१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

समयको सनक

दार्जिलिङतिरको समयमा सनक छ । गोरखाल्यान्डको आन्दोलनले जाग्दै-ब्युझँदै समयलाई तताइरहेकै छ, धेरै दशकदेखि ।

समयको सनक
- महेश पौड्याल

भारतीय नेपालीहरूको अधिकारलाई संस्थागत रूपमै प्रत्याभूत गर्ने यस अभियानभित्रै रहेका अनेक विपर्यास र समय-समयमा नेतृत्वले आमजनतासँग गरेको धोखाधडीले पनि समयमा सनक थपेको छ । विशाल भारतमा अल्पसङ्ख्यक र किनारीकृत हुनुको पीडा छँदैछ । यस सनकको मापन समसामयिक दार्जिलिङेली युवा कविहरूका रुबस कवितामा देख्न सकिन्छ । प्रदीप लोहागुणको भर्खरै प्रकाशित सङ्ग्रह 'सनकी समय' यसको गतिलो प्रमाण हो ।

'हस्तक्षेप अभियान' र सडक कविता समूहका एक जुझारु अभियन्ता प्रदीपका कविता मूलतः राजनीतिक छन् । राजनीतिका अतिरिक्त उनले पारिवारिक सम्बन्ध, मान्छे र प्रकृति, मान्छेभित्रको आन्तरिक द्वन्द्व र प्रकृति-प्रेममाथि पनि केही कविता दिएका छन् तर राजनीति नै उनको प्रमूख काव्यिक धरातल हो ।
प्रदीपका कवितमा राजनीतिले अल्पसङ्ख्यक र किनारीकृत जनतामाथि गरेको उपेक्षा सबैभन्दा चर्को स्वर बनेर गुञ्जिएको छ । भारतीय नेपालीहरू सिङ्गो राष्ट्रको सापेक्षतामा अल्पसङ्ख्यकै हुन् र भारत स्वतन्त्र भएको करिब सत्तरी वर्ष पुग्न लाग्दा पनि उनीहरूले भारतीय संविधानअन्तर्गत सम्मानजनक पहिचान नपाएको पीडा यी कवितामा मुखरित छन् ।
राजसत्ताको उच्चतम निकायसम्म कविताको झटारो पुर्‍याउनुपूर्व प्रदीपले आफूले टेकेको धरातल र आफूले परिवारबाटै उत्तराधिकारमा पाएको श्रमको मूल्यमा पनि कविता लेखेका छन् । यस अर्थमा उनले आफ्ना अग्रजहरूले स्थापित गरेको परिश्रमको उच्च मूल्यलाई आत्मसात् गरेका छन् । 'कविताबाजे', 'बोजु उत्खनन' र 'रफस्केचमा आमा' उनको पारिवारिक नोस्टाल्यिाका सुन्दर बान्की हुन् ।
पारिवारिक मूल्यलाई जस्तै मान्छे र प्रकृतिको सम्बन्धलाई पनि प्रदीपले गहिरिएरै चिन्तन गरेको प्रतीत हुन्छ । 'धरती' शीर्षकको उनको कविताले पृथ्वीबाट मान्छेले सहनशीलताको पाठ सिक्नुपर्ने कुराको वकालत गर्दछ । अन्य कविताभन्दा पृथक् धारको यो कविताको निष्कर्ष प्रदीपको 'पेटेन्ट' कथ्यभन्दा ठीक विपरीत जस्तो लाग्छ, किनकि यसमा उनी पीडा लुकाएर हाँस्नुमा भलो देख्छन् । जबकि अन्य कवितामा उनी पीडा लुकाउनुभन्दा विद्रोहबाट विस्फोटित गरिदिनुपर्ने तर्क गर्छन् । धरतीलाई सम्बोधन गरिएको उनको यस कवितको निष्कर्ष यस्तो छ ः

मैले तिमीबाटै सिकेँ
कि आखिर
पीडा लुकाएर हाँस्न सकियो भने
आँसुकै सिमसारमा फक्रिँदो रहेछ
मुस्कानको एउटा स्निग्ध कमल ।

प्रकृतिकै विम्बहरूमा आधारित अन्य केही कविता फेरि पनि राजनीतिक चेतकै हुन् । बढ्दो सहरीकरणले प्रकृतिको सौन्दर्यमाथि गरेको बलात्कारबाट उनी रुष्ट देखिन्छन् । 'दार्जिलिङ' शीर्षकको उनको कविता यस्तो रोषको द्योतक हो । उनी लेख्छन् ः

बेमौसम परेको झरीले
सहरका खाल्डाखुल्डीहरू भरिन्छन्
अनि पर्यटक बोकेर वेगसँग आएको रातो बोलेरोले
तिम्रो इन्द्रेणी रङ्गको पछ्यौरीमा छ्यापिराखेर जान्छ
मैलो पानी ।
भन त, तिमीलाई सिकसिक लाग्दैन ?

प्रदीपका कविताको प्रमखु स्वर अल्पसङ्ख्यक, आदिवासी, उपेक्षित वर्ग र भोका-नाङ्गाहरूकै हो । डुवर्सदेखि दार्जिलिङका पाखाभरि छरिएका आम नेपालीभाषीको पीडाका अन्तरकथा उनका काव्यिक हरफहरूले प्राथमिकताका साथ बोलेका छन् । उनको सङ्ग्रहको पछिल्तिर 'जङ्गलको स्वर' शीर्षकको खण्डभित्र आदिवासीहरूमा समर्पित पाँच कविता छन्, जसमा जङ्गल र आदिवासीको अविच्छिन्न सम्बन्ध, आदिम मानव-प्रकृति प्रेम, आदिवासी चेतना र सरकारद्वारा गरिएको उपेक्षालाई नै मूल कथ्य बनाइएको छ । यस कथ्यको एक प्रतिनिधि अंश यस्तो छ ः

जङ्गली फूलहरूको आवाजले वन रन्किन्छ
त्यो आदिम बस्तीसम्म घन्किन्छ
तर सिम्फोनी बनेर संसद् भवनसम्म पस्न सक्दैन ।

भारतको स्वतन्त्रता सङ्ग्रामदेखि आजसम्म नेपालीहरूले गरेको योगदानलाई राज्यले उपेक्षा गरेको हिसाब खाता पनि हो प्रदीपको 'सनकी समय' । 'देशको दुश्मन' शीर्षकको कवितामा उनी भारतीय स्वाधीनता सङ्ग्रामका योद्धा, आजाद हिन्द फौजका सिपाही, रामसिंह ठकुरी र दुर्गा मल्लजस्ता सेनानी र अडिबहादुर गुरुङजस्ता संविधान निर्माताहरूको बहुमूल्य योगदानमाथि राज्यको उपेक्षालाई मूल मुद्दा बनाउँछन् । उनी लेख्छन्, 'मलाई मेरो देशको राजधानी र छिमेकी देशको राजधानी एकै लाग्छ । दुवै नयाँ र अनजान' (३३) ।
कविताका पानासँगै राज्यप्रतिको आक्रोश तापक्रमजस्तै गरी बढ्दै गएको देखिन्छ र पराकाष्ठामा पुग्दा प्रदीपको कवित्व क्रोध र नैराश्यले पागल भएको अनुभूत गर्न सकिन्छ । यस मानसिक अवस्थामा ऊ स्वशासनसँग सम्झौता गरेर कृत्रिम रूपमा बनाइएका राष्ट्रिय मानबिन्दुहरूलाई पनि लत्याउनेसम्मको साहस गर्दछ ।
प्रदीपको कविता मूलतः आजको दार्जिलिङेली नेपाली भाषी युवाको आक्रोश र आकांक्षाकै दस्तावेज हो । काव्यशिल्पका केही प्रश्न अवश्यै छन् । प्रदीपको कवितामा अविधात्मक कथनको प्राचुर्य छ, जुन क्रमशः घट्दै जानु र व्यञ्जनात्मक हुँदै जानु हितकर हुनेछ । अर्को, आफूसँगै दार्जिलिङमा कविता लेख्ने साथीहरूको भाषिक र शैलीगत प्रभाव पनि यदाकता देखिन्छ, जसलाई चिरेर आफ्नै पृथक् शैली निर्माण गर्नु बढी सुन्दर होला । कथ्यहरूको पुनरावृत्तिदोषले पनि कहिलेकाहीँ नयाँपनसँग सम्झौता गरेको निचोड पाठकले निकाल्न सक्तछ । पृष्ठ ६४ मा उनले 'ए कवि, फेरि एकपल्ट लेखिदेऊ संविधानमा' भनेर कविहरूको भूमिकालाई अतिरञ्जित गरेका छन् ।

सनकी समय
कवि: प्रदीप लोहागुण
विधा: कवितासङ्ग्रह
प्रकाशक:    याम्बुरी बुक प्वाइन्ट
मूल्य: रु, १४०/-

----------------------------------------

किसानको काव्य
- दामोदर न्यौपाने

कोहीबेला खेतका गह्रामा धानको बिटा लगाउँदै गरेको तस्बिर फेसबुकमा राख्छन् । कोही बेला कोदाली बोकेर खेतको आलीमा हँसिलो मुहार लगाएर 'थकाइ मारिरहेका' देखिन्छन् । ती तस्बिर हेर्दा लाग्छ, चन्द्रप्रसाद न्यौपाने दुःखिया किसान हुन् । यिनी परम्परागत किसानी गर्छन् । तर, तिनै चन्द्रप्रसादले आफूले लेखेको किताबको कभर पनि फेसबुकमै राख्छन् । आफूबारे लेखिएका लेख पनि पोस्ट गर्न भ्याउँछन् । ती पोस्ट हेरेपछि लाग्छ, यिनी साहित्यकार हुन् ।
सिन्धुपाल्चोकको गाउँमा पढाउँदै गरेर चन्द्रप्रसादले झन्डै चार दर्जन पुस्तक लेखे । त्यसमध्ये सबैभन्दा ठूलो बृहत्तर महाकाव्य हो 'चन्द्रयुग' । १ सय ५० भन्दा बढी कथा, उपकथा समेटिएका छन् यसमा । कवितामा वास्तविक कथाको तारतम्य मिलाएका छन् ।
नारीमाथि पितृसत्ताले गरेको शासनप्रतिको असन्तुष्टिलाई उनले यसको सुरुतिरै समेटेका छन् । नारीमुक्तिका लागि संघर्ष गर्न आह्वान गरिएको छ । काव्यको सुरुवाती खण्डमा आमा/पिता र मातृभूमिप्रतिको, स्नेह दर्साइएको छ ।
चेलीबेटी बेचबिखन हाम्रो देशको कलंक हो । यसमा सिन्धुपाल्चोकले कुख्याति पाएको छ । सिन्धुमात्र नभई मकवानपुर, नुवाकोटलगायत जिल्लाबाट हजारौं चेली बेचिन्छन् । बेचिएका ती चेलीका कथा पनि कवितामा उन्न भ्याएका छन् उनले ।
पुस्तक पढ्दै जाँदा कतै जीवनी पढेजस्तो लाग्छ । गौतम बुद्ध, महात्मा गान्धी, निल आर्मस्ट्रङजस्ता व्यक्तिका कथा छन् यसमा । अरनिकोको चर्चा छ । पृथ्वीनारायण शाहदेखि शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रसम्मको जीवनी पढ्न पाइन्छ । गोपालवंशदेखि शाहवंशसम्मका नालीबेली छन् । १८७१ मा जन्मेका भानुभक्त आचार्यदेखि यताका शीर्षस्थ साहित्यकारको परिचय पनि समेटिइएको छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला अनि पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीसम्मको जीवनी उतारेका छन् उनले । तिथिमितिसमेत उल्लेख गरेर लेखिएकाले कतै कतै इतिहास पढेजस्तो लाग्छ । कतै दर्शन पढेजस्तो ।
पाँचपोखरी, शैलुङ, देवघाट, नगरकोटलगायतका सुन्दर ठाउँमा पनि पुर्‍याएकाले कतै स्थान परिचय पढेजस्तो । कतै भूगोल पढेजस्तो । शरीर विज्ञान पढेजस्तो पनि लाग्छ । नाक, मुख, आँखा, कान, हात खुट्टा, छालालगायत अंगको महत्त्वबारे वर्णन गरेका छन् । राष्ट्रियताका सन्दर्भ छन् यसमा । जातीयताका कुरा छन् । काव्यले इतिहास, भूगोल, राजनीतिलगायत बुझ्न सहयोग गर्छ ।
चन्द्रमामा मान्छे पुगेको युग हो यो । त्यही भएर यो समयको नामै चन्द्रयुग राखेका छन् कविले । चन्द्रमामा मान्छेले पाइला राखेकै समयमा विश्वमा ठूला ठूला युद्ध भए । समयक्रममा हाम्रो देश पनि आन्तरिक युद्धमा जाकियो । १० वर्षसम्म चलेको युद्धले देशलाई आक्रान्त बनायो । २०५२ देखि २०६३ सालसम्म चलेको उक्त युद्धमा राज्य र माओवादीले गरेका ज्यादतीबारे उल्लेख गरेका छन् उनले । सिन्धुपाल्चोकमा राज्यले मारेका पत्रकार कञ्चन पि्रयदर्शी हुन् या केन्द्रमा मारिएका पत्रकार कृष्ण सेन इच्छुक, उनले चर्चा गर्न भ्याएका छन् । माओवादीले हत्या गरेका पत्रकार ज्ञानेन्द्र खड्काको चाहिँ नामै लिएका छैनन् । कृष्णसेनको सन्दर्भ उप्काउँदा डिकेन्द्र थापा र वीरेन्द्र साहहरूको सन्दर्भ आएका छैनन् । साहित्यले कुनै वर्गको नभएर एउटा युगको यथार्थ चित्रण गर्नुपर्नेमा न्यौपाने चुकेका छन् ।
वास्तविक कथा पढ्दापढ्दै न्यौपानेले एकैपटक काल्पनिक दुनियाँमा पनि पुर्‍याएका छन् । कुनै पहाडी गाउँमा जन्मेको बालक प्रभात हुर्केपछि मंगल ग्रहसम्म पुगेको र त्यहाँ प्रकृतिसँग विवाह गरेको प्रसंग जोडेका छन् । प्रकृतिलाई लिएर प्रभात पृथ्वी आएपछि फेरि कविले कथालाई वास्तविक संस्ाारमा लगेका छन् । जनताले क्रान्ति गरेर गणतन्त्रमा मुलुक गएको निकट विगत व्याख्या गरेका छन् ।
लेख्नु सजिलो काम होइन । झन् नियमभित्र बसेर बृहत्तर काव्य लेख्नु त अझ कठीन छ । त्यसमाथि दुर्गम गाउँमा बसेर, त्यो पनि स्कुलमा चक डस्टर घोट्दै, कहिले खेतबारीमा दस नंग्रा खियाउँदै यसमा निरन्तर लाग्नु कठीन काम हो । यही कठीन काम गर्दै आएका छन् न्यौपानेले । उनी हिँड्दाखेरि रेकर्डरमा कविता रेकर्ड गर्थे । अनि परिवारका सदस्यलाई सार्न लगाउँथे । यसैगरी उनले चार दर्जन कृति तयार पारे ।
यो पुस्तकमा खाली ठाउँ कतै छैन । गज्याङगुजुङ पारेर राखिएका छन् विषयवस्तु । एउटा सर्ग जुन ठाउँमा सकिएको छ, अर्काे पनि त्यहींबाट सुरु भएको छ । पाना जोगाउन खाँदखुँद गर्दा पनि पुस्तक ९ सय ६० पेजको भएको छ । यसमा २१ हजार २ सय ३३ श्लोक छन् । छन्द मात्रै २ सय ६६ वटा प्रयोग भएको छ । पुस्तक आम पाठकले पढ्न सक्ने खालको छैन । हेर्दा ठूलो देखिए पनि पाना पल्टाउँदा जाँदा काव्य रोचक लाग्छ । समय र आँट हुनेले पाना पल्टाइरहनेछन् ।

चन्द्रयुग
विधा: बृहत्तर महाकाव्य
लेखक: चन्द्रप्रसाद न्यौपाने
मूल्य: रु. २,४९५

प्रकाशित : पुस १२, २०७१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?