१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

९ दिने गाईजात्रा

कान्तिपुर संवाददाता

मृत्यु भएका आफन्तको सम्झनामा मनाइने पर्व हो गाईजात्रा  । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा मनाइने गाईजात्रा भक्तपुरमा भने ८ रात ९ दिनसम्म हुन्छ  ।

९ दिने गाईजात्रा

श्रावण शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाको साँझ भक्तपुर दरबार क्षेत्रको तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसीसँगै हरेक वर्ष गाईजात्रा सुरु हुन्छ ।

बहत्वाबाट निस्किएको घेन्ताघिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौं, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन गर्ने परम्परा छ ।

जात्रा अवधिका बाँकी आठ दिन विभिन्न देवीदेवता दत्तात्रय, भैरवनाथ, बाराही, छुमा गणेशलगायत मन्दिरमा जात्रा गर्ने परम्परा छ । पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म प्रत्येक साँझ टोलटोलमा व्यंग्यात्मक नाटक, नाच, प्रहसन, ख्याललगायत प्रदर्शन हुन्छन् ।

केहीले कालोमाटोको गाई बनाई शृंगारपटारसाथ खटमा राखी बालबालिकालाई आकर्षक तवरले सिँगारी बाजागाजासहित बासा लुइके गरेर प्रदर्शन गर्ने चलन छ । कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव–पार्वतीको प्रतीकका रूपमा शृंगारपटार गरी ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।

भक्तपुरमा ‘घेन्ताघिसी, गिनित्वाङ, घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’ भनेर नाचिने आकर्षक नाचको बढी चर्चा हुने गर्छ । घेन्ताघिसि दुई समूह वा दुईजना बीच लठ्ठी जुधाएर नाच्ने गरिन्छ ।

पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन तत्कालीन राजा प्रताप मल्लले जनतालाई ‘आ–आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको थियो ।
-लीला श्रेष्ठ

प्रकाशित : श्रावण २६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?