चराका कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — चरा र तिनका आनीबानीबारे जान्न मन छ ? वा, चराबाट केही सिक्न चाहन्छौ ? त्यसो हो भने बजारमा आएका कथा संग्रह ‘चराका कथा’ र चित्रकथा ‘चराहरूको घुमघाम’ पढ्न सक्छौ  । चराका कथामा गौँथलीको गुँड, चराको गीत, साझा घर र प्रकृतिको कुचिकार गरी चार कथा छन्  ।

गौँथलीको गुँडमा गौँथलीलाई हेरेर प्रणयको बानी सुध्रिएको जान्न पाइन्छ । चराको गीतमा चरिकोटका चराले सांगीतिक कार्यक्रम गरेर मीठामीठा गीत गाएको प्रसंगहरू छन् । साझा घरमा मानिसले आधुनिक घर बनाउन थालेपछि चराहरूको उठिबास भएको कुरा छ । प्रकृतिको कुचिकारमा चाहिँ फोहोर सिनो खाएर वातावरण स्वच्छ राख्न सघाउने गिद्धको कथा छ ।


चराहरूको घुमघाममा चरिकोटका चराले काठमाडौं उपत्यकाको भ्रमण गरेको वर्णन छ । ती चराले रानीवनको कागसँगै काठमाडौंको पशुपति, स्वयम्भू, हनुमानढोका दरबार, पाटनको चिडियाखाना र कृष्णमन्दिर अनि भक्तपुर घुम्दाको अनुभव त्यसमा छ । वातावरणलाई स्वच्छ, सफा र सुन्दर राख्नुपर्ने र सम्पदाको संरक्षण गर्नुपर्ने शिक्षा यसले दिन खोजेको छ । रत्न प्रजापतीका कथालाई परिचय पब्लिकेसनले बजारमा ल्याएको हो ।

प्रकाशित : वैशाख ८, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

पुतलीको बिहे

किरण पाण्डे

काठमाडौँ — पुतलीको बिहे भयो, जन्ती जान पाएनअँधेरी खोलाले लग्यो बरिलै...

यो गीत प्रत्येक वैशाख १ गते तनहुँको बन्दीपुरमा गुन्जिन्छ । यो दिन पुतलीको बिहे हो । अरु ठाउँबाट यहाँ पुग्ने जोकोहीलाई अनौठो लाग्छ, पुतलीको बिहे । कपडाबाट निर्मित पुतलीलाई सिँगारपटार गरी बेहुली बनाई सजाएर डोलीमा राखी मानिसकैझैं परम्परागत ढंगले बिहे गरेको दृश्य देख्न पाइन्छ । बालबालिकालाई लक्षित पर्व भए पनि ठूलाबडा पनि यसमा रमाउने गर्छन् । यो चलन अजी (पुर्खा) हरूले चलाएको हो । नेवारी परम्परामा जसरी बेलसँग बालिकाको विवाह सम्पन्न गरिन्छ, त्यस्तैगरी यहाँ पुतलीको विवाह पुतलीसँगै गराउने परम्परा छ ।

यो पर्वका दिन बिहानैदेखि पुतलीको सिँगारपटार गरेर विधिवत् पूजा गरिन्छ । दिउँसो ताम्दानी (डोली) मा राखेर दुई जनाले बोकी जन्तीहरूले गीत गाउँदै धिमे बाजाको तालमा गाउँ परिक्रमा गर्छन् । अन्तमा गाउँकै तीनधारामा पुतलीलाई बगाएर वनभोज गरेपछि सकिन्छ, पुतलीको बिहे । डोली बोक्नका लागि भने ‘कन्या केटी’ नै हुनुपर्ने चलन छ । स्थानीयका अनुसार बालबालिकाहरू वर्षैभरि कपडाको पुतली बनाई खेल्ने गर्छन् । करिब सय वर्षअघि त्यही कपडाको पुतलीलाई दुलही बनाएर बिहे गर्ने पर्व सुरु भएको मानिन्छ । अहिले सम्म यो चलनलाई स्थानीयले निरन्तरता दिँदै आएका छन् ।


प्रायः बन्दीपुरेहरू भक्तपुरबाट बसाइँसराइ गरी आएको मानिन्छ । भक्तपुरमा मनाइने प्रसिद्व बिस्काः जात्रा यहाँ पनि मनाइन्छ । सोही दिन पुतलीको पनि बिहे गर्ने परम्परा छ । तनहुँको सदरमुकाम कुनै बेला बन्दीपुर थियो । पछि दमौलीलाई बनाएपछि बन्दीपुरका स्थानीय कोही चितवन कोही राजधानीलगायत ठाउँमा बसाइँ सरे । यो पर्व मनाउन भनेर बसाइँसराइ गएकाहरू पनि आउने गरेको स्थानीय छाया श्रेष्ठले बताइन् ।

प्रकाशित : वैशाख ८, २०७६ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्