१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिटिल स्टार

कुशल तिमल्सिना

 यो पल्ट विभिन्न देशका चर्चित क्लबहरू पुगौं, जहाँ कलिलै उमेरमा फुटबलका सेलिब्रेटी बनिसकेका लिटिल स्टारहरूले कमाल देखाइरहेका छन्  ।

लिटिल स्टार

सानैमा विश्वभर चिनिएका यी लिटिल स्टारहरू अरू कोही नभएर फुटबलजगत्का उत्कृष्ट खेलाडीकै सन्तान हुन् । जो आफ्नो पिताको सफलतालाई प्रेरणा मानेर फुटबललाई भविष्य बनाउन प्रयासरत छन् । क्रिस्टियानो रोनाल्डोका छोरा रोनाल्डो जुनियरले युभेन्टस एकेडेमीको अन्डर–८ को टिमबाट देखाइरहेको कमाल र लियोनल मेस्सीका छोराहरू थियागो र माटेओको फुटबल रुचि गज्जबको छ । म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युरोका छोरा तथा डियगो म्याराडोनाका नाति बेन्जामिन एग्युरो, जो मेस्सीलाई गडफादर मानेर फुटबलका क्रेजी बनेका छन् । फ्रान्स र रियल मेड्रिडका महान् खेलाडी जिनेदिन जिदानेका चारै छोराहरू रियल मेड्रिड एकेडेमीको उत्कृष्ट उत्पादन बनेका छन् । ब्राजिलका सुपरस्टार स्ट्राइकर नेइमारका सन् २०११ मा जन्मेका छोरा डेभी लुक्काले बार्सिलोनाको एकेडेमीबाट फुटबल खेल्न थालेका छन् । ब्राजिलियन स्टार रोनाल्डिन्होका छोरा जोआओ मेन्डेस, जसले आफ्नो क्षमता देखाउन बाबुको परिचय गोप्य राखी ब्राजिलको क्रुजेरियो फुटबल क्लबमा ट्रायल पास गरे । प्रशिक्षण सम्झौतापछि मात्रै उनले आफू कसका छोरा हुन् भन्ने खुलासा गरे ।

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अहिले फुटबलजगत्का सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनीहरू विश्व फुटबलका सबैभन्दा ठूला सेलिब्रेटी पनि हुन् । हरेक अभिभावकमा सन्तानले आफ्नै पेसालाई निरन्तरता दिएको हेर्ने चाहना हुन्छ । जन्मजात सेलिब्रेटी बनेका रोनाल्डो र मेस्सीसँगै अन्य चर्चित फुटबलरका सन्तानहरू पनि आफ्नो पिताको पदचाप पछ्याइरहेका छन् । सानैदेखि व्यावसायिक फुटबलरलाई अभिभावकको रूपमा पाउँदा फुटबलप्रतिको मोह निश्चित रूपमा बढ्छ । यसले भविष्यमा आफ्नो लक्ष्य निर्धारण गर्न बालबालिकालाई सहज पनि हुन्छ । हामी यो पल्ट केही चर्चित फुटबलरका सन्तानका गतिविधिबारे जान्ने छौं, जो आफ्नो पिताको सफलतालाई प्रेरणा मानेर फुटबललाई भविष्य बनाउन प्रयासरत छन् ।


क्रिस्टियानो रोनाल्डो जुनियर


२१ औं शताब्दीकै उत्कृष्ट फुटबलरका रूपमा लिइएका फोर्चुगलका क्रिस्टियानो रोनाल्डोका चार सन्तानमध्ये जेठा हुन्, त्रिस्टियानो रोनाल्डो जुनियर । ३४ वर्षे पिताको पदचाप पछ्याउँदै क्रिस्टियानो जुनियर पनि फुटबल खेल्न थालेका छन् । स्पेनको रियल मेड्रिडबाट पर्याप्त सफलता बटुलेर उनका पिता क्रिस्टियानो रोनाल्डो इटालीको क्लब युभेन्टसमा अनुबन्ध भएपछि क्रिस्टियानो जुनियरले पनि युभेन्टसकै एकेडेमीबाट फुटबल खेल्न सुरु गरेका छन् । क्रिस्टियानो जुनियर अहिले ९ वर्षका भए । युभेन्टस एकेडेमीको अन्डर–८ टिमबाट खेलेका उनले फुटबललाई नै आफ्नो करिअर बनाएमा आफू खुसी हुने पिता क्रिस्टियानो रोनाल्डोले बताउँछन् । ‘ऊ फुटबलर बन्दै छ भन्दा म धेरै खुसी छु, किनभने उसले यस खेलको प्यासन महसुस गरेको छ,’ रोनाल्डोले भनेका छन्, ‘ऊ प्रतिस्पर्धी छ र उसले हार्न मन पराउँदैन ।’

थियागो मेस्सी

पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहसले विश्व फुटबल गर्मायो । यो अहिलेसम्म जारी छ । रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरभन्दा साढे २ वर्षले कान्छा थियागो, लियोनल मेस्सीका जेठा छोरा हुन्, जो अहिले ७ वर्षका हुन लागे । मेस्सीले आफ्ना छोरालाई अहिलेसम्म कुनै एकेडेमीमा भर्ना गरिसकेका छैनन् । तर, जेठो सन्तानलाई फुटबलबारे धेरै ज्ञान भएको र भविष्यमा फुटबलरका रूपमा देख्न पाइने आशा व्यक्त गरेका छन् । एक अन्तरवार्तामा मेस्सीले थियागो आफ्नो आलोचक रहेको बताएका थिए । उनका कान्छा छोरा माटेओ अहिले ४ वर्षका भए । ‘दुवैले फुटबल मन पराउँछन् । माटेओको तुलनामा थियागोले धेरै बुझेको छ र उसले ला लिगा, च्याम्पियन्स लिगबारे धेरै जान्न खोज्छ । मैले राम्रो खेल्न नसकेका बेला वा टिम हारेको बेलामा उसले मलाई धेरै प्रश्नहरू सोध्छ, रिपोर्ट देखाउँछ,’ मेस्सीले भनेका छन् ।

बेन्जामिन एग्युरो म्याराडोना

बेन्जामिन एग्युरो म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युरोका छोरा हुन् । त्यति मात्र होइन, उनीसँग फुटबलको लामो नाता छ । विश्वकै महान् फुटबलर डिएगो म्याराडोनाका नाति हुन्, बेन्जामिन । तीन महिनाअघि बेन्जामिनले दसौं जन्मदिन मनाएका छन् । बेन्जामिन सन् २०१४ को सुरुवातदेखि नै म्यान्चेस्टर सिटीको एकेडेमीमा फुटबल खेलिरहेका छन् । उनका हजुरबुबा म्याराडोनाले नातिलाई स्ट्राइकर पोजिसमा खेलेको हेर्न चाहेको बताएका थिए । लियोनल मेस्सीलाई आफ्नो गडफादर मान्ने बेन्जामिनले एकेडेमीमा फरवार्ड पोजिसनमै खेल्छन् । सर्जियो एग्युरो र म्याराडोनाकी छोरी जियानिन्ना म्याराडोनाले बेन्जामिन जन्मिएको ३ वर्षपछि नै सम्बन्धविच्छेद गरेका थिए ।

जिदाने दाजुभाइ


फ्रान्स र रियल मेड्रिडका महान् खेलाडी जिनेदिन जिदानेका २३ देखि १३ वर्षसम्मका ४ छोरा छन् । चारै दाजुभाइ रियल मेड्रिड एकेडेमीकै उत्पादन हुन् । जेठा छोरा एन्जो र माइला छोरा लुका सन् २००४ देखि रियलको एकेडेमीबाट फुटबल खेलिरहेका छन् । एन्जोले रियलको पहिलो रोजाइको टिमबाट खेलिसकेका छन् । गोलरक्षक लुका उपयुक्त अवसरको खोजीमा छन् । साइला थियोले सन् २०१० यता रियलको एकेडेमीबाट खेलिरहेका छन् । उनी क्लबको बी टिममा छन् । १३ वर्षीय कान्छा इल्याज पनि सन् २०१३ देखि रियलकै एकेडेमीबाट खेलिरहेका छन् । उनी पिता र दाइहरूको पदचाप पछ्याउँदै छन् ।

डेभी लुक्का


ब्राजिलका सुपरस्टार स्ट्राइकर नेइमारका छोरा डेभी लुक्का सन् २०११ मा जन्मिएका हुन् । उनले सन् २०१७ देखि बार्सिलोनाको एकेडेमीबाट फुटबल खेल्न थालेका छन् । डेभी जन्मँदा नेइमार ब्राजिलको सान्तोसमै फुटबल खेलिरहेका थिए । सन् २०१३ मा बार्सिलोनामा अनुबन्ध भएर ४ वर्ष बिताउने क्रममा नेइमारले आफ्ना छोरालाई बार्सिलोनाकै एकेडेमीमा भर्ना गरेका हुन् । फ्रान्सेली च्याम्पियन पीएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका नेइमारले आफ्नो छोरा कालियन एम्बाप्पेलाई मन पराउने उल्लेख गरेका थिए ।

जोआओ मेन्डेस


ब्राजिलका महान् खेलाडी रोनाल्डिन्होका छोरा जोआओ मेन्डेस अहिले १४ वर्षका भए । पिताको पदचाप पछ्याउँदै सफल फुटबलर बन्ने लक्ष्यमा रहेका मेन्डेस ब्राजिलको व्यावसायिक क्लबमा अनुबन्ध भएको समाचारले हालै विश्वभरका फुटबलप्रेमी अचम्मित बने । मेन्डेसले ब्राजिलको क्रुजेरियो फुटबल क्लबमा ट्रायल पास गरी प्रशिक्षणको सम्झौता गर्दासम्म पनि उनले पिताको नाम गोप्य राखेका थिए । पछि रोनाल्डिन्होको छोरा भएको थाहा पाएपछि क्लब प्रशासन नै अचम्मित बन्यो । फरवार्ड पोजिसनमा उत्कृष्ट बनेका मेन्डेसले पिताको नाम जोडेर क्लब फ्रशासनलाई अतिरिक्त दबाबबाट मुत्त गर्न यो चलाखी गरेका थिए, जसमा उनी सफल बने । क्रुजेरियो क्लबका ग्रासरुट फुटबल निर्देशक अमारिल्डो रिबेयरोले टेक्निकल रूपमा चुस्त र फिजिकल फिट पाएपछि क्लबका लागि उपयुक्त ठहरिएको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘मेन्डेस आफ्ना पिताजत्तिकै क्षमतावान् खेलाडी हुन् ।’

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?