युद्धले जन्माएको उपन्यास

गंगा बीसी

माओवादीले बन्दुक त्यागेको दशक पुग्न लागेको बेला सशस्त्र युद्धका डोबहरूबाट साहित्य पलाउने क्रम जारी छ । युद्धका पदचापहरू केलाउने काम साहित्यकारको हो ।

युद्धले जन्माएको उपन्यास
कसैले भोगेर पछ्याएका छन्, कसैले पढेर । आफैंले युद्ध भोगेर कलम चलाउनेहरूको विशेषता अलि फरक हुन्छ । दीपशिखा त्यही कोटिमा पर्छन्, जसले पहिले बन्दुकको भाषा बोले, हाल त्यसलाई कलमको भाषा बनाएका छन् । युद्धको भाषालाई कलम मार्फत साहित्यमा रूपान्तरण गर्नु सजिलो छैन । हातमा बन्दुक हुँदा त्यसको भाषा सहज ढंगले निस्कन्छ, केवल एउटा ब्यारेलको भरमा । तर साहित्यमा त्यो सम्भव छैन । साहित्यमा सयौ ब्यारेल चलाउनुपर्छ, अनि मात्र सिर्जना जन्मिन्छ । राम्रो साहित्य जन्माउन अझ धेरै गाह्रो छ । त्यो कुरा 'रात फुलेको याम' मा दीपशिखाले बुझेको हुुनुपर्छ ।
शान्ति प्रक्रियामा आइसकेपछि माओवादी नेता तथा कार्यकर्ताका कृति आए । आउने क्रम जारी छ । पछिल्लो समय 'रात फुलेको याम' मार्फत प्रकट भएका छन् दीपशिखा (रामप्रसाद सापकोटा) । दीपशिखाले उपन्यास जनआन्दोलन २ को दृश्यबाट सुरु गरेका छन् । २०६२ को त्यो सुरुवाती दिनमा कांग्रेस, एमालेसहित सात दलले देखिने गरी आन्दोलन थालेका थिए । त्यसमा भूमिगत रूपमा माओवादीका लडाकू, कार्यकर्ता सहभागी थिए । त्यो कुरा त्यतिबेला पनि चर्चामा आएको थियो । लेखकले पत्रकारको रूपमा सात दलको जुलुसमा माओवादी कार्यकर्ता भेटाउने अभियानबाट कथा सुरु गरेका छन् । त्यसबेला जुलुसमा स्याउला बोकेका मान्छे माओवादी हुन् भन्ने चर्चा चलेको थियो । तिनैलाई उनले पछ्याउन सुरु गरेका छन् । उपन्यासको अन्त्य युद्धमा घाइते भएको व्यक्तिले आफ्नै नामबाट गाउँमा बनेको गेट देखेको दृश्यबाट हुन्छ ।
सुरुवात कलंकीको जुलुसबाट भए पनि त्यसभित्र युद्धका कहालीलाग्दो वर्णन छ । युद्ध नभोगेकाहरूका लागि उपन्यास एउटा युद्धजस्तो लाग्छ । तर, त्यो युद्धमा माओवादीको बहादुरी, पीडा, करुणा झल्किन्छ । राज्य पक्षलाई धूलोपीठो पार्नु लेखकको एकमात्र उद्देश्य देखिन्छ । उनले खुलेरै माओवादी पक्ष लिएका छन्, त्यसमा आफ्नो कला थप्ने प्रयास गरेका छन् ।
उपन्यासमा धेरै ठाउँमा रक्तपातका घटनाहरू छन् । तिनमा माओवादी लडाकूको हार कमै देखाइएको छ, देखाइए पनि सान्त्वना आउने गरी मिलाइएको छ । राज्य पल्टाउन हिँडेको एउटा सिपाहीको कलमबाट त्यो आउनु अन्यथा होइन । तर, उनले राज्यविरुद्ध लड्ने प्रसंगमा मानवीयता गुमाएको जस्तो अनुभूति हुन्छ । लडाइँको मोर्चाका घटनाहरू चित्र बनेर आउँछन् पुस्तकमा । युद्धको जीवन्त विम्ब ठाउँठाउँमा आउँछन्, जसले कहिले सान्त्वना र कहिले आक्रोश पैदा गर्छन् । माओवादी समर्थकका लागि भने कति बेला रगत उमाल्छ भने कति बेला वर्गीय मायाप्रति ओतप्रोत गराउँछ ।
राजधानी र त्यस वरिपरिको परिवेशलाई लेखकले 'युद्धभूमि' बनाएका छन् । युद्धमा हुने प्रमुख घटना र परिघटनालाई सिलसिलाबद्ध गर्ने प्रयास उनको छ । सरकारी सुरक्षाकर्मीमाथि आक्रमण, सुरक्षाकर्मीको गाउँमा 'अपेरसन', ब्यारेक आक्रमण, लडाइँमा घाइते हुनेहरूको कठीन जीवन, निरंकुश राजतन्त्र पतनका लागि माओवादीको भूमिका र जेलनेल उपन्यासका विषयवस्तु हुन् । आस्थाको रूपमा जेलमा बस्दाकोे लामो दृश्य लेखकले राखेका छन् । माओवादी युद्धको उत्तरार्द्धमा आफैं पनि जेल परेका लेखकले त्यसभित्रको विम्ब राम्ररी उतारेका छन् । आस्थाका बन्दीले कारागारबाट भाग्ने सुरुङको प्रसंग जेलमा बस्दा लेखकले गरेको कल्पनाजस्तो लाग्छ ।
युद्धको मैदानमा मायाप्रेमका प्रसंग छन्, त्यतिबेला चुँडिएका प्रेमका कथाले रोचक बनाउँछ । युद्धमै सेनाका अधिकृतसँग माओवादी युवतीले नक्कली प्रेम गरी ती अधिकृतको ज्यानै अन्त्य भएको प्रसंग पनि छ । घाइते माओवादी एउटा सिपाहीको जीवन संघर्ष यो उपन्यासको सबभन्दा त्रासदीपूर्ण लाग्छ । सँगसँगै माओवादीकै महिला स्वास्थ्यकर्मीले उनको उपचारमा देखाएको जिम्मेवारीले भावुक बनाउँछ । घाइते लडाकु आश्रयस्थल दिने स्थानीयप्रति लेखक नतमस्तक भएका छन् ।
गाउँका शोषण, दमनको प्रतिरोध लेखकले गरेका छन् । माओवादी युद्धको सुरुवात त्यसरी नै भएको थियो । त्यसलाई फेरि ब्युँझाउने कोसिस उनको छ  । उनी माओवादी उत्पत्ति भएको स्थान र ठूला कारबाही भएका क्षेत्रतिर पसेका छैनन् । राजधानी र त्यस वरिपरि सिन्धुपाल्चोकलगायतमा केन्दि्रत छन् । ठूला लडाइँलाई 'युद्ध साहित्य' मा समेट्न नसक्नु उनको कमजोरी हो ।
'होस र्फकंदा घाम देखिएन, साँझ परेजस्तो छ । यति कष्ट हुँदा पनि किन मर्दिनँ म ? साँच्चि काल पनि नामर्द ? कि सास बलियो भएर हो ? सायद काल पनि नामर्द हुँदो होला र त्यही भएर मरिनँ ।' एक घाइते लडाकूको मनोवाद हो यो ।
माओवादी साहित्य भएर होला उपन्यासकारले युद्धको कमजोरीलाई कोट्याउन चाहेका छैनन् । वर्गीय पक्षधरता डगमगाउन दिएका छैनन् उनले । माओवादी युद्ध र त्यसका लक्ष्यलाई उठाएका छन् । युद्धका क्रममा देखिएका चरम खराबीप्रति आँखा चिम्लेका छन् । उनले राज्यलाई औंसीको रात र माओवादी युद्धलाई पूणिर्माको रात 'रात फुलेको याम' भनेका छन् ।
उपन्यास सरल छ । लेखनशैली मीठो पार्ने कोसिस गरिएको छ । भाषा सम्पादनलाई ध्यान दिइएको छ । माओवादी युद्धको एउटा भोगाइको अंश हो यो उपन्यास ।
 
रात फुलेको याम
लेखक: दीपशिखा
प्रकाशक:साङ्गि्रला बुक्स
मूल्य: ३००/-

प्रकाशित : पुस १२, २०७१ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?