२०४६ पछिका म्यागेजिन

विज्ञापनको कमी र प्राविधिक कठिनाइ झेलेर म्यागेजिन निकाल्ने आँट ०४६ वछि नै भएको हो। सामाजिक आन्दोलनहरू र गैरसरकारी संस्थाबाट पनि म्यागेजिन क्षेत्रलाई उर्बर बनाउन सघाउ पुग्यो ।

नेपाली म्यागेजिन क्षेत्रका लागि विसं २०४६ पछिको कालखण्ड उर्बर रह्यो । नेपालमा म्यागेजिन प्रकाशन सुरु भएयता २०७० सालसम्म

२०४६ पछिका म्यागेजिन
निस्किएका कम्तीमा ३ हजार म्यागेजिनमध्ये करिब २ हजार २०४६ पछि निस्केका हुन् । म्यागेजिनको संख्यामा आएको अभूतपूर्व वृद्धिका लागि बजार, अर्थतन्त्र र प्रविधिमा आएको परिवर्तन जति जिम्मेवार छन्, त्यति नै जिम्मेवार नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनमा देखिएका परिवर्तन पनि छन् । विभिन्न राजनीतिक दल, सामाजिक आन्दोलन, गैरसकारी क्षेत्र र मिडियासम्बद्ध व्यक्ति एवं संस्थाले यो अवधिमा म्यागेजिन प्रकाशन गरेर सार्वजनिक वृत्तको दायरा फराकिलो पार्न मद्दत गरेका छन् ।
२०४६ पछिको सुरुआती दिनमा परिवर्तनको जोश र प्रतिस्पर्धात्मक खुला राजनीतिको सन्दर्भमा विभिन्न खाले म्यागेजिनहरू निस्किएका थिए । विज्ञापनको कमी र प्राविधिक कठिनाइ झेलेर म्यागेजिन निकाल्ने आँट यही समयमा भएको थियो । सामाजिक आन्दोलनहरू र गैरसरकारी संस्थाबाट पनि म्यागेजिन क्षेत्रलाई उर्बर बनाउन सघाउ पुग्यो । लामो स्वरूपका लेख उत्पादन गर्ने हिसाबले गैरसरकारी संस्थाको सहयोगमा निस्किएका म्यागेजिनले आलोचनात्मक धारलाई अघि बढाएका थिए । बिस्तारै लगानीका माध्यमहरू खुल्दै जाँदा म्यागेजिन पत्रकारिताको ढाँचा पनि बदलिँदै गयो । निजी क्षेत्रबाट ठूलो लगानीमा म्यागेजिन प्रकाशन सुरु भए भने ठूला प्रकाशन गृहहरू पनि म्यागेजिन प्रकाशनप्रति आकषिर्त भएका थिए । पछिल्लो समयमा विशेषखालका म्यागेजिन बजारमा देखिएका छन् । यो समयमा निस्केका यस्ता म्यागेजिन विस्तारको कारणबारे विभिन्न खण्डमा चर्चा गर्न सकिन्छ ।
दल-निकट म्यागेजिनको आरोह-अवरोह
२०४६ सालपछि राजनीतिक दलहरू सार्वजनिक जीवनमा हाबी भए । दलहरू र सम्बद्ध व्यक्तिले पार्टीको आन्तरिक प्रतिस्पर्धा तथा शुभेच्छुकका लागि कार्यकर्ता पंक्तिसम्म विचारप्रवाह गर्ने माध्यमको रूपमा पत्रपत्रिका रोजे । र, यस क्रममा म्यागेजिन विधाको राम्रै उपयोग गरियो । यस्तो उपयोग गर्नेमा वामपन्थी दल अग्रपंक्तिमा देखिए । विभिन्न चिरामा बाँडिएका कम्युनिस्ट पार्टीका प्रचार विभागले आ-आफ्ना म्यागेजिन निकालेको देखिन्छ । पार्टीभित्रको दुई-धारे संघर्ष कार्यकर्तालाई बुझाउन र विभिन्न गुट उपगुट झांगिँदै जाँदा पनि म्यागेजिन निकाल्ने प्रतिस्पर्धा चलेको देखिन्छ । विसं २०४६ पछिको अवधिमा लामो समय सरकारमा संलग्न नेपाली कांग्रेस पार्टीकै म्यागेजिन भने बजारमा उस्तो देखिएनन् । सम्भवतः सरकारी र मूलधारका मिडियामा उसका विचारले स्थान पाउने हुनाले पनि आफैले म्यागेजिन प्रकाशन गर्नु त्यति जरुरी ठानेन । अर्कोतर्फ, व्यावसायिक हिसाबले सुरु भएका म्यागेजिन (जस्तो जनमञ्च) मा पनि नेपाली कांग्रेसका शुभेच्छुक संलग्न थिए र एक हदसम्म उक्त पार्टीका विचार प्रवाहित भइरहेका थिए ।
२०१६ सालमा अखबारको रूपमा प्रकाशित नवयुगलाई २०४८ देखि नेकपा (एमाले) ले म्यागेजिन स्वरूपमा प्रकाशन गर्न सुरु गरेको थियो । नवयुग समग्र पार्टीको म्यागेजिन थियो भने २०४९ सालमा निस्केको सूर्य, २०५३ सालमा निस्केको एककाईसौं शताब्दी आदि पनि एमालेको संस्थापन समूह नजिक थिए । महत्त्वपूर्ण वाममार्गी पत्रिका मूल्यांकन २०४८ सालतिर वाम आन्दोलनमा विचार अन्तर्क्रिया गर्ने हिसाबले निस्केको थियो । एक समय यो पत्रिकाको बिक्री २० हजारसम्म पुगेको थियो । तत्कालीन नेकपा (एकता केन्द्र) बाट छुट्टएिको समूहले निकालेको मूल्यांकनले युवाकेन्दि्रत नवयुवा मासिक पनि प्रकाशन गरेको थियो । यी म्यागेजिनले केही लामा लेखहरू छाप्थे र समसामयिक राजनीतिक प्रश्न या मुद्धाबारे मूलधारका पत्रिकामा पाइनेभन्दा भिन्न कोणबाट सामग्री पस्कन्थे । माओवादी विद्रोहताका र त्यसपछिको केही समय माओवादी पार्टी निकट कम्तीमा एक सयथरी नयाँ म्यागेजिन प्रकाशन भएका थिए । युद्धकालमा यी म्यागेजिनले माओवादी युद्धबारे स्थलगत रिपोर्ट प्रकाशित गर्थे, जुन अरू म्यागेजिनले दिन गाह्रो हुन्थ्यो । भूमिगत माओवादीका विचार व्यवहार जान्न माओवादी निकट म्यागेजिन पढ्नुपर्ने बाध्यता थियो । तत्कालीन विद्रोही पार्टीका क्रियाकलाप, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका विषयवस्तु समेट्ने र संसदीय व्यवस्थाको विरुद्धमा विषयवस्तुको आपूर्ति गरेका माओवादी निकट नयाँ चेतना, संश्लेषण, नौलो बिहानी र दिशाबोधजस्ता म्यागेजिनको राम्रो उपस्थिति थियो । २०६३ सालपछि निस्केका माओवादी निकट लालरक्षक, हाम्रो जलजला, समयबोधजस्ता धेरै म्यागेजिनले विद्रोहबाट आएको 'शक्ति' को आधारमा बजारलाई प्रयोग गरेका (विज्ञापन/चन्दा मागेका) थिए । यीमध्ये समयबोध, हाम्रो जलजला, समावेशीजस्ता म्यागेजिनले निरन्तरता पाए पनि २०७० सम्म आइपुग्दा धेरैजसो निरन्तर छैनन् ।
सामाजिक आन्दोलन र गैसस म्यागेजिन
ऐतिहासिक रूपमै पछाडि परे/पारिएका धेरैजसो सामाजिक समूह २०४६ सालको राजनीतिक परिवर्तनपछि विभिन्न हिसाबले संगठित भए । नयाँ नयाँ सामाजिक आन्दोलन छेडिए । विभिन्न जनजाति, समुदाय, मधेसी, महिला तथा दलित अभियन्ताहरूको तथा गैरसरकारी क्षेत्रको पहलमा आ-आफ्ना समूहका भाषिक, सांस्कृतिक र अन्य अधिकारका पक्षमा आवाज उठाउन म्यागेजिनहरू प्रकाशित भए । यीमध्ये अस्मिताजस्ता महिला निकट, कइरन, लाफा, छारम्हेन्दो, लिब्जु-भुम्जु, जनजाति मञ्च आदि जनजाति निकट, समानता, नेपाली मञ्च, जनउत्थान, समानता अभियान, दलित सन्देश, सीमान्त आवाजजस्ता दलित निकट, इन्क्लाबजस्ता मधेस निकट, काठमाडौंबाट प्रकाशित भए पनि कणर्ाली दर्पणजस्ता कर्णाली क्षेत्रलाई समेटिएका म्यागेजिनहरू निस्किएका थिए । यस्ता म्यागेजिनहरूले धर्मनिरपेक्षता, जातीय-क्षेत्रीय-लिंगीय अधिकार इत्यादि विषयमा खुलेर बहस गरे । दोस्रो जनआन्दोलनको सफलतापश्चात् गणतन्त्र, राज्य पुनःसंरचना, शासकीय स्वरूप, संघीयताजस्ता विषयमा नयाँ बन्ने संविधानलाई ध्यानमा राखेर म्यागेजिनमार्फत विभिन्न समुदायले आ-आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए । मूलतः आन्दोलनका विषयवस्तुमा केन्दि्रत भएकाले सम्बन्धित आन्दोलनकै एक अंशको रूपमा यिनलाई हेरिनुपर्छ । यस्ता म्यागेजिनको बजार भने मजबुत थिएन । बिक्री र विज्ञापनको स्रोत कमजोर हुँदा दाताको सहयोग नै त्यस्ता म्यागेजिन टिक्ने आधार बने । दाताको सहयोग बन्द भएको बेला ती प्रायः नियमित हुन सकेनन् । २०४६ पछि जनजातिका कम्तीमा ३ सय ५० म्यागेजिन निस्केका छन् र यो संख्या ५ सयभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ । दलित आन्दोलनसँग जोडिएका म्यागेजिन २०४६ सालअघि एकादुई थिए । अहिलेसम्म निस्केका त्यस्ता म्यागेजिनको शीर्षक संख्या कम्तीमा ३० छ । हाम्रो अनुसन्धानको दौरानमा ५० शीर्षक संख्यामा महिला निकट म्यागेजिन निस्केको भेट्टाइएको छ । कानुनी अड्चन तथा सांस्कृतिक कारणले महिलामाथि भएका विभेदलाई महिलासँग सम्बन्धित म्यागेजिनले प्रमुखतासाथ उठाएका छन् । महिलासँग सम्बन्धित म्यागेजिन प्रकाशनमा व्यावसायिक हिसाबले ठूला प्रकाशन गृह, राजनीतिक आन्दोलनमा लागेका महिला तथा सामाजिक अभियन्ताहरू संलग्न छन् । यीमध्ये अस्मिता, ऋचा, नवऋचा, नारी, महिला बुलेटिन, आठ मार्च आदि महत्त्वपूर्ण म्यागेजिन हुन् । पहिचान/आन्दोलनसँग जोडिएर वैचारिक या समूहगत प्रयासले म्यागेजिनको संख्या बढाइदिएको छ ।
त्यस्तै पत्रकारितामा रुचि राख्ने व्यक्तिहरूले गैरसरकारी प्रयासमार्फत म्यागेजिन पत्रकारिताको प्रयोग गरेका छन् । अंग्रेजी हिमालका छानिएका लेखहरूलाई नेपाली भाषामा उल्था गरेर २०४७ सालमा वाषिर्क हिमाल, विकासे संसारको मूलधारबाट असन्तुष्टहरूले खोलेको गैरसरकारी संस्थाबाट २०४९ सालमा विकास र २०५३ सालमा वातावरण तथा दिगो विकासका मुद्दामा केन्दि्रत हाकाहाकीजस्ता म्यागेजिनहरू निस्के । यी म्यागेजिनमा इतिहास, समाज, विभेदका विभिन्न जरालाई खोतलेर लामा लामा लेख छापिएका छन् । यिनले म्यागेजिन पत्रकारिताको इतिहासमा छुट्टै तर महत्त्वपूर्ण इँटा थपेका छन् । खोजी पत्रकारिताको अभिवृद्धि गर्न सघाएका छन् ।
व्यापारिक/व्यावसायिक म्यागेजिन
२०४६ अघिसमेत व्यावसायिक हिसाबले म्यागेजिन प्रकाशनको प्रयत्न भए पनि त्यति बेला मिसन पत्रकारिताकै बाहुल्य थियो । २०४६ पछि पत्रकारिता क्षेत्रले संवैधानिक सुरक्षा पाएकाले र अन्य क्षेत्र (विशेषगरी आर्थिक) को पनि विस्तार हुन थालेकाले पत्रकारिता क्षेत्रमा पनि व्यावसायिक या व्यापारिक हिसाबले लगानी भित्रिन थाल्यो । नयाँ नयाँ प्रयोग हुन थाले । २०४७ सालमा साप्ताहिक रूपमा प्रकाशन सुरु गरिएको जनमञ्च म्यागेजिनले सम्भावनाको डोरेटो कोरिदियो । त्यसपछि प्रकाशित विश्वमित्र, काठमाडौँ टुडेजस्ता म्यागेजिनले जनमञ्चको सिको गरे ।
यही समयमा सुरु भएर विस्तारित हुँदै गएको माओवादी विद्रोहले कौतूहल, जिज्ञासा पैदा गरेको थियो भने बढ्दो आर्थिक गतिविधि र प्रविधिले सम्भावनाको अर्को ढोका उघारिदिएको थियो । त्यसैले लगानी गरेर नाफा कमाउने कोणबाट पनि म्यागेजिनको प्रकाशनलाई हेर्न थालियो । यही पृष्ठभूमिमा २०५६ सालबाट हिमाल खबरपत्रिकाले सामाजिक तथा राजनीतिक विषयवस्तुलाई रिपोर्टिङ तथा विश्लेषणको माध्यमबाट प्रभावकारी ढंगले प्रस्तुत गर्‍यो । र, बजारमा छिट्टै नै स्थापित भयो । हिमालको प्रकाशनलाई म्यागेजिन प्रकाशनको क्षेत्रमा 'कोसेढुंगा' मानिन्छ । त्यसपछि कान्तिपुर पब्लिकेसन्स्ले २०५७ सालमा नेपाल म्यागेजिन प्रकाशन गर्‍यो ।
त्यस्तै भृकुटी प्रकाशन प्रालिले २०६१ सालमा समय म्यागेजिन प्रकाशन गरेको थियो । विसं २०५८ मा संकटकाल लगाएपछि माओवादी तथा वामपन्थ निकट म्यागेजिन समस्यामा परी बन्द हुँदा व्यावसायिक म्यागेजिनको महत्त्व बढेको थियो । व्यावसायिक म्यागेजिनहरू सहरी समाजको अभिन्न अंगजस्तै भएका थिए । साथै विद्रोहीको लागि पनि महत्त्वपूर्ण बनेका थिए ।
पछिल्लो अवधिमा देखिएको महत्त्वपूर्ण प्रवृत्ति हो ः विशिष्ट या स्पेसलाइज्ड म्यागेजिनको विस्तार । उदाहरणका लागि सवारीसाधनसाग सम्बन्धित अटोबजार, अटोसंसार, अटोनेपालजस्ता म्यागेजिन काठमाडौंं र अन्य प्रमुख सहरहरूमा भएको अटोमोबाइल्सको विस्तारसँगै बजारमा आएका हुन् । त्यस्तै ईसीएस मिडियाले निकालेको हेल्दी लाइफ र लिभिङ टिन्जजस्ता स्पेसलाइज्ड म्यागेजिन विज्ञापन बजारसँग जोडिएर निस्के । यी वस्तुको उपभोग संस्कृतिलाई प्रोत्साहन गर्ने खालका म्यागेजिन हुन् । फैलँदो अर्थतन्त्र र त्यसको सहउत्पादन उपभोक्तावादको विस्तारको जगमा यी म्यागेजिनको प्रकाशन र विस्तार भएको देखिन्छ । विसं २०६३ अघि छिटपुट रूपमा यस्ता प्रयास नभएका होइनन् तर पछिल्लो समय यस्तो कार्यले गति लिएको देखिन्छ ।
---
राजनीतिक वृत्तबाट प्रकाशित हुने म्यागेजिन अस्ताएजस्तो देखिए पनि आवश्यक परेका घडीमा ती जुर्मुराउने गरेको देखिन्छ । तर आलोचनात्मक विचार पस्कने, वैकल्पिक धार बोक्ने म्यागेजिनको पुनरोदय हुन सकेको देखिँदैन । यसले विचारको लोकतान्त्रीकरण प्रक्रियालाई क्षय पुगेको एवं सार्वजनिक वृत्तलाई खुम्च्याइदिएको छ ।
पछिल्लो चरणमा म्यागेजिनमा देखिएको विशिष्टीकृत हुँदै जाने प्रवृत्तिमा बजार र उपभोक्तावादको प्रवल भूमिका पाइन्छ । यसले गर्दा म्यागेजिनले सार्वजनिक वृत्तमा जुन भूमिका निर्वाह गरिरहेको थियो त्यसलाई बजारले निल्ने हो कि भन्ने डर देखिएको छ । यद्यपि, २०४६ सालपछि नेपाली मिडिया क्षेत्रले जुन गुणात्मक र संख्यात्मक फड्को मारेको छ, सोही हाराहारीमा नेपाली म्यागेजिनले पनि प्रगति गरेको छ । सहर-बजारका पत्रिका पसल अहिले यिनै म्यागेजिनले छोपिएको पाइन्छ । रूप-रंगदेखि आकार-प्रकारसम्म, अन्तर्वस्तुदेखि प्रस्तुतिसम्म, भाषा या शैलीदेखि गुणवत्तासम्म यी म्यागेजिनमा यावत् विविधता देखिन्छ । एक हिसाबले नेपाली समाजको विविधताको प्रतिविम्ब म्यागेजिनमा देख्न पाइन्छ । यसले नेपाली सार्वजनिक वृत्त निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
यो लेख नेपाली म्यागेजिनका २५ वर्ष (२०७० मार्टिन चौतारी) पुस्तकको परिचय खण्डको छोटो रूप हो ।

प्रकाशित : जेष्ठ ३१, २०७१ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?