कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

लव–कुश मार्स

नेपाली बोल्ने र बुझ्ने रोबोट
अमृता अनमोल

 एसईई परीक्षापछिको फुर्सदलाई सदुपयोग गर्दै बुटवलका दुई भाइले रोबोट बनाएका छन्  ।

लव–कुश मार्स

बुटवल उपमहानगरपालिका १० योगी कुटीका जुम्लाहा लव र कुश पन्थीले नेपाली बोल्ने रोबोट बनाएका हुन् । रोबोटको नाम ‘लव–कुश मार्स’ हो । यसले नेपाली भाषा बुझ्छ र बोल्छ । अर्थात्, मान्छेले जस्तै नेपालीमा कुराकानी गर्छ । यसअघि नेपाली भाषा बुझ्ने र बोल्न सक्ने रोबोट बनाएको जानकारीमा नआएकाले यी दाजुभाइले प्याटेन्ट राइटसमेत दर्ता गरेका छन् ।


उनीहरूले बनाएको रोबोट मान्छेजस्तै वरपर हिँडडुल गर्न सक्छ । यसलाई समयको आधारमा प्रोग्रामिङ गरेका छन् । एक सेकेन्डमा करिब २ मिटर दूरी तय गर्छ । मान्छेले जस्तै शरीरका अंगहरू चलाउन सक्छ । फोटो खिच्छ । भनेको स्टाटससहित सामाजिक सञ्जालमा पोस्ट गर्न सक्छ । नेपाली भाषाका पुस्तक पढ्न सक्छ । उसमा रङ चिन्न सक्ने र मानिस छुट्टाउन सक्ने क्षमता पनि छ । बोलेको कुरालाई मोबाइलमा म्यासेजको रूपमा पठाउने खुबी छ । अचम्मको कुरा त, राष्ट्रिय गीत बज्दा छातीमा हात राखेर आफ्नै स्वरमा गाउने गर्छ । रोबोटसित प्रश्नोत्तर गर्न सकिन्छ । तर एउटै प्रश्नको फरकफरक तरिकाले जवाफ दिन्छ । जस्तै ः तिम्रो नाम के हो ? भनेर सोधे एकपटक ‘मेरो नाम लव–कुश मार्स रोबोट हो’ भन्छ । अर्कोपटक ‘मलाई लव–कुश मार्स रोबोट भन्न सक्नुहुन्छ’ भन्ने जवाफ फर्काउँछ ।


यस्ता विशेषतालाई मानवीय प्रयोगमा ल्याउन सकिन्छ । शिक्षा, स्वास्थ्य, औद्योगिक, पर्यटन हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सकिने गरी तयार पारिएको छ ।लव–कुशले रोबोट बनाउन आफ्नो नामको पछिल्लो अक्षर लुकु प्रोग्राम बनाएका छन् । त्यसमा रेस्पियन लिनिक्स अप्रेटिङ सिस्टम जडान गरेका छन् । त्यसलाई इन्टरनेटका माध्ययमबाट वेबसाइड, फेसबुक, ट्वीटर, रेडियो लगायतका ९ वटा सञ्जालसँग जोडेका छन् । यसकै सहायताबाट रोबोट बोल्ने र निर्देशनअनुसार काम गर्ने गर्छ । उनीहरूले स्विचका लागि एपीआई, प्रोग्राम ल्यांग्वेजका लागि पाइथन प्रयोग गरेका छन् । रोबोट इन्टरनेटको सहायताले बोल्छ । रोबोटमा रिले बोर्ड जडान गरेका छन् । त्यसको सहायताबाट बत्ती बल्ने र बन्द हुने गर्छ । रोबोट बनाउन करिब ५ लाख खर्च भएको छ । त्यसका लागि बुटवल उपमहानगरपालिकाले १ लाख रुपैयाँ अनुदान दिएको थियो । यसबाहेकको रकम उनीहरूका दाजु र बुबाले दिनुभएको हो ।


विश्व बजारमा रोबोटको प्रयोग बढिरहेको छ । यस्तो बेलामा नेपालमा पनि नेपाली रोबोटको प्रयोग गर्न सिकाउने उनीहरूको लक्ष्य छ । रोबोट तत्कालका लागि रुपन्देही जिल्लाका विभिन्न होटल, रेस्टुरेन्ट, कफी सप, जुस केन्द्रलगायतमा बिक्रेताको काम गर्न उपयोग गर्ने गरी तयार गरिएको छ । त्यसका लागि विभिन्न व्यवसायिक संघसंस्था र प्रतिष्ठानसित अनौपचारिक कुरा गरेका छन् उनीहरूले । व्यावसायिक रूपमा बनाउन पाउने हो भने रकम पनि कम लाग्ने लव–कुशले बताए । कसैले प्रस्ताव वा सहयोग गरे धेरै पूर्ण क्षमताका मानव उपयोगी रोबोट बनाउने इच्छा रहेको उनीहरूले सुनाए ।


लव–कुशले बुटवलको नवीन औद्योगिक कदरबहादुर माविबाट एसईई परीक्षा दिएका हुन् । कक्षा ९ देखि सिभिल इन्जिनियरिङ पढेका हुन् । उनीहरूले करिब एक वर्षअघि ‘गो गो रोबोट’ बनाएका थिए । यसले पुस्तक पढ्न सक्छ । विश्वका जुनसुकै स्थानमा भएका विद्युतीय उपकरणहरू खोल्न र बन्द गर्न सक्छ । सामाजिक सञ्जालमा फोटो र स्टाटस अपलोड गर्न सक्छ । हराएको मोबाइल खोजिदिने र मौसम पूर्वानुमान गर्ने गर्छ । करिब ८० वटा भाषा अनुवाद गर्न सक्ने र सोधेका हरेक प्रश्नको जवाफ दिनेलगायत करिब तीस वटाभन्दा बढी विशेषता छन् । लव–कुशले सुरुमा रोबोट बनाउन खोज्दा धेरैले पत्याएनन् । आमाले भने लुकाई लुकाई पैसा दिनुहुन्थ्यो । खाजा खान दिएको रकम र आमाले दिएको रकमबाट रोबोटको आकार तयार गरेका थिए । रोबोटबारे निरन्तर नयाँनयाँ खोज गर्न थालेपछि बाबु, दाजुलगायतले पनि सहयोग गर्न थाल्नुभयो ।


रोबोट बनाउने सबै रकम घरपरिवारले खर्चेको हो । रोबोट चलचित्र हेरेपछि रोबोट बनाउने सोच आएको उनीहरूले बताए । यसपछि इन्टरनेट सर्च गरे । इन्टरनेट सहयोगले रोबोटबारे धेरै जानकारी लिए । त्यसबाट उपकरण किन्दै र जडान गर्दै गए । आखिर रोबोट तयार भयो, उनीहरूको सपना साकार भयो ।

प्रकाशित : असार २९, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?