२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पुस्तक वार्ता : रोशन शेरचन लेखक

काठमाडौ — पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
सञ्जीव उप्रेतीको 'सिद्धान्तका कुराहरू' ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?
सञ्जीव उप्रेतीको 'सिद्धान्तका कुराहरू' ।

कस्ता पुस्तक बढी मन पर्छ ?
आख्यान र गैरआख्यान दुवै मन पर्छन् । साहित्यको विद्यार्थी र लेखन कर्ममा लागेको भएर साहित्यिक कृतिहरू विशेषगरी निबन्ध, कविता, उपन्यास बढी मन पर्छन् । बिजनेस म्यानेजमेन्टसम्बन्धी पुस्तकमा पनि रुचि छ ।

लेखकलाई केले राम्रो बनाउँछ ?
पहिलो त अध्ययन नै हो । मान्छेको अनुभवको सीमा हुन्छ, त्यसलाई अध्ययनले फराकिलो बनाउँछ । अरूको दृष्टिकोणबाट सोच्न अध्ययन नै चाहिन्छ । त्यसपछि अनुभव र अनुभूति । लेखकको भाषा र शिल्पमा पकड हुनु पनि जरुरी छ । लेखनका लागि चाहिने कच्चा पदार्थ अध्ययन र अनुभवबाटै प्राप्त हुन्छ ।
तपाईँलाई मन परेका लेखक र पुस्तक ?
लक्ष्मीप्रसाद देवकोटाको 'लक्ष्मी निबन्धसंग्रह', शंकर लामिछानेको 'एब्स्ट्र्याक्ट चिन्तन प्याज', कृष्णचन्द्रसिंह प्रधानको 'आगत पाइलामा टेकेर', 'शालिक नेर' बढी मन पर्छन् । त्यसैगरी धच गोतामे, डीपी भण्डारी र खगेन्द्र संग्रौलाका निबन्ध पनि मन पर्छ । बीपी कोइरालाका सबै उपन्यासहरू मन पर्छन् विशेषगरी 'मोदी आइन' । समकालीन लेखक र कृतिमा युग पाठकको 'उर्गेनको घोडा', राजन मुकारुङको 'दमिनी भीर', नारायण ढकालको 'प्रेतकल्प' र नयनराज पाण्डेको 'उलार' । कवितामा श्रवण मुकारुङको 'बिसे नगर्चीको बयान', कथामा कुमार नगरकोटीको 'मोक्षान्त ः काठमाडौं फिभर' ।

नेपाली साहित्यमा कस्ता पुस्तक लेखिदिए हुन्थ्यो जस्तो लाग्छ ?
स्वैरकल्पना प्रयोग गरिएका कृतिहरूको आवश्यकता महसुस हुन्छ । पाठकको कल्पनाशीलतालाई उद्वेलित गर्ने कृतिको खाँचो छ ।

नयाँ पुस्ताले पढ्नै पर्ने पुस्तक ?
नेपाली समाजको धरातलीय यथार्थ बुझ्नका लागि हो भने खगेन्द्र संग्रौलाका 'कुन्साङ काकाका कथाहरू' र 'फूलमाया' पढ्दा राम्रो हुन्छ ।

पुस्तक नभए जीवन कस्तो होला ?
हामी पुस्तकको संसारमा बसेका हुनाले त्यस्तो जीवनको कल्पना गर्दा उत्तर फेला पार्न असम्भव प्रायः हुन्छ । मानिसमा अहिले जे जति सहिष्णुता, उदात्तता र जीवनको आदशृ पछ्याउने चाहना र जाँगर छ त्यो थप कमजोर भएर जान्थ्यो ।

पुस्तक किन्न महिनामा कति खर्च गर्नुहुन्छ ?
महिनामा त्यस्तै १५०० जति हुन्छ होला ।

कुन समयमा सबैभन्दा बढी पुस्तक पढियो ?
२०४४ सालमा आईएस्सी सकेपछि बढी पढियो । त्यसबेला फुर्सद पनि थियो । पछि घोडेपानीमा जागिरमा रहँदा पनि निकै पढियो ।

तपाईंसँग कति पुस्तक छन् ?
करिब १५०० जति छन् होला । पहिले डेरामा बस्ने भएकाले धेरै पुस्तक यताउता भए ।

पढ्ने पुस्तक कसरी छनोट गर्नुहुन्छ ?
मन परेका लेखकको पछिल्लो कृति स्वतः छनोटमा परिहाल्छ । त्यसबाहेक साथीभाइको सिफारिस, पत्रपत्रिकाका समीक्षा र इन्टरनेटमा भएका विवरणको पनि सहयोग लिने गरेको छु ।

प्रकाशित : असार १५, २०७० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?