१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बाहिरियाको प्रश्न

यज्ञश

मानिसले आफ्ना लागि गरेको आजसम्मको सबभन्दा ठूलो आविस्कार के होला ? मानिसहरु भन्छन्- त्यो आविस्कारको नाम भगवान हो ।

बाहिरियाको प्रश्न
दार्शनिक व्याख्याहरुले मानिसलाई सोचको गहिराईमा पुर्‍याउछन्, गहिरो दहमा डुबुल्की लगाएजस्तो । तर, त्यसबाट पौडिएर माथि आउन चाहिँ मानिस आफैंले जान्नु पर्छ ।
के धर्म पनि त्यस्तै कुनै गहिरो चीज हो ? जसमा ज्ञान र चेतनासहित प्रवेश गरिएन भने डुबिन्छ ? के यो दहमा कुनै माझीले डुंगा चलाउँछन्, जसमा चढेर धर्मको एउटा छेऊबाट अर्को तिरसम्म पुगिन्छ ? ठूला पुजारी, बाबा, पादरी वा मौलवीहरु त्यस्तै माझी हुन् ? यिनीहरुसँग मानिस पुग्नु पर्ने घाट वा तिरको सही ठेगाना हुन्छ ? यस्ता जटील प्रश्नहरु बारे छलफल हुनुपर्ने उपयुक्त ठाउँ कुन हो थाहा छैन । यसपटक भने एउटा फिल्मले आफ्नो चम्किलो पर्दामा यसका बारे छलफल चलाएको छ ।
बलिउड फिल्म निर्देशक राजकुमार हिरानीले यस्तो प्रश्न खडा गरिदिएका छन् । यिनले पहिले पनि 'थ्री इडियट्स'मा यस्ता केही जन्ड प्रश्न उठाएका थिए । यसपाली उनले गरेका प्रश्नलाई कसैकसैले उद्दण्डसमेत भनेका छन् । धार्मिक भावना विपरित भएको भन्दै भारतमा फिल्मको विरोध पनि भएको छ ।
पृथ्वीको यो भागमा बसोबास गर्ने मानिसले जेजति कुरालाई आप\mना परम्परा, रिति वा चलनका रुपमा मान्दै आएका छन्, तिनको समय सान्दर्भिक परख हुनुपर्छ र हरेक सचेत मानिसले भगवानलाई मात्र होइन, आफ्नै अस्तित्वलाई पनि प्रश्न गर्नुपर्छ भन्नका लागि हिरानीले एउटा एलियनको सहारा लिएका छन् । जे कुराको जवाफ छैन त्यसलाई सत्य मान्न सकिदैन भन्ने विज्ञानको सिद्दान्त छ । फिल्म आफैंमा एउटा कल्पना हो । यो मिथ्याको भरमा चल्ने साधनले संसारका स्थापित सत्यमाथि प्रश्न उठाउँदा कतिले त्यसलाई कला ठान्छन् त कतिले यसको आधिकारिता माथि प्रश्न उठाउँछन् ।
मिथ्या नै सही, एउटा छुट्टै संसारको निर्माण गर्ने शक्ति भएकाले फिल्म निर्देशक, साहित्यकार र चित्रकारहरुलाई मानिसहरु सर्जक भन्छन् । यस्ता सर्जकले कहिले वास्तविक दुनियामाथि आफ्नो कलामा प्रश्न गर्छन् त कहिले समयभन्दा अगाडि बढेर द्रष्टाको पनि काम गर्छन् ।
'पिके' हिरानीले सृजना गरेको त्यस्तै संसार हो, जसमा उनले प्रश्नको बाढी ल्याएका छन् । 'मुन्नाभाई एमबिबिएस'मा अस्पताल र मेडिकल सिस्टम, 'लगे रहो मुन्नाभाई'मा महात्मा गान्धीको सान्दर्भिकता र 'थ्री इडियट्स'मा शिक्षा प्रणालीमाथि हिरानीले प्रश्न गरेका थिए । यो सिलसिला चौथो फिल्म 'पिके'मा 'रंग नम्बर'का रुपमा आएको छ ।
हिरानीको शैली नै बनिसकेको छ, उनी स्थापित्य सत्य र सत्तामाथि बाहिरियाका माध्यमबाट प्रश्न खडा गर्छन् । दुइटै मुन्नाभाईमा त्यो काम एउटा गल्लीको गुन्डाले गरेको थियो । थ्री इडियट्समा अर्काको नाममा पढ्न आएको विद्यार्थीले पि्रन्सिपलका सिद्दान्त र ज्ञानमाथि चुनौति दिएको थियो । 'पिके'मा यसका कामका लागि उनले पृथ्वीबाहिरबाट प्राणी आयात गरेका छन् । नाम नखुलेको कुनै ग्रहबाट नांगै पृथ्वीमा झरेर बाध्यताबस यतै अड्किएको एलियनले आप\mनो घर फर्किन गर्ने संघर्ष फिल्मको पटकथाको ट्रयाक हो । यो ट्रयाकमाथि धर्मका नाममा समाजमा भइरहेको गतिविधिको पोस्टमार्टम रिपोर्ट रेल जसरी चल्छ ।
यसअघि पनि थुप्रै निर्देशकले आप\mनो कथा वाचक वा संसारको 'निस्पक्ष अवलोकनकर्ता'का रुपमा एलियनको प्रयोग गरेका छन् । स्टिवन स्पिलवर्गको 'इटी'देखि राकेश रोशनको 'कोइ मिल गया'सम्म यस्ता परालौकिक जीवहरु पर्दामा आएका छन् । रोशनको 'जादु' खासै बोल्थेन, पृथ्वी र मानव जीवनमाथि त्यसका कुनै टिप्पणी थिएनन् । त्यो आप\mनो संरक्षकलाई थप शक्ति दिएर फिर्ता भएको थियो । 'पिके' सम्म आइपुग्दा बलिउडको एलियन टाठो र बाठो भएको छ ।
एलियनलाई प्रयोग गर्दा बाहिरबाट निस्पक्ष भएर हेरिएको भन्ने भान हुन्छ । तर, ६ घन्टामै सिंगो भाषा सिक्ने शक्ति भएको यो एलियनले पृथ्वीका अरु धेरै कुरा बुभ\mन सक्दैन । मानिसको हात समाएर, दिमागमा के चलिरहेको छ भन्ने थाहा पाउनेले धेरै समस्या लिएर भौंतारिइरहन्छ । कुनै धर्म र भगवान् नभएको ठाउँबाट आएको यो पात्रले निकै चाडै भगवानलाई मान्छ, विश्वास गर्छ । पूरै फिल्मभरी बेवकुफजस्तो लाग्ने 'पिके'ले खासमा कुनै पनि वेवकुफीपूर्ण काम भने गर्दैन । बाँच्नका लागि के-के गर्नुपर्छ भन्ने कुरा तुरुन्तै सिक्ने जीव वेवकुफ कहलाउदैन । उसका काम तार्किक र प्रश्न जटील छन् । हास्य उत्पन्न गर्नका लागि हिन्दी फिल्ममा गरिने नियमित कुराहरु यसमा पनि छन् ।
निर्देशकका रुपमा राजकुमार हिरानीको सबभन्दा सवल पक्ष मध्यमवर्गको नाडी छाम्नसक्नु हो । जसरी उनको पात्रले मानिसको हात समाएर उसको दिमाग पढ्न सक्छ, त्यसैगरी हिरानी मध्यमवर्गको मनोविज्ञान पढ्न सक्छन् । उनको कथा वाचनको शैली पनि परम्परागत छ । राम्रो र नराम्रोको द्वन्द्व खडा गर्ने र त्यसैमाथि खेल्ने शैलीलाई उनले सँधै अंगिकार गरेका छन् । 'पिके'मा पनि अन्त्यमा एलियन र तपस्वीका बीचको द्वन्द्वमा आएर फिल्म रोकिन्छ ।
आस्था यस्तो चिज हो, जसलाई कुनै तर्कले जित्दैन । र, तर्क यस्तो चिज हो जसले अरु केहीलाई मान्दैन । आस्था र तर्क भिडे भने के हुन्छ ? यस्ता विषयमा यसअघि पनि केही फिल्म बनेका छन् । सन् २०१२ मा आएको फिल्म 'ओएमजी : ओ माई गड'ले पनि धार्मिक बाबाहरुमाथि प्रश्न उठाएको थियो । अफ्नो क्षतिका लागि कसैले भगावनविरुद्ध मुद्दा दायर गर्‍यो भने के होला ? 'ओ माई गड'मा यसलाई विषय बनाइएको थियो, जुन मुद्दाका भगवानका तर्फबाट लड्न बाबा र सन्त आउँछन् । 'पिके' यसभन्दा अलि फरक छ । पिके आप\mनो हराएको समान भगवानले खोज्देलान् भनेर भगवान नै खोज्न निस्किएको छ । यसक्रममा उसको भेट हुन्छ, भगवानका 'म्यानेजरहरु'सँग । यो यात्रामा उसले भगवानप्रतिको भक्ति र व्यापार दुवै देख्छ ।
कसरी एउटा एलियनका साधारण लाग्ने प्रश्नहरुले आस्थामा अडेको व्यापारलाई हल्लाइदिन्छ ? र, त्यसको तरंगले प्रश्नकर्ताकै जीवनमा केके खलबली ल्याउँछ भन्ने फिल्मले देखाउँछ । गम्भीर प्रश्नहरु गर्ने भए पनि निर्देशकले फिल्मलाई हास्यमा मिसाएर पेश गरेका छन् । यसैले उनले आफ्नो मूल पात्रलाई हल्काफल्का बनाएका छन् । यसलाई भाषा पनि भोजपुरी दिएका छन् । मन्दिरमा चप्पललाई ताल्चा मार्नेदेखि मानिसहरुका लुगा मिलाइदिनेसम्मका दृश्यहरु राखेर हल्का बनाएका छन् ।
भगवानको खोजीमा मन्दिर, मस्जिद, चर्च र गुरुद्वारा धाउँदा भेटिने धर्मान्धता र आस्थाको अन्तर छुट्याउने जिम्मा निर्देशकले दर्शकलाई नै छोडेका छन् । दर्शकलाई सोच्ने र पात्रका कुरा महसुस गर्नसक्ने स्थान उनले दिएका छन् । यसैले होला, उनको पिके दर्शकको दिमागमा सजिलै घुस्छ । र, रंग नम्बर पत्ता लगाउने काममा लागिहाल्छ ।
'पिके' आमिर खानको पनि फिल्म हो । उनको अभिनयको शक्तिले यो पात्रलाई जीवन्त बनाइदिएको छ र उनको स्टारडमले कमाउ । भिन्न रुप र भावमा आमिर स्वभाविक छन् । आमिर खान त्यस्ता अभिनेता हुन्, जो आफ्नो चरित्रमा रुपान्तरित भएर अभिनय गर्छन् । उनका पछिल्लो वर्षका फिल्महरु रंग दे वसन्ती, धोवीघाट, गजनी, तारे जमीन पर, थ्री इडियट्स, धुम ३ र पिकेलाई हेर्ने हो भने उनले आफ्नो अभिनयमात्र होइन, शरीरको आकार प्रकार र भाषिक लवजमा समेत फरक फरक प्रयोग गरेका छन् । फिल्मको कथा र चरित्रको छनोटमा लिने 'रिस्क'ले उनलाई अन्य स्टारहरुभन्दा भिन्न बनाइदिएको छ ।
फरक गेटअपमा देखिएकी अनुष्का शर्माले प्रभावित पार्छिन् । सानो भूमिकामा देखिएका संजय दत्त, सुशान्त सिंह राजपुत र सौरभ शुक्ला स्मरणीय छन् । फिल्मको पटकथामा धेरै उतारचढाव छैन । फिल्म घटनाभन्दा बढी विवरणप्रधान छ । यसैकारण होला एउटै कुरा स्थापित गर्न धेरै उस्तै लाग्ने दृश्यहरु समावेश गरिएको छ । एलियनका हर्कतहरुमाथि कमेडी गरिएको भए पनि फिल्मलाई वर्तमानसँग जोड्न भारत-पाकिस्तानको लफडासँग पनि जोडिएको छ । समय एउटै भए पनि स्थानअनुसार त्यसको गति र सोच फरक हुन्छ भन्ने देखाउन राजस्थान र दिल्लीको कथामा घुमेको कथामा बेल्जियम घुसाइएको छ ।
भगवानले मानिस बनाएको कि मानिसले भगवान भन्ने प्रश्न पहिलेदेखि नै चलिआएको छ । यदि कुनै फिल्ममेकरले आप\mनो संसार बनाउने हो भने त्यसमा के-के समावेश गर्ला ? हिरानीले आफूले बनाउने संसारमा समावेश नगर्ने चिजहरुको लिस्ट 'पिके'मा दिएका हुन् । यसअघिका फिल्ममा पनि उनले त्यो संसारमा लागु नहुने नियमहरु देखाएका थिए । उनको यो लिस्ट सायद अझै लामो होला । आखिर संसार नियमले मात्रै त चल्दैन ! यसका लागि मानिसमा भावना र संवेदनाको खाँचो पर्छ । उनले दर्शकलाई छोड्ने सबभन्दा महत्वपूर्ण प्रश्न चाहिँ आप\mनै कुनै संवेदना नभएको पात्रका माध्यमबाट प्रश्न उठाउदा के होला भन्ने हो ।

प्रकाशित : पुस १२, २०७१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?