कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईदमा रमाएका साथीहरु

कपिलवस्तुको कृष्णनगर नगरपालिका लक्ष्मीनगरका ८ वर्षे रेयान मिर्जा बुधबार बिहानै ६ बजे उठे  । सूर्योदयअघिको नमाज पढे  ।

ईदमा रमाएका साथीहरु

नुहाए । नयाँ टोपी लगाए । नयाँ कुर्ता–पाइजामा लगाए । चिटिक्क परे । सुगन्धित अत्तर छरे । कृष्णनगरको जलमोना इंग्लिस बोर्डिङ स्कुल कक्षा ३ मा पढ्ने उनी अभिभावक मिर्जाअरशद वेगसँग बिहान साढे ७ बजे मस्जिद पुगे । ८ बजे मस्जिदमा विषेश नमाज पढे । घर फर्के । छरछिमेकका मुस्लिम र हिन्दु साथीसंगीसँग अंकमाल गरे । खुसियाली साटासाट गरे । ठूलासँग आशीर्वाद लिए । केही साथीलाई घरमा बोलाएर सेबई र गुलियो मिठाई खान दिए । ‘अर्को वर्ष अझ राम्ररी धेरै साथीभाइ बोलाएर ईद मनाउँछु,’ उनले भने ।


उनले जस्तै कपिलवस्तु नगरपालिका ३ गौढी चोकका ८ वर्षे ईशान खानले पनि बिहानै नुहाएर नयाँ कुर्ता–पाइजामा लगाए । अभिभावकसँगै छोट्की तौलिहवास्थित बड्की मस्जिद पुगे । विषेश नमाज पढे । साढे ८ बजे घर फर्के । अभिभावकसँग आशीर्वाद लिए । तौलिहवास्थित शान्ति निकेतन इंग्लिस बोर्डिङ स्कुल कक्षा ३ मा पढ्ने उनले साथीभाइसँग गलामिलाएर शुभकामना आदानप्रदान गरे । खुसियाली साटासाट गर्न दुधमा पकाएको सेबई ख्वाए । खजुर पनि खान दिए । ‘अधिकांश मेरा हिन्दु साथी थिए,’ उनले भने, ‘सबैलाई हाम्रो विशेष पक्वान्न सेबई ख्वाएर पठाएँ ।’ उनले साथीहरूलाई ईदबारे पनि बताए । सबै खुसी भए, दङ्ग परे ।


अरबी पात्रोअनुसार दसौं महिनाको पहिलो दिन बुधबार परेको ईद उल फित्र पर्वमा बालबालिकाहरू पनि मनाए । कपिलवस्तु मुस्लिम बहुल क्षेत्र हुँदा धेरै बालबालिका ईदमा रमाए । नयाँ कपडा, टोपी, कुर्ता–पाइजामा लगाउन पाउँदा खुसी भए । उत्साहित भएर नमाज पढ्न मस्जिद/ईदगाह पुगे । त्यहाँ विषेश नमाज पढेपछि अभिभावक र ठूलाबडाबाट आशीर्वाद लिए । आशीर्वाद लिन इष्टमित्र, नाताको घरमा पनि पुगे । त्यहाँ ईदका लागि बनाइएका विषेश परिकार खाँदै रमाए । खुसियाली साटासाट गरे । बालबालिकामा ईदको विषेश उल्लास थियो । यो क्रम कहीँकहीँ ३ दिनसम्म चल्छ ।


रमजानको एक महिना रोजा अवधिभर मुस्लिम धर्मावलम्बी निराहार बस्नुपर्छ । शरीर चोखो राखी दैनिक ५ पटकसम्म नमाज पढ्ने र रातमा ‘तरावी’ नमाज पढ्ने चलन रहेको मुस्लिम संघ जिल्ला अध्यक्ष असहद कमाल बताउँछन् । रोजा बस्ने महिनालाई रमजान भनिन्छ । रमजान सकिएर चाँद देखिएको अर्को दिन ईद मनाइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले कमाइको साढे दुई प्रतिशत दान गर्छन्, जसलाई मुस्लिम धर्मग्रन्थ कुरानले ‘जकात’ भनेको छ ।


ईद उल फित्रमा प्रत्येक व्यक्तिले सवा दुई केजी गहुँ दान दिने चलन छ । गहुँ दिन नसक्नेले ६० रुपैयाँ दान गर्नुपर्ने हुन्छ । यस्तो दानलाई सत्कार फितर भनिन्छ । यो दान गरिब विपन्नलाई दिइन्छ । इद उल फित्रको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । मस्जिद, ईदगाह र खुला ठाउँमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन्, बकर ईद र ईद उल फित्रमा ।
शब्द/तस्बिर ः मनोज पौडेल

प्रकाशित : जेष्ठ २६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?