१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ब्रेललिपिका सपनाहरु

मधु शाही

राविया खाँ १४ वर्ष पुगिन्  । बाहिरी आँखाले कुनै वस्तु देख्न सक्दिनन्  ।

ब्रेललिपिका सपनाहरु

दृष्टिविहीन छिन् । तर उनको मनको आँखाले ठूलो सपना देख्छ । पढेर भविष्यमा समाजसेवी बन्ने धोको छ । समाजसेवा गर्न त्याग चाहिन्छ । र, अध्ययन पनि । त्यसैले पढाइमा खटिएकी छन् । ब्रेललिपिबाट आधारभूत शिक्षा दिँदै गरेकी रावियालाई आफूप्रति ठूलो विश्वास छ । ‘म अरूभन्दा कम छैन,’ उनी भन्छिन्, ‘पढेर समाजसेवी बन्छु । आफूजस्तै दृष्टिविहीनको सेवा गर्छु ।’


नेपालगन्ज उपमहानगरपालिकास्थित मंगल माविमा उनीजस्ता १३ जना ब्रेल माध्यमबाट पढ्ने विद्यार्थी छन् । डुडुवा गाउँपालिका ३ मा बस्ने रोश्नी चौधरीलाई ब्रेलमा अध्ययन गर्दा रमाइलो लाग्छ । मानौं, उनी खेलौनासँग खेलिरहेकी छन् जस्तो महसुस हुन्छ । समय खेर फाल्दिनन् । घन्टौं ब्रेलमा औंला चलाएर बस्न मन पराउँछिन् । १० वर्षीया रोश्नीलाई चित्र कोर्न रमाइलो लाग्छ । ब्रेलमा त्यो सुविधा सजिलो छैन । वस्तु छोएर आकार पत्ता लगाउँदै ड्रइङ पेपरमा आकृति उर्ताने प्रयास गर्छिन् । ‘ठूली भएर चित्रकार बन्छु,’ उनी भन्छिन्, ‘रंग थाहा छैन, तैपनि कोर्छु ।’ उनले घर, फूल, धारालगायत वरिपरिका आकृति महसुस गरेर चित्र बनाउने गर्छिन् । अब्दुल तहिद ८ वर्षका पुगे । १ वर्षदेखि ब्रेलमा अक्षर सिक्दै छन् । उनीमा वस्तु छोएर छुट्याउने अनौठो कला छ । फलफूलको रंग उनले कहिल्यै देखेका छैनन । खाएर स्वादबाटै कुन फलफूल हो भन्ने पत्ता लगाउँछन् । ‘केराको आकार लाम्चो हुन्छ, खाँदा निकै मीठो लाग्छ,’ उनले भने, ‘रंग कस्तो हुन्छ, थाहा छैन । स्वाद महसुस गरेको छु ।’ चिसापानी बस्ने ९ वर्षे विशाल शाहीको सपना शिक्षक बन्ने छ । आँखाको ज्योति गुमाएका उनले ज्ञानको ज्योति बाँड्ने चाहना राखेका छन् । आफूजस्तै आँखा नदेख्नेलाई पढाउने रहर छ । कक्षामा पढाउने आफ्नै गुरु लक्ष्मीप्रसाद लामिछाने र शेरबहादुर बुढाबाट प्रभावित छन् ।


पहिला अलि देख्न सक्थे । उमेर बढ्दै गएपछि उनले अहिले पटक्कै देख्दैनन् । उनका साथी पुरन विकको लक्ष्य अनौठो छ । दृष्टिविहीन भए पनि भविष्यमा पुलिस भएर जनताको सेवामा सक्रिय हुने चाहना पालेका छन् । कहिलेकाहीँ उनले आफ्नो उद्देश्य सुनाउँदा धेरैले हाँसोमा उडाउँछन् । पुरनलाई त्यति बेला दुःख लाग्दैन, बरु हिम्मत थपिन्छ । बुबाले हरेस नखानु, मिहिनेत गर्नु, सफल अवश्य भइन्छ भन्दै सम्झाएको विशालको मनमा गहिरोसँग गडेको छ । उनका बुबा परिवार पाल्नका लागि मजदुरी गर्न भारत जान्छन् । एक्ली आमाको साहरा भएका उनलाई बुबाको परिश्रम सदुपयोग गर्नुछ । ५ वर्षदेखि ब्रेल शिक्षा सिकाउँदै आएका शेरबहादुर बुढाका अनुसार दृष्टिविहीन बालबालिका अरूका तुलनामा मिहिनेती हुन्छन् । उनीहरू अनुशासित र इमानदार पनि हुन्छन् । गणितीय र ज्यामितीय आकृति ब्रेलमा उर्तान गाह्रो हुँदा बालबालिकालाई समस्या पर्ने उनले सुनाए । ब्रेललिपिको आविष्कार लोएज ब्रेलले गरेका हुन् । सुरुमा १२ वटा थोप्लाबाट अक्षर चिनाइन्थ्यो । त्यो झन्झटिलो भएपछि अहिले ६ वटा थोप्लाबाट ब्रेल अक्षर चिन्ने गरिन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?