कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुद्धको त्यो सहर

मनोज पौडेल

 
गौतम बुद्धले जहाँ बाल्यकाल र यौवनका दिनहरू बिताए, त्यो ठाउँ हो– तिलौराकोट  । बुद्ध जन्मिएका बेला २५ सय वर्षअघि कस्तो थियो होला त्यो सहर ? कस्ता घर थिए होलान् ? कस्तो जीवनशैली थियो होला ? यस्तो कुरा अनुसन्धान नगरी र त्यसका प्रमाण नभेटी थाहा हुन्न  ।

बुद्धको त्यो सहर

विभिन्न देशका विज्ञहरूसहित गरिएको उत्खनन् र अनुसन्धानले त्यति बेलाको बुद्धको सहर फेला परेको छ । केही दिनअघि मात्र सकिएको दुई महिनासम्मको उत्खनन्मा धेरै नयाँ कुरा भेटिएका छन् । कस्तो रहेछ त बुद्धको त्यो सहर ? जान्नका लागि यो पल्ट उत्खननस्थल तिलौराकोटतर्फ लागौं ।


शाक्य वंशीय राजधानी रहेको प्राचीन कपिलवस्तु (तिलौराकोट) मा ऐतिहासिक रूपाकृतिको सहर भेटिएको हो । चिनियाँ यात्रीद्वय पाँचौं शताब्दीमा आएका फायहान र सातौं शताब्दीमा आएका हृवेगंसाङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्यहरू भेटिँदै गएका छन् । बेलायतको डुर्‍हाम युनिभर्सिटी, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ संलग्न टोलीले गरेको उत्खनन्, अध्ययन र अन्वेषणले नयाँ तथ्यहरू फेला परेका हुन् ।

उत्खनन्का क्रममा व्यवस्थित सहर र घर पाइएका छन् । त्यस्तै तिलौराकोटभित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानवबस्ती फेला परेका छन् । ठाउँठाउँमा ठुल्ठूला भवनका संरचना, इनार र पोखरी पनि भेटिएका छन् । दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै कुरा पाइएको तिलौराकोट अध्ययन उत्खनन् परियोजना सहनिर्देशक वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए ।


यसपटक तिलौराकोटका ४ ठाउँमा उत्खनन् गरियो । मध्यक्षेत्रमा पाइएको सय बाई सय मिटर लम्बाइ–चौडाइको मध्यभागको प्रशासनिक भवन संरचनाको पश्चिमी सुरक्षा किल्ला पर्खालको उत्खनन् गरियो । त्यहाँ यस पटक १५ मिटर लम्बाइसम्म सुरक्षा पर्खाल भेट्टाइयो । त्यो ५० मिटरसम्म जाने अनुमान गरिएको छ । त्यहाँ ४ वर्षअघि जियोफिजिक्स (भूभौतिक सर्भे) गर्दा ठूलो संरचना पाइएको थियो । पछिल्लापटक भइरहेका उत्खनन्को मध्यभागको प्रशासनिक भवन संरचना मुख्य उपलब्धि हो । मुख्य प्रशासनिक भवन ईसापूर्व तेस्रो शताब्दीतिरको हो । पश्चिमी सुरक्षा किल्ला पर्खाल नजिक उत्खनन् गर्दा तामाको कुषाणकालीन २ सय ५२ सिक्का यस वर्ष भटिएको छ । यो सिक्का ईसाको दोस्रो शताब्दीतिर प्रयोग गरिन्थ्यो ।


त्यस्तै, अर्को महत्त्वपूर्ण उपलब्धि सन् २०१५ मा मध्यभागमा ३० बाई ३० मिटर लम्बाइ–चौडाइको पोखरी फेला परेको थियो । त्यो पोखरीको यस वर्ष अध्यनन गर्दा दुई किनारको छेउ (कर्नर) भेटिए । पूर्वपश्चिमतिरको उत्खनन्मा दक्षिण–पश्चिम पोखरीको कर्नर भेटियो । र, अर्कोतिर दक्षिण पूर्वतिरको कर्नर भेटियो । यो पोखरी २३ सय वर्ष पुरानो रहेको अध्ययनले देखाएको छ । यसले के देखाउँछ भने तिलौराकोट दरबारमा बस्ने राजा महाराजा पोखरी प्रयोग गर्थे । त्यही भएर यसलाई ‘रोयल ट्यांक’ भन्न सकिन्छ । यो अहिले पनि पोखरीकै रूपमा देखिन्छ । जमिनको २ मिटर तल २६ तहसम्म रहेको इँटाको मनमोहक पर्खाल देखिन्छ ।


त्यस्तै, समयमाई मन्दिरदेखि उत्तर–पश्चिममा २ वर्षदेखि गरिएको उत्खनन् स्थलमा यस वर्ष पश्चिमतिर बढाएर उत्खनन् गरियो । नयाँ संरचना पाइयो । त्यस्तै यसपटक नयाँ ठाउँ तिलौराकोट कम्पाउन्ड बाहिर रहेको कन्थक स्तूपमा पनि उत्खनन् गरियो । यो ठाउँमा बेलायती कर्मचारी वाडेलले सन् १८९८ मा खनेका थिए । त्यसपछि पहिलोपटक यस वर्ष उत्खनन् भयो । इँटाभन्दा पहिले प्रयोग गरिने माटोको स्तूपहरू फेला परेका छन् । संरचनाहरू भेटिएका छन् । भेटिएको तथ्यहरूको अनुसन्धान भइरहेको छ । अर्को वर्ष विस्तृत खोज गरिने बताइएको छ । राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गर्न दरबार छाडेर जाँदा सँगै लिएर गएको घोडा आधा बाटोबाट फर्काइएपछि दरबार आउँदै गर्दा तिलौराकोट नजिकै घोडा कन्थक मरेको थियो । त्यसैको सम्झनामा उक्त ठाउँमा कन्थक स्तूप राखिएको छ ।


यस वर्ष उत्खनन्मा माटोको मूर्ति, कुँदिएको इँटा, मानव मूर्ति र जनावरका मूर्ति फेला परेका छन् । कुमालेको माटोको भुङ्ग्रो, जाँतो आकारको टुक्रा र धातु पगाल्ने भाँडाकँॅडा पनि पाइएका छन् । दुई महिना भएको उत्खनन् केही दिनअघि मात्र सकिएको छ । यसपटक यहाँ अनुसन्धानका क्रममा भौतिक सर्भे, ड्रोन फोटोग्राफी, टोपोग्राफी, फिल्ड वाकिङ, सोसियो इकोनोमी र भिजिटर सर्भे गरी अनुन्सन्धान गरिएको थियो । बेलायती प्रयोगशालामा माटो, कार्बन डेटिङ परीक्षण गर्दा प्राचीनतम भएको विवरण आएको हो । भगवान् बुद्धको जन्म साढे २५ सय वर्षअघि भएको इतिहासमा उल्लेख छ । तर त्यसअघि नै भगवान् गौतम बुद्धको बाल्यकाल र युवा अवस्था बितेको तिलौराकोटमा गाउँको स्वरूपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्त्वविद् बताउँछन् । यहाँ ईसापूर्व आठौं शताब्दी (२८ सय वर्ष) अघि नै मानव बसोबास भएको पाइएको छ । त्यसको २ सय वर्षपछि ईसापूर्व छैटौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ । त्यति बेला घर बनाउन इँटाको प्रचल थिएन । खरको छानो, माटोको घरका भित्ता र काठबाँसको खाँबो गाडेर घर बनाउने प्रचलन थियो । जुन यहाँ ठाउँठाउँमा त्यत्तिखेरको माटो र काठबाँसको प्वाल (पोस्ट होल) फेला परिसकेको छ । २०१५ मा वैज्ञानिक कालक्रम निर्धारण गर्न संकलन गरिएको नमुनाले ईसापूर्व आठौं शताब्दीदेखि नै यहाँ मानव रहनसहन र बसोबास भएको प्रमाणित भएको छ । तिलौराकोट उत्खनन्को हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको डुर्‍हाम विश्वविद्यालय बेलायतका प्राध्यापक तथा प्रमुख पुरातत्त्वविद् डा. रविन कनिङघमले बताए ।


‘उत्खनन्ले ऐतिहासिक सहरबारे महत्त्वपूर्ण प्रमाण फेला परे,’ लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्रले भने, ‘त्यसैका आधारमा छिट्टै तिलौराकोट विश्व सम्पदामा सूचीकृत हुन्छ ।’ त्यसैले कोषले अहिलेदेखि तिलौराकोटमा विकासका काम थालेको छ । ‘तिलौराकोटलाई सफा गरी चिरिच्याट्ट बनाएर पर्यटकीय आकर्षण थप्ने काम भइरहेको छ,’ उनले भने, ‘एक वर्षभित्रै रूप परिवर्तन हुन्छ ।’ सन् २०१३ देखि यहाँ उत्खनन् अन्वेषण भइरहेको छ । पहिलो वर्ष लुम्बिनी विकास कोष र त्यसपछि जापान सरकारको जापनिज फन्ड इन ट्रस्ट (जेफिड) को सहयोगमा युनेस्कोमार्फत अध्ययन अन्वेषण भइरहेको हो । सन् २०१९ देखि २०२१ सम्म तेस्रो चरणका लागि पनि सम्झौता भई काम थालिएको हो । तेस्रो चरणमा विश्व सम्पदाका लागि प्रमाण संकलन गरी डकुमेन्टेसन गरिने काम अघि बढाइएको छ ।


उत्खनन्मा बेलायतको डुर्‍हाम विश्वविद्यालय र लार्टोब विश्वविद्यालय अस्ट्रेलियाका प्रोफेसर र प्राध्यापक १० सहभागी थिए । युनेस्को कन्सल्ट्यान्ट, पुरातत्त्व विभागका र लुम्बिनी विकास कोषका २० विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी छन् । केही दिन बंगलादेश, श्रीलंका र पाकिस्तानका पुरातत्त्वविद् पनि सहभागी थिए । त्यस्तै त्रिविविका इतिहास र संस्कृति पढ्ने १२ विद्यार्थी पनि सहभागी थिए । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थल भएको बौद्ध धर्मावलम्बी निक्कै महत्त्वपुर्ण मान्छन् । तिलौराकोट सन् १९९६ मा विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको थियो ।

प्रकाशित : वैशाख २२, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?