हङकङमा भीसी

भीसी विजेता एकमात्र जीवित नेपाली रामबहादुर लिम्बूले केही समय हङकङमा बिताए । उमेरले नेटो काटे पनि उनको फुर्तीले धेरै प्रभावित भए ।
निर्मल श्रेष्ठ

भीसी विजेता एकमात्र जीवित नेपाली रामबहादुर लिम्बूले केही समय हङकङमा बिताए । उमेरले नेटो काटे पनि उनको फुर्तीले धेरै प्रभावित भए ।

बेलायतको सबैभन्दा ठूलो सैनिक पदक भिक्टोरिया क्रसबाट सम्मानित १३ नेपालीमध्ये एक्ला जीवित हुन् रामबहादुर लिम्बू । हङकङ भ्रमण सकी हालै स्वदेश फिरेका उनको चर्चा यो प्रवासी भूमिमा अझै ताजै छ ।
सात दशक नाघेका लिम्बूलाई बुढ्यौलीले गाला मुज्जा पारिसकेको छ । यी लौरोको सहाराबिना धेरै बेर अडिन सक्दैनन् । तर स्थानीयका मायाले फुर्किएका पाकाले दोहोरीमा कम्मर मर्काउँदा भने लौरो बिर्से । युद्धमा देखाएको अदम्य साहस र बहादुरीका लागि यिनलाई सन् १९६६ फेब्रुअरी १२ मा बि्रटिस सेनाको सर्वोच्च युद्ध पदक प्रदान गरिएको थियो । विकिपिडियाका अनुसार हालसम्मका १ हजार ३ सय ५३ भीसी विजेतामध्ये आठजना मात्र जीवित छन् ।
उमेरले पाका भए पनि उनको स्मरण शक्ति तन्नेरीलाई पनि पछार्न सक्ने खालको छ । दुश्मनसँग भिडेका दिन सम्झन अनुरोध के गरियो उनी जोसिलो पारामा फरर सुरु भए । वर्षौंअघिका कुरासमेत मस्तिष्कमा ताजै रहेछन् । लिम्बू सम्मिलित बटालियन उबेलाको बि्रटिस कोलोनी मलाया -हाल मलेसिया) मा खटिएको रहेछ । '२१ नोभेम्बर १९६५ को दिन थियो त्यो, दिउँसोको करिब दुई बजेको हुँदो हो,' छजनाको आफ्नो समूह दुश्मन -इन्डोनेसियाली सेना) ले खनेको सुरुङमाथि परेको सम्झँदै उनले भने, 'हामीमाथि गोली बर्सियो, तीनजना थरर काम्दै ठहरै भए अरू घाइते ।'
साथी सबै ढलेपछि उबेला २९ वर्ष मात्र पुगेका लिम्बूको रगत उम्लिएछ । 'सुरुङभित्रबाट हामीमाथि गोली बर्सिएको देखें,' अनुहार रातो पार्दै उनी बोले, 'हतार हतार ३५ र ३६ नम्बरको गि्रनेड उतै मिल्काएपछि सबै एकै चिहान भए ।' त्यसपछि घाइते साथीहरूलाई घिसार्दै सुरक्षित स्थलतर्फ लगेको समेत उनले सुनाए ।
जुन देशका विरुद्ध लडियो त्यससँग मातृभूमिको कुनै दुश्मनी नरहेको उनले बुझेका थिए । 'तर कुनै पश्चात्ताप रहेन, कर्मप्रति बफादार बनें,' उनले तर्क पेस गरे । 'सेनाबाहेक पनि नेपालीहरू संसारभर विभिन्न पेसामा कार्यरत छन्,' उनले भने, 'इमानदारी, साहस र वीरता नै हाम्रो चिनारी बनिसक्यो, युद्धमैदानमा मैले पनि यही धर्म निभाएको हुँ ।' महारानी एलिजावेथले बेलायतस्थित भव्य बकिङ्घम प्यालेसमा आयोजित समारोहमा तक्मा भिराइदिँदा छाती गर्वले फुलेको सुनाए यिनले । त्यसपछि त उनी सबैका हिरो भए । विश्वभर नेपालीलाई चिनाउन आफ्नो पनि थोरबहुत योगदान रहेकामा गर्व रहेछ यिनलाई ।
'तिमी भर्ती भए गाईवस्तु कल्ले हेर्छ त ?' पल्टनमा जान लागेको थाहा पाएर दाजु भाउजूले सोधेको कुरा सम्भ“mदै उनी फेरि वर्षौंअघि फर्के । पुर्खौली पँाचथर च्याङथापुका लिम्बू उतिबेला २२ वर्षका रहेछन् । राम्रो कमाइ, मीठो खान र राम्रो लाउन, ठूलो सहर घुम्न पाइने भन्दै यिनीजस्ता दर्जनौं युवालाई गल्लावालाले लोभ्याइसकेका थिए । 'उमेरै त्यस्तो कसैका कुरा सुनिएन,' यसो भन्दै उनी छेवैमा बसेकी पत्नी पुनिमायालाई हेर्दै हँासे ।
भर्ती हुनुअघि नै आमाबाबु गुमाइसकेका लिम्बू दार्जिलिङ, सिलिगुढी, गोरखपुर, नौतनवा हुँदै रुपन्देहीको पक्लिहवा पुगेछन् । त्यहीं उनी महिनाको चालीस भारतीय रुपैयँा तलब पाउने गरी बि्रटिस सेनामा भर्ती भएका थिए । २८ वर्ष सेनामा बिताएका यिनले सन् १९८५ मा क्याप्टेन पदबाट अवकाश पाएका हुन् । यिनको भिक्टोरिया क्रसबारे बेलाबखत विवाद सुनिन्छ । पदक बेच्यो, बेलायतले सक्कली फिर्ता लगी नक्कली दियो आदि इत्यादि । 'यो सब कसैले चलाएका हल्ला मात्र हुन्,' उनले कसिलो बोली बोले । 'केही वर्षअघि बेलायत सरकारका प्रतिनिधिले संग्रहालयमा राख्ने भन्दै पदक मागेका थिए,' यसबारेको भ्रम चिर्दै उनले भने, 'तर मैले म बँाचुन्चेल दिन्नँ भनेपछि फेरि कर गरेनन् ।'
पुख्र्यौली थातथलोमा स्कुल, पुस्तकालय, मन्दिर, धारा लगायत निर्माणमा सहयोगी बनेर बुढ्यौलीमा समेत लिम्बूले आफूलाई विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय राखेका छन् । राजनीतिमा निकै चासो राख्ने यिनलाई कहिले सुधि्रन नसकेको देशको अवस्थाले भने पिरोलेको रहेछ । 'मुलुक परिवर्तनका लागि अब नयँालाई नेतृत्व सुम्पनुपर्छ,' उनले भने ।

प्रकाशित : आश्विन १३, २०६९ ११:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मध्यपश्चिम डायरी

अनमोलमणि

थला परेका राउटेसल्यान जाँदै गर्दा बाटोमा कसैले भन्यो, राउटे मुखिया खुट्टा भाँचिएर सिकिस्त छन् ।

थला परेका राउटे
सल्यान जाँदै गर्दा बाटोमा कसैले भन्यो, राउटे मुखिया खुट्टा भाँचिएर सिकिस्त छन् । सुनेपछि भेट्न मन लाग्यो । साथी उपेन्द्र लामिछाने र मेरो हुटहुटीमा राउटे बस्ती रहेको सल्यानको गाडापानी खाटखोला जाने निधो भयो । श्रीनगर जाँदै गर्दा सडकबाट ओरोलो झर्‍यौंं । खाट खोला तर्‍यौं । दाम्सिलो उकालो सकिएपछि भेटियो राउटे बस्ती ।
बस्तीमा पुग्दा एकजना पाको उमेरकी र दुईटी युवती ओखलमा धान कुट्दै थिए । तीनजना केटोकटी नांगै कुद्दै थिए । हामी उक्लिँदै गरेकेा देखेपछि दुईजना महिला र केही केटोकटीले पछाडिको खोरमा धमाधम बाख्रा हुलेर केही छैन झैं टम्म ढोका लाए । सायद केही छैन भन्ने देखाउन हो वा लैजान्छन् भन्ने डरले, बुझिएन । बाहिर भएका महिला पालभित्र पसे । केटाकेटी कुदाकुद गर्दै यता र उता गर्न थाले । मानो कुनै हुरी बतास आउँदै छ ।
धान कुट्दै गरेका महिला छेउ न्याउरो भएर धुम्धुम्ती बसिरहेका थिए मानबहादुर राउटे । देब्रे खुट्टो मैलो हरियो टालोले कुर्कुच्चासम्मै बाँधिएको थियो । खुट्टो हल्का सुन्निएको थियो । कहिल्यै ननुहाएका पिँडुलामा मयल पत्रेदार भएर जमेको थियो । एउटा मैलो कछाडले शरीर छोपेर ढुंगोमाथि खुट्टो अड्याएर उनी अररिएका थिए । उनलाई देखेपछि थाहा भयो सुनेजस्तो राउटे मुखिया ऐनबहादुर घाइते भएका होइन रैछन् । घाइते हुने ऐनका छोरा मानबहादुर रहेछन् । डेढ महिनाअघि हिँड्दै गर्दा ट्रकले उनको खुट्टो किचेर भागेछ । अरू त्यसरी घाइते हुँदा हुन् त क्षतिपूर्तिका लागि सडक बन्द र सवारी तोडफोड भइसक्थ्यो । राउटे समूह रगतपच्छे खुट्टोसहित उनलाई बोकेर लुरुलुरु बासस्थान आएछ । घरेलु उपचारले घाउ सन्चो हुनुको साटो इन्फेक्सन हुँदै गएको छ । र पनि उनी अस्पताल जान चाहँदैनन् । खुट्टा नटेकिने भएपछि सिकार जाने कुरै भएन ।
'आमालाई म मर्छु कि भन्ने पीर छ, रोएको रोएै गर्छिन्,' एउटा पालभित्र बसेकी पाकी महिला देखाउँदै उनले भने, 'मलाई कुल्चिने त्यो गाडी कहाँ पुग्यो होला ? म ट्रकले किचेर बिरामी भएको कुरो उता मन्त्रीलाई अझै थाहा भएको छैन ?'
साथीहरू फोटो खिच्न थाले । ओखल चलाउँदै गरेकी महिलाले क्यामेरा जतिपल्ट क्लिक हुन्छ त्यतिपल्ट दाहिने हातको बुढी र चोर औंला चिप्ल्याउँदै 'पैसा पौसा' भनिन् । नपाएपछि रिसले भाउन्निएर जंगलतिर लागिन् । केटाकेटी यता उता कुदाकुद गरिरहे । 'आइमाईहरू हेरिरहेको र फोटो खिचेको मन पराउँदैनन्,' मानबहादुरले नम्र भएर भने, 'फोटो खिच्दा हाम्रो सिकार पनि बिगि्रन्छ ।'
उपचारका लागि अस्पताल जान दिएको सल्लाह उनले सुने नसुन्यै गरे । महिला रिसाएर हिंडेपछि उनले 'सानो अनुरोध थियो' भन्दै हामीसित पैसा मागे । त्यहाँको अरू पनि फोटो खिच्ने सर्तमा १६ सय ५० रुपैयाँ जम्मा गर्दै गर्दा सिकारबाट फर्किदै गरेका उनका साथीहरू अर्को डाँडोमा देखिए । त्यसपछि उनले मेरो हातमा रहेको पैसा घसि्रएरै तानुँलाझैं गरे । साथीहरू देखाउँदै भने, 'उनीहरूले देखे सबैलाई बाँड्नुपर्छ म बिरामीलाई दिइहाल्नुस् न ।' पौसा हात परेपछि हतपत टाउकामा राखेर ऊनीको खैरो टोपीले छोपे । मैले सम्झें उनका बुवा मुखिया ऐनबहाुदरलाई लागेको भ्रष्टाचारको आरोपको कारण सायद यस्तै होला ।
उनीसित छुट्टएिर ओरालो झर्नै लाग्दा भने, 'म बिरामी भएको काठमाडौंमा मन्त्रीलाई सुनाइदिनुहोला । यसबारे उनीहरू -मन्त्री) सित कुरा गर्नु छ ।'
कुनै एनजीओले फेरि उनीहरूलाई काठमाडौं ल्यायो भने सायद यही विषयमा कुरा होला ।
सीपयुक्त साक्षरता
मध्यपश्चिमका बाँके, दाङ र सल्यान घुम्दा तीन चीज देखियो, साक्षरता कक्षा, सामान्य तालिमबाट आफैं उद्यमी भएका युवा र तरकारी खेती ।
नेपालमा साक्षरता कार्यक्रम प्रभावकारी छैन । अमेरिकी विकास नियोगले चलाएको एजुकेसन फर इनकम जेनेरेसनको साक्षरता कार्यक्रम पनि पैसा सक्ने मेलो होला भन्ठानेको थिएँ । तीन जिल्लाका गाउँ, खेत, डाँडापाखा पुगेर साक्षरता कक्षा पढेका महिलाहरूको सिर्जनात्मक सोच सुनेपछि लाग्यो, साक्षरता प्रभावकारी बनाउन अक्षरमात्रै होइन उनीहरूको आय आर्जनसित जोडिएर सीप सिकाउनुपर्छ ।
कोहलपुरको सामुदायिक वनमा क्यामोमाइल, मेन्था र सिट्रोनेला गोडमेलमा भेटिएका बोटनी थारू र हेलानी थारूले खेर गइरहेको जमिन प्रयोग गरेर समूहमा काम गर्न र आयआर्जन गर्न साक्षरता कक्षाबाट जानेका छन् । दाङको साक्षरता कक्षा पढ्ने पूर्वकम्लरीहरू सनकुमारी, सुनिता, सुन्तली र सरिता चौधरीले तरकारी खेती गरेरै अवस्था सुधारेका रैछन् । सल्यानको गार्पा डाँडामा खुर्सानी र गोलभेंडा फलाउने दुर्गा घर्ती र लाम्तीमा बन्दा र मूला फलाउने हिमा दसौंदीले पनि कोरा अक्षरभन्दा सीप जोडिने साक्षरतालाई आफ्नो प्रगति गुरु मानेका छन् ।
उनीहरूको कुरा यस्तो थियो, अक्षरसँगै उनीहरूले खेतीको नयाँ तरिका सिके । कसैलेे पैसा दिएको छैन । आफैंले बीउ किने, किसान र महिलाको समूह बनाए । सहकारी चलाएका छन् । उत्पादन बोकेर आफैं बजार धाएका छन् । र, आर्थिक अवस्था पछिल्लो तीन वर्षमै बदलेका छन् । कसैले नयाँ घर बनाए । कसैले जग्गा जोडे । कसैका श्रीमान् विदेशबाट फर्के ।
उदाहरण ११ हजार
मध्यपश्चिमका करिब साढे ११ हजार युवा उद्यमी हुने तरखरमा छन् । हिजो भारतमा मजदुर भएकाहरू स्वदेश फर्केर आफैंले उद्यम सुरु गरेका छन् । २-४ जना कामदार राखेर शानसित बसेका छन् ।
तीन वा ६ महिनाको सामान्य तालिम लिएर कोही पि|mज बनाइरहेका छन् । कोही मोटरसाइकल वर्कसप खोलेर बसेका छन् । कोही चिया त कोही मिठाई पसल चलाइरहेका छन् । कोही मोबाइल बनाउने उद्यममा छन् । कोही खेती किसानीमै व्यस्त छन् । उनीहरूको मासिक आम्दानी मासिक १० देखि २५ हजारसम्म छ ।
सल्यानको बरेलामा एक डोको गोलभेंडा बेच्न आएका कजेरी गाविसका २९ वर्षे धनिराम कुँवरले भनेका थिए, 'अचेलका युवा बजारबाट एक प्लास्टिक तरकारी किनेर झोला हल्लाउँदै घर जाँदा गर्व गर्छन्, जहाँ पैसा सकिन्छ । आफ्नो खेतमा तरकारी फलाएर डोकोमा बेच्न जान लाज मान्छन् । जहाँ पैसा आउँछ ।'
युवालाई रातारात धनी हुनुपरेको छ । धनी कसरी धनी भए उनीहरू कहिल्यै सोच्दैनन् । आफ्नो क्षमता के हो कहिल्यै बुझ्दैनन् । कन्फ्युसियसले त्यसै भनेका होइन रहेछन्, 'मान्छे तलाउमा तैरिने हाँसले पखँेटा फटफटाएको सुन्दर दृश्यमात्रै देख्छ, पानीभित्र मेहनतसाथ उसले चलाएको खुट्टो पनि हेर्नुपर्छ भनेर कहिल्यै ठान्दैन ।'
मध्यपश्चिमका 'युवा हाँसहरू'ले चलाएको पाउ अरू कति युवाले देखेका होलान् ?

प्रकाशित : आश्विन १३, २०६९ ११:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT