मेरा हिरोइन

रमण घिमिरे

ठ्याक्कै तिथि थाहा छैन । पुरानो 'रूपरङ' मासिक पल्टाउनु पर्छ । पहिलोपल्ट मनीषा कोइरालालाई भेट्दा मेरो मनोदशा कवितामा अत्यन्तै प्रयोग हुने दुई शब्दका पर्खालहरूभित्र थुनिएको थियो- स्तब्ध र मन्त्रमुग्ध ।

हुन त कुनै पनि सुन्दर नारीलाई देखेर उसको सौन्दर्यको बान्कीमा मोहित हुुनु कुनै अद्वितीय कुरा थिएन । तर, मनीषाको अनुहारमा कुँदीकुँदी जुन सौन्दर्य भरिएको थियो र बिनाकुनै शृंगार उनको ओठमा लाली र गालामा सिन्दुरी जुन प्राकृतिक सौन्दर्य चम्किरहेको थियो, सायद त्यो सबैले देख्ने अवसर पाउँदैनन् । उनको त्यो अकल्पनीय सौन्दर्य देखेर म स्तब्ध भएको थिएँ ।
उनीभन्दा अघि अनेकौँ फिल्म अभिनेत्रीहरूसँग कुम जोडेर हिँडिसकेको मलाई सानोतिनो आकर्षणले खासै तान्ने क्षमता राख्दैनथ्यो । त्यसैले मनीषालाई पहिलोचोटि देख्दा मन्त्रमुग्ध हुनु मेरो पत्रकारिताको एउटा अविस्मरणीय क्षण भएर आज पनि स्मृतिमा बेलाबेला सलबलाइरहन्छ । उनलाई भेट्न हामी तीनजना गएका थियौँ- पत्रकार हरिहर विरही, फोटोपत्रकार मीन बज्राचार्य र म । त्यहाँ गिरिजाबाबु पनि थिए । मीनले हराएको छैन भने उसले
खिचेको मनीषा र गिरिजाबाबुसँग हामी उभिएको फोटोले त्यो इतिहासलाई दोहोराउने छ । मनीषाको अन्तर्वार्ता मैले लिएँ र फोटा मीनले खिचेको थियो । यो मनीषा फिल्मजगत्मा प्रवेश गर्नुअघिको पहिलो अन्तर्वार्ता थियो । त्यतिखेर उनी मेघा उलको विज्ञापनले चर्चामा थिइन् ।
मनीषाको त्यस सौन्दर्यको किन बयान गरेको हुँ भने, उनले अभिनय गरेको पहिलो फिल्म 'फेरि भेटौँला' फ्लप भएपछि त्यसका निर्देशकले भनेका थिए- मनीषाको अनुहार 'फोटोजेनिक' छैन र उनलाई अभिनय गर्न आउँदैन । कुनै फिल्म पत्रिकामा यो कुरा पढेर अर्कोपल्ट स्तब्ध भएको थिएँ म । मीनले खिचेको फोटो र मैले पहिलोपल्ट देखेको मनीषाको सौन्दर्यमा खोट लाउने ठाउँ थिएन । उनी फोटोमा पनि त्यति नै सुन्दर थिइन्, जति हाम्रा आँखामा । पछि मुम्बईमा गएर सुभाष घईको 'सौदागर' मा गरेको अभिनय देखेर म फेरि स्तब्ध भएँ, 'फेरि भेटौँला'का अभियोगहरू स्मरण गरेर । मैले मनीषालाई भेटेको यति एकपल्ट हो । त्यसपछि मुम्बई फिल्मको झकिझकाउमा पुगेर उनले नेपाली फिल्मलाई बिर्सिइन्, मैले पनि स्मृतिबाट उनको छवि खाली गरिदिएँ ।

मैले चलचित्र पत्रकारितामा कलम चलाउँदादेखि बिर्को बन्द गर्दाबीचको अन्तरालमा अनेकौँ अभिनेत्रीहरू आए अचानक र तीमध्ये अधिकांश गए पनि अचानक नै । तर, मिथिला शर्मादेखि निरुता सिंहसम्मका केही थोरै अभिनेत्रीको छाप आज पनि मेरो मनमा एउटा शिलालेखजस्तो भएर बसेका छन् । त्यसमध्येकी एक शिलापत्र हुन्, मिथिला शर्मा । मिथिला सायद फिल्ममा भनिने 'नायिका' पनि हुन चाहन्थिन्, 'अभिनेत्री' मात्र होइन । तर नेपाली फिल्मले उनलाई अभिनेत्रीमै सुरक्षित राख्नु बढी उपयुक्त ठान्यो । त्यसैले उनले धेरै हिरोहरूसँग झरनामा भिज्नु परेन, बगर र वागमा नाच्नु परेन । यद्यपि उनी अभिनेत्रीबाहेक पारङ्गत नृत्याङ्गना मात्र होइन नृत्य शिक्षिका पनि थिइन् अनि उनीसँग त्यतिकै रूप, यौवन र उमेर पनि थियो ।
मिथिलालाई पहिलोपल्ट अहिलेको रुसी सांस्कृतिक केन्द्र कमलपोखरी छेउको डेरामा भेट्दा उनी उमेरले बीस नाघेकी थिइनन् । त्यस बेला वागमतीमा फोहोर होइन, सङ्लो पानी बग्थ्यो । यो सङ्लोपनसँग मिथिलाको सुशीलता र स्वभाव गाँसिएको अनुभव गर्थें म । कहिलेकाहीँ मानिसको स्वभावले पनि उसलाई उसले चाहेजस्तो हुन दिँदैन । शिष्ट, सौम्य, सुशील र सुभाषिनी, एउटा सुन्दर नारीमा हुनपर्ने सबै गुण र स्वभाव थिए उनमा र अहिले पनि छन् । तर त्यति बेलाका फिल्म निर्देशकहरूले नायिकामा खोज्ने चञ्चलता र उत्ताउलोपन सायद मिथिलाबाट प्राप्त गर्न सकेनन् र उनी अभिनेत्रीमै सीमित हुन पुगिन्, सफल 'हिरोइन' हुन सकिनन् ।
चालीसको दशकपछि हुनुपर्छ, नेपाली चलचित्रमा अभिनेत्रीहरूको भीड लागेको थियो । करिश्मा केसी, कृष्टि केसी, शर्मिला मल्ल, गौरी मल्ल, मौसमी मल्ल, लक्ष्मी श्रेष्ठ, नवीना श्रेष्ठ, सुशीला रायमाझी आदि अनेकौँ नामहरू यतिखेर मेरो मस्तिष्कमा ओहोरदोहोर गरिरहेका छन् ।
त्यस बेलाका नायिकाहरू बडा फुर्सदिला थिए । कम फिल्म बन्थे र उनीहरूको खासै आम्दानी पनि थिएन । म सम्झन्छु, कृष्टि केसी उनको माइती खत्री फिड इन्टस्टि्रज, बाँसबारीबाट धेरैपटक पैदलै लगनटोलको 'रूपरङ्ग' कार्यालयमा आएकी छन् र हामी पनि उनलाई खोज्दै पैदल नै यति लामो बाटो हिँडेका छौँ । भर्खरै हिकोला कलर ल्याबको विज्ञापनमा कृष्टिको पोस्टर आएको थियो । श्याम वर्णकी यी कन्या नाङ्गो आँखाले भन्दा क्यामेराको आँखामा बढी सुन्दर देखिन्थिन् । र, झरनामा भिजेकी हिकोलाको पोस्टरमा कृष्टिको सुन्दरता निखारिएको देखिन्थ्यो । तर पनि उनी एकल नायिका हुन सकिरहेकी थिइनन् । त्यही बेला दीपक रायमाझीले आफ्नो पहिलो चलचित्र 'भाग्यरेखा'मा उनलाई आफ्ना भान्जा राजेश हमालकी नायिकाको रूपमा अनुबन्ध गरे । तर दुर्भाग्य, त्यो कृष्टिका लागि पहिलो एकल फिल्म हुन सकेन । राजेश र उनी दुवैलाई विभिन्न काण्डहरूको आरोपमा 'भाग्यरेखा'बाट निकाला गरियो । पछि दीपक रायमाझीले नै निर्देशन गरेको फिल्म 'युगदेखि युगसम्म'मा एकल रूपमा नेपाली चलचित्रमा प्रवेश पायो यस जोडीले ।
त्यस बेला 'सेक्स अपिल' भन्ने शब्द नेपाली फिल्म जगत्मा सुगा वाणी भएको थियो । अर्थ जानेर होस् या नजानेर हरेक फिल्मकर्मीहरू आफ्ना नायिकामा 'सेक्स अपिल' खोज्थे । र, यसको परीक्षा राजीव श्रेष्ठको क्यामेराले लिन्थ्यो । फिल्म कम बन्थे त्यसैले नयाँनयाँ फिल्मी पोस्टरहरू भित्तामा टाँगिने कुरा थिएन । त्यसैले हाम्रा अभिनेत्रीहरू फिल्ममा भन्दा बढी राजीवको ग्यालरीमा टाँगिएका विभिन्न 'पोज'का फोटोहरूबाट चर्चित थिए । त्यस बेलाका कमै अभिनेत्री होलान्, जो राजीवको क्यामेराबाट जोगिएर रजतपटमा आएका हुन् या रजतपटमा आएपछि राजीवको क्यामेराबाट छलिएका हुन् ।
करिश्मा र गौरीले राजीवको स्टुडियोमा नछिरी प्रकाश थापाको 'सन्तान'मा छानिने अवसर पाए । करिश्मा अद्भुत प्रतिभा भएकी झोँक्की अभिनेत्री थिइन् । नायक प्रकाश अधिकारीले आफू पनि हिरो हुने उद्देश्यका साथ करिश्मालाई हिरोइन बनाउन लिएर गएका थिए थापाकहाँ । प्रकाश आफूचाहिँ सफल भएनन् तर करिश्मालाई सफल बनाए । करिश्माले प्रकाश थापाबाट 'ब्रेक' पाए पनि उनका भावी फिल्महरूमा दोहोरिने मौका पाइनन् । थापा र उनीबीच असमझदारी बढ्यो र लामो समयसम्म वाक्युद्ध नै चल्यो ।
त्यस बेला नेपाली चलचित्रमा थापाको जगजगी चलेको थियो । अनि करिश्माको प्रहारबाट आफ्नो अभिमानमा धक्का लागेको अनुभव गरेका थापाले घोषणै गरिदिए, 'म करिश्मालाई मेरो त के, कुनै पनि नेपाली फिल्ममा ढिक्मिन दिन्नँ ।' तर करिश्माले प्रतिभालाई प्रस्फुटन हुनबाट कसैले रोक्न सक्तैन भन्ने शाश्वत कथनलाई प्रमाणित गरिदिइन् र थापाको विरोधलाई चुनौती दिँदै भकाभक नयाँनयाँ फिल्महरूमा काम पाइरहिन् । उनको यो यात्रा आज उनलाई उमेरले उकालीतिर डोर्‍याइरहँदा पनि निरन्तर छ । 'सेक्स अपिल'सँगै अभिनयले पनि साथ दिएका कारण करिश्मा आजसम्म चलचित्रमा टिक्न सफल भएकी हुन् । तृप्तिपछि अभिनय र अनुहार दुवैले साथ दिएको अभिनेत्री हुन् करिश्मा ।
तर, उनीसँगै आएकी गौरीलाई पछिल्लो प्रतिभाले करिश्माभन्दा बढी नै साथ दिए पनि अघिल्लोमा दर्शकले त्यति स्विकारेनन् । निर्देशक यादव खरेलले एउटा चलचित्रमा गौरीको सम्पूर्ण पक्षलाई चित्राङ्कन गर्ने प्रयत्न नगरेका होइनन् तर यसमा उनी र गौरी दुवैको प्रयास विफल भयो । गौरी र मिथिलामा मिल्दाजुल्दा गुणहरू थिए । मिनलसार स्वभाव, मीठो बोलीवचन र नृत्य-पारङ्गत आदि तर चलचित्रमा एउटा नायिकामा देखिनुपर्ने 'अपिल'मा सायद कमी थियो हाम्रा निर्देशकका आँखामा । त्यसैले पछिपछि आमा र दिदीको भूमिकामा मात्र उनी सीमित रहिन् । उनी नेपाली चलचित्रमा नायिका हुन नसकेकीमा मलाई मिथिलाको नियति स्मरण हुन्छ । कहिलेकाहीँ मानिसमा आफ्नो क्षेत्रका सबै गुण-विशेषता भएर पनि सफल हुन सक्तैनन् । त्यो समयले उनीहरूमाथि न्याय गर्न नसकेको परिणाम अहिले हाम्रा चलचित्रले बेहोर्न बाध्य छन् ।
नायिका नवीना अन्तर्वार्ता दिन असाध्यै रुचि राख्थिन् । उनी आफूलाई 'सुपर मार्केटकी सुपर हिरोइन' भन्थिन् । असनमा बस्थिन्, जति बेला त्यो थलो प्रसिद्ध थियो । तर, एउटा नेवारी चलचित्रबाट प्रवेश गरेकी नवीना कालान्तरमा असनजस्तै पुरानो बजारमा परिणत भइन् । नवीना राम्री श्यामवर्णकी युवती थिइन् । त्यसैले हामी 'तुयु मै' -काली केटी !) भनेर जिस्काइरहन्थ्यौँ, उनी रिसाउँथिन् । उनी एकदमै फरासिली हिरोइन थिइन् ।
अंशुमाला शाहीको वास्तविक नाम थियो सुषमा शाही । उनी 'आदर्श नारी'बाट नेपाली चलचित्रमा 'इन्ट्री' गर्दा यही नामकी अर्की नायिकाको नाम शिखरमा भएकाले आफ्नो नाम परिवर्तन गरेर अंशुमाला भइन् । अशंुमाला स्वभावले मिथिलाको कोटीकी थिइन् । कर्णपि्रय वचन, शालीन र सम्य स्वभावका कारण उनमा पुराना हिन्दी फिल्मका नायिकाहरूको गुण बढी आएजस्तो देखिन्थ्यो । वास्तवमा यही गुणले उनलाई चलचित्रमा एउटा नायिकाको रूपमा सफल हुन दिएन । चाँदीको पर्दामा यसलाई अयोग्य माने पनि पर्दाबाहिरको समाजका लागि भने अंशुमालाको यही विशेषता सर्वपि्रय र अविस्मरणीय हुन पुग्यो । आज पनि त्यस कालखण्डका चलचित्रकर्मीहरू अंशुमालालाई एक शिष्ट अभिनेत्रीका रूपमा सम्झन्छन् ।
अभिनय र अनुहारले त्यति धोका नदिँदानदिँदै पनि नेपाली चलचित्रले धोका दिएका दुई अभिनेत्री हुन्- लक्ष्मी श्रेष्ठ र सुशीला रायमाझी । यी दुवै अभिनेत्रीहरू रङ्गमञ्चबाट आएका थिए । तसर्थ यिनमा असिमित अभिनय क्षमता थियो । लक्ष्मी श्रेष्ठ नवागन्तुक नायिकाहरूलाई अभिनय र नृत्य सिकाउँथिन् । उनैले सिकाएको अभिनयको बाटोमा हिँडेर धेरै युवतीहरू सफल हिरोइन बने तर लक्ष्मी आफूचाहिँ 'चेला चिनी र गुरु गुण' कै उक्तिमा चित्त बुझाउन बाध्य भइन् । कहिल्यै नायिका या सिनेमाको सफल अभिनेत्री हुन सकिनन् । यद्यपि त्यस बेला 'मालती-मङ्गले'जस्तो सफल गीतिनाटककी सशक्त अभिनेत्रीका रूपमा उनको नाम प्रशंसित थियो ।
अभिनय गर्ने महिलालाई अभिनेत्री भनिन्छ । तर, हाम्रा आमनिर्देशकहरूले अहिलेसम्म बुझ्न नसकेको गाँठी कुरै यही हो । उनीहरूले खालि सुन्दर र कामुक अनुहार मात्र खोजे तर ती सुन्दर अनुहारका धनी हिरोइनहरू सबै अभिनेत्री थिएनन् । मलाई अझ पनि लाग्छ, मिथिला, लक्ष्मी, सुशीला, अंशुमाला या गौरी यस्ता विलक्षण प्रतिभाशाली अभिनेत्रीलाई निर्देशकहरूले अभिनयका आँखाले हेरेनन् । निर्देशकमा यस्तो विशेषता पहिचान गर्ने दिव्यदृष्टि नै थिएन । मुम्बइया फिल्मको सिको गर्ने हाम्रा निर्देशकले त्यहाँका कम सुन्दर तर विलक्षण अभिनयले चलचित्र उद्योगलाई नै प्रभाव पार्ने स्मिता पाटिल, शवाना आजमीहरूको अभिनयशैलीको सिको गरेर अभिनेत्री जन्माउन सकेनन् । पारदर्शी लुगा लगाएर झरनामा नुहाउँदै गाउने या छोटा पहिरनमा रूखमुनि नाचिहिँड्ने कन्या मात्र उनका दृष्टिमा हिरोइन ठहरिए । होइन भने प्रकाश थापाद्वारा भारतबाट भित्र्याइएकी मीनाक्षी आनन्दको दाँजोमा यी अभिनेत्री कुनै पनि अर्थमा कमजोर थिएनन् अभिनयमा ।

अहिले सम्झँदा सारै न्यानो लाग्छन् ती स्मृतिहरू । मीन, म र मौसमी मल्ल फोटो सेसन गराउन लगनबाट हिँडेरै अहिलेको विमानस्थल नजिक रहेको गल्फकोर्टमा पुग्थ्यौँ । कृष्टिलाई 'साप्ताहिक मञ्च'को छतमा उभ्याएर फोटोसेसन गराउँथ्यौँ । प्रज्ञा-प्रतिष्ठानको चउरमा बसेर गौरीसँग अन्तर्वार्ता लिन्थ्यौँ । त्यस बेला पत्रकार र हिरोइनहरूबीच सारै सहिष्णुपूर्ण वातावरण थियो र एकअर्कामा विश्वास पनि । खाजा खाने र खुवाउने चलन थिएन । किनभने दुवै थरीसँग गोजीखर्चको अभाव हुन्थ्यो । यसमा बरू नवीना चाहिँ अपवाद थिएन । उनी यहीँकी स्थानीय भएकीले उनलाई भेट्न हामी घरमै जान्थ्यौँ । यसरी जाँदा एक कप चिया नखुवाई पठाउदिन थिइन् ।
हिरोइनमा साच्चिकै आर्थिक अभाव थियो त्यस बेला । हिरोइन भएपछि ठाँटिएर हिँड्नुपर्ने बाध्यता त थियो उनीहरूलाई तर उनीहरू सधैँ यस बाध्यतालाई पालना गर्न असमर्थ थिए । उनीहरू फिल्ममा खेल्न चाहन्थे जसरी भए पनि, यसमा पारिश्रमिकको मोलमोलाइजा गर्ने कुरै थिएन । पत्रिकामा फोटो छापिनुमा उनीहरू बढी गर्व गर्थे । टेलिभिजन थिएन र पत्रिकामा रङ्गीन फोटो छाप्ने त्यति चलन थिएन । एक-दुइटा चलचित्र पत्रिकामा छापिएका रङ्गीन फोटोसहितका आफ्ना अन्तर्वार्ता पढेर हिरोइनहरू आनन्दित हुन्थे । उनीहरूका लागि यो नै त्यस समयको सबैभन्दा ठूलो प्रचार माध्यम थियो ।

प्रकाशित : भाद्र २३, २०६९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?