एसी मिलान जुनियर क्याम्प

काठमाडौँ — शान निरौला कक्षा ४ मा पढ्छन्  । १० वर्षीय उनले कहिल्यै सोचेका थिएनन्, युरोपियन क्लबस्तरका प्रशिक्षकबाट प्रशिक्षण लिन पाइएला भनेर  ।

एसी मिलान जुनियर क्याम्प

उनले विरलै देखेको सपना अहिले विपना बनेको छ । र, उनको विपनाको सारथि बनेको छ इटालीको चर्चित फुटबल क्लब एसी मिलान १ निशानजस्तै ८० जनाले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा ‘एसी मिलान जुनियर क्याम्प’ को प्रशिक्षण लिए । त्यसमा ७ देखि १७ वर्षका प्रशिक्षार्थी सहभागी थिए ।
चाबहिलका १० वर्षीय तेन्जिङ दावे लामा कक्षा ३ देखि नै फुटबल खेल्थे । अहिले पनि उनी नजिकैको ग्रासरुट फुटबल एकेडेमीमा दिनहुँ अभ्यास लिइरहेका भेटिन्छन् । फुटबल प्रशिक्षण आफ्नो निजी जीवनका लागि पनि प्रेरणादायी रहेको तेन्जिङको भनाइ छ । अहिले कक्षा ५ मा पढ्ने उनी भन्छन्, ‘बल पास दिनुभन्दा अघि आफ्नो साथीलाई हेर्नुपर्छ । यो क्याम्पबाट धेरै टेक्निकल पार्टबारे सिकें । सेल्फिस खेल्नु हुँदैन भनेर जानेँ । यसबाट मलाई आत्मविश्वास बढेको छ ।’ तेन्जिङको लक्ष्य ‘नामी फुटबलर’ बन्ने हो । निकै जोसिला देखिएका उनले आफ्नो खुसी पोखे, ‘यो मेरो फर्स्टटाइम पार्टिसिपेट हो, टु मच एक्साइटेड ।’
प्रशिक्षक आन्द्रे निकोली पनि प्रशिक्षार्थीको कौशलबाट सन्तुष्ट देखिए । उनी भन्छन्, ‘नेपाली बच्चा निकै ट्यालेन्ट रहेछन् । को–अर्डिनेसन पार्ट अलि कमजोर देखिरहेको छु । यसमा सुधार गर्न सकियो भने रिजल्ट राम्रो निस्कन्छ ।’
एसी मिलान क्लबसँग आबद्ध ४ प्रशिक्षकले ८० किशोर प्रशिक्षार्थीलाई ६ दिन प्रशिक्षण दिए । बिहान ९ देखि बेलुकी ५ बजेसम्म प्रशिक्षण दिलाइएको थियो । २०१७ मा भएको पहिलो क्याम्पमा १ सय २५ सहभागी थिए । बुटवल, पोखरा, तनहुँ, धरान, झापा, मोरङ, हेटौंडाबाट आएका ७ प्रशिक्षार्थीबाहेक सबै उपत्यकाभित्र विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थी छन् । प्रशिक्षक पाउलो कार्ली, आन्द्रे निकोली, ग्याब्रियल मारक्को र सिमोन बोनिनीले प्रशिक्षक दिलाएका थिए ।
नेपालमा यो क्याम्पको व्यवस्थापन एट्लान्टिक स्पोर्टस म्यानेजमेन्ट प्रालिले गरेको छ । चैत २४ बाट सुरु ६ दिने क्याम्प चैत २९ मा सकिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका प्रशिक्षार्थीको संख्या बढी छ । क्याम्पमा प्रशिक्षण लिन प्रतिव्यक्ति ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । त्यसबापत् प्रशिक्षणसँगै खाना, खाजा, ट्रेनिङ किट्स उपलब्ध गराइएको एट्लान्टिकले जनाएको छ ।
‘यस खालको ट्रेनिङले नेपाली बालबालिकालाई युरोपियन फुटबलबारे गाइड गरेको छ,’ एट्लान्टिक स्पोर्टसका संयोजक थमन भुसालले भने । उनका अनुसार ट्रेनिङका उत्कृष्ट एकलाई एसी मिलान क्लबको एकेडेमीमा एक साताको छात्रवृत्ति दिइनेछ ।
शब्द/तस्बिर ः प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशित : वैशाख १, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?