ह्याप्पी न्यु इयर

कान्तिपुर संवाददाता

काठमाडौँ — आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ  । नयाँ वर्षको पहिलो दिन हामीहरू सबैलाई रमाइलो लाग्छ, किनभने यो दिन आफ्ना परिवारका साथ नयाँ–नयाँ ठाउँ घुमेर, मीठा–मीठा खानेकुरा खाएर रमाइलो गरिन्छ  ।

परीक्षा सकेर रिजल्टसमेत आइसकेको र स्कुल पनि बिदा हुने यो बेला अझ बढी रमाइलो गर्ने मौका हुन्छ । नयाँ वर्षका दिन हामी नयाँ योजना, नयाँ सोच बनाउँछौं ।
संसारभर नयाँ वर्ष रमाइलोसँग मनाइन्छ । नेपालमा विक्रम सम्वत्को पहिलो महिना वैशाखको पहिलो दिन नयाँ वर्ष मनाइन्छ । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयांकनमा आधारित सौर्यपाक्रो हो । राजा वित्रमादित्यले सुरु गरेको मानिएको विक्रम सम्वत् नेपालमा आधिकारिक रूपमा चन्द्रशमशेरले सुरु गरेका हुन् । यो दिन सरकारले बिदा दिने गरेको छ । अंग्रेजी पात्रो (ग्रेगोरियन पात्रो) अनुसार जनवरी १ का दिन नयाँ वर्ष मनाउने क्रम पनि नेपालमा विस्तारै बढ्दै छ ।


तर नेपालको राष्ट्रिय नयाँ वर्ष भनेको वैशाख १ नै हो । यी २ दिनबाहेक नेपालका विभिन्न जाति, समुदायले पनि आआफ्नै तरिकाले नयाँ वर्ष मनाउँछन् । नेवारी समुदायमा नेपाल सम्वत् प्रचलनमा छ । यो समुदायले कात्तिक शुक्लपक्षको दिनलाई ‘न्हुदँ’ अर्थात् नयाँ वर्षको रूपमा मनाउँछन् । तामाङ, शेर्पा, गुरुङ, थकाली समुदायले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । थारू समुदायले माघ १ मा नयाँ वर्षका रूपमा माघी पर्व मनाउँछन् । नेपालमा मात्रै नभई विश्वभर नयाँ वर्ष मनाउने आ–आफ्नै चलन हुन्छ । हामीले नयाँ वर्ष मनाइरहेको समयमा अरू केही देशमा पनि नयाँ वर्ष मनाउने चलन छ ।

कुन देशमा कसरी मनाइन्छ ?

बंगलादेश
बंगलादेशमा अप्रिल १४ का दिन (यस वर्ष वैशाख १ मै परेको छ) नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको दिनलाई उनीहरू ‘पोहेला वैशाख’ भन्छन् ।

श्रीलंका
श्रीलंकाका सिंहाला समुदायले नयाँ वर्षलाई ‘अलुथ अवुरुद्ध’ भन्छन्, जुन अप्रिल १३ या १४ मा मनाइन्छ । यस दिनलाई उनीहरू परिवारका सदस्य सँगै बसेर खाने, साथीभाइ, आफन्त भेटघाट गर्ने, प्रार्थना गर्ने, विभिन्न खेल खेल्ने गर्छन् । श्रीलंकाकै तमिल समुदायले पनि अप्रिल १३ या १४ लाई नयाँ वर्षको रूपमा मनाउँछन् ।

भारत
भारतका राज्यहरू असम, पश्चिम बंगाल, उडिसा, पञ्जाब, तेलंगाना, आन्ध्रप्रदेश, त्रिपुरा र तमिलनाडुमा हिन्दु पात्रोअनुसार सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष मनाइन्छ, जुन अप्रिल १४ या १५ मा पर्छ । भारतका माडवारी र गुजराती समुदायले दिवाली (तिहारको लक्ष्मीपूजा) लाई नयाँ वर्षका रूपमा मनाउँछन् । असममा नयाँ वर्षको दिन पशुलाई पूजा गरिन्छ । पञ्जाबमा झाँगड नृत्य आयोजना गर्नुका साथै गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । राजस्थानमा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर रमाइलो गरिन्छ ।

चीन
चीनसहितका केही पूर्वी एसियाली मुलुकमा चिनियाँ नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको बिदा जनवरी २० देखि फेब्रुअरी २० को बीचमा पर्छ । बिदामा परिवारसँग बसेर मीठा–मीठा खानेकुरा खाइन्छ । यी मुलुकमा रातो चीज भाग्यको प्रतीक मानिन्छ । चीनमा मन्दिर तथा गुम्बामा भएका बुद्ध मूर्तिलाई हिमालको शुद्ध पानीले नुहाइदिने चलन छ । चिनियाँहरू खुसी र समृद्धिको प्रतीकका रूपमा घरको ढोकालाई रातो रंगले पोत्छन् । रातो बत्ती उडाउँछन् । घरका सदस्यलाई हतियारले चोट नलागोस् भनेर चक्कु लुकाउने गर्छन् । उनीहरू चोट लाग्दा सबै परिवारको भाग्य गुम्ने विश्वास गर्छन् ।

दक्षिणपूर्वी एसिया
भियतनाममा नयाँ वर्षलाई टेट भनिन्छ । यो भियतनामकै सबैभन्दा ठूलो पर्व मानिन्छ । म्यान्मारमा थिङग्यान भनिन्छ । नयाँ वर्ष अप्रिल १३ देखि १६ सम्म ४ या ५ दिनसम्म मनाइन्छ । यस बेला एकअर्कालाई पानी छ्याप्ने खेल खेलिन्छ । यसो गर्दा आत्माशुद्धि हुने विश्वास गरिन्छ । कम्बोडियाको नयाँ वर्षलाई चुल नाम मे भनिन्छ । यो अप्रिल १३ देखि १५ को बीचमा पर्छ । थाइल्यान्डमा नयाँ वर्षलाई सोङक्रान भनिन्छ । यो पनि अप्रिल १२ या १४ मा पर्छ । यस दिन थाईहरू एकअर्कालाई पानी छ्याप्छन्, जुन भगवान् गौतम बुद्धको आशिर्वादका रूपमा लिइन्छ । मंगोलियामा रातभर जाग्राम रहेर आमाबाबु तथा मान्यजनबाट आशिर्वाद लिई मीठा परिकार खाएर रम्ने चलन छ ।

अस्ट्रेलिया
पश्चिमी अस्ट्रेलियाका मुराडोर नामक आदिवासी समुदायले अक्टोबर ३० का दिन नयाँ वर्ष मनाउँछन् ।

खाडी मुलुक
उत्तरी इराक तथा उत्तरपूर्वी सिरिया, दक्षिण–पश्चिम टर्की र उत्तर–पूर्वी इरानमा ‘खाब निसान’ नामले अप्रिल १ का दिन नयाँ वर्ष मनाइन्छ । उनीहरू प्रकृतिको पुनर्जन्मका रूपमा नयाँ वर्ष मनाउँछन् । उनीहरू पार्टी, परेड गर्छन् र पारम्पारिक एसिरियन कपडा लगाउँछन् । इरानको नयाँ वर्ष मार्च २० या २१ मा पर्छ, जसलाई नोरुज भनिन्छ ।

इन्डोनेसिया
इन्डोनेसियामा मार्चको अन्त्यतिर ‘नेपी’ नामले नयाँ वर्ष मनाइन्छ । यस दिन मानिस नयाँनयाँ लुगा लगाउँछन् । मीठा–मीठा खानेकुरा खाएर आपसमा बधाई तथा शुभकामना व्यक्त गर्छन् ।

जापान
जापानीले जनवरी १ लाई शोगात्सु नामले मनाउँछन् । यस दिन देशभरका बुद्ध मन्दिरमा १०८ पटक घण्टी बजाइन्छ, जसबाट विगतमा गरिएका पाप पखालिने विश्वास उनीहरू गर्छन् । विश्वभरका समुदायको परम्परागत रूपमा आआफ्नै नयाँ वर्ष मनाउने चलन भएपछि आजकाल हरेक मुलुकमा जनवरी १ लाई नयाँ वर्ष मनाउने क्रम बढ्दै गएको छ । बेलायत, अमेरिका, फ्रान्सजस्ता देशमा नयाँ वर्ष लागेदेखि नै पटाका पड्काउने, आतिसबाजी गर्ने, घुम्ने, रमाइलो गर्ने, मीठा मीठा खानेकुरा खाएर रमाइलो गरिन्छ ।

दक्षिण कोरिया
दक्षिण कोरियामा नयाँ वर्षको पहिलो
दिनलाई चुसेओक भनिन्छ, जुन कोरियाको ठूलो पर्व मानिन्छ ।

अफ्रिका
अफ्रिकी मुलुक इथियोपियामा सेप्टेम्बर ११ मा नयाँ वर्ष मनाइन्छ । यसलाई
‘इन्कुटाटास’ भनिन्छ ।

मुस्लिम देश
विश्वभरका मुस्लिम समुदायले सेप्टेम्बर २२ लाई नयाँ वर्ष मान्छन्, यसलाई हिजरी भनिन्छ । उनीहरूले नयाँ वर्षमा कुनै न कुनै वाचा गर्छन् ।

नयाँ वर्ष मनाउने अचम्मका तरिका

इटाली
इटालीमा झ्यालबाट पुरानो फलाम र कुर्सी
फाल्ने चलन छ । यस्तै, सेन्ट मार्क्स स्क्वायरमा
जम्मा भई सामूहिक रूपमा चुम्बन गरिन्छ र धेरै
पटाका पड्काइन्छ ।
पनामा
पनामामा सकेसम्म ठूलो आवाज निकालेर हल्ला गर्ने चलन छ । यसो गर्न उनीहरू कारका हर्न बजाउँछन्, सिठ्ठी फुक्छन् र चिच्याउँछन् ।
इक्वेडर
इक्वेडरमा अन्डरवेयरमा महत्त्वपूर्ण कुरा टाँस्ने गरिन्छ, यसो गर्दा माया र पैसा आउने विश्वास उनीहरू गर्छन् ।
बुल्गेरिया
बुल्गेरियामा नयाँ वर्षको पहिलो दिनको पहिलो मिनेटमा बत्ती निभाउने चलन छ । यो समयलाई चुम्बन गर्ने समय मानिन्छ ।
मेसेडोनिया
मेसेडोनियामा घरमा बनाइएको पिज्जा खाने चलन छ । उक्त पिज्जाभित्र सिक्का राखिन्छ, जसले सिक्का पाउँछ, त्यो भाग्यमानी मानिन्छ ।
रूस
रूसीहरूले आफ्नो इच्छालाई कागजमा लेखेर बाल्छन् र त्यसलाई स्याम्पेनको गिलासमा राखेर नयाँ वर्ष सुरु नहुँदै पिउनुपर्ने मान्यता छ ।
ग्रिस
ग्रिसमा नयाँ वर्षको अघिल्लो दिन लसुनलाई घरको ढोकाअगाडि झुन्ड्याउने चलन छ, यसलाई आउँदो वर्षको पुनर्जन्मको रूपमा लिइन्छ र बाबुआमाले भोलिपल्ट आफ्ना छोराछोरीलाई टाउकामा लसुन बाँधेर उठाउँछन् ।
रोमानिया
रोमानियामा नयाँ वर्षको अघिल्लो दिन जनावरसँग कुरा गर्ने चलन छ । यदि कुरा गर्न सफल भयो भन्ने लागेमा अर्को वर्ष त्यो मानिस भाग्यमानी हुने विश्वास गरिन्छ ।
टर्की
टर्कीमा १२ बजेको घण्टी बज्नेबित्तिकै घरको ढोका खोलेर नुन छरिन्छ, यसो गर्दा घर र व्यवसायमा शान्ति र समृद्धि आउने विश्वास छ ।
डेनमार्क
डेनमार्कमा नयाँ वर्षका दिन छिमेकीको ढोकाअगाडि प्लेट फुटाउने गरिन्छ । जति बढी प्लेट फुटायो, नयाँ वर्षमा उति बढी भाग्य आउने विश्वास गरिन्छ ।
बेलायत
संयुक्त अधिराज्य र अन्य अंग्रेजी बोलिने देशमा मानिस एकआपसमा हात समाई गोलो भई स्कटिस कवि रबर्ट बर्न्सले लेखेको कविता ‘अल्ड ल्याङ सिन’ गाउँछन् ।
ब्राजिल
ब्राजिलमा हरेक नयाँ वर्षमा हजारौं ब्राजिलियन समुद्रमा सेतो फूल फ्याँक्छन्, जुन समुद्रदेवीलाई चढाएको मानिन्छ । समुद्रदेवीले आफ्ना इच्छालाई पूरा गर्ने विश्वास गर्छन् ।
जर्मनी
जर्मनीमा नयाँ वर्षको दिन पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ ।

अमृत दाहाल

प्रकाशित : वैशाख १, २०७६ १२:३०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

छुट्टीको दिन

जानुका खतिवडा

काठमाडौँ — नौबज्न लागेको थियो  । आमा अफिसका लागि हतारिँदै हुनुहुन्थ्यो  ।

सुयश टीभी हेर्दै बसेका थिए ।
‘हैन कति अटेरी भएको आज ? उठ, छिटो तयार होऊ ।’
आमाले भनेको त सुनेका थिए सुयशले तर उनी उठेनन् । टीभीमा उनको मनपर्ने कार्टुन आइरहेको थियो ।
आमा तयार भएर आउँदा पनि उनी त्यसैगरी टीभीकै अगाडि बसिरहेका थिए ।


‘कत्ति टीभीमा झुन्डिन सक्या होला ?’ आमाले झर्को मान्दै सुयशका हातबाट रिमोट खोसेर टीभी बन्द गरिदिनुभयो । सुयश रिसाएर अर्कोपट्टि फर्किए ।
‘ढिलो हुन लागिसक्यो, उठ बाबु ।’
‘नाइँ, आज त म जाँदै जान्नँ हजुरसँग ।’
‘नगएर के गर्छौ त ?’ सुयशको एकोहोरो जिद्दी सुनेर आमाको स्वर केही ठूलो भयो ।
‘घरै बस्छु,’ उनले अझै हठ गर्न छाडेनन् ।
‘एक्लै ?’ आमा अलि नरम हुनुभयो ।
‘अरू को छ त ? कोही नभएपछि एक्लै त बस्छु नि,’ सुयशले आमातिर नहेरी ठुस्किएरै जवाफ दिए ।
वार्षिक परीक्षा सकिएर स्कुल छुट्टी भएको थियो । एकल परिवार भएकाले घरमा अरू कोही मानिस थिएनन् । बुवा बिहानै अफिसका लागि निस्कनुहुन्थ्यो । फर्किने समयको टुंगो हँॅदैनथ्यो । स्कुल छुट्टी भएका बेला आमाले सुयशलाई पनि आफूसँगै अफिस लिएर जानुहुन्थ्यो । लामो बिदा परेकाले दिन आमाको अफिस जान सुयशलाई मन थिएन ।


‘धन्न हाकिम साब बुझ्ने हुनुहुन्छ र लिएर जान पाएकी छु । नत्र के हुन्थ्यो थाहा छ ?’ आमा दिक्क हुनुभयो । आमालाई काममा नगई पनि भएको थिएन । छोरालाई एक्लै घरमा छोड्न सक्ने अवस्था पनि थिएन । घडीको सुई जति माथि चढ्थ्यो, त्यति नै उहाँ हतारिनुहुन्थ्यो । ‘न खेल्ने कुरा केही छ, न बोल्ने मान्छे कोही छन् । सबै ठूला मान्छे भएका ठाउँमा म एक्लै मूर्तिजस्तो दिनदिनै जान्नँ म १’ सुयश रुन थाले ।‘अस्तिको कथाको किताब बोकेर हिड न त त्यही पढेर बस्नु हुन्छ,’ आमाले उनको कपाल मुसार्दै सम्झाउन खोज्नुभयो ।‘हजुरलाई थाहा छ त, त्यो कथाको किताब मैले सात चोटि दोहोर्‍याइसकेको, अझै कति पढ्नु ? पुस्तक मेलामा लान्छु, नयाँ किताब किनिदिन्छु, घुमाउन लान्छु भन्नुभाको हैन ? खोई ?’
सुयशको गुनासो आँसु र सुक्कसुक्कसँगै मिसिएर आएको थियो । आमाले केही जवाफ दिन सक्नुभएन । उहाँको अनुहार पनि अँध्यारो भएर आयो । कामको व्यस्तताले उहाँले सुयशलाई कतै घुमाउन पनि लान सक्नुभएको थिएन । उहाँको छुट्टी हँॅदा बाबा व्यस्त अनि बाबाको छुट्टी हुँदा उहाँको काम आइपर्ने हुन्थ्यो । सहरबजारमा बस्ने भएकाले बाहिर कतै एक्लै गएर खेल्ने ठाउँ पनि थिएन । साथ लगाएर पठाउन सक्ने खालको भरोसायुक्त मान्छे पनि कोही थिएनन् । डे केयर सेन्टरमा राख्न पनि सुयशको उमेर धेरै भइसकेको थियो । ‘अब के गर्ने होला ?’ आमाले निकै गम्भीर भएर विचार गर्नुभयो ।‘मेरा साथीका घरमा फोन गरिदिनुस् न आमा,’ केही बेरको मौनतापछि सुयशले सानो स्वरमा आमासँग अनुरोध गरे । सबै अभिभावक आफूजस्तै व्यस्त त होलान् । आफ्नै सन्तानको समस्या भइरहेका बेलामा अर्काका बच्चाको जिम्मा कसले लिइदेला र ? आमा सोचमग्न हुनुभयो । सुयशलाई स्कुल पुर्‍याउने, ल्याउने गर्दागर्दै उनका धेरै साथीका आमाहरूसँग उहाँको चिनाजानी बढेको थियो । फोन नम्बर पनि आदनप्रदान भएको थियो । अप्ठ्यारो लागे पनि एकपटक फोन गर्न चाहनुभयो । रोजन पनि एकल परिवारमा बस्ने भएकाले छुट्टीका बेला उनलाई मामाघरमा छाड्ने गर्नु हुँदो रहेछ । शशांकचाहिँ स्प्रिङ क्याम्पमा जान थालेका रहेछन् । रविन बुवाआमासँग गाउँतिर गएका रहेछन् । अर्जुन भने घरमै हजुरामासँग बस्दा रहेछन् । अर्जुनकी आमाले सुयशलाई पनि ल्याएर छाडिदिए हुन्छ भन्नुभयो । त्यो सुनेर सुयश पनि खुसी भए । अर्जुन र सुयश कक्षाका मिल्ने साथी थिए । हतारहतार सुयशलाई तयार पारी अर्जुनका घरमा छोडेर आमा अफिसतिर लाग्नुभयो ।


सुयशले आफूसँग भएका केही कथाका किताब, चित्र बनाउने कापी, कलर पेन्सिल र झोलामा खाजा लिएर गएका थिए । आमाले उनलाई ज्ञानी बनेर बस्नू भन्नुभएको थियो । सुयश र अर्जुनले आफ्ना किताब साटेर पढे । एकछिन् चित्र कोरे । अरू बेला हजुरआमा पनि घरमा एक्लै हुनुहुँदो रहेछ । दुई जना नातिहरू बोल्ने साथी पाएर उहाँ पनि खुसी हुनुभयो । नातिहरूसँगै उहाँले पनि चित्र कोर्नुभयो । उहिलेका डाँडापाखा गाउँघरका कथा सुनाउनुभयो । उहाँ दिउँसो कौसीमा बसेर धार्मिक पुस्तक पनि पढ्नुहुँदो रहेछ । सुयशलाई महाभारतको कथा सुन्न निकै मन पर्थ्यो । उनलाई हजुरआमाले महाभारतको र अरू दन्तेकथा सुनाउनुभयो । दिउँसो खाजा खाने समयमा सुयशले झोलाबाट चाउचाउ र बिस्कुट निकाले । हजुरआमाले त्यस्ता तयारी खानेकुराले स्वास्थ्यमा असर गर्छ भनी सम्झाउनुभयो । उहाँले बनाएको रोटी, तरकारी र अचार सुयश र अर्जुनले मीठो मानेर खाए । समय बितेको पत्तै भएन । आमा लिन आउँदा पनि सुयश र अर्जुन हजुरआमासँग कथा सुन्दै बसेका थिए । फर्किने बेलामा हजुरआमाले अबदेखि छुट्टीभरि सुयशलाई ल्याएर छोडिदिए हुन्छ भन्नुभयो । आमाले पनि उहाँलाई धेरै धन्यवाद दिनुभयो ।
-जानुका खतिवडा

प्रकाशित : चैत्र २४, २०७५ १२:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT