औंलाको पाठ
कान्छी औंला छेउमा बस्छे सबैभन्दा सानी,राम्री अनि छरिती छे भनूँजस्ती–नानी ।
साइँली औंला सुहाउँदिली
पर्छे सधैं छक्क,
औंठी लाउन पाएकीले
सधैंभरि मख्ख ।
माहिलीलाई ‘माझी’ भन्दा
रिसाउली नि फेरि,
अग्लिएर बीचमा बस्छे
दायाँबायाँ हेरी ।
‘चोरी’ औंला भने पनि
चोर्न कसले पाउँछ ?
केही देखाउन पर्यो भने
उनकै काम आउँछ ।
बूढीऔंला मोटीघाटी
एक्लै बस्छे पर,
अरू औंला एकातिर
बाँकी उनकै भर ।
देखिँदैनन् पाँचै बहिनी
हेर्दा बराबर,
तर फेरि मिल्न आउँछन्
हत्केलामा घर ।
बेग्लाबेग्लै भए पनि
हुनुपर्छ साथ,
औंलाबाट सिक्नुपर्छ
एकताको पाठ ।
इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुंगा
प्रतिक्रिया