमाले सुयशलाई पनि आफूसँगै अफिस लिएर जानुहुन्थ्यो । लामो बिदा परेकाले दिन आमाको अफिस जान सुयशलाई मन थिएन ।


‘धन्न हाकिम साब बुझ्ने हुनुहुन्छ र लिएर जान पाएकी छु । नत्र के हुन्थ्यो थाहा छ ?’ आमा दिक्क हुनुभयो । आमालाई काममा नगई पनि भएको थिएन । छोरालाई एक्लै घरमा छोड्न सक्ने अवस्था पनि थिएन । घडीको सुई जति माथि चढ्थ्यो, त्यति नै उहाँ हतारिनुहुन्थ्यो । ‘न खेल्ने कुरा केही छ, न बोल्ने मान्छे कोही छन् । सबै ठूला मान्छे भएका ठाउँमा म एक्लै मूर्तिजस्तो दिनदिनै जान्नँ म १’ सुयश रुन थाले ।‘अस्तिको कथाको किताब बोकेर हिड न त त्यही पढेर बस्नु हुन्छ,’ आमाले उनको कपाल मुसार्दै सम्झाउन खोज्नुभयो ।‘हजुरलाई थाहा छ त, त्यो कथाको किताब मैले सात चोटि दोहोर्‍याइसकेको, अझै कति पढ्नु ? पुस्तक मेलामा लान्छु, नयाँ किताब किनिदिन्छु, घुमाउन लान्छु भन्नुभाको हैन ? खोई ?’
सुयशको गुनासो आँसु र सुक्कसुक्कसँगै मिसिएर आएको थियो । आमाले केही जवाफ दिन सक्नुभएन । उहाँको अनुहार पनि अँध्यारो भएर आयो । कामको व्यस्तताले उहाँले सुयशलाई कतै घुमाउन पनि लान सक्नुभएको थिएन । उहाँको छुट्टी हँॅदा बाबा व्यस्त अनि बाबाको छुट्टी हुँदा उहाँको काम आइपर्ने हुन्थ्यो । सहरबजारमा बस्ने भएकाले बाहिर कतै एक्लै गएर खेल्ने ठाउँ पनि थिएन । साथ लगाएर पठाउन सक्ने खालको भरोसायुक्त मान्छे पनि कोही थिएनन् । डे केयर सेन्टरमा राख्न पनि सुयशको उमेर धेरै भइसकेको थियो । ‘अब के गर्ने होला ?’ आमाले निकै गम्भीर भएर विचार गर्नुभयो ।‘मेरा साथीका घरमा फोन गरिदिनुस् न आमा,’ केही बेरको मौनतापछि सुयशले सानो स्वरमा आमासँग अनुरोध गरे । सबै अभिभावक आफूजस्तै व्यस्त त होलान् । आफ्नै सन्तानको समस्या भइरहेका बेलामा अर्काका बच्चाको जिम्मा कसले लिइदेला र ? आमा सोचमग्न हुनुभयो । सुयशलाई स्कुल पुर्‍याउने, ल्याउने गर्दागर्दै उनका धेरै साथीका आमाहरूसँग उहाँको चिनाजानी बढेको थियो । फोन नम्बर पनि आदनप्रदान भएको थियो । अप्ठ्यारो लागे पनि एकपटक फोन गर्न चाहनुभयो । रोजन पनि एकल परिवारमा बस्ने भएकाले छुट्टीका बेला उनलाई मामाघरमा छाड्ने गर्नु हुँदो रहेछ । शशांकचाहिँ स्प्रिङ क्याम्पमा जान थालेका रहेछन् । रविन बुवाआमासँग गाउँतिर गएका रहेछन् । अर्जुन भने घरमै हजुरामासँग बस्दा रहेछन् । अर्जुनकी आमाले सुयशलाई पनि ल्याएर छाडिदिए हुन्छ भन्नुभयो । त्यो सुनेर सुयश पनि खुसी भए । अर्जुन र सुयश कक्षाका मिल्ने साथी थिए । हतारहतार सुयशलाई तयार पारी अर्जुनका घरमा छोडेर आमा अफिसतिर लाग्नुभयो ।


सुयशले आफूसँग भएका केही कथाका किताब, चित्र बनाउने कापी, कलर पेन्सिल र झोलामा खाजा लिएर गएका थिए । आमाले उनलाई ज्ञानी बनेर बस्नू भन्नुभएको थियो । सुयश र अर्जुनले आफ्ना किताब साटेर पढे । एकछिन् चित्र कोरे । अरू बेला हजुरआमा पनि घरमा एक्लै हुनुहुँदो रहेछ । दुई जना नातिहरू बोल्ने साथी पाएर उहाँ पनि खुसी हुनुभयो । नातिहरूसँगै उहाँले पनि चित्र कोर्नुभयो । उहिलेका डाँडापाखा गाउँघरका कथा सुनाउनुभयो । उहाँ दिउँसो कौसीमा बसेर धार्मिक पुस्तक पनि पढ्नुहुँदो रहेछ । सुयशलाई महाभारतको कथा सुन्न निकै मन पर्थ्यो । उनलाई हजुरआमाले महाभारतको र अरू दन्तेकथा सुनाउनुभयो । दिउँसो खाजा खाने समयमा सुयशले झोलाबाट चाउचाउ र बिस्कुट निकाले । हजुरआमाले त्यस्ता तयारी खानेकुराले स्वास्थ्यमा असर गर्छ भनी सम्झाउनुभयो । उहाँले बनाएको रोटी, तरकारी र अचार सुयश र अर्जुनले मीठो मानेर खाए । समय बितेको पत्तै भएन । आमा लिन आउँदा पनि सुयश र अर्जुन हजुरआमासँग कथा सुन्दै बसेका थिए । फर्किने बेलामा हजुरआमाले अबदेखि छुट्टीभरि सुयशलाई ल्याएर छोडिदिए हुन्छ भन्नुभयो । आमाले पनि उहाँलाई धेरै धन्यवाद दिनुभयो ।
-जानुका खतिवडा

प्रकाशित : चैत्र २४, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?