कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चेसका उदाउँदा तारा

नुमा थाम्सुहाङ

 
नेस बुद्धिको खेल हो, जहाँ आफ्नो प्रतिपक्षीको दिमागसँग खेल्नुपर्छ  । भनिन्छ, चेस जति खेल्यो, उति बुद्धि बढ्दै जान्छ  ।

बालबालिकालाई चलाख बनाउन चेस खेल्न लगाउनु राम्रो मानिन्छ । हालै सम्पन्न काठमाडौं मेयर कप उमेरसमूह बुद्धिचाल प्रतियोगितामा यू–१६ खुलातर्फ आशिष पाण्डे, यू–१२ छात्र र छात्रातर्फ क्रमशः कुशल बेल्बासे र एलिशा तामाङ विजेता बने । १ सय ५२ जना प्रतियोगीलाई पराजित गर्दै उनीहरू आफ्नो समूहको च्याम्पियन बनेका हुन् । योपल्ट चेस खेलका यी उदाउँदा ताराहरूबारे जानौं :

एलिशा तामाङ

अन्नपूर्ण मावि कक्षा ७ मा पढ्दै गरेकी १२ वर्षीया एलिशा बुवा लवाङ तामाङ र आमा ज्ञानीमायाकी छोरी हुन् । कक्षा पाँच पढ्दादेखि नै उनी चेसप्रति आकर्षित भइन् । काभ्रेपलाञ्चोककी एलिशा अहिले काठमाडौंको ठमेलमा बस्छिन् । घरमा बाबासँग खेल्ने गरेकी उनले भनिन्, ‘मलाई बाबाले नै चेस खेल्न सिकाउनुहुन्छ ।’ उनी चेस खेलेर जित्छु भन्ने मात्र होइन, त्यसका लागि कडा मिहिनेत पनि चाहिन्छ भन्ने ठान्छिन् । ‘जित्नका लागि खेल्ने गरेकी मलाई खेलमा जित्छु भन्ने विश्वास बढेको छ,’ उनले भनिन्, ‘भविष्यमा के बन्ने भनेर योजना बनाइसकेकी छैन, तर खेलकुदबाटै केही गर्छु भन्ने लागेको छ ।’ यो प्रतियोगितामा प्रथम भएर परिवारको विश्वासलाई सावित गर्न सकेको उल्लेख गर्दै उनले भनिन्, ‘आमाबुवाको विश्वासलाई मैले पूरा गरेँ ।’


आशिष पाण्डे

१६ वर्षका आशिषले यो वर्ष एसईई सके । उनको घर उर्लाबारी–३ मोरङ हो । डायनामिक चेस क्लब दमक, झापाबाट प्रतियोगितामा भाग लिएका उनी काठमाडौं मेयर कप उमेरसमूह बुद्धिचालअर्न्तगत १६ वर्षमुनि खुला समूहको विजेता बने । शारदा र घनश्याम पाण्डेका छोरा उनले भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएका छन् । सुरुमा नरेन्द्र मेमोरियल स्कुलमा भएको चेस प्रतियोगितामा ३८ औं स्थान आउँदा निकै नरमाइलो महसुस गरे । ‘त्यसपछि अबको खेलमा जसरी नै जित्छु भन्ने अठोट गरेँ, नभन्दै पूरा गरेर देखाएँ,’ उनले भने । नेपालको प्रतिनिधित्व गर्दै उनी भारतको अहम्दाबादमा भएको यू–१६ ओलम्पियाड च्याम्पियनसिपमा ४ जना समूहमा सहभागी भएका थिए । विजेता हुन नसके पनि त्यसमा धेरै कुरा सिक्ने अवसर मिलेको उनले बताए । उनले परिवारबाट पूर्ण सहयोग पाएका छन् । ‘ममीले सपोर्ट नगर्नुभएको भए आज म यहाँ हुने थिइनँ,’ आशिषले सुनाए, ‘यो सबै उहाँको माया र साथले सम्भव भएको हो ।’ अर्को धन्यवादका पात्रका रूपमा उनले सुरुमा चेस खेल्न सिकाउने सर निरज निरौलालाई सम्झिए । ‘निरज सरले कक्षा ६ देखि चेस खेल्न सिकाउनुभएको थियो,’ उनले भने, ‘झापाबाट यहाँसम्म आएर मेरो मिहिनेत र परिवारको विश्वासलाई मैले प्रमाणित गर्न सकेँ ।’ दिनको २ घण्टा चेस खेल्ने गरेका उनीसँग सिधा तरिकाले यो खेल जित्न नसकिने अनुभव छ । ‘प्रतिपक्षीको दिमागसँग खेल्नुपर्छ, आफ्नै ट्रिक लगाएर खेले मात्र सफलता पाउन सकिन्छ,’ उनले भने ।

कुशल बेल्बासे

त्रियोग मावि कक्षा ८ मा अध्ययनरत १२ वर्षका कुशल नामले मात्र होइन, खेलमा पनि नामजत्तिकै सिपालु छन् । आमा शान्ता बेल्बासे र बुवा योगराजका छोरा उनी यू–१२ छात्रतर्फका विजेता हुन् । काठमाडौं धापासीका कुशलले कक्षा ६ बाट चेस खेल्न थालेका थिए । उनले घरमा बहिनी, स्कुलमा सर र साथीहरूसँग खेल्ने गरेको बताए । ‘सुरुमा खेल्दा हारेको हार्‍यै गर्थेँ,’ उनले भने, ‘यही हारले गर्दा झनै रुचि बढ्दै गयो । अघि बढ्ने प्रेरणा मिल्यो ।’ धेरैवटा हारको अनुभवसँगै अब भने जित्छु भन्ने विश्वास यो खेलबाट पाएको सफलताबाट मिलेको उनले सुनाए । ‘यो खेल जितेर निकै खुसी र उत्साहित छु,’ उनले भने, ‘यसले अझ प्रेरणा मिलेको छ ।’ भविष्यमा अन्तर्राष्ट्रिय स्तरको चेस प्लेयर बन्ने उनको सपना छ । सफ्टवेयर इन्जिनियर बन्ने लक्ष्य पनि उनले लिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?