कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अभिभावक

मनोज पूर्वी नेपालको एक गाउँमा जन्मिएका थिए  । उनी अहिले सहरमा बस्छन्  ।

अभिभावक

उच्च शिक्षा लिन सहर पसेका उनले मालिनीसँग बिहे गरेर यतै घरजम गरे । मनोज म्यानपावरदेखि लिएर धेरैतिर काम गर्छन् । मालिनी प्राइभेट अफिसमा काम गर्छिन् । उनीहरूको एउटा छोरा छन्– मौसम । मौसम अहिले ६ वर्षका भए । उनी सहरको महँगो बोर्डिङमा १ कक्षामा पढ्छन् । उनलाई मनोज र मालिनीले घरमै ट्युसन पढाउने शिक्षक व्यवस्था गरिदिएका छन् । मौसमलाई पढ्न खासै मन लाग्दैन । बाबुआमा व्यस्त भएकाले मौसमले अभिभावकको मायाको न्यानोपन महसुस गर्न सक्दैनन् । कहिलेकाहीँ मौसमलाई नरमाइलो लाग्छ, किन कि उनी आफ्ना अभिभावकसँग रमाउन चाहन्छन्् ।


एक दिन आमाबुबाको छेउमा गएर मौसम लुटपुटिन्छन् । दुवैले झर्को मान्छन् । उनी निराश हुन्छन् । भन्छन्, ‘बाबा मामु मसँग खेल्नु न । घुम्न लानु न । पहाडको मामाघर र हाम्रो घरमा लानु न ।’ व्यस्तताले गर्दा आमाबुबाले मौसमको कुरालाई वास्तै गरेनन् । मनोजलाई रिस उठ्छ । छोरासँग बोल्न उनीहरूलाई फुर्सद छैन् । बल्लबल्ल आमाले जवाफ दिनुहुन्छ, ‘बाबु तिम्रै पढाइ लेखाइका लागि हामी दुःख गरेर पैसा कमाइरहेका छौं । जाऊ पप्पीसँग खेल । साथीहरूसँग खेल । अहिले तिमीलाई घुमाउन हामीलाई फुर्सद छैन ।’


मौसम यो जवाफले खुसी हुँदैनन् । धेरैबेर घोत्लिन्छन् र भन्छन्, ‘के मैले पैसा दिए भनेचाहिँ मसँग खेल्नुहुन्छ ? पैसा ठूलो कि म ?’
उनले यति गम्भीर कुरा गर्दा पनि आमाबुबाको मन पग्लिँदैन । मालिनी अचम्म मान्दै मनोजलाई हेर्दै भन्छिन् ‘आजकालका केटाकेटी कति चलाख ।’ विद्यालय पनि मौसम निराश देखिन्छन् । एक्लै बस्न मन पराउँछन् । खेल्न पनि खासै रुचि देखाउँदैनन् । साथीहरूसँग बसेर खाजा खाँदैनन् । मिल्ने साथी कुशलले सोध्छन्, ‘मौसम तिमीलाई के भएको छ ? बिरामी छौ ? पेट दुःखेको छ ?’


मौसम धेरैबेर मौन हुन्छन् । आँखाबाट आँसु बर्रर झार्छन् । अनि अवरुद्ध आवाजमा बोल्छन् ‘कुशल, मेरो बाबा र मामु मसँग कुरा गर्नुहुन्न । मलाई कतै घुमाउन पनि लानुहुन्न । तेरै लागि पैसा कमाइरहेका छौं भन्नुहुन्छ । तर मलाई पैसाभन्दा उहाँहरू प्यारो लाग्छ ।’
मौसमको कुरा सुनेर कुशल पनि खेल्न जाँदैनन् । दुवै जनाको अनुहार मलिन देखिन्छ । मौसमको निराश अनुहार देखेर साथी र शिक्षकलाई पनि नराम्रो लाग्छ । कुशलले मौसमको समस्या सबैलाई सुनाइदिन्छन् । रमा मिसले सम्झाउनुहुन्छ, ‘चिन्ता नगर मौसम । म तिम्रो बाबामामुसँग कुरा गर्छु ।’ छुट्टी भएपछि मौसमसँगै रमा मिस पनि उनको घरमा जान्छिन् । मनोज र मालिनी पनि आइपुग्छन् । रमा मिसले मौसमको अवस्थाबारे दुवै जनासँग कुरा गर्न चाहन्छिन् । तर उनीहरूले ध्यान दिँदैनन् । मिसलाई आफ्नो अपमान भएजस्तो लाग्छ । मुहारमा निराशा छाउँछ । उनी मौसमलाई हात हल्लाउँदै बिदा हुन्छिन् ।


मनोज आफ्नो कारलाई सबै चीजभन्दा धेरै माया गर्छन् । फुर्सद पायो कि कार सफा गरेर टल्काउँछन् । उनलाई महँगो सहरमा घर र गाडी जोड्न सकेकोमा गर्वको अनुभव छ । मालिनीले पनि उनलाई सघाइरहेकी छन् । एक दिन मौसम गृहकार्य गरिसकेर खेल्दैखेल्दै कार छेउमा पुग्छन् । उनको हातमा रंगीन पेन्सिल छ । चिल्लो र सफा कार देखेर उनलाई लेखौं लेखौं लाग्छ । केटाकेटी त हो । केरमेट गरिहाल्छन् । त्यहाँ लेख्न पाउँदा उनलाई निक्कै राम्रो काम गरेजस्तो लाग्छ । उनी बुबाआमा छेउ गएर भन्छन्, ‘बाबा मामु, हेर्नुस् न मैले कारमा के लेखेको छु ।’


उनको निर्दोष मुस्कान आमाबुबाको प्रशंसा पाउन आतुर थियो । तर मौसमको हाँसो एकछिनमै चकनाचुर हुन्छ । जब मनोज रिसले आक्रोशित हुन्छन् । छोरालाई पिट्छन् । धित मरुन्जेल गाली गर्छन् । छोराको हातमा पिट्दै भन्छन्, ‘तेरो चकचक गर्ने हात यही होइन ? अब कोर त मेरो कार । तेरो कपी हो मेरो कार ? खेल्ने ठाउँ हो ?’ मौसमको कलिलो मन छियाछिया हुन्छ । हातबाट भलभलती रगत आउँछ । रुँदारुँदै उनी बेहोस हुन्छन् । आमा हस्याङफस्याङ गर्दै आइपुग्छिन् । झकझक्याउँछिन् ‘मौसम, मौसम...।’ धेरै पटक बोलाउँछिन् तर उनी बोल्दैनन् । दुवै आत्तिन्छन् । मौसमलाई अस्पताल पुर्‍याउँछन् । दुवै आत्तिएर डक्टरलाई सोध्छन्, ‘डाक्टरसाब, हाम्रो छोरालाई ठीक त हुन्छ नि ? जसरी पनि ठीक पारिदिनोस्, हामी उसका लागि जति खर्च पनि गर्न तयार छौं ।’


डाक्टरले जवाफ दिन्छन्, ‘हामी कोसिस गर्छौं ।’ धेरै दिन लाग्यो मौसमको उपचार गर्न । हात इन्फेक्सन भएर चल्न नसक्ने भयो । बाबुको गाली र व्यवहारले मानसिक असर पनि परेछ । अब उनी पहिला जस्तो चञ्चल स्वभावका छैनन् । एकोहोरो हेरिरहन्छन्, अनि कम बोल्छन् । धेरै दिनपछि मनोज र मालिनी साथमा अपांगता भएको छोरो लिएर घर फर्कन्छन् । कैयौं दिनदेखि मनोजले कारको स्याहार गर्न पाएका थिएनन् । उनी जागर नलागे पनि कार पुछ्न् पुग्छन् । छोराको उपचारमा धेरै खर्च भइसकेको थियो । मनमनै सोच्छन्, ‘अब त यो कार पनि गुमाउने बेला भइसक्यो ।’ मौसमले लेखेका अक्षर अझसम्म पनि मेटिएका थिएनन् । उनका आँखा त्यता पर्छन् । मौसमले जानी/नजानी लेखेका थिए, ‘म बाबा मामुलाई धेरै माया गर्छु ।’

बालिका थपलिया

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?