कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

छर्दै ज्योति

ओमप्रकाश ठाकुर

 
आऊ, यो पल्ट यस्ता एक युवकबारे जानौं– जसले दलित बस्तीमा पुगेर निःशुल्क ट्युसन पढाउँदै निरक्षर बालबालिकालाई स्कुल जान/पठाउन प्रेरित गरिरहेछन्  । अपांगता भएर आफू लठ्ठीको साहरामा हिँड्दै शिक्षाको ज्योति फैलाइरहेछन्  ।

छर्दै ज्योति

गरिबीका कारण पढ्न नसकिरहेका दलित समुदायका बालबालिकालाई किताब, कापी र कलम जुटाइदिने गरेका छन् । उनी हुन्– सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका–२ बबरगन्जका शिवनाथ राउत कहार । शारीरिक अपांगता भएका उनी लठ्ठी टेकेर हिँड्छन् । दलित समुदायका उनी निकै दुःख गरेर पढे/ शिक्षित भए । आफ्नो संर्घष र दुःखको अनुभवले उनलाई गरिबीकै कारण कुनै पनि दलित समुदायका बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भन्ने लाग्यो । ‘चेतना र गरिबीका कारण दलित बस्तीका बालबालिका विद्यालय जाँदैनन् ।

उनीहरू शिक्षाबाट वञ्चित नहोऊन् भनेर मैले निःशुल्क ट्युसन पढाइरहेको छु,’ शिवनाथले भने, ‘मेरो सानो मिहिनेतले गरिब र दलित बस्तीका बालबालिका नियमित विद्यालय जाने भएका छन् । निकै खुसी लागिरहेको छ ।’ शिवनाथ लठ्ठी टेकेरै चन्द्रनगर गाउँपालिकाका विभिन्न दलित बस्ती पुग्छन्, ट्युसन पढाउन । नाढीमन, किसनपुर, बर्कुर्वालगायतका बस्तीमा उनले निःशुल्क ट्युसन पढाउन थालेको १५ महिना भइसक्यो । उनले ट्युसन पढाउन थालेपछि ती बस्तीका बालबालिकामा पढाइप्रति रुचि बढेको छ । अभिभावकहरू पनि छोराछोरी पढाउन प्रेरित भएका छन् । स्कुल भर्ना भए पनि नियमित पढ्न नजाने र अभिभावकले पनि नियमित स्कुल नपठाउने गरेका बालकालिका अब नियमित स्कुल जान थालेका छन् । क्याम्पस पढिरहेका शिवनाथ बबरगन्जस्थित दुर्गा खोभारी माविमा पढाउने निजी स्रोतका शिक्षक पनि हुन् । बाँकी समय भने उनले दलित बस्तीका बालबालिकाकालाई ट्युसन पढाउन छुट्याएका छन् । ट्युसनका कारण विद्यालयको गृहकार्य गर्न सजिलो हुने भएकाले बालबालिकाहरू पढन जागरुक बनेको उनको अनुभव छ ।


उनले विभिन्न दाताको सहयोगबाट दलित बस्तीका बालबालिकालाई कापी, कलमलगायत शैक्षिक सामग्री किनेर दिने गरेका छन् ।
जन्मदर्ता नभएर विद्यालय भर्ना हुन नसकेका बालबालिकालाई वडाको सिफारिसमा भर्ना गर्न मद्दत पुर्‍याइरहेछन् । गत साता पनि उनले स्थानीय रामनाथ साह र दीपक ठाकुरको आर्थिक सहयोगमा विभिन्न दलित बस्तीका ४ सय ४० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरे । ‘मैले निःशुल्क ट्युसन त पढाएकै छु, तर कतिपय बालबालिकाको आर्थिक अवस्था कमजोर भएका कारण कापी कलमसमेत खरिद गर्न सक्दैनन्, त्यस्ता बालबालिकाका लागि स्थानीयसँग सहयोग मागेर शैक्षिक सामग्री खरिद गरेर वितरण गरेको छु,’ उनले भने ।


ग्रामीण क्षेत्रमा शिक्षाको पहुँचबाट वञ्चित भएका समुदायलाई निःशुल्क शिक्षा प्रदान गर्नु सकारात्मक भएको पूर्व शिक्षक रजनीकान्त झाले बताए । ‘अहिलेका प्रायः युवा पैसा कमाउन मात्र ध्यान दिन्छन्, तर शारीरिक रूपमा अपांगता रहेको एक युवक निःशुल्क रूपमा दलित बस्तीमा शिक्षाको ज्योति फैलाइरहेछन्,’ झाले भने, ‘आफैं शारीरिक रूपमा अपांगता भएका युवकले निःशुल्क शिक्षा प्रदान गर्नु प्रशंसनीय हो ।’

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?