१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रमाइलो फार्म

विमल खतिवडा

 
राजधानी काठमाडौंका धेरै बालबालिका प्रायः पढाइमै व्यस्त हुन्छन्  । किताबमा जे छ, त्यही पढ्छन्  ।

रमाइलो फार्म

किताबमा भएका कुराहरू कहाँ पाइन्छ, कस्तो हुन्छ भनेर हतपत हेर्न पाउँदैनन् । कुखुराको चल्ला, बाख्राको पाठा, भेडा, हाँस, टर्की, बट्टाई, गाई, भैंसी, खरायोबारे किताबमा पढेका हुन्छन् । तर धेरैले प्रत्यक्ष देख्न पाएका हुँदैनन् । छुन पाएका हुँदैनन् । बुझ्न पाएका हुँदैनन् ।


ललितपुरको एकान्तकुनाबाट ७ किमि टाढा गोदावरी नगरपालिका ६ छम्पीमा यस्तै कुराहरू हेर्न र बुझ्न पाइने एउटा थलो छ– ‘इडु फार्म’ । बालबालिकालाई धेरै कुरा बुझाउने/सिकाउने एउटा छुट्टै संसारझैं लाग्ने गरी यो फार्म बनाइएको छ ।


फार्म छिरेलगत्तै बाटोमै छ ‘ट्री हाउस’ अर्थात् रूखमा बनाइएको घर । जसमा सुत्न, बस्न मिल्छ । केही साना साथीले यो घरमा बर्थडेसमेत मनाएका छन् । रूखलाई घेरेर बाँसको भाटाले बारेर घर बनाइएको हो । फलफूलका बोट धेरै भएकाले फार्ममा हरियाली छ । हलुवावेद, कागती, सुन्तला, आरु, आँप, लप्सी, केरा, एभोकाडोका रूखहरू छन् ।

यी फलफूलको महत्त्व र कहिले फल्छ भन्नेबारे जानकारी दिइन्छ । बोट चिनाइन्छ । फल पाकेको बेला परे स्वाद चखाइन्छ । सुरुमा पुग्नेहरूलाई फार्मका म्यानेजर दीपक थापाले फार्ममा के के छ भनेर जानकारी गराउँछन् । गाईको मोही, मकै र कागती पानी चखाउँछन् । यति भएपछि घुम्न आउनेहरू खेल्दै फार्म डुल्छन् । कोही ढुंगामा जम्प गर्दै रमाउन व्यस्त हुन्छन् । कतै कुखुरा चरिरहेका हुन्छन् । हाँस पानीमा डुबुल्की मारिरहेका देखिन्छन् । खरायाका बच्चाहरू दगुर्दै खेलिरहेका भेटिन्छन् ।


बट्टाई र टर्कीले सबैलाई मोहित बनाउँछन् । लस्करै बनाइएका खोरहरू हेर्दा चिडियाखानाजस्तो लाग्छ । गत साता पुग्दा कतिपय बालबालिका बाख्रा, भेडाको पाठो, गाईसँग खेलिरहेका भेटिए । कोही छोएर रमाइरहेका थिए भने कोही बोक्न पाएर खुसी देखिएका थिए । खेतीकिसानीमा प्रयोग हुने हलो, जुवा, कुटो, कोदालो, हँसियालगायत सामग्रीको संग्रहालय नै छ । त्यहाँ पुगेर बालबालिकाहरू केहीबेर अडिन्छन् । कुन सामान केका लागि प्रयोग गरिन्छ भनेर जानकारी लिन्छन् । आडैमा रहेको तरकारी बारीमा पुगेर कसरी तरकारी फल्छ, कुन सिजनमा के फल्छ भन्नेबारे सोध्छन्, थाहा पाउँछन् । बालबालिकाले खेतीपातीमा पानी लगाउन पनि पाउँछन् ।


यतिखेर फार्ममा फूल फुलेका छन् । परिवारसहित आउनेहरूका लागि बस्ने ठाउँ छ । साँझ बिहान चरा कराउँछन् । रंगीचंगी चराहरू देख्न पाइन्छ । राति पनि बस्ने गरी आउनेले यहीँको अर्ग्यानिक खानेकुरा खान पाउँछन् । बिहान उठेर बारी खन्छन् । तरकारी टिप्छन् । गाई दुहेको हेर्छन् । सकेमा आफैं पनि दुहुन्छन् । बाख्रालाई घाँस दिन्छन् । कुखुरा, हाँसलाई चारो खुवाउँछन् । ‘फार्म विद्यार्थीमैत्री रहेछ,’ पुरानो बानेश्वरस्थित स्टेप बाई स्टेप बोर्डिङकी शिक्षक जमिता खनालले भनिन्, ‘घुम्न आएका सबै विद्यार्थी खुसी भए ।’ फार्ममा घुम्न आउने धेरै हुन्छन् । काठमाडौंका विभिन्न स्कुलका शिक्षकहरू विद्यार्थी लिएर आउँछन् । एकान्त भएकाले होहल्ला हुँदैन । घुम्न आउने विद्यार्थीले समय बितेको पत्तो पाउँदैनन् ।


फार्ममा छिरेको एक जनाले एक सय रुपैयाँ तिर्नुपर्छ । ‘अभिभावक धेरै आउनुहुन्छ,’ म्यानेजर थापा भन्छन्, ‘रात बसेर बिहान कृषिमा केके गरिन्छ, सबै कुरा छोराछोरीलाई देखाएर/सिकाएर फर्किनुहुन्छ ।’ फार्म १८ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्लस टु पढ्नेहरू पनि कृषिमा रुचि राखेर हेर्न आउँछन् । ‘किताबबाट ज्ञान त पाइहालिन्छ,’ थापा भन्छन, ‘व्यावहारिक ज्ञान दिनका लागि यस्तो फार्म सञ्चालनमा ल्याएका हौं ।’ फार्म तयार पार्न १४ महिना लाग्यो । सञ्चालनमा आएको ६ महिना भयो । फार्मको उद्देश्य कृषि क्षेत्रको व्यावहारिक शिक्षा दिनु हो ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?