विपत्मा साथ

कान्तिपुर संवाददाता

तराई–मधेसको बारा–पर्सा जिल्लामा हावाहुरी आएर धेरै घरपरिवार बिचल्लीमा परेको खबर हामीले सुनेकै हो  ।

त्यो विपत्ले धेरै बुबाआमाले बेहोरेको कठिनाइ र गाँसबासकै जोहो हुन नसकेको खबरका माझ काठमाडौंका केही स्कुले केटाकेटीले सहयोग गर्ने सोचे । काष्ठमण्डप विद्यालय र युलेन्स स्कुलमा पढ्ने ८ देखि १६ वर्षसम्मका केटाकेटीले आ–आफ्नो सीप देखाएर केही आफन्त र सहयोगीबाट पैसा संकलन गर्ने उपाय निकाले ।

‘हामीजस्तै ससाना साथीहरूको कापीकलम र स्कुले झोलासमेत हावहुरीले उडाएको खबर सुन्यौं, हाम्रो तर्फबाट थोरै भए पनि सहयोग पठाउन सकिन्छ कि भनेर यो काम गरेका हौं,’ युलेन्स ९ कक्षामा पढ्ने झापाका कोविदभूषण पाठकले भने, ‘हामीमध्ये कसैले उद्घोषण गर्‍यौं, कसैले पियानो बजायौं । अतिथि सत्कारमा पनि हामी जुटेका थियौं ।’ ‘सखा’ भन्ने समूह खोलेर भेला भएका ८ जना केटाकेटीले बखुण्डोलको म्युजिकोलोजी रेस्टुरेन्टमा एउटा सानो कार्यक्रम राखेका थिए । त्यहाँ १४ वर्षका कोविदभूषण र उनकी १२ वर्षीया वाणीभूषण पाठकले पियानो बजाएका थिए । अरू साना विद्यार्थीहरू सहिरा प्रसाईं, निष्ठा शर्मा, शुभश्री खड्का, सुदिति खड्का, शुभायु प्रसाईं र आरम्भज्योति शर्माले कार्यक्रममा समन्वयकारी काम गरेका थिए । रेस्टुरेन्टमा खान आएका आफन्त र अभिभावकबाट ५१ हजार ९ सय रुपैयाँ उठ्यो।


अर्को एउटा अवसरमा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वैशाख २२ गते काठमाडौंमा भेटेर उनीहरूले सहयोग हस्तान्तरण गरे। ‘यो सहयोग रकम बारा–पर्साका हामीजस्तै विद्यार्थी साथीभाइको किताब–कलम किन्ने काममा उपयोग होस् भनेर मुख्यमन्त्रीज्यूलाई भनेका छौं,’ कोविदले खुसी हुँदै सुनाए । मुख्यमन्त्री राउतले पनि ससाना स्कुले विद्यार्थीको सहयोग सही उपयोग हुने वचन दिएका छन् ।

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अभिनयमा जमेका कुशाग्र

कान्तिपुर संवाददाता

 काठमाडौं कोटेश्वरका कुशाग्र भट्टराई १० वर्षका भए  । सानै उमेरमा उनी सबैसामु परिचित छन्  ।

जब टेलिभिजन र फिल्मको पर्दामा देखिन थाले, तब चिन्ने दर्शक बढे । तीन वर्षकै उमेरदेखि टेलिभिजनको पर्दामा देखिन थालेका कुशाग्रले ६ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।


तीन वर्षको हुँदा उनले जगदम्बा ओपीसी सिमेन्ट तथा पशुपति बिस्कुटको टीभीसीमा मोडलिङ गरेका थिए । शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुलमा कक्षा ५ मा अध्ययनरत कुशाग्रले म्युजिक भिडियोमा पनि अभियन गरेका छन् । गायिका जुना प्रसाईंको स्वर रहेको ‘हाँस भने...’ गीतमार्फत पहिलो पटक म्युजिक भिडियोमा देखा परेका उनले आधा दर्जन म्युजिक भिडियो खेलिसकेका छन् । बेलाबेलामा र्‍याम्प फेसन सोमा क्याटवाक गर्दै दर्शकमाझ देखा पनि पर्छन् । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको छोटो फिल्म ‘ओ माई म्यान’ बाट उनी ठूलो पर्दामा देखिन थालेका हुन् ।


सानै उमेरमा राम्रो अभिनय गरेको भन्दै लामिछानेले नै ‘लम्फू’ फिल्ममा बाल कलाकारको रूपमा उनैलाई दोहोर्‍याए । हिमाल केसीले निर्देशन गरेको ‘पिँजडा ब्याक अगेन’ र ‘कोहलपुर एक्सप्रेस’ मा पनि अभिनय गरे । ‘पिँजडा ब्याक अगेन’ बाट उत्कृष्ट बाल कलाकारको रूपमा डी सिने एवार्ड– २०७५ हात पारे । यही फिल्मबाट कामना फिल्म अवार्ड२०७५ पाउन सफल भए । झरना थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर–३’ मा पनि उनले अभिनय गर्ने अवसर पाए ।
उनले अभिनय गरेको अर्को फिल्म ‘मारुनी’ प्रदर्शनको तयारीमा छ । फिल्म सुटिङका क्रममा उनले धेरै जिल्ला घुम्ने अवसर पाए । ठाउँ देखे । साना साथीहरू भेटे । सँगै फोटो खिचाए । नेपालगन्ज, कोहलपुर, पर्वत, पाल्पा, बुटबल पुगे । सबै ठाउँ राम्रो लाग्यो ।


‘राम्रो कलाकार बन्न मन छ,’ उनी भन्छन् । कुशाग्रलाई उनी अध्ययनरत स्कुलले कक्षा १० सम्म नै छात्रवृत्ति दिएको छ ।
विमल खतिवडा

प्रकाशित : वैशाख २९, २०७६ ११:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT