कागको जुत्ता

पीपलको हाँगामा बसिरहेको गिद्धले कागलाई देखेर छक्क पर्‍यो र भन्यो, ‘ओहो १ काग भाइ, आज त झिल्के बनेर आएछौ नि  । ’काग दंग पर्‍यो र भन्यो, ‘ए हो र ? कहिलेकाहीँ त झिल्के बन्नुपर्‍यो नि  ।

कागको जुत्ता

काग दंग पर्‍यो र भन्यो, ‘ए हो र ? कहिलेकाहीँ त झिल्के बन्नुपर्‍यो नि ।’
त्यही बेला एउटा कोइली उडेर त्यहीँ आइपुग्यो । ऊ पनि काग देखेर छक्क पर्‍यो, ‘ओहो, त्यस्तो राम्रो जुत्ता कहाँबाट ल्यायौ हँ ? हामीलाई पनि ल्याइदेऊ न ।’


‘बजारबाट ल्याएको नि,’ काग भुरर्र उडेर अर्को हाँगामा गयो ।
‘मैले त अहिलेसम्म जिन्दगीमा यस्तो जुत्ता लाएकै छैन । कस्तो राम्रो जुत्ता है ।’ कोइलीले जुत्ता हेरिरह्यो ।
‘मेरो जुत्ता कति हेरिराखेको ? आँखा लाग्ला है,’ कागले भन्यो ।
काग कहिले यता, कहिले उता उड्न थाल्यो । उसको जुत्ता देखेर चिल, परेवा, सुँगा, सारौ, भँगेरा, जुरेली सबका सब छक्क परे र उसको प्रशंसा गर्न थाले ।
आफ्नो प्रशंसा सुनेर दङ्ग परेको काग दिनभर सबैलाई जुत्ता देखाउँदै थियो । दिनभरि उताउता गरेकाले उसलाई थकाइ पनि लाग्यो । त्यसैले साँझ नपर्दै उसले आफ्नो जुत्ता बकैनाको हाँगामा झुन्ड्यायो र सँगै रहेको गुँडमा गयो । एकैछिन्मा ऊ मस्त निद्रामा पर्‍यो ।
रात बित्यो र बिहान भयो । सारौको चिर्बिर आवाजसँगै कागको निद्रा खलबलियो । ऊ उठ्यो । उठ्नेबित्तिकै उसले जुत्ता खोज्यो । तर त्यहाँ जुत्ता थिएन । जुत्ता नदेखेपछि ऊ तिर्मिरायो ।


‘हिजो यही झुन्ड्याएको जुत्ता, कहाँ गयो होला ?’ ऊ मनमनै भुतभुताउन थाल्यो । त्यसपछि दायाँबायाँ हेर्‍यो । जमिनमा खस्यो कि भनेर हेर्‍यो । त्यहाँ पनि थिएन । कतै नभेटेपछि ऊ जुत्ता खोज्न हिँड्यो ।
जाँदाजाँदै उसले बाँसघारीमा सारौलाई देख्यो र सोध्यो, ‘सारौ भाइ । तिमीले मेरो जुत्ता कतै देख्यौ ?’
‘अहँ । मैले त देखिनँ त,’ सारौले जवाफ दियो ।
त्यसपछि उसले काँगियो रूखमा बसेको तित्रालाई सोध्यो । शिरीषको रूखमा बसेको सुँगालाई सोध्यो । गन्जमा बसेको परेवालाई सोध्यो । मयलको रूखमा बसेको भँगेरालाई सोध्यो । बयरको रूखमा रहेको जुरेलीलाई सोध्यो । तर सबैले नदेखेको जवाफ दिए । जसलाई सोधे पनि नदेखेको बताएपछि काग हैरान भयो । ऊ निराश बन्यो ।
उसले आफ्नो जुत्ता पाउने आश मारिसकेको थियो ।
अचानक त्यसैबेला उसले उत्तिसमा बसिरहेको कोइलीलाई देख्यो । त्यसलाई देखेर उसको अनुहारमा चमक आयो । ऊ खुसी भयो र सँगै आक्रोशित पनि । खुसी यस मानेमा कि उसले कोइलीको खुट्टामा आफ्नो जुत्ता देख्यो । आक्रोश यस मानेमा कि
आफ्नो जुत्ता किन कोइलीले चोर्‍यो ? आक्रोशले नै जितेपछि ऊ चिच्यायो, ‘जुत्ता चोर कोइली । तैंले कसरी मेरो जुत्ता चोर्ने हिम्मत कसरी गरिस् ?’
अचानक काग कराएको सुनेर कोइली अक्क न बक्क भयो । ऊ काग देखेर डरायो र त्यहाँबाट भाग्न खोज्यो ।
‘पख्लास्, कहाँ भाग्न खोजेको ?’ काग नजिकै गएर उसलाई ठुँग्यो । कोइली भाग्नै भ्याएन । कागले रिसाउँदै भन्यो, ‘हिजो मात्रै सहरबाट ल्याएको जुत्ता राति सुटुक्क चोर्न लाज लागेन ? तैंले त्यस्तो काम गर्छस् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’
कोइली शिर निहुर्‍याउँदै थियो । उसको मुख अँध्यारो भयो । अकमक्काउँदै भन्यो, ‘गल्ती भयो, माफ गर है । तिमीले नयाँ जुत्ता लगाएको देखेर मलाई पनि साह्रै लाउन मन लाग्यो । त्यसैले राति कसैले नदेख्ने गरी चोरेँ ।’
‘तर तिमीले अर्काको सामान त्यसरी चोर्न नहुने थियो । भनेको भए त म एकक्षण लाउन दिइहाल्थेँ नि,’ कागले जवाफ दियो ।
‘मैले त्यस्तो भन्नुपर्थ्यो, तर भन्नै सकिनँ, त्यसैले...’ कोइलीले नम्र हुँदै भन्यो ।
कोइलीले जुत्ता फुकालेर कागलाई फिर्ता गर्‍यो । कागले जुत्ता लियो र सम्झाउँदै भन्यो, ‘अबदेखि यसरी अरूको सामान कहिल्यै नचोर है ।’
कोइलीसँग कुनै जवाफ थिएन । उसले टाउको मात्र हल्लायो । काग आफ्नो जुत्ता लगाएर त्यहाँबाट भुर्र उड्यो । कोइली भने कागलाई हेरिरह्यो ।
श्यामकृष्ण खुलिमुली

प्रकाशित : असार १५, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?