टीभीको रिमोट

कान्तिपुर संवाददाता

कार्टुन मात्रै हेर्छे । लेखपढ गर्दिनँ । छोरी बिग्रिन्छे ।’

मनस्वीका बाबाआमा यस्तै सोच्नुहुन्थ्यो । त्यसैले घरमा टीभी राख्नुभएको थिएन । मनस्वीले मन लागेका बेला टीभी हेर्न पाउँदिन थिइन् । कहिलेकाहीँ साथी र आफन्तको घरमा जाँदा मात्रै उनी टीभी हेर्न पाउँथिन् ।


घरमा टीभी राख्न उनले करकर पनि गरिनन् । बाबाआमाको कुरा सुन्दासुन्दा मनस्वीलाई पनि टीभीतिर मन जाँदा पढाइ बिग्रिन्छ
भन्ने लाग्यो ।
एक दिन मनस्वी ठूलीआमाको घरमा गएकी थिइन् । ठूलीआमाको घरमा ठूलो टीभी थियो । रञ्जन र राजसी रमाई रमाई टीभी हेर्थे । उनले सोचिन्, ‘मेरो घरमा पनि टीभी राखेको भए पढ्न अल्छी लागेको बेला हेर्थेँ । होमवर्क सकेर कहिलेकाहीँ त हेर्थेँ नि।’ ठूलीआमाको घरमा गएर आएपछि उनी करकर गर्न थालिन् । उनको कुरा बाबाआमाले मान्नुभएन । खालि ‘टीभी त राख्नै हुँदैन’ मात्रै भनिरहनुभयो ।
बाबाले आमालाई भन्नुभयो, ‘ठूलीआमाको घरमा गएर आएपछि मनस्वीको जिद्दी बढेको छ । टीभी राख्यो भने उसको पढाइ बर्बाद हुन्छ । उसलाई सम्झाऊ है ∕।’


आमाले भन्नुभयो, ‘मैले कसरी सम्झाउनु ? टीभी नराखेको भनेर ऊ मसँग ठुस्स परेर बोल्छे । तपाईं नै सम्झाउनू ।’
तीन कक्षामा पढिरहेकी मनस्वीको व्यवहार कस्तो कस्तो देखिन थाल्यो । बोल्दा झर्केर बोल्न थालिन् । भनेको टेर्न छाडिन् । बाबाआमाले पनि त्यति वास्ता गर्नुभएन ।
अर्को बिदाको दिन पनि मनस्वी ठूलीआमाको घरमा गइन् । ठूलीआमाको घरनजिकै थियो । उनी एक्लै जान्थिन् । योपटक
उनले ठूलीआमाको टीभीको रिमोट घरमा लिएर आइछन् ।
ठूलीआमाको घरमा रिमोट भेटिएन । सबै जनाले रिमोट खोजे । दराजको चेप, तकियामुनि, पुस्तकको र्‍याक सबैतिर खोजे । तर रिमोट कतै पत्तो लागेन । रिमोट नभएपछि टीभी हेर्न सम्भव थिएन । ठूलीआमाले छोराछोरीलाई सोध्नुभयो, ‘नानी हो, आज घरमा कोही आएको थियो ?’ रञ्जनले भने, ‘कोही पनि आएको थिएन ।’ राजसीले भनिन्, ‘मनस्वी आएकी थिई । तर उसले त्यस्तो उपद्रो गर्दिनँ ।’


घरमा बाहिरिया मानिस अरू कोही आएको थिएन । टीभीको रिमोट कता हरायो होला ? सबैजना अलमल परे । मनस्वीलाई फोन गरी ‘तिमीले देख्यौ त ?’ भनेर सोधे । तर मनस्वीले ‘मैले देखिनँ,’ भनिन् ।
बेलुका मनस्वी कोठामा पढ्न लागेकी थिइन् । आमा कोठामा पस्नुभयो । मनस्वीको हातमा टीभीको रिमोट थियो । उनी त्यसमा विभिन्न की थिचिरहेकी थिइन् । टीभी थिएन, की थिच्नु मात्रै हो ।
आमाले देख्नुभयो । गाली गर्नुभयो, ‘तिमीले यो रिमोट कहाँबाट ल्याएकी ? ठूलीआमाको घरबाट हो ?’ मनस्वी बोलिनन् । उनलाई डर लाग्यो । उनले त्यो रिमोट कसैले थाहा नपाउने गरी ल्याएकी थिइन् । ‘अब मलाई सबैले चोर भनेर बोलाउने होलान् ∕,’ मनस्वीको मन खल्लो भयो ।
आमाले बाबालाई बोलाउनुभयो । मनस्वी झनै डराइन् । ‘ला, बाबा आएर मलाई पिट्नुहुन्छ होला,’ मनस्वी डरले थुरथुर परिन् । बाबाले सोध्नुभयो, ‘खुरुक्क भन त, यो रिमोट कसको हो ?’


उनले डराईडराई भनिन्, ‘ठू...ठूलीआमाको घरको ।’ बाबाले सोध्नुभयो, ‘अनि, किन ल्यायौ ? रिमोट नभेट्दा उनीहरूले टीभी हेर्न पाएका छैनन् । खुरुक्क लगिदेऊ ।’
‘यति राति रिमोट कसरी लगिदिने होला ?’ मनस्वीको मनमा कुरा खेल्न थाले । आमाले सोध्नुभयो, ‘भन त छोरी, तिमीले अर्काको रिमोट किन ल्याएकी ? यसलाई भोलि लग्दा पनि हुन्छ । तर साँचो कुरा बताऊ त ।’
मनस्वीले भनिन्, ‘आमा, मलाई चोर नभन्नु है त । मैले रिमोट चोरेको हैन नि,’ बाबाले झपार्नुभयो, ‘के गरेको त यो ? उनीहरूले यो कुरा अन्त पनि हल्ला गरे भने ?’
मनस्वीले भनिन्, ‘बाबा, हाम्रो घरमा टीभी नहुँदा मैले रिमोट चलाउन जानेकी थिइनँ । टीभीमा च्यानल बदल्न खोज्दा टीभी बन्द हुने की थिचिएछ । मलाई दिदी र दाइले खिसी गरे । दाइले ‘मनस्वीलाई त टीभीको रिमोट चलाउन पनि आउँदो रहेनछ’ भन्नुभयो । दिदीले ‘घरमा टीभी राखेको भए पो आउनु’ भन्नुभयो । मलाई एकदमै लाज लाग्यो । अब रिमोट चलाउन जान्ने भएर मात्रै ठूलीआमाको घरमा जान्छु । त्यसैले रिमोट बोकेर आएकी । बाबा, हाम्रो घरमा पनि टीभी राखौँ न है।’


आमाबाबाले बल्ल कुरा बुझ्नुभयो । मनस्वीलाई समस्या परेको रहेछ । बाबाले भन्नुभयो, ‘ल, छोरी, भोलि नै म टीभी किनेर ल्याउँछु । तर तिमीले तिम्रो पढाइमा असर नपर्ने गरी टीभी हेर्नुपर्छ । हामीलाई पनि टीभी हेर्न मन नभएको कहाँ हो र, तिम्रो ध्यान टीभीमा मात्रै जाला भनेर पो टीभी नल्याएको त । अनि उताबाट ल्याएको रिमोट के गर्छ्यौ नि ?’ मनस्वीले भनिन्, ‘बाबा, भोलि बिहानै रिमोट झोलामा हालेर लान्छु । त्यहाँ पुगेपछि खोजेजस्तो गर्छु । ‘ई, यहाँ रहेछ’ भनिदिन्छु । हुँदैन ?’ बाबाले भन्नुभयो, ‘अहिलेलाई यो जुक्तिले काम गर्ला । तर सधैँ यस्तो जुक्तिले काम गर्दैन नि छोरी, यस्तो काम कहिल्यै पनि नगर्नू है।’
मनस्वी हाँसिन् । उनले भनिन्, ‘अब म यस्तो काम पनि गर्दिनँ नि बाबा।’
भोलिपल्ट बिहानै मनस्वी रिमोट पुर्‍याउन हिँडिन् । उनले कसैले नदेख्ने गरी, रिमोट भेटिएको अभिनय कसरी गर्छिन् होला?
माधव सयपत्री

प्रकाशित : असार ८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

जन्मभूमि

कान्तिपुर संवाददाता

सानालाई माया गरौंमान्यजनलाई आदर,मन जितौं स्नेहलेप्रेम बाँडी सादर  ।

समाजले देखाएको
हिँडौँ असल बाटो,
आफूलाई मन पर्छ
आफ्नै देशको माटो।

जन्मभूमिभन्दा प्यारो
अरू कहाँ हुन्छ ?
देश दुख्दा हाम्रो पनि
मन धेरै रुन्छ।

नदुखाऊँ देशलाई
गरौँ राम्रा काम,
जन्मभूमिभन्दा राम्रो
हुन्न कुनै ठाम ।

अरुणबहादुर खत्री “नदी”
काठमाडौं

प्रकाशित : असार ८, २०७६ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्