कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्पेनको बुल फाइट्स

महेशविक्रम शाह

काठमाडौ —

'ऊ ढोकातिर हेर्नुहोस् । बुल फाइट्स सुरू भयो,' जालन्धाले भनिन् । खैरो रंगको साँढे शिर उचाल्दै, पुच्छर ठड्याउँदै र जीउ बटार्दै बुलरिङमा दौडिन थाल्यो । साँढेले चारैतिर नजर दौडायो । ऊ निस्कने बाटो कतै थिएन । चारैतिर मान्छे नै मान्छे । ऊ आत्तियो ।



म स्पेनको राजधानी म्याडि्रडको विश्व प्रसिद्ध 'प्लाजा दे टोरस' -बुल फाइटिङको घर) को दर्शक बनिरहेको छु । कैयौं वर्षदेखिको आप\mनो सपना पूरा भएकोमा म पुलकित भइरहेको थिएँ ।
साँझको ठीक ६ बज्यो । तर घाम दुई तीन बजेको झैं पाहारिलो थियो । हामीहरूको सिट बुलरिङको नजिकै थियो । मसँग दाइहरू ठाकुरराम वर्तौला, मोहनराज जोशी, साथी दिनेश अमात्य तथा म्याडि्रडका स्थायी बासिन्दा बनेका नेपाली भाइ तिलक कुँवर र तिनकी स्पेनी श्रीमती जालन्धा थिइन् । एक्कासि हात्ती कराएको जस्तो आवाज आयो । बुलरिङको पछाडि रहेको गेटको ढोका खुल्यो ।
'ऊ ढोकातिर हेर्नुहोस् । बुल फाइट्स सुरु भयो,' जालन्धाले भनिन् । खैरो रंगको साँढे शिर उचाल्दै, पुच्छर ठड्याउँदै र जीउ बटार्दै बुलरिङमा दौडिन थाल्यो । साँढेले चारैतिर नजर दौडायो । ऊ निस्कने बाटो कतै थिएन । चारैतिर मान्छे नै मान्छे । ऊ आत्तियो । उसले खुट्टाका खुरले जमिन खोस्रँदै बुर्र माटो उडायो । त्यसपछि शिर ठाडो पारेर हुँकार गर्‍यो । उसका नाकका प्वालबाट फुँकार निस्किरहेको थियो ।
ए..ए..ए.. भन्दै काठको फल्याकको आडबाट एउटा मान्छे फुत्त निस्क्यो र त्यसले आफूसँग भएको गाढा गुलाफी रङ्गको कपडा साँढेतिर देखाउँदै हल्लायो । साँढे हुत्तिएर आयो । ऊ गुलाफी रुमाल हल्लाउँदैै पछाडि सर्‍यो र काठको फल्याकको आडभित्र छिर्‍यो । साँढेले आप\mना सिङ्गले फल्याकमा हान्यो । अर्को आडबाट अर्को मानिस फुत्त निस्क्यो र गुलाफी रुमाल हल्लाउँदै साँढेलाई आफूतिर आउन आमन्त्रण गर्‍यो । साँढे फल्याकमा हान्न छाडेर ऊतिर बढ्यो । ऊ पनि साँढेलाई छकाउँदै आडभित्र गएर लुक्यो । आप\mनो आक्रमण लगातार निस्फल भएकोमा साँढे विचलित भइरहेको थियो । साँढे बुलरिङमा आउनुभन्दा पहिलेदेखि नै दुई घोडचढीहरू लामो भाला हातमा समातेर बुलरिङका दुई कुनामा उभिएका थिए । घोडचढीको पैतलादेखि घुडाँसम्म धातुको कवच थियो ।
'यी घोडचढीहरूलाई पिकाडर भनिन्छ र तिनीहरूले प्रयोग गर्ने भालाको नाम पिका हो । यी बुल फाइटरहरूले साँढेलाई दौडाई-दौडाई तताउने काम गरे । साँढे रिसले आँखै नदेख्ने भएको छ । अब यी पिकाडरहरूले भालाले सााढेको काँधमा घोचेर यसलाई पीडा दिनेछन् । पीडाको अनुभूतिले साँढे झन् रिसले आगो हुनेछ,' पेसाले सिभिल इन्जिनियर जालन्धा मलाई बीचबीचमा बुल फाइटिङको प्रक्रिया र नामहरूका बारेमा जानकारी दिइरहन्थिन्, बोलिन् ।
मैले बुलरिङमा हेरें । बुल फाइटरहरू साँढेलाई झुक्याउँदै रिङ्गबाहिर आइसकेका थिए । रिङ्गभित्र दुई घोडचढीसहितका दुई घोडा र एउटा साँढे मात्र थिए । घोडाको घाँटीदेखि पुच्छरसम्म डँडाल्नुभन्दा मुनि घुँडासम्म शरीरको भागलाई कडाजस्तो लाग्ने फिका पहेालो गद्दाले बेरेको थियो । यसलाई 'पेटो' भनिँदो रहेछ । बुल फाइटिङको क्रममा साँढेको हनाइबाट घाइते हुनबाट जोगाउन घोडालाई यसरी सुरक्षित बनाइँदो रहेछ । घोडचढी 'पिकाडर' ले साँढेलाई ललकार्‍यो । साँढे हुँकार गर्दै दौडेर आयो र सिङ्गले घोडालाई हान्न थाल्यो । घोडा चुपचाप थियो । नदेखेजस्तो, नसुनेजस्तो, न त बुझेजस्तो । घोडाको आँखामा केही नदेखोस् भनेर पट्टी बाँधिएको थियो । कुनै आवाज नसुनोस् भनेर कपासका डल्ला कोचेको हुँदो रहेछ । त्यस्तै मुखबाट आवाज पनि ननिकालोस् भनेर घोडाको आवाज नली काटिएको हुन्छ रे ! पिकाडर चढेको घोडा वकलाटो थियो । साँढेले सिङ्गले जतिसुकै हिर्काए पनि ऊ कुनै प्रतिक्रिया नजनाई उभिएको थियो । पिकाडरले भालाले साँढेको काँधमा रोप्यो । घाउबाट रगतको भेल छुट्यो । तर साँढेले घोडालाई हान्न छोडेन ।
बुलरिङमा हातमा गाढा गुलाफी कपडा समातेका लडाकुहरू फेरि प्रकट भए । तिनीहरू साँढेलाई आफूलाई आक्रमण गर्ने चुनौती दिन थाले । साँढे आफ्ना आँखाले जता टहक देख्थ्यो त्यतै कुद्घै सिङ्गौरी खेल्न थाल्थ्यो । दुई पिकाडरहरूले बुलरिङ छाडे । साँढेले छुट्याउन सकिरहेको थिएन, उसको वास्तविक शत्रु को हो ? रातो गुलाफी कपडा वा त्यो कपडालाई हातले कलात्मक पाराले नचाउँदै उसलाई मूर्ख बनाइरहेको लडाकु ! आँखा ढाकिएको, कान थुनिएको र आवाज थुनिएको विवश र लाचार घोडा वा त्यसमाथि सवार चुच्चो भाला बोकेको पिकाडर ? साँढे सबैलाई यौटै ठानिरहेको थियो र यही बुझाइमा ऊ झन्झन् क्रोधित बनिरहेको थियो ।
बुलरिङमा बल्छीको आकारको चुच्चो भएका रङ्गीविरङ्गीे तीर समातेका दुई व्यक्तिहरू प्रकट भए । स्पेनी भाषामा तीरलाई 'बन्डारिला' र तीर प्रहार गर्ने व्यक्तिलाई 'बन्डारिलेरो' भनिदो रहेछ । बन्डारिलेरोले इम्ब्रोइड गरिएको चाँदीको रङ्गको ज्याकेट लगाएका थिए । तिनीहरूको हातमा साँढेलाई झुक्याउने रातो कपडा थिएन । एकजनाले आप\mना दुवै हात माथि उठाएर साँढेलाई आवाज दियो । साँढे कुद्दै आयो । बन्डारिलेरोले विद्युतीय गतिमा आफ्नो शरीरलाई साँढेकोेेेेेेेेेेो सिङ्गको निसाना हुनबाट बचाउँदै उप|mेर साँढेको काँधमा दुवै तीर रोप्यो । पछाडिबाट फेरि अर्को लडाकु देखा पर्‍यो । उसले आवाज दियो । साँढे पछाडि फक्र्यो र हुर्रिदै आक्रमण गर्न दौड्यो । उसले पनि अद्भुत कला देखाउँदै साँढेलाई झुक्यायो र हातमा भएका दुई तीर साँढेको कााधमा रोप्यो । तीरले बनाएको घाउबाट रगत रसाउँदै साँढेको गर्धन र पिठ्युँ भिज्यो । साँढे असहाय देखियो ।
बुलरिङमा 'म्याटाडर दे टोरस' -साँढेलाई मार्ने लडाकु) देखा पर्‍यो । ऊ बाईस-तेईस वर्षको ठिटो थियो । उसले सेतो कमिज, कालो टाई, सुनको रेसाले इम्ब्रोइड गरिएको गुलाफी रङ्गको पूरा बाहुला भएको छोटो ज्याकेट र घुँडासम्म आउने गुलाफी रङ्गको ट्राउजर, गुलाफी रङ्गकै लामो मोजा र कालो रङ्गको जुत्ता पहिरेको थियो । उसको हातमा रातो कपडा थियो जसको एउटा छेउ काठको लठ्ठीमा बाँधिएको थियो । काठको उक्त लठ्ठीलाई 'म्युलेटा' भनिदो रहेछ । लडाकुले म्युलेटालाई समातेर रातो कपडालाई आप\mनो वरिपरि फिंजाइरहेको थियो । उसको अर्को हातमा लामो र धारिलो तरबार थियो ।
बुलरिङमा दुई प्राणीहरू मात्र थिए, एउटा मान्छे र अर्को साँढे । साँढेको अनुहारमा क्रूरताको भाव थियो । बुलरिङको लडाकु नायक -म्याटाडर) ले साँढेलाई चर्को आवाज निकाल्दै हाँक दियो । साँढेले शिर ठाडो पारेर 'म्याटाडर'लाई हेर्‍यो । मैले देख्दादेख्दै साँढे बाघजस्तो भएर म्याटाडरमाथि जाइलाग्न कुदिसकेको थियो । साँढेले जोडले प्रहार गर्‍यो । म्याटाडरले उसको प्रहारलाई रातो कपडाले छेक्यो । ऊ रातो कपडाको आडमा कोल्टे उभिएको थियो । म्याटाडर साँढेलाई हाँक दिन्थ्यो, साँढे अझ जोडले रातो कपडामा हिर्काउँथ्यो । रिस, आवेग र उत्तेजनाले थरथर काँपिरहेको साँढे खुरले जमिनको माटो बुर्रबुर्र उडाउँदै र पुच्छर ठाडो पार्दै बल लगाएर सिङ्गले रातो कपडामा हिर्काइरहेको थियो । साँढे र म्याटाडरबीचको दूरी केही इन्चमात्र थियो । म्याटाडर आप\mनो कला-कौशलले रातो कपडालाई यसरी ओर्काउने र फर्काउने गथ्र्यो कि साँढे उसको वरिपरि लट्टु घुमेझैं फनफनी घुम्न बाध्य हुन्थ्यो । बुल फाइटको सबैभन्दा रोमाञ्चक र अद्भुत क्षण यही लाग्यो मलाई । साँढेलाई घुइँघुइँती घुमाइसकेपछि म्याटाडर फरक्क फक्र्यो । उसले आप\mनो हातले छातीमा ठोक्दै दर्शकतिर हेरेर जोडले चिच्यायो । मलाई आश्चर्य लाग्यो । म्याटाडर साँढेको कुनै परवाह नै नगरी ऊतिर पिठ्युँ फर्काएर दर्शकतिर गर्विलो मुद्रामा हेरिरहेको थियो । उसको उच्चस्तरको कला कौशल देखेर दर्शकहरू उसलाई स्यावासी दिँदै ताली पिटिरहेका थिए । मैले साँढेलाई हेरें । ऊ हलचल नगरी जहाँको तँही उभिएर ट्वाँ परेर आफूतिर पिठ्युँ फर्काई उभिएको आप\mनो दुश्मनलाई असहाय भएर हेरिरहेको थियो । उसको मुखबाट सेतो फिँज निस्किरहेको थियो । यही मौका थियो, ऊ म्याटाडरलाई पछाडिबाट हान्न सक्थ्यो । तर ऊ डेग चलिरहेको थिएन । म्याटाडरले आप\mनो तरबार परिवर्तन गर्‍यो । यो तरबार अघिल्लो भन्दा धारिलो र चम्किलो थियो ।
'इस्कोडाको समय आयो, लडाकुले अब साँढेलाई तरबारले घोपेर मार्छ,' जालन्धा बोलिन् ।
मलाई किनकिन नरमाइलो लाग्यो । म्याटाडर अघि सर्‍यो । उसले रातो कपडा फर्‍याकफुरुक गर्दै साँढेको दृष्टि रुमालमा अल्झाइरह्यो । उसले दाहिने हातमा रहेको तरबार माथि उठाएर सााढेको गर्धनतिर तेर्‍स्यायो । म्याटाडरले विद्युत्तीय गतिमा उप|mेर साँढेको गर्धन र काँधको सन्धिस्थलमा तरबार रोप्यो । तर पूरै रोपिएन । साँढे जोडले जमिनबाट उप|m्यो र म्याटाडरलाई हान्न दौड्यो । अघि रोपेको तरबार उछिट्टदिै भुइँमा खस्यो । उसले रातो कपडा हल्लाएर साँढेलाई नियन्त्रणमा लिँदै खसेको तरबार उठायो र उच्च कौशलको प्रदर्शन गर्दै पहिलेकै ठाउँमा फेरि तरबार रोप्यो । यो प्रहार अचुक थियो । साँढेले मुखबाट रगत बान्ता गर्‍यो । हामीहरू यो अद्भुत दृश्य हेरिरहेका थियौं । साँढे रगत छाद्दै बिस्तारै किनारतिर आयो । किनारमा पुगिसकेपछि साँढे घुँडा खुम्च्याएर बस्यो र एकैछिनमा भुइँमा चारैखुट्टा तन्काएर पसारियो । उसले सदाका लागि बुलरिङ छोडिसकेको थियो । ढोकाबाट यौटै जुवामा नारिएका तीन खच्चरहरूलाई दौडाउँदै तीन व्यक्तिहरू आए । पुछारमा डोरीले साँढेको गर्धन बाँधे र साँढेलाई तान्दै खच्चरहरू ढोकाभित्र छिरे ।
केही समयपछि अर्को 'फाइट' सुरु हुँदै थियो । जम्मा छवटा 'सो' हुँदा रहेछन् र प्रत्येक 'सो' मा एउटा साँढेले ज्यान गुमाउने रहेछ । गेटको ढोका खुल्यो र कालो रङ्गको अर्को साँढे कुद्दै आयो । अब हाम्रा लागि 'बुल फाइट्स' नौलो थिएन । पहिलो 'सो' पछिका प्रक्रियाहरू यौटै थिए । तर म्याटाडर -लडाकु) र साँढेको शक्ति, साहस, सामथ्र्य र सीप भने पक्कै पनि मौलिक थिए । बुुुलरिङमा लडाकुहरूले पहिलो साँढेलाई झैं यसलाई पनि गुलाफी रुमाल हल्लाउँदै यता र उता दगुराउँदै उत्तेजित बनाए । पिकाडरले घोडाको पिठ्युँमा चढेको चढ्यै साँढेको कााधमा तिखो भालाले प्रहार गरेर रक्तरञ्जित बनायो । दुईजना बन्डारिलेरोले साँढेलाई छकाउँदै काँधमा रातो र सेतो रङ्गका तीरहरू रोपे । साँढे क्रुद्ध देखियो । अन्ततः बुलरिङमा म्याटाडर दे टोरोस -मुख्य लडाकु) ले प्रवेश गर्‍यो । ऊ रातो रुमाल हल्लाएर साँढेलाई आफ्नो वरिपरि घुुइँघुइँती रिङ्न बाध्य पारिरहेको थियो । अचानक लडाकु कतै चुक्यो, साँढेले रातो रुमाल सँगसँगै लडाकुलाई सिङ्गले माथि उचाल्यो र जमिनमा बजार्‍यो । जमिनमा असहाय उत्तानो परेको लडाकुलाई साँढे सिङ्गले हान्न थाल्यो । दर्शकदीर्घामा हाहाकार मच्चियो । मैले पनि सोचें लडाकु अब मर्‍यो । तर तीव्र गतिमा चारैतिरबाट अन्य लडाकुहरू गुलाफी रुमाल हल्लाएर साँढेलाई हाँक दिँदै आए । साँढे उत्तानो परेको आफ्नो मुख्य शत्रुलाई छोडेर हाँक दिनेहरूतर्फ झम्ट्यो । अन्य व्यक्तिहरूले म्याटाडरले टोरोसलाई उठाए । घाइते भए पनि ऊ बुलरिङ्ग छाड्न तयार देखिएन । ऊ तुरुन्तै सम्हालियो । उसले भुइँमा खसेको तरबार र रातो कपडा उठायो र साँढेतिर हेर्दै हाँक दियो । मैले देखें उसको ट्राउजरको पछाडिको भाग च्यातिएको थियो । उसले केहीबेर साँढेलाई खेलाएपछि तरबारले काँधमा प्रहार गर्‍यो तर तरबार आधा मात्र रोपियो । साँढेले रगत ओकल्यो । ऊ बिस्तारै किनारतर्फ आयो र घुँडा खुम्च्याएर बस्यो । तर ऊ मरेन । एकजना व्यक्ति अघि सर्‍यो र सानो छुरीले टाउको पछाडिको मेरुदण्डमा प्रहार गर्‍यो । एकैछिनमा साँढेको प्राणपखेरु उडेर गयो ।
हामीले हेरेको तेस्रो बुल फाइट भने विशेष प्रकारको थियो । यस फाइटको आकर्षण साँढे नभएर म्याटाडर दे टोरोस -मुख्य लडाकु) थियो । कालो रङ्गको उन्मुक्त साँढेलाई अत्यन्त कलात्मक ढंगले कुशलतापूर्वक खेलाई खेलाई थकित बनाएको थियो उसले । उसले देखाएको चामत्कारिक र अद्भुत युद्ध कौशलले म अभिभूत नभइरहन सकिनँ । उसको अगाडि त्यो अजङ्गको रिसाहा साँढे लाचार देखिएको थियो । अन्ततः त्यो क्षण आइपुग्यो जब लडाकुले आप\mनो तरबार साँढेको गर्धन र काँधबीचको त्यो विशेष स्थानमा रोप्नुपर्छ, जसले गर्दा मुटुबाट शरीरमा रगत जाने मुख्य रक्त नली काटिन्छ र साँढेको तत्काल मृत्यु हुन्छ । लडाकुले एकै झमटमा पूराको पूरा तरबार साँढेको शरीरमा रोप्यो । तरबारको बिँडमात्र हामी देखिरहेका थियौं । पूरै तरबार साँढेको शरीरभित्र गाड्न लडाकु सफल भएको थियो । हामीहरू अचम्मित भयौं । हामीमात्र होइन सारा दर्शकहरूले परर ताली पिटे । साँढे एकछिन चलमलायो अनि घुप्लुक्क जमिनमा ढल्यो । मैले देखें दर्शकहरू चिच्याउँदै हातले सेतो रुमाल हल्लाइरहेका थिए । मैले यसको अर्थ बुझिनँ । जालन्धातिर हेरें । उनले भनिन्, 'सेतो रुमाल हल्लाएको अर्थ हो लडाकुले उत्कृष्ट काम गर्‍यो । उसलाई राम्रो पद देऊ ।'
'यस्तैगरी सेतो रुमाल अर्को परिस्थितिमा पनि हल्लाइन्छ,' जालन्धाले मतिर हेर्दै फेरि भनिन् । 'यदि साँढेले लडाकुको दाँजोमा उत्कृष्ट लडाइँ लड्यो भने दर्शकहरुले साँढेको पक्षमा पनि यसैगरी सेतो रुमाल हल्लाएर सम्मान व्यक्त गर्छन् । त्यसपछि साँढेलाई बुलरिङबाट मुक्त गरिन्छ र उसलाई जुन र्फमबाट ल्याइएको हो त्यहीं पठाइन्छ । उसले आप\mनो बाँकी जीवनमा फेरि यो रिङ्गमा फर्केर आउनु पर्दैन ।' जालन्धाको कुरा सुनेर म दङ्ग परे ।
चौथो बुल फाइट्सका लागि रिङ्गमा उत्रिएको साँढे पनि कालै रङ्गको थियो । उसँग लड्न पहिलो बुल फाइटिङको म्याटाडर बुलरिङ्गमा उत्रिएको थियो । साँढेले पिकाडर चढेको घोडामाथि भयानक आक्रमण गर्‍यो । पिकाडरले साँढेको काँधको मांसपेशी छियाछिया हुनेगरी शक्ति लगाएर भाला रोपिरहेको थियो तर साढे झन्झन् क्रुद्ध हुँदै सिङ्गले घोडाको जीउमा प्रहार गरिरहेको थियो । अचानक पिकाडर घोडासहित भुइँमा ढल्यो । पिकाडर जुरुक्क उठेर ज्यान जोगाउन किनारतिर भाग्यो । साँढे तिखा सिङ्गले घोडामाथि जाइलाग्न थाल्यो । लडाकुहरू गुलाफी रुमाल हल्लाउँदै साँढेलाई घेर्न आए । साँढेले घोडालाई हान्न छोड्यो र लडाकुतिर बढ्यो । पाँच छ जना मान्छे मिलेर घोडालाई जमिनबाट उठाए । घोडा लड्खडाइरहेको थियो । यो चौथो साँढे पनि अन्तमा मारियो । तर यसपटक म्याटाडरले तेस्रो लडाकुले झैं एकैपटक तरबार रोपेर साँढेलाई मार्न सकेन । पटकपटकको प्रहारपछि मात्र साँढे मर्‍यो ।
पाँचौं फाइटमा कुनै विशेष घटना भएन । छैटौं फाइट सुरु भयो । बुलरिङमा लडाकुहरू र निख्खर कालो र तिखा सिङ्ग भएको साँढे जमिसकेका थिए । यो साँढेको भाव मुद्रा र स्फूर्ति यस अघिका साँढेहरूभन्दा फरक थियो । ऊ लगातार खुरले जमिनको माटो खोस्रँदै बुलरिङको एकछेउदेखि अर्को छेउसम्म गुलाफी रुमाल समातेका सहयोगी लडाकुहरूलाई हायलकायल पार्दे सिङ्गौरी खेलिरहेको थियो । अचानक ढोका खुल्यो र बुलरिङमा घाँटीमा बाँधेको घण्ट बजाउँदै आठवटा टाटेपाटे गोरुहरू प्रकट भए । गोरुहरूको टाउको, गर्धन, चारै खुट्टाहरूको रङ्ग कालो र बाँकी जीउ घीउ रङ्गको थियो । हामीहरू तीनछक पर्‍यौं । यो मैले कहिल्यै टीभीमा नदेखेको, किताबमा पनि नपढेको र कहीं कतै नसुनेको दृश्य थियो । बुल फाइटिङको बुलरिङमा घण्ट बजाउँदै आठवटा साँढे किन आए ? यसको के अर्थ हुन सक्छ म घोत्लिरहेको थिएँ कि ती गोरुहरूले साँढेलाई वरिपरिबाट घेरेर आफूहरूको बीचमा हिँडाउँदै लिएर गए । साँढे पनि आज्ञाकारी बाच्छोझैं तिनीहरूसँगै बुलरिङ छोडेर ढोकाभित्र पस्यो ।
'यो के भएको जालन्धा ?' मैले अचम्म मान्दै सोधें ।
'बुल फाइटिङ सञ्चालन कमिटीलाई लागेको हुनुपर्छ कि यस साँढेमा लडाकु साँढेमा हुनुपर्ने विशेष गुणहरू छन् । यस्ता गुणहरू सबै साँढेमा पाइँदैनन् र यसको परीक्षण लडाइँको बेलामात्र हुन्छ । त्यसैले तिनीहरूले यसलाई फर्काए । अब यो साँढेलाई चाडबाड र उत्सवका बेला हुने कुनै महत्त्वपूर्ण 'सो' मा लडाइनेछ ।' यसको भाग्यमा अझै केही दिन बाँच्नुपर्नेरहेछ ।
उसको सट्टामा अर्को खैरो रङ्गको साँढे बुलरिङमा आइसकेको थियो ।
म्याटाडर र साँढेबीच घनघोर लडाइँ सुरु भयो । यस क्रममा यो साँढेले पनि पिकाडरको घोडालाई चित्त पार्‍यो । भन्डै मरेन घोडा । केही मिनेट बित्न नपाउँदै साँढेले गाढा गुलाफी रुमाल हल्लाएर आफूलाई छकाउने एउटा लडाकुलाई सिङ्गले हानेर पछार्‍यो । साँढेले उसको जीउमा कुल्च्यो । ऊ पीडाले करायो । सहयोगीहरू उसलाई बचाउन दौडे । तीनजनाले गुलाफी रुमाल हल्लाउँदै साँढेलाई घाइतेबाट विमुख पार्दे छकाइरहे । अन्यले घाइतेलाई बोकेर रिङ्गबाहिर ल्याए । उसका खुट्टाहरू भाँच्चिएजस्तो लाग्यो मलाई । हामीहरू स्तब्ध भयौं । बुल फाइट्समा यी घटनाहरू सामान्य मानिदा हुन् वा यस्ता घटनाहरू घटित भएनन् भने बुल फाइट्सको रौनक, रोमाञ्चक र रमणीयता सार्थक नहुँदो हो । सशस्त्र मान्छे र निशस्त्र साँढेको यस लडाइँमा अन्ततः साँढेले पराजित भएर मर्नुपर्ने नियति देखेर मेरो मन पीडाले कुँढिए पनि म म्याटाडरको युद्धकला, साहस, रण कौशल, चातुर्य र सीपको प्रशंसक नबनिरहन सकिनँ । इस्कोडा -साँढेलाई मार्ने समय) आयो । म्याटाडरले रातो रुमाल ओर्काउँदै-फर्काउँदै साँढेलाई दिग्भ्रमित बनाइरह्यो । उसले तरबारले साँढेको काँधको बीच विन्दुमा निसाना साँधेर विद्युत्तीय गतिमा तरबार रोप्यो । छालामाथि तरबारको बिँडमात्र देखियो । साँढेको नाक, कान, आँखा र मुखबाट रगतका फोहराहरू छुटे । ऊ बिस्तारै स्याा....स्याा.... गर्दै रिङ्गको किनारमा आयो र डङ्गरङ्ग पल्टियो । उसका आँखाहरू आकाशतिर र्फलक्क पल्टे ।
दर्शकले उठेर ताली बजाउँदै म्याटाडरको अभिवादन गरे । उसले दोस्रो साँढेलाई पनि तरबारको एकै प्रहारले रगत छाद्न लगाएको थियो । खच्चरले साँढेको मृत शरीर तानेर लगे । आजको बुल फाइट्सको हिरो 'म्याटाडर दे टोरस'ले टोपी हल्लाउँदै दर्शकको अभिवादन गर्‍यो । तीनजना लडाकुहरूले पालैपालो छवटा साँढेको वध गरेपछि आजको बुल फाइटिङ समाप्त भयो ।
हामीहरू गह्रौं मनले उठ्यौं । मेरा आँखामा अघि मरेका साँढेका अनुहारहरू नाचिरहेका थिए । मेरो मन उद्वेलित भइरहेको थियो । बुल फाइट्सको वास्तविक नायक को हो ? सशस्त्र मान्छे वा निशस्त्र साँढे ? मेरो मन आफैंसँग यस प्रश्नको जवाफ खोजिरहेको थियो ।

प्रकाशित : भाद्र १६, २०६९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?