धोबीघाट एक्सप्रेस : आत्मकथ्य

रोशन शेरचन

काठमाडौ — निबन्ध-यात्रामा हिँडेको चौध वर्ष पुगिसकेछ । रामको वनवास चौध वर्षमा पूरा हुन्छ

। तर, साहित्यमा बनिबनाउ 'रामायण' छैन । साहित्यको एकान्तवास 'रामायण'को वनवासभन्दा दु:साध्य छ । सायद चौध वर्षमा लेखकका एकान्तवास पूरा हुँदैन पनि । केही घुम्ती भने पक्कै छिचोलिन्छन् ।
निबन्धमा मेरो प्रस्थान बिन्दु हो, 'मस्तिष्कहरूको मृत्यु' (२०५६) । त्यसमा विकीर्ण चिन्तनको आधिक्यता रह्यो । व्यक्तिगत जीवनको अँध्यारो समय थियो त्यो । बढी किताबी थिएँ सायद । निबन्ध-यात्राको पहिलो घुम्तीचाहिँ 'चम्पारन ब्लुज' -२०६७) लाई मान्न सकिएला । त्यस निबन्धसङ्ग्रहले मलाई दायित्वपूर्ण लेखनमा प्रवेश गराएको हो ।
मेरो तेस्रो निबन्धसङ्ग्रह हो, 'धोबीघाट एक्सप्रेस' । शैलीका दृष्टिले सायद मस्तिष्कहरूको मृत्युभन्दा सरल र 'चम्पारन ब्लुज'भन्दा केही कठिन होला । तर, विचारगत दृष्टिले चम्पारन ब्लुजको नजिक छ । जति उमेर बढ्दै गयो, पुस्तकको स्थान समाज र मानिसबीचको सम्बन्धले लिँदै गयो । सम्बन्ध कहीं बाक्लिँदै गयो । कहीँ पातलिँदै गयो । वर्ग र विभेद प्रस्ट देखिँदै गयो । यसर्थ धोबीघाट एक्सप्रेसलाई चम्पारन ब्लुजको नजिक हिँडाएको छु । साथै चम्पारन ब्लुजमा निरूपण गर्न बाँकी विषयलाई निफन्ने प्रयास पनि गरेको छु । हिजोआज म धेरैजसो पूर्ववर्ती निबन्धकारहरूसँग तादात्म्य स्थापना गर्न कमै रुचाउँछु । पछिल्लो दस-पन्ध्र वर्षमा साहित्यिक-सांस्कृतिक, अर्थ-राजनीतिक, दर्शन-चिन्तन र विज्ञान-प्रविधिमा देखिएको उथलपुथलमाझ उनीहरूसँग जोड्ने धेरै सेतु असान्दर्भिक भइसकेको पाउँछु । त्यस अर्थमा निबन्धका देउराली शङ्कर लामिछाने अब आदर्श मात्रै हुन् मेरानिम्ति । लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, धच गोतामे, मदनमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, पारिजात पनि आदर्शकै कोटीका नाम मात्र हुन् । आदर्शको घुम्तीमा पर देखिने यी निबन्धकारहरूसँग तादात्म्य राख्न असहज लाग्छ ।
केही निबन्धकारमा भने आदर्श मात्र होइन, व्यावहारिक मूर्तताहरू पनि गाँसिएको पाउँछु । समयको यो बिन्दुसम्म निबन्ध-यात्रामा जे जति हिँडियो, मानसको तहमा अग्रज डीपी भण्डारी, खगेन्द्र सङ्ग्रौला, नारायण ढकाल, गोविन्द वर्तमान, शारदा शर्मा, प्रकाश सायमी, भीष्म उप्रेती र भूपिनलाई सहयात्री अनुभूत गरेको छु ।
नारायण ढकालको निबन्ध संग्रह 'शोकमग्न यात्रीहरू'को म पmयान हुँ । त्यस संगालोका निबन्ध 'गिन्सबर्ग, बुटपालिस र खापीभित्रको नगरा' र 'जोमसोम यात्राका कोलाजहरू'ले मलाई अत्यन्त प्रभावित गरेका छन् । 'शोकमग्न यात्रीहरू'को हाराहारीको पुस्तक निकाल्ने मेरो सधैंभरिको सपना हो । खगेन्द्र सङ्ग्रौलाको 'सम्झनाका कुइनेटा' र 'आफ्नै आँखाको लयमा'को पनि प्रशंसक हुँ । त्यसो त 'घोडा, ईश्वर र मेरा बा' भित्रका केही निबन्धले पनि उत्तिकै सम्मोहित पारेका छन् । स्मृतिमा कुँदिएका ती सम्मोहनतिर म बेलाबेला र्फकन्छु । गोविन्द वर्तमानको सौम्य र कलात्मक भाषा-शैलीमा म उत्तिकै लट्ठ परेको छु । वर्तमानको मरणोपरान्त प्रकाशित 'हरियो साइकल' मेरो पि्रय पुस्तक बनेको छ । प्रकाश सायमीको 'वषर्ादी दिनहरू'का पृथक बान्कीले मलाई अज्ञात प्रदेशतिर पुर्‍याएको छ । भीष्म उप्रेतीका नियात्रामा पाइने भाषाको कोमलतामा कैयनपटक छोइएको छु । र, भर्खरै भूपिनको चौबीस रिलको वैचारिक झिल्काले बलियोसँग समातेको छ ।    
कवि र आख्यानकारभन्दा निबन्ध लेखकको भिन्न चुनौती छ । एक-दुइटा राम्रो निबन्ध लेखेर मात्र त्यो चुनौती पूरा हँुदैन । पाठकहरूलाई निबन्धमा फर्काउनुपर्ने विधागत दायित्व नै आएको देखिन्छ, निबन्ध लेखकलाई । पाठकको हृदय स्पर्श गर्नु, मस्तिष्क उद्वेलित गर्नु, समकालीन शिल्पीहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्नु, नियमित छलफल र अन्तक्रिर्या गर्नु नै पाठक फर्काउने कदम हुन सक्छ । र, त्योभन्दा ठूलो चुनौती हो, निबन्ध नामक रिलेको बटनलाई नखसाई धेरै परसम्म लग्नु । नेपाली साहित्यमा निबन्ध विधा कविता र आख्यानको सापेक्षमा कमजोर देखियो । तर्कको विस्तारमा जान नखोज्ने र कल्पनाशीलताको रोमाञ्चकतालाई नछाड्ने मोहमा धेरै राम्रा लेखकहरू कविता र आख्यानमै रमाए । नयाँ लेखकलाई निबन्ध विधाले बलियोसँग खिच्न सकेन । मेरो विश्वास हो, अब निबन्धका दिन आउँदैछन् । पछिल्लो समय नयाँ र क्षितिजमा आकार लिँदै गरेका अनुहारहरू देख्दा निबन्धका आगामी यात्रा प्रतिस्पर्धी, रोमाञ्चक र अर्थपूर्ण हुने निश्चित छ ।
अपवादलाई छाडेर कविता भावनाको नजिक बगेको छ, निबन्ध दर्शनको छेउ कुदेको छ । कविताले निबन्धमा काव्यको सौन्दर्य प्रदान गर्छ । त्यो सौन्दर्य भाषाको अन्तरप्रवाहमा प्राय: सूक्ष्म र कहिलेकाहीँ मुखर रूपमा देखिन्छ । तर विचार भने निबन्धले दर्शन, चिन्तन, पठन, भ्रमण, अनुभव र अनुभूतिबाटै भित्र्याउँछ । कवितामा पाठकको हृदयलाई स्पर्श गरे पुग्छ । तर, निबन्धमा पाठकको मथिङ्गललाई बज्रप्रहार गर्न नसकिए सिर्जना कमजोर मानिन्छ । कविलाई आफ्नो आन्तरिक संसारको, सानो-ठूलो जत्रो होस्, स्रष्टा मात्र बन्दा हुन्छ । तर, पाठकहरू निबन्धकारले चिन्तनको बृहत् क्यानभास पक्रेको हेर्न चाहन्छन् । यस अर्थमा मैले धोबीघाट एक्सप्रेसलाई कलाको विचार यात्रा भनेको छु ।
मेरो साहित्यिक यात्रा कविताबाट प्रारम्भ भयो । अझै पनि म आफूलाई कविताकै नजिक ठान्छु तर परिस्थितिवश मेरो कवि व्यक्तित्वलाई निबन्धकार व्यक्तित्वले थिचिदियो । धेरैले मलाई कविका रूपमा लिँदैनन् । मलाई त्यसमा दु:ख लाग्छ । तर, दु:खबाट भाग्ने उपाय छैन । फेरि साहित्य-यात्रा आफ्नै रोजाइको हो । यसमा के दु:ख मान्नु ?
सङ्ग्रहमा चौध-पन्ध्र वर्षयताका निबन्धहरू छन् । केही साहित्यिक प्रकाशन र दैनिक अखबारमा प्रकाशित भइसकेका छन् । केही नितान्त नयाँ छन् । मलाई थाहा छ, पाठकहरू सङ्ग्रहमा नयाँ रचना पढ्न चाहन्छन् । नागरिक, कान्तिपुरलगायतका दैनिक अखबारमा साहित्यिक रचनाले स्थान पाउँदा लेखकलाई अवश्य खुसी लाग्छ । तर संग्रहमा प्रकाशित रचनाहरू मात्र बढी पर्ने भयमा लेखक तर्सन्छ पनि । यसप्रति सचेत हुने प्रयास गरेको छु । यसैले सङ्ग्रहमा अप्रकाशित रचना राख्ने सक्दो कोसिस गरेको छु ।
सङ्ग्रहभित्र वस्तुपरक निबन्ध, नियात्रा, संस्मरण र एकालाप छन् । विषयगत हिसाबले विविधता पस्कन सकेको भए एक हदमा आफूलाई सफल नै ठान्नेछु । म विचार-आग्रही छु । लाग्छ, पूर्वाग्रही नहोऊँ । त्यसैले पनि विचारलाई सम्प्रेषणीय बनाउन भाषा र शिल्पमा ध्यान दिएको छु । शीर्षक निबन्ध धोबीघाट एक्सप्रेस प्रयोगधर्मी हो । यसमा नियात्रा, आत्मसंस्मरण र एकालाप सबै मिसिएका छन् । स्वैरकल्पनाको प्रयोग गरी भौतिक यात्राको समानान्तर मानसिक-वैचारिक यात्राको दृश्यचित्र खिच्ने प्रयत्न गरेको छु । आख्यानको नजिकबाट हिडाएको छु ।
पहिले पहिले आयामेली र चेतनप्रवाह शैलीका लेखकहरूका प्रभावमा परिमार्जन गर्नु, लेखनलाई नक्कली बनाउनुजस्तो लाग्थ्यो । स्वत:स्फूर्तता लेखनको प्राण हो, पुनर्लेखनमा मर्छ भन्ने सोच्थेँ । ज्याक केरुअकको अन द रोडले त्यस विचारलाई झन् बलियो बनाएको थियो । तर अब विपरीत सोच्छु । पुनर्लेखन नगरी सापेक्षमा सुल्भि्एको विचार र माझिएको शैली कसरी दिन सकिन्छ ? त्यसैले पुनर्लेखनको बाटो समाएको छु । तर, आफ्नै लेखनमा कत्ति न्याय गर्न सकियो ? जिम्मा गम्भीर पाठक र समीक्षकलाई छाडेको छु ।

प्रकाशित : भाद्र ८, २०७० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?