काफल बेचेर पढाइ खर्च

कान्तिपुर संवाददाता

कक्षा ५ मा पढ्ने सागर बम्रेल काफल बेचेर दैनिक ५ सय कमाउँछन् । रैनादेवी छहरा–५, मुझुङ पाल्पाका उनी छहरा, भुवनपोखरी, अर्घाखाँची जाने र त्यहाँबाट आउने सवारी रोकेर ‘मीठो काफल लैजानुस्’ भन्दै चिच्चाउँछन् । शुक्रबार र शनिबार गरी हजार रुपैयाँसम्मको कमाइ हुन्छ ।

उनी मात्र होइन, बिहान–बेलुकी थुप्रै बालबालिका तानसेन–छहरा सडकको मुझुङ बाटुली पोखरामा काफल बेच्दै गरेका भेटिन्छन् । यस भेगका विपन्न बालबालिकाको कापीकिताब जोहो गर्ने आधार बनेको छ काफलको व्यापार । ‘पढाइ खर्च काफल बेचेर जुट्छ,’ उनले भने । काफलअघि उनीहरू लालीगुँरास बिक्री गर्थे ।


रिब्दीकोट, माथागढी र रैनादेवी छहरा गाउँपालिकाका ५० बढी बालबालिका सिजनको फल काफल बेच्ने गर्छन् । कतिपय बालबालिका विद्यालय पोसाकमै देखिन्छन् । बालबालिकाले वर्ष दिनका लागि कापी, किताब, कलम किन्ने खर्च यसबाटै जुटाउँछन् । कालिका मावि मुझुङमा पढ्ने सरोज र सोमहर आधारभूत विद्यालय फेकमा पढ्ने प्रदीप पनि काफल बेच्दै गरको भेटिए । बाटोमै भेटिएकी पार्वती बम्रेलले कापीकलम किन्न साथीहरूसँग मिलेर काफल बेच्ने गरेको बताइन् । बुटवल, भैरहवा र काठमाडौं जाने यात्रुले मौसमी फलका रूपमा काफल किन्छन् । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि भालुखोलासम्म काफल बिक्री गर्ने बालबालिका भेटिन्छन् ।
माधव अर्याल/पाल्पा

प्रकाशित : असार ८, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्

बच्चा कोरल्न सल्लाह

मनोज पौडेल

विश्वमै दुर्लभ मानिएको सारस त्यतिबेला बथान बनेर धेरैको संख्यामा देखिन्छन्, जतिबेला बच्चा कोरल्ने ठाउँ खोजी गर्नुपर्ने हुन्छ  । उनीहरूले सामूहिक रूपमै कहाँ गुँड बनाउने र बच्चा कोरल्ने सल्लाह गर्छन्  ।

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल क्षेत्रमा केही दिनयता ६० सम्म सारसका बथान देखिएका छन् । तिलौराकोट, गोबरी, रामापुर, निग्लिहवा र श्रीनगरमा ठुल्ठूलो झुन्ड छन् । जहदी, बन्डिहुली, अरौराकोट र बर्मेली टोल लगायतका गाउँ आसपास सिमसिमे धाप भएको खेतमा हुलका हुल छन् ।


मे महिनाको अन्त्य प्रि–ब्रिडिङ (भाले लाग्ने) याम भएकाले धेरै सारस एकै ठाउँमा जम्मा हुन्छन् । कुन ठाउँ सुरक्षित हुन्छ, कसरी बच्चा हुर्काउने भनेर प्राकृतिक रूपमा सल्लाह गर्छन् ।

ठाउँ चयनपछि सारसले जून महिनाको सुरुतिर गुडँ बनाउँछन् । त्यसपछि पोथीमा भाले लागेर अण्डा पार्छन् ।
जून महिनाको अन्त्यतिरबाट ओथारो बस्छन् । ४२ देखि ४५ दिनमा बचेरा कोरल्छन् ।

जलवायु परिवर्तनको असरले विश्वव्यापी रूपमा चरालाई असर गरिरहे पनि जगदीशपुर क्षेत्र चराका लागि पारिस्थितिकीय प्रणाली उत्कृष्ट भएको विश्वकै राम्रो स्थान मानिन्छ । यहाँ सारस मात्र होइन, विभिन्न महादेशबाट अनेक चराहरू बच्चा कोरल्न आउँछन् । हुर्काउँछन् र लिएर जान्छन् ।

सुरक्षा हिसाबले सारसले चारैतिर पानी भई बीचमा अग्लो भएको ठाउँलाई रोज्छन् । सकभर कसैले हानि–नोक्सानी नपुर्‍याओस् भनेर ।

बथानका बथान सारस कराउँदाको चिरबिराहटले यतिखेर जगदीपुर क्षेत्र रोमाञ्चित बनेको छ । अरू बेला दुईभन्दा बढी एकैपल्ट नदेखिने सारसहरू बथानमै देखिन थालेपछि हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा हो सारस ।

करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा हो। वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पक्षी प्रजातिमध्ये एक हो ।

नेपालमा ५ सय सारस भएको अनुमान छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै ३ सय बढी भएको चराविद्हरूको दाबी छ ।

विश्वमै कम देखिन थालेपछि सन् २००० मा सारसलाई दुर्लभ पक्षीमा सूचीकृत गरिएको थियो ।

सारसले सर्पलाई सजिलै आहार बनाउँछ । त्यही भएर सारस बस्ने ठाउँवरिपरि सर्पको त्रास हुँदैन । बालीलाई नोक्सान पुर्‍याउने शंखेलगायतका कीरालाई सारसले खान्छ ।

नजिकै चितुवा, बाघ, भालुलगायत जन्तु आउन लागे पहिल्यै कराएर अग्रिम जानकारी दिन्छ । यसले सम्भावित आक्रमणबाट बच्न मानिसलाई सघाउँछ ।

प्रकाशित : असार ८, २०७६ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्