निराशाको दबाई

पोखरा जस्तो अर्को ठाउँ बनाउन सम्भव छैन । न अर्को खप्तड बन्न सक्छ, न चितवन न लुम्बिनी वा गोर्खाको इतिहास अन्त सार्न सकिन्छ । तर इलाममा त्यस्तो अनुपम केही छैन । त्यसैले इलाम अन्त पनि बनाउन सकिन्छ । सायद इलामको सबभन्दा ठूलो विशेषता यही हो ।
केदार शर्मा

इलाम — राति पानी परेको थियो । बिहान पारि भारतको जोरबङला मास्तिरबाट उदाएको घाम खर्साङ मास्तिर पुग्दा नपुग्दै हामी चिया टिप्न थालिसकेका थियौँ ।

डाँडा उज्याला थिए, तर तल बिरिङखोलातिरबाट उठेको कुहिरोले एकैछिनमा घाम छेक्ने लक्षण थियो । वरिपरि भने हामी यहीँ बस्ने मान्छेलाई समेत नौलो लाग्ने, हरियालीको समुद्र भने हुने परिवेश थियो । चिया टिप्दै गरेका हाम्रा अतिथि दुईजना डेनिस युवक आफ्नै भाषामा कुरा गर्दै थिए, सल्लाहा गरे जसरी नै मतिर फर्किएँ, एकजनाले भने, 'रेडियो- एक्टिभ गि्रन !'
उनीहरूलाई हाम्रो हरियाली विकिरणको संकेत गर्न प्रयोग गरिने चर्को हरियो रङ वा युरेनियम ग्लासको जस्तो लागेछ, 'यस्तो धपधपाउँदो हरियाली हामीले देखेकै थिएनौँ । फोटो देखाउँदा धेरैले त यसलाई रङ थपेको भन्छन् ।'
हरियो रङका अनेक छायामध्ये यो, चियाको मुनाको छाया साँच्चै नै 'ज्यूँदो' लाग्छ मलाई पनि । उनीहरूको कुरामा सही थाप्दै भनें, 'यो दिव्य हरियाली यत्तिकै त तिमीहरू डेनमार्क पुर्‍याउन सक्दैनौ । तर यसबाट निस्केको सुनौलो पानीको स्वाद र सुगन्ध चाखेपछि त यो लर्तरो हरियालीबाट निस्केको होइन भनेर पत्याउलान् नि !'
पारि अर्को चियाबारीमा चिया टिप्दै गरेका मध्येकी एउटी महिला कराइन्, 'ए, फुर्बा हौ, चारोटा बोरा पनि लिँदै आइज है !' हाम्रा पाहुना हाँसे । मैदानी देशका उनीहरूले त्यो 'डाँडापाखा सञ्चार' रमाइलो माने । लाग्यो, मान्दा रमाइलो सबैतिर छ ।
यो पहिलो टिपाइको चिया उनीहरू आफ्नै हातले माड्छन्, सुकाउँछन् र 'आफैँले बनाएको' चियाको कोसेली लिएर घर जान्छन् । अलिकति उनीहरू हामीसित किन्छन्, अलिकति चाहिँ उनीहरूका बा-आमालाई हामी उपहार हालिदिन्छौँ । यही मेसोमा थप्छु, तीमध्येका एकजनालाई गुन्दु्रक साह्रै मनपर्‍यो र उसले आफैँ अलिकति गुन्दु्रक पनि हालेको छ, सुकाएर घर लैजाने योजना छ ।
हाम्रो सानो र पूर्णतः अग्र्यानिक चियाबारीको उत्पादन फ्याक्ट्रीहरूलाई बेच्न पोस आउँदैन । त्यसैले हामी पाहुनालाई चिया टिप्न दिन्छौं, ओइलाउन माड्न सिकाउँछौं, सुकाउन सघाउँछौँ । हेर्दा हेर्दै एक नम्बरको चिया तयार हुन्छ । उनीहरूले रमाइलोसित, आफ्नै हातले बनाएको चिया एकदम सस्तो मोलमा पाउँछन् । हामीले 'सित्तैका खेताला' त पाउँछौँ नै, चियाको मोल पनि बजारमा भन्दा राम्रो पाउँछौँ । सबैले जित्ने खेल यसरी चल्छ ।
पाहुना नभएका बेला पनि हामी सकभर आफ्नो बारीको चिया आफैँ बनाउँछौँ, सुकाउँछौँ र बेच्छौँ । हातले बनाएको चिया, जसलाई यता हातेपत्ती भनिन्छ, मेसिनको जस्तो एकनासे र हेर्दा राम्रो हुँदैन । तर यसका पारखीलाई यही मनपर्छ । मगमग बास्ना आउने सुनौलो चिया पिउँदा मलाई सुनमा सुगन्ध भनेको यही होलाजस्तो लाग्छ । यस्तो चियालाई बेलाइतीहरूले किन 'ब्ल्याक टी' भनेका होलान् भन्ठान्छु । इलाममा हामी रातो चिया भन्छौँ । खासमा त यो रातो पनि होइन । यो सुनौलो हो ? कि यसलाई सुन्तला रङ भन्ने ? म पाहुनाहरूसित ठट्टा गर्छु, 'यसलाई जे भने पनि हुन्छ, ब्ल्याक टीचाहिँ नभनिदिनुहोला । तपाईंका बालबच्चाले कालो रङ नै नचिन्लान् ।'
हाम्रो छिमेकको 'अलमस्ट हेभन' फार्मकी स्विस-क्यानेडियन 'फुपू' लिज ग्याजलाई अघिल्लोपटक आएका बेला हामीले सौन्दर्य प्रसाधनका रूपमा प्रयोग गर्न हरियो चियाको ढुटो दिएका थियौँ । उनले यसपटक आउँदा भनिन् त्यसको प्रयोग गर्दा क्यानाडाको शुष्क हिउँदमा पनि उनको अनुहारको छाला सुक्खा भएन रे, एकदम गजब भयो रे ! फेरि मागेकी छन् । चियालाई जापानमा जस्तै खाद्य (पेयइतर) पदार्थ र सौन्दर्य प्रसाधनका रूपमा प्रयोग गर्ने हाम्रो सपना अघि बढ्ला जस्तो छ । हाम्रो चिया पर्यटनले गति लेलाजस्तो छ ।
०००
इलाम बस्न थालेपछि हामीलाई धेरै साथीहरूले भनेका छन्, 'हामी पनि आउँछौ है ?' यो हामीलाई एकदम मन पर्ने प्रश्न हो, किनभने यसको जवाफ सजिलो छ । हामी दंग परेर 'हस्' भन्छौं । कतिजना आएका पनि छन् । हामीले पनि सक्दो स्वागत सत्कार गरेका छौँ । तर कसैले, 'इलाम किन आउने ?' भनेर सोध्यो भने चाहिँ अलि अप्ठ्यारो पर्न खोज्छ । म अहिले त्यही प्रश्नको जवाफ दिने कोसिस गर्छु ।
यहाँ धेरै कुरा छैनन् । पर्यटनलाई नै मूल पेसा बनाएका व्यक्तिहरूको संख्या इलाममा नगण्य छ । यहाँ पाहुनाहरूलाई पदयात्राका लागि उत्साहित गराउने वा इच्छुक व्यक्तिहरूलाई गाइड वा भरियाको सेवा प्रदान गर्ने एउटा पनि एजेन्सी छैन । चाखलाग्दा प्याकेज र सेवा विकास हुन नसकेका कारण पाहुनालाई केही दिनसम्म इलाममा अड्याएर राख्ने उपाय छैन । राम्रा होटल र रेस्टुरेन्टहरू बन्ने क्रम त सुरु भएको छ, तर पर्याप्त र प्रतिस्पर्धी होटलहरू नहुन्जेल पाहुनाबाट प्रशंसा पाउन गाहै्र हुन्छ ।
इलाम जिल्लामा एउटा पनि हिमाल नभएकाले यहाँबाट सितिमिति हिमालको दर्शन पाइँदैन । यहाँ ठूला तालतलैया र नदी छैनन् । इलामको पर्यटन नक्सामा जिल्लाका विभिन्न ठाउँमा रहेका मन्दिर, डाँडाकाँडा आदिको सूची दिइए पनि कमै मात्र पर्यटक ती ठाउँमा धाएर पुग्छन् । यहाँ खप्तडको जस्तो विशिष्ट भू-बनोट छैन, चितवनको जस्तो जंगल छैन । तनहुँ वा खोटाङमा जस्ता नामी गुफा छैनन्, जनकपुर वा लुम्बिनीमा जस्तो राष्ट्रिय विभूतिहरूको जन्मेका संकेत र प्रमाणहरू छैनन् । यो जिल्ला गोरखा र नुवाकोट जसरी राष्ट्रिय इतिहाससित जोडिएको छैन, यहाँ काठमाडौँका जस्ता मन्दिर वा प्युठान, सुनसरी वा मुस्ताङका जस्ता धार्मिक महत्त्वका धाम पनि छैनन् ।   
सबैभन्दा धेरै नेपाली र विदेशी पुग्ने पोखरासित त इलामको तुलना नै हुँदैन । यहाँ पोखराको जस्तो अनुपम प्राकृतिक सौन्दर्य छैन, आधा शताब्दी नाघिसकेको आतिथ्य र पर्यटक सत्कारको परम्परा छैन । यो हिमालको आधार शिविर वा हिमाल पारको प्रदेश घुम्न जाने वा घुमेर फर्किने क्रममा सुस्ताउने ठाउँ पनि होइन । पोखरा संसारमै अनुपम छ, पोखरा जस्तो ठाउँ बनाउन कहीँ पनि सम्भव छैन । माथि नाम आएका अन्य ठाउँहरूको पनि विशेषता अन्त सार्न सम्भव छैन । न अर्को खप्तड बन्न सक्छ, न चितवन न जनकपुर, लुम्बिनी वा गोर्खाको इतिहास अन्त सार्न सकिन्छ, न त मुक्तिक्षेत्र वा बराहक्षेत्र नै अर्का ठाउँमा निर्माण गर्न सकिन्छ । तर इलाममा त्यस्तो अनुपम केही छैन । त्यसैले इलाम अन्त पनि बनाउन सकिन्छ । सायद इलामको सबभन्दा ठूलो विशेषता यही हो ।

इलाममा के छ त ?
अलि बढी नै फुर्किएजस्तो नमानिदिने भए म भन्छु- इलाममा नेपालीहरूको साझा रोग- निराशाको दबाई छ । असोजदेखि वैशाख-जेठसम्म इलाम पर्यटकहरूको पदचापबाट गुन्जायमान रहन्छ । चारआलीदेखि इलाम बजारसम्मको ८० किलोमिटर सडकमा दिनहुँ बीसौँ पर्यटक बसहरू आवतजावत गर्छन् । विद्यार्थी, किसान, साना उद्यमी, सहकारी आदिका अध्ययन भ्रमणका ब्यानर टाँगिएका बसहरू बाहेक धेरैथरी साना गाडी र मोटरसाइकलमा पनि इलाम घुम्ने पाहुनाहरू आउँछन् । घुमफिर गर्छन्, सिमानासम्म पुग्छन्, कति त पारिका दार्जिलिङ-मिरिक पनि पुग्न भ्याउँछन् ।
कतिले मलाई 'पाहुनालाई पारी पठाउनु हुँदैन, नेपालमै कति राम्रा कुरा छन्' पनि भनेका छन् । मचाहिँ, कम्तीमा पनि पर्यटनको मामिलामा पटक्कै राष्ट्रवादी छैन । हामी जसरी नै अरू पनि 'राष्ट्रवादी' भएर आफ्नै देशमा घुम्न थाले भने के गर्नुजस्तो लाग्छ । इलामबाट मेची नदी नतरी भारत पुगिन्छ, यहाँ आउनुहोस्, मन भए पारी पनि जानुहोस् भनेँ भने नै हाम्रो विशिष्ट भौगोलिक अवस्थितिको लाभ लिन सकिन्छ र पाहुनालाई न्याय हुन्छजस्तो लाग्छ ।
तर यो सजिलै वारिपारि गर्ने सुविधा पनि इलामको आकर्षण होइन । चारआलीबाट उत्तर लाग्दा झापाको उत्तरीभाग, बर्नेका चियाका बोटहरूले स्वागत गर्दै उत्तर पठाएका पाहुनालाई इलाम छिर्दाछिर्दै शीतल हुन थाल्छ । आँखाले चियाको अनुशासित हरियालीको आनन्द उठाउन थाल्छन् । अगाडि बढ्दै जाँदा चियाका फ्याक्ट्रीहरूबाट अटेसमटेस भएर निस्केको ताजा चियाको सुगन्धले मोहनी लगाउँछ । अदुवाको तिख्खर ताजापन, अकबरे खोर्सानीको गजबको पिरोपन रोज्नुहुन्छ कि दूधका परिकारहरूको मधुरता, जिब्रोलाई आनन्द दिने कुरा पनि धेरै छन् । कानलाई झ्याउँकिरीको अविराम संगीत । इलाममा तपाईंका सबै ज्ञानेन्दि्रयलाई सुन्तष्ट पार्ने कुरा उपलब्ध छन् ।
वर्षाका चार महिना, जुन बेलालाई सामान्यतः नेपाली पर्यटनको 'अफ सिजन' मानिन्छ, त्यसबेला इलाममा यहाँको सबैभन्दा महत्त्वपूर्ण 'नेचुरल प्रोडक्ट' तयार हुन्छ । त्यो विशिष्ट उपहार हो यहाँको शीतल मौसम, जसका ग्राहक छिमेकका झापा, मोरङ वा सीमापारिका सिलिगुडी क्षेत्रमा प्रशस्त छन् । सिमसिमे झरीमा बर्सादी स्याहार्दै चिया टिप्नु र तात्तातो चिया खाजा खानु, चिया माड्नु, सुकाउनु, कहिलेकाहीँ घाम लागेन भने रिसाउँदै अँगेनामा कराही बसाएर चिया भुट्नु- यस्ता कुरामा रमाइलो मान्नेका लागि इलाममा कहिल्यै सिजन अफ हुँदैन ।
तर दुर्भाग्य, मानिसहरू हतार-हतार इलाम आउँछन्, गाडी रोक्छन्, फोटो खिच्छन् । नेपालमा सबैतिर खान पाइनेजस्तो खानेकुरा खान्छन्, अलिअलि कोसेलीपात किन्छन् र फर्किन्छन् । मलाई भने बेमोज लाग्छ । लाग्छ, इलामको बाटो हेर्नमा मात्र खर्च भयो नि यिनको समय र पैसा । बाटामा त इलाम अलिकति मात्र छ । इलाम हेर्न त गाउँमा पस्नुपर्छ । तर यो पाहुनाको दोष होइन । हामीले आफ्ना विशेषताहरू बताउन, मार्केटिङ गर्न नसकेको हो । पाहुनालाई गाडीबाट ओरालेर इलाम देखाउन हामीले कहिले सकौँला !

सिमानामा उभिएर
देश खत्तम भयो भनेर चिन्ता लाग्छ ? चिन्ता नगर्नुहोस् । चिन्ता गरेर केही फाइदा छैन, बरु इलाम आउनुहोस् र सिमानामा उभिएर वारिपारि हेर्नुहोस् । दिक्क लाग्दैन, बरु गर्व लाग्छ । बेलाइतीहरूले झन्डै दुई सय वर्षअघि सुरु गरेका पारीका चिया बगान र यता, तीस वर्ष यता, किसानकै बाहुबलमा फैलिएको चियाबारी तुलना गर्दा आनन्द लाग्छ । भौतिक सुविधा, घर, मोटरसाइकल, मोबाइल फोन, पसलमा राखेका सरसामान आदि हेर्दा मान्छेलाई पुगिसरी आएको देखिन्छ । पहिले अलैँची र अहिले चियाले ढाकिएका पाखाहरूबाट भूक्षय नगण्य मात्रामा मात्र हुने भएकाले अन्तका तुलनामा यहाँका खोलानाला मध्य बर्खामा पनि नधमिलिई बग्छन् । चारैतिर घाँसैघाँस छ । दैनिक एक लाख लिटरभन्दा बढी दूध बजारमा जान्छ । चियाको याममा यहाँका हरेक गाउँबाट दैनिक हजारौं किलो हरियो चिया बेचिन्छ । तरकारी, कुचो, चिज, छुर्पी र थरीथरीका दुग्धपरिकार- आफ्नो आवश्यकता र सुविधाअनुसार यहाँबाट लाने कोसेलीपातको सूची लामो हुन सक्छ ।
इलाम आउने इलम हेर्न हो । यहाँ साधारण मान्छेले गरेका साधारण काम र त्यही कामले सिर्जना गरेको सौन्दर्यको रसास्वादन गर्न हो । इलाम आउने प्रत्येक पर्यटकलाई हामी आँट गरेर भन्न सक्छौँ, इलाम एउटा सामान्य मध्य पहाडी जिल्ला मात्र हो । झन्डै डेढ शताब्दी अघि सुरु भएको सदरमुकामको एउटा चियाबारी बाहेक ३० वर्ष अघिसम्म पनि यहाँ आगन्तुकहरूलाई लोभ्याउने अरू खासै कुरा थिएनन् । कन्याममा चिया रोपिएको भर्खर ४० वर्ष नाघ्दै छ । दूध बिक्री हुन थालेको ३० वर्ष पनि पुगेको छैन । सरकारी बगान बाहिर चिया रोप्ने काम सुरु भएको २५-३० वर्ष हुँदै छ ।
तर यी सबै कामको इतिहास भने लामै छ । सामाजिक विकासमा चाख राख्ने पाहुनाहरूलाई हामी यहाँ झन्डै ८० वर्षअघि गाईको नश्ल सुधारको अभियान कसरी सुरु भयो भन्ने कुरा बताउँछौँ । बसाइँ सर्दैसर्दै यो सिमान्त क्षेत्रमा आइपुगेका अनेक जाति र समुदायका नेपालीहरूबाट तयार भएको अनुपम र सन्तुलित सामाजिक बुनोटका बारेमा जानकारी दिन्छौँ । भारतको खुला सिमानाबाट इलामले कसरी लाभ लियो भन्ने कुरा बताउँछौँ र सिमाना वारिपारिको सम्बन्धका कारण फैलिएको शिक्षा र वाणिज्यका सम्बन्धहरूका बारेमा जानकारी दिन्छौँ । यी कुरा सुनाउन पाउँदा मात्र यहाँ आउने पाहुनाहरूले सही अर्थमा इलाम चिन्छन् र उनीहरूको खर्च र दुःख सार्थक हुन्छ ।
इलामको सबभन्दा महत्त्वपूर्ण विशेषता 'रिप्लिकेबलिटी' हो । यहाँ हेर्ने कुरा जति छन् त्योभन्दा बुझ्ने र बुझ्नुपर्ने कुरा बढी छन् । नेपालमा जहाँ पनि अर्को इलाम बनाउन सकिन्छ । हामीले आँटै गरेर भन्छौँ, इलाममा विकासको बीउ पाइन्छ तर त्यो बीउ किन्न भने विकास रोप्न चाहने व्यक्ति आफैँ यहाँ आउनुपर्छ । 'इलाम विकसित भइसक्यो' भन्न खोजिएको होइन, तर यहाँ ग्रामीण विकासको राम्रा मोडलहरू भने निश्चित रूपमा तयार भइरहेका छन् ।
इलामले सबै ग्रमीण समुदायहरूलाई विकासको एउटा मोडल दिन सक्छ । तर यो विकास सिक्ने स्कुल मात्र पनि होइन । यहाँका सुन्दर चियाबारी, छिनछिनमा फेरिइरहने मौसम, फरासिला मान्छे र नेपाली खाद्यबजारमा चढ्न बाँकी नै रहेका परिकारहरूको स्वाद जसका लागि पनि उत्तिकै पि्रय र मनमोहक हुन्छ । गाडीबाट ओर्लिएर यहाँका गाउँघर र पुराना बजार र साप्ताहिक हाटहरू घुम्नुहोस्, तपाईंलाई पनि कवि भूपी शेरचनका शब्द दोहोर्‍याएर भन्न मन लाग्छ,
'थुम्का-थुम्का चिया र झुम्का-झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सुस्मित उठेझैँ
हरियो-भरिलो इलाम देख्दा
मलाई नेपालभरि
अलिअलि इलाम छर्न मन लाग्यो ।'

प्रकाशित : चैत्र २९, २०७० १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चुपचाप चित्लाङ

कमलकुमार

मकवानपुर जिल्लाको चित्लाङले नेपालका केही ऐतिहासिक र सामाजिक परिघटनासँग निकटता राख्छ ।

नेपालका बाइसे चौबिसे राज्य हान्दै हिँडेका राजा पृथ्वीनारायण शाहले चित्लाङ र काठमाडौं उपत्यकाबीच पर्खाल बनेर उभिएको चन्द्रागिरि भन्ज्याङबाट काठमाडौं सहरलाई हेरेर यो देशको भविष्यको नक्सा कोरेका थिए । काठमाडौंको घनत्व र रणनैतिक भूगोलको अध्ययन गरेर घेरा हाल्ने योजना बनाएका थिए ।
सायद त्यसै भन्ज्याङमा हुनुपर्छ एउटा सानो होटल खुलेको छ अहिले । केही वर्षअघि म पुग्दा यो भन्ज्याङमा बुद्धको एउटा स्तुपाबाहेक केही थिएन । अहिले थानकोटदेखि चित्लाङसम्मको पैदल यात्रा गर्दा बाटोमा चियाको चुस्की लिने र एकछिन थकाइ मार्ने ठाउँको चिन्ता गर्नु पर्दैन । थानकोटबाट उकालो लागेपछि बस्ती पातलिँदै जान्छ र जंगल बाक्लिँदै । झन्डै ९० डिग्रीको कोणमा ठडिएको चन्द्रागिरिको भित्तैभित्ता बनेको बाटोबाट जिपमा जाने हो भने थानकोटबाट चित्लाङ १ घन्टामै पुग्न सकिन्छ । तर जिपको यात्रामा असुरक्षामात्रै छैन धेरै कुरा 'मिस' पनि हुनेछ ।
चित्लाङसम्मको पैदलमार्ग छोटो र रोमान्चक छ । थानकोटबाट केही उकालो लागेपछि दायाँबायाँ घना जंगलको चकमन्नता र चराका चिरबिरले मनलाई आनन्दित बनाउँछ । उचाइ बढ्दै जाँदा चल्ने चिसो हावा र हिँड्दा शरीरबाट निस्केका पसिनाबीचको घर्षणमा आउने आनन्द बयान गरिसाध्य छैन । उत्तरतर्फ फर्किएर हेर्दा गगनचुम्बी हिमाल देखिन्छन् र काठमाडौंका गगनचुम्बी घरहरू कमिलाजत्रा देखिन्छन् । नागढुंगा नाकाबाट काठमाडौं छिर्दै गरेका आन्तरिक विमानहरू पनि आँखाभन्दा तल देखिन्छन् ।
२२ सय मिटरकै डाँडो किन नहोस्, उचाइमा पुग्दा सबैलाई केही जितेको जस्तो अनुभव हुन्छ । त्यसमाथि काठमाडौंमा सँधै सूर्यास्तमा घाम छेकेर साँझ भित्र्याइदिने डाँडामाथि पुग्दा भौतिक मात्रै होइन भावनात्मक आनन्द पनि उर्लेर आउँछ ।
चन्द्रागिरि डाँडा पुगेपछि दक्षिणमा हराभरा चित्लाङ देखिन्छ र उत्तरमा काठमाडौं । यात्राको कठिन खण्ड सकिए पनि यात्राचाहिँ यहीँ सकिँदैन । अब चित्लाङ पुग्न एक घन्टाभन्दा बढी गुराँस र सल्लाको जंगलै जंगल ओरालो झर्नुपर्छ । यतिबेला दृष्टिबाट काठमाडौं पूर्णरूपले हराइसकेको हुन्छ र चित्लाङको तस्बिर जुमइन हुँदै जान्छ । चित्लाङ अझै पनि गाउँ नै छ । हुन त यो यही ठाउँ हो, जहाँबाट भरियाले बोकेर गाडी राजधानी भित्र्याएका थिए । यो यही ठाउँ हो जुनकुनै समय काठमाडौं छिर्ने प्रमुख नाका थियो । यो यही बाटो हो जहाँबाट राजाहरू घोडा चढेर ससुराली जान्थे । र, भनिन्छ यो त्यही बाटो हो जहाँ देवकोटाले 'यात्री' कविता फुराएका थिए ।
काठमाडौंबाट यति नजिक भएर पनि चित्लाङलाई वनमाराजस्तै फैलिरहेको राजधानीले भेटिसकेको छैन । कलकल गर्दै सङ्ला कुलाहरू बग्छन् । यहाँको मलिलो माटोमा अझै सुगन्ध आउँछ । यहाँका किसानहरू अझै माटोमै लडिबुडी गर्छन् । काठमाडौंको उकुुसमुकुसबाट एक रातको छुटकारा पाउन सुन्दर विकल्प हो चित्लाङ । यहाँ बस्न खान समस्या छैन । गाउँमा दुई चारवटा समुदायले होमस्टे चलाएका छन् । होमस्टेमा बसेको खाएको एकजनाको १२ सय रुपैयाँ तिर्नुपर्छ । समय छ भने १ घन्टामै मार्खु र कुलेखानी पुग्न सकिन्छ । कुलेखानीको नीलो र शान्त पानीमा बोटिङ गर्न सकिन्छ । चित्लाङमै सरकारी बाख्रा फार्म पनि छ । बाख्रा फार्मको चौर नेपालकै सबैभन्दा ठूलो पनि भनिन्छ । यही बाख्राको चिज बनाउने सानो कारखाना पनि छ । अनि ट्राउट माछा पनि पाइन्छ ।

प्रकाशित : चैत्र २९, २०७० १०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT