कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपत्मा परेका साथीहरु

विमल खतिवडा

 
असिना–पानीसहितको शक्तिशाली हुरीको विनाशले बारा र पर्सा जिल्लामा धेरै साथीहरू (बालबालिका) विचल्लीमा छन्  । हुरीले धेरैका घर भत्किए  ।

विपत्मा परेका साथीहरु

ती साथीहरूको किताब राखेको झोला पुरियो । किताब च्यातिए । अहिले पनि बेलाबेलामा हावाहुरीसहित असिना–पानी दर्किने गरेको छ । डर उत्तिकै छ । विद्यालय खुले पनि उनीहरूको पढाइ सुचारु हुन सकेको छैन । स्कुलसमेत भत्किएका छन् ।


डर अझै हटेको छैन । सानो हुरी आउँदा पनि सबै तर्सिन्छन् । डरले टेन्टभित्र लुक्न जान्छन् । अहिले घर छैन । सबैको बास टेन्टमा छ । हुरीले ८ वर्षीय एजाज आलमको घर पनि भत्कियो । त्यो रात एजाज मामाघरमा थिए । राति हुरी आएको थाहा पाए । हजुरबुवा–आमालाई सम्झे । रातभरि निदाउन सकेनन् । बिहानै दिदी नुसरत खातुनसँग घर पुगे ।

हजुरआमा सोवायव घाइते भएर अस्पताल लगेको थाहा पाए । घरका सबैलाई हजुरबा जाकिर मियाँ ठकुराईले बचाएका थिए । एजाज बारा ग्लोबल बोर्डिङमा कक्षा १ मा पढ्छन् । घरमा आएर समस्या सोध्नेहरूलाई राम्रोसँग नेपालीमा बोलेर बुझाउँछन् । उनको परिवार अहिले टेन्टमा बसिरहेको छ । गर्मी सुरु भएको छ । लामखुट्टेले सताएको छ । खाना टेन्टमा पकाउन मिल्दैन । बाहिरै पकाएर खानुपर्छ । हावाहुरीले फेरि टेन्ट उडाइदियो । बालबालिकाहरू बेलाबेलामा बिरामी पर्छन् । खानपान राम्रो छैन । कसैलाई ज्वरो, कसैलाई झाडापखालाले सताउने गरेको छ ।


उता स्वस्तिक एकेडेमीमा कक्षा १ मा पढ्ने १२ वर्षीय जमिर अन्सारीको घर भत्कियो । घटनामा ६ वर्षीय भाइ फयाजलाई गुमाए । अहिले घर छैन । घटना हुँदा उनको बैनी १३ दिनकी थिइन् । आमा रिक्मा खातुनले आफू घाइते भएर छोरीलाई बचाइन् । जमिरको किताव घर भत्किँदा पुरियो । पछि निकाल्दा किताबै च्यातियो । उनलाई किताबको माया लाग्यो । त्यही च्यातिएकै किताब पढेर परीक्षा दिए । यस्तो घटना उनले कहिल्यै कसैले भनेकोसम्म सुनेका थिएनन् । टीभीमा पनि देखेका थिएनन् । पहिलो पटक देख्दा तर्सिए ।


घर भत्किँदा भाइहरूलाई इँटाले लाग्यो । उनी जोगिए । तर साथीजस्तो भाइ बितेपछि निराश छन् । वार्षिक परीक्षा चल्दै गर्दा हुरी आयो । लामो समय विद्यालय बन्द भए । पछि सहज बनेपछि विद्यालय खुले । वार्षिक परीक्षा लिइसकेपछि फेरि बन्द भए । घर भत्किँदा केहीको टाउकोमा त केहीको हातमा चोट लाग्यो । बाँसका रूख उखेलिए । आँपका रूख ढले । गाउँ अन्धकार बन्यो । हुरी आउँदा अभिभावकलाई साना साथीलाई हुरीबाट जोगाउन समस्या भएको छ । साना साथी निराश देखिन्छन् । कोही भने खाना खाँदै गरेका भेटिन्छन् ।


राहतको रूपमा धेरैले चाउचाउ, चिउरा पाए । गाउँ हेर्न, राहत बाँड्न र अवस्था बुझ्न टाढाटाढाबाट अभिभावकसँगै साना साथी पनि पुगे । साथीहरूसँग सुखदुःख साटे । घटनामा २९ जनाको मृत्यु भयो । जसमा २ बालक र ४ बालिकाको मृत्यु भयो । बस्ने ठाउँ मात्र होइन, घर भत्किएर सामान पुरिँदा खाने अन्न भएन । बालबालिका बढी प्रभावित भए । सबैभन्दा बढी क्षति बाराको फेटा गाउँपालिकामा भयो । फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले बेलाबेला आउने हावाहुरी र असिनाले त्रास थप्ने गरेको बताए ।


तस्बिरहरू : इलिट जोशी

प्रकाशित : वैशाख १५, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?