'रोयल स्ट्याग वाइन’को कथा

शरद चिराग


अर्को दिनको बिहान हाम्रा लागि बडो रमाइलो भएर आयो । हिजो बेलुकी धित मर्ने गरी पिउन नपाएको वाइनका बोतल बिहान कफी पिउनुअघि नै खुलिसकेका थिए । र, त्यो रमरम शरीर लिएर हामीलाई नमोबुद्ध जानु थियो ।



एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- 'होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै 'रोयल स्ट्याग वाइन' खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त राखिन् तर मलाई भूतकालमा फर्काएर ।


हामी केटीको खोजीमा धुलिखेल हान्निएका थिएनौं । एउटा गैरसरकारी संस्थामा काम गर्ने चारजना सप्ताहान्तमा सुन्दरीजल हुँदै चिसापानी जाँदै थियौँ । त्यसमा दुई महिला सहकर्मी थिए । मूलखर्कसम्म त पुगेकै पनि हो । तर झम्के साँझमा कतै बास पाइएन । अरु केही घन्टा हिँडेर मूलखर्कसम्म पुग्ने आँट पनि आएन । हामीसँग एउटै विकल्प बाँकी थियो, काठमाडौं फर्किने । शिवपुरी राष्ट्रिय निकुन्जको जंगल हुँदै आउने बाटो समाएर हामी राति साढे आठ बजे चावहिल आइपुग्यौं । तर केटीहरू ज्यान गए घर जान मानेनन् । घरबाट बल्लबल्ल राति बाहिरै बस्ने अनुमति लिएर आएका उनीहरू त्यो मौका गुमाउन चाहँदैनथे । तर जाने कहाँ ?
'मेरो घरमा जाउँ,' ब्वाइप|mेन्डसँगै बस्ने एउटी सहकर्मीले भनिन्, त्यहीँ गएर यो तीन बोटल वाइन सक्नुपर्छ ।'
'होइन नगरकोट कि धुलिखेल जाउँ,' अर्कीले थपिन् ।
'धुलिखेल नै जाउँ,' अखिलेशले मुख खोल्यो । झन्डै १५ मिनेट हामीले ट्याक्सीसँग बार्गेनिङ गर्दै बितायौं । 'हेर्नुस्, ९ बजिसक्यो, २५ सय दिनुस् म धुलिखेल त के दोलालघाटसम्म नि पुर्‍याइदिन्छु ।' ट्याक्सी ड्राइभरले खोक्यो ।
धेरै पैसा तिर्ने हैसियत हामीसँग थिएन । हामीमध्ये कसैलाई नयाँ जुक्ति फुर्‍यो, पैसा तिरेर यो यात्राभर कुनै गाडी नचढ्ने । कि हिड्ने, कि लिफ्ट माग्ने । मान्छेले के भन्छन्, बाल नदिने ।
र, त्यसको २० मिनेटजतिमा हामी सल्लाघारीमा थियौं । भक्तपुर जाने सरकारी गाडीको सहृदयतामा । तर अब झन् मझधारमा परियो । १० बज्नै लागेको थियो । र, सडक सुनसान हुँदै थियो । धन्न, त्यो शुक्रबारको दिन थियो । त्यसैले हामीले हारचाहिँ मानिहालेका थिएनौं । अन्ततः एउटा होटलको सामान ओसार्ने गाडीका जवान ड्राइभरले हाम्रा महिला सहकर्मीको अनुरोध अस्वीकार गर्न सकेनन् । मिराबेल रिसोर्टमा उनले हामीलाई छोडिदिँदा रातको ११ बज्नै लागेको थियो ।
हाम्रो सौभाग्य त्यो गाडी चढ्न पाउनुमा मात्र रहेछ, होटल पाउनुमा होइन । धुलिखेलका सबै रिसोर्ट र होटल प्याक थिए, सप्ताहान्त मनाउन आउने काठमाडौंका मिडल क्लास र सेमिनार प्याकेजमा बिदा मनाउन आउने विकासे कार्यकर्ताले ।
महिला सहकर्मी साथमा हुनुको फाइदा हामीले त्यहाँ पनि लियौं । मिराबेलका म्यानेजरले अरनिको होटलमा फोन गरेर हाम्रा लागि बन्दोबस्त गरिदिए । हामीले र भूतले झन्डै सँगसँगै जस्तो खाना खायौं ।

'गाडी चढ्दा पैसा नतिर्ने निर्णय भएको छ नि,' एउटीले हिजो कुन लहडमा गरेको निर्णय सुनाइन् । लौ ट्राई मारौं । हामी धुलिखेल बसपार्कमा थियौं । पब्लिक बसमा पैसा नतिरी जान सकिँदैनथ्यो । केटीहरूले शनिबार मनाउन आएका केटाहरूको बाइकमा लिफ्ट पाए, हामी दुई भाइले ट्याक्टरको । अखिलेशले भन्यो, 'अर्को जुनीमा हामी पनि केटी भएर जन्मिुनपर्छ, बुझिस् ।'
यो यात्रा स्मरणयोग्य हुनु नै रहेछ । नभए एउटै यात्रामा यति धेरै चिज हुनुनपर्ने । भुटानी भिक्षुकी एउटी सहयोगीसँग मेरो आँखा जुधाजुध हुन थालेको थियो । साथीहरु लन्ठू थिएनन् । उनीहरुले यो पत्तो पाइसकेका थिए । तर मुख्य समस्या, मसँग 'गट्स' थिएन, साथीहरूले भनेका । तर बेलामौका त्यो आउँदोरहेछ । हामी धुलिखेल फर्किने बेला भुटानी भिक्षु पनि यतै फर्किंदै रहेछन् । र, मेरा साथीहरूले हाम्रो फिर्ती सवारीको प्रबन्धको जिम्मा मलाई सुम्पिए ।
गजबकै दिन परेछ । हामीले भिक्षुको गाडीमा धुलिखेल पुग्नु चार किलोमिटरसम्म लिफ्ट पायौं । हाइलेक्स गाडीमा हामी पछाडि थियौं । त्यो भुटानी केटी र मेराबीच 'सिसा' भिलेन बनेर ठडिएको थियो । धन्न आँखाले चाहिँ सन्तोष पाए । तर त्यतिले केही हुनेवाला थिएन । त्यो आकृति त्यतै छुट्यो । राम्रै भयो, समीक्षालाई भेट्नुरैछ ।
धुलिखेलबाट काठमाडौं आउन ठिक्क परेको बसको लास्ट सिटमा हामी थियौं । आफ्ना गाजलु आँखा नचाउँदै एउटी केटी आफ्नी साथीसँग आई । उसका आँखा यसरी नाच्थे कि हामी उसलाई नहेरी बस्नै सकेनौं । यो त आँखाको मात्र कुरा भो, उसले हल्टरभित्र लुकाउन नसकेको शरीरको मादकताले मलाई छोइसकेको थियो ।
'तपाईंसँग गट्स नै छैन, त्यसैले अहिलेसम्म लभ नपरेको,' साथीहरु हौस्याउन थाले । म चुप थिएँ । मेरा सहकर्मीहरू मेरा लागि डिनर 'स्पोन्सर' गर्न तयार थिए । तर, उनीहरुको सर्त थियो- मैले त्यो केटीसँग बोल्नुपर्ने ।
त्यसपछि के भयो मलाई त्यति याद छैन । यतिमात्र सम्झना छ- सल्लाघारीमा बसबाट ओर्लिने बेला त्यो केटीले आउटर लगाई । अनि मेरो हातमा उसको फोन नम्बर लेखिदिई । मैले साथीहरूतिर हेरें । तर केही बोलिनँ । मलाई थाहा थियो, कहिलेकाहीँ नबोले पनि ठूलो स्वरले चिच्याएभन्दा बढी सुनिन्छ । त्यो त्यस्तै बेला थियो ।
...
अर्को हप्ताको शनिबार म काठमाडौं मलको हट चिल्लीमा थिएँ । यो त्यतिबेलाको मेरो पि्रय ठाउँ थियो । त्यसको औपचारिक उद्घाटन हुनुअघि नै म त्यसको ग्राहक भइसकेको थिएँ । त्यसैले मैले पहिलो डेटका लागि यही ठाउँ रोजेको थिएँ । समीक्षासँग यसबीचमा झन्डै सात सय एसएमएस आदानप्रदान भइसकेको थियो । र, हरेक बिहान म अफिस ढिला पुग्न बाध्य भएको थिएँ, किनभने राति १० बजेपछि फोन गर्दा सस्तो हुने स्किम भर्खर सुरु भएको थियो ।
फोनमा उसले भनेकी थिई 'अंग्रेजी विषय लिएर १२ कक्षामा पढ्दै छु' भनेर । इन्जिनियरिङ पढ्ने ब्वाइप|mेन्डसँग उसको भर्खरै ब्रेकअप भएको थियो । यसबाहेक उसका बारेमा मलाई अरु केही थाहा थिएन ।
त्यतिबेला दिउँसोको १२ पनि बज्न भ्याएको थिएन । यति चाँडै डेटमा जाने मेरो उमेर कटिसकेको थियो । तर कुनै बेला कृष्णप्रसाद भट्टराईले भनेका थिए रे, 'हरेक मान्छे बिहे नगरेसम्म बच्चै हुन्छ ।' त्यसैले मैले उमेरको ख्याल गर्ने जरुरत ठानिनँ । किनभने, के थाहा, फिल्मी शैलीमा सुरु भएको एउटा चिनजानले मेरो जिन्दगी बदल्न पनि सक्थ्यो । र, यही नाममा मैले एउटा डिनर सित्तैमा खाइसकेको थिएँ ।
संविधानसभाको चुनाव भर्खर सकिएको थियो । गिरिजाबाबु माओवादीलाई सत्ता हस्तान्तरण गर्न ढिलाइ गरिरहेका थिए । त्यसैले काठमाडौंको राजनीति र मौसम दुवै गरम थिए । भो, मेरो मनको हाल नसोध्नुस् । लभ पर्न लागेका बेला कसरी ज्वरो बढ्छ मैले त्यतिबेलै थाहा पाएको थिएँ ।
...
समीक्षा आई । उसको लुगा लगाउने शैली पुरानै थियो । लुगाको रंग मात्रै फरक । फोनमा र एसएमएसमा त्यति धेरै समय बिताएकोले होला हामीले आफूलाई वर्षौं पुरानो जोडीजस्तो ठान्यौं । उसले फ्याट्ट भनी, 'ठमेल जाउँ न, मलाई कफी होइन, वाइन खान मन छ ।'
'तिमी त खान्न भन्थ्यौ हैन र ?' मैले सोधें ।
'होइन कहिलेकाहीं वाइन मात्र खाने हो,' उसले भनी, 'हार्ड डि्रंक्स चाहिँ गर्दिन ।'
'कुन वाइन ?' अचानक मलाई यस्तो प्रश्न सुझ्यो । आखिर जुन भए पनि वाइन त वाइन नै हो ।
'रोयल स्ट्याग' उसले भनी । थाहा छैन, अरू बेला भए म कति हलको मेलो हाँस्न सक्थें । त्यति बेलाचाहिँ केही बोल्न मसँग कुनै शब्दै थिएन ।

प्रकाशित : भाद्र १६, २०६९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?