१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दरबारी शानको सनकी स्वाद

हाम्रो समाजमा केही मानिस राज्यशक्तिबाट अति नै भयभीत हन्छन्, प्रभावित हुन्छन् र त्यसकै आधारमा आफ्ना धारणा र विचार निर्माण गरिरहेका हुन्छन् । राज्यशक्तिको आभाको निर्माण गरेर तिनले त्यसै आधारमा समाजमा किस्साहरू जन्माइरहेका हुन्छन् र अरूलाई बाँडिरहेका हुन्छन्
श्यामल

एक वर्ष, क्षेत्रीय विकास केन्द्रहरूको भ्रमणका सिलसिलामा राजा वीरेन्द्र आफ्नी बडामहारानी ऐश्वर्यसहित गोरखा पुगेका थिए । पञ्चप्रशासनले राजारानीलाई आफ्ना कामको फेहरिस्त बुुझाउने र केही नयाँ आयोजना उद्घाटन 'मौसुफका बाहुली' बाट गराउने काम हुने नै भयो ।

दरबारी शानको सनकी स्वाद
१) राजाको थपडी, रानीको उद्घाटन
एक वर्ष, क्षेत्रीय विकास केन्द्रहरूको भ्रमणका सिलसिलामा राजा वीरेन्द्र आफ्नी बडामहारानी ऐश्वर्यसहित गोरखा पुगेका थिए । पञ्चप्रशासनले राजारानीलाई आफ्ना कामको फेहरिस्त बुुझाउने र केही नयाँ आयोजना उद्घाटन मौसुफका बाहुली बाट गराउने काम हुने नै भयो । तदनुसार गोरखा बजार नजिकैको एक गाउँमा खानेपानी उद्घाटन हुने तय भयो । हेलिप्याडदेखि बाजागाजाका साथ राजारानीलाई रातो तुल बिछ्याएर उद्घाटनस्थलसम्म सवारी चलाइयो । राजा र पञ्चायतको जयगान भयो । बडामहारानीले धारोका टुटी खोलिन् । राजाले ताली बजाए । धाराबाट पानी झर्यो । नन्दीभृंगी गणहरूले तालीका पर्रा छुटाए ।
ज्ाानकार गोरखालीका अनुसार, त्यो जनतालाई पानी नखुवाउने नक्कली धारो थियो । अञ्चलाधीशज्यूका प्रपञ्चले पूरा नै नभएको त्यस आयोजनालाई पूरा भएको देखाउन सुरक्षाकर्मीहरूको दलबलसहित केही स्थानीय पञ्च मनुवाहरूले तीन सय फिटजति माथिको तर उद्घाटन स्थलबाट नदेखिने खोल्साबाट गाग्रीका गाग्री पानी खन्याइएको थियो । र, त्यही जलधारालाई पाइपका माध्यमबाट धाराको टुटीसम्म ल्याइपुर्याइएको थियो । उद्घाटनको केही क्षणमै धारामा पानी थिएन ।
यस घटनाबाट प्रस्ट हुन्छ, उनी हान्स क्रिस्चियन एन्डरसन नामक प्रख्यात कथाकारको बादशाहको नयाँ कपडा शीर्षक कथाका पात्र राजा थिए । आफ्ना जनताका लागि बनाइएको करोडौं खर्च हुने आयोजना सही हो कि होइन भन्नेबारे उनलाई कुनै मतलब थिएन । कुनै पनि निरंकुश शासकका लागि आफ्ना चरहरू र अनुचरहरू नै भरपर्दा हुन्छन् । तिनका लागि सत्यको खासै अर्थ रहन्न । विरुदावली र स्तुतिगान सुन्दैमा तिनको जीवन बित्छ । विकासप्रेमी भनिएका राजा वीरेन्द्रको यस्तो हाल थियो । भनिन्छ, एकपटक उनलाई काँक्रो नहुने याममा काँक्रो खान मन लाग्यो । उनका लागि काँक्रो ल्याउन सुदूर पश्चिमका नौ जिल्लाभरि हेलिकोप्टर घुम्यो ।

२) लक्ष्यबहादुर गुरुङको थप्पड
२०४१ सालको कुनै महिना । हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानको परिसरभित्र नेपाल रेडक्रसको महाधिवेशन चलिरहेको थियो । तीन दिवसीय महाधिवेशनको अन्तिम दिन । यस लेखकलाई र्यापोर्टर बनाइएको थियो । आयोजनामा स्टाफका तर्फबाट अहम् जिम्मेवारीमा खटिएकामध्ये एक थियो यो लेखक । महाधिवेशनमा प्रतिनिधिहरूको बोल्ने क्रम जारी नै थियो ।
त्यस साँझ, परम्पराअनुसार, संस्थाका अध्यक्षबाट महाधिवेशनका सहभागीहरूलाई रात्रिभोज दिने कार्यक्रम थियो । प्रस्ट छ, अध्यक्ष सरकार थिइन्, राजाकी कान्छी काकी अर्थात् श्री ५ अधिराजकुमारी हेलेन शाह । सरकार अध्यक्ष भएपछि उनले दिने भोजको प्रबन्धको जिम्मा स्वत: अञ्चलाधीशको हुँदो रहेछ । नारायणी अञ्चलको सदरमुकाम हेटौंडा थियो र अञ्चलाधीश थिए लक्ष्यबहादर गुरुङ । आजको रात्रिभोजको जिम्मा उनकै भयो । यस लेखकलाई रात्रिभोजको कार्यक्रम बनाउँदाखेरि नै अध्यक्षले दिने रात्रिभोजको जानकारी थियो तर त्यसको जिम्मा अञ्चलाधीशको हुन्छ भन्ने कुराको केही पत्तो थिएन ।
दिउँसो महाधिवेशन कक्षको मूलद्वारमा एकजना मुसलमानजस्तो लाग्ने व्यक्ति देखा पर्यो र ऊ हात जोडेर भित्र कतै चियाइरहेको थियो । गुरुङजी भित्रै हुनु स्वाभाविक थियो, किनभने सरकार त्यहाँ थिइन् । उक्त मासु व्यापारी बडो प्रसन्न चित्तले अञ्चलाधीशलाई आफ्नो काम जाहेरी गर्न आएको थियो । ऊ आफ्नो सुझबुझपूर्ण कामका लागि स्यावासी पाउने ध्येयले आएको थियो । गुरुङजीका बडीगार्ड प्रहरीले ऊ छेउ आएर केही सोधपुछ गरे । उसले अञ्चलाधीशज्यूसँग केही कुरा गर्नु थियो मालिक ! भनिरहेको थियो ।
अञ्चलाधीशले दुईवटा खसी काटेर मासु प्रबन्ध गर्न आफ्ना स्थानीय आसेपासेसहित एकजना स्थानीय मासु व्यापारीलाई ठेक्का दिएका रहेछन् । र, मासु व्यवसायी महारानीलाई आफूले बनाएको अब्बल दर्जाको मासु ख्वाउन पाउने र त्यसबाट भविष्यमा आफ्नो व्यवसायको भलो नै हुने चिताएर बसेको हुँदो हो । उसले रात्रिभोजका लागि मासु तयार गरेको सुसमाचार लिएर आएको थियो । किनभने राजा रानीजस्ताले छालासहितको मासु खाँदैनन् होला भन्ने बुद्धि लडाएर उसले खसीका छाला काडेर मासु मात्र तयार गरेको थियो । अनि गुरुङजी महाधिवेशनमा महारानीको पछिल्लो आसनबाट उठेर सरासर मूलढोकाबाट बाहिर करिडोरतर्फ लम्किए । र, मधेसी मूलको त्यस मासु व्यवसायीको ठीक साम्ने उपस्थित भए । उसले पूरै झुकेर दण्डवत् टक्र्यायो ।
मासु तयार गरिस् त ? गुरुङजीले जंगी शैलीमा सोधेका थिए ।
हाँ प्रभुु, सायद उसले यस्तै भनेको थियो । साना व्यापारीले बोल्ने भाषा यस्तै हुनु थियो ।
बता, कसरी बनाइस् ? अञ्चलाधीशज्यूको सोधाइको मुद्राले यही सोधेको हो भनेर किटान गर्न सकिन्थ्यो ।
हजुर, छाला निकालिदिएँ । प्योर मासु तयार गरी आफैं लगी पुर्याइदिसकेको छु हजुर ।
तत्काल गुरुंङजी आगबबुला भए । र, केही पर्खंदै नपर्खी भटाभट मासु व्यवसायीको गालामा चड्कन लगाउन थाले । ऊ तर्सिरहेको थियो । केही बुझिरहेको थिएन । स्साला छाला किन काढेको ? बारम्बार क्रूद्ध प्रशासकका मुखबाट यति मात्र सुनिरहेको थियो । जतिपटक गुरुङजी यो वाक्य उच्चारण गर्थे ? उतिपटक उसका गालामा थप्पड बजि्ररहेको थियो । महाधिवेशनको अग्रासनमा बसेका र ढोकातिर दृष्टि दिन सक्नेहरूको ध्यान गुरुङजीको यस चर्तिकलातिर आकषिर्त भइरहेको थियो । केन्द्रीय आसनमा आरुढ अध्यक्ष अर्थात् महारानीको ध्यान पनि त्यतै गयो । यो सारा देखिरहेको म ढोकातर्फ हान्निएँ । र भनें, अञ्चलाधीशज्यू, भित्र अलि डिस्टर्व भयो । बाहिर कतै बसेर ऊसित राम्ररी कुरा गर्न मिल्दैन ? उता अञ्चलाधीश भने ऊतिर घुरिरहेका थिए ।
मैले मासु व्यवसायीका पाखुरा समातेर अञ्चलाधीशको थप्पडबाट उसलाई जोगाउँदै बगैंचाको एक कुनातिर लगें । मसँग बिल्कुल नबोलीकनै अञ्चलाधीश गुरुङजी जिस्काइएको सर्प जस्तै फ्वाँ फ्वाँ गर्दै हाम्रो पछिपछि आइरहेका थिए, पछाडि पछाडि उनको अंगरक्षक कुदिरहेको थियो ।
जतिसुकै घाटा परे पनि एक घन्टामा छालासहितको मासु तयार गर्ने सर्तमा ऊ फिर्ता भयो तर उसको मेघाच्छन्न भइसकेको अनुहारमा खुसी उदाएको देखिएन । ऊ अपमानित भइरहेको थियो । बेलुकाको भोजमा महारानी, अञ्चलाधीश र सबै सहभागी महारानीले मन पराउने मासुसहितको भोजमा रमाइरहेका थिए । तर राम्रो मासु ख्वाएकोमा स्यावासी पाउन लालायित मासु व्यापारी त्यहाँ नहुनु स्वाभाविकै थियो ।
३) पृथ्वीनारायणको रहस्यमयी जलकूप
ग्ाोरखा दरबारको पूर्वपट्ट िनारेश्वर जाने पुरानो बाटो छ र भञ्ज्याङसँगै माथि डाँडोमा रहेको टावरमा उक्लिने बिन्दुमा दुईटा ठूल्ठूला ढुंगा छन् । ती ढुंगाको पूर्वपट्टकिो खोल्सोसँगैको एउटा खोंचको जलपेटारोको कथा हो यो । हाल त्यो स्थानमा पानी छैन ।
लोक विश्वासअनुसार त्यो पानी माप्पाको थियो । त्यसै पानीको प्रतापले पृथ्वीनारायण शाहले कमाल गरे । त्यसैका प्रतापले जति रानी पटरानी भए पनि उनी तिनको यौन क्षुधा शान्त गर्न सक्थे । त्यसै पानीको तेजले सिरु झारको एक पत्ताले उनी तीनवर्षे मत्त जोधाहा रांगोको गर्धन ठुन्क्याउन सक्थे । नेपाल राज्यको विस्तारमा त्यस पानीको ठूलो भूमिका थियो । गुरु गोरखनाथले दिएको दहीको भन्दा बढी असरदार थियो त्यो जलकूपको पानी । त्यसैले त्यो उनका निमित्त सुरक्षित राखिएको थियो । अरूले त्यहाँको पानी खान पाउँदैनथे । सैनिकको नित्य पहराले त्यस जलकूपलाई अरूका निमित्त निषेध गरेको थियो ।
ग्ाोरखनाथ र गोरखकालीका पुजारीहरूलाई यस विश्वासले गाँजेको थियो । ती पृथ्वीनारायणजस्तै सौर्य र वीरता, यौनशक्ति र ख्यातिका लागि अहोरात्र सोचिरहेका थिए । करिब बीस वर्षअघि यो लेखक गोरखामा हुँदा पुजारीहरूसँग त्यहाँको विशिष्ट समाजका रहस्य, किंवदन्ती र तिनको आफनै जीवनबारे बुझ्न उनीहरूको नजिक पुग्ने प्रयास गरेको थियो । उठ्दा बस्दा रोचक तथ्य फेला पर्यो । पुजारीहरूका अनुसार पृथ्वीनारायण नुवाकोट सरेपछि त्यस जलकूपलाई रातारात पुरियो । यसमा सत्यको अंश हुनुपर्छ । पानी पक्कै उत्तम गुणयुक्त र लवणयुक्त हुँदो हो । राजाहरू आफ्ना धीरोदात्त गण, वीरोचित गण अरूले नपाओस् र त्यसकै बलमा अकण्टक शासन गर्न पाइयोस् भन्ने चाहन्थे । अत: त्यस्तो जलकूप राजाको बसाइ सराइपछि नष्ट गरियो होला । त्यस पानीलाई राजाले मात्र खाने खाने बनाइएकाले त्यो झन् रहस्यमय बन्यो होला । जनताको पहुँचबाट त्यो पानी टाढै रहनु स्वाभाविक मान्नुपर्छ ।
यो रहस्यको भेउ पाएका पाँचजना पुजारीले त्यो पानी फेला पार्न सकिन्छ कि भनी प्रयास गरे । रातको समयमा, लुकीछिपी, लगातार पाँच दिनसम्म खन्दै जाँदा पनि तिनले पानीको जरो फेला पार्न सकेनन् । दुई टाँगा बास छिरे तर पानी फेला परेन । त्यसपछि आजित हुँदै उनीहरू फर्के । तिनको सपनामा तुषारापात भयो । अरू कसैले पनि भोगचलन गरी आफूजस्तै हुन नपाउन् भनी नेपालको एकीकरणका यी महानायकले बडो कुशलतापूर्वक त्यस जलकूपलाई गर्तमा छिराइदिएका रहेछन् ।

४) दुल्लुको रुप्स्या पानी
दैलेख जिल्लाको दुल्लु नेपालको पुरानो बाइसी राज्यमध्ये एक हो । त्यहाँका राजाको ऐतिहासिक दरबार माओवादीले सशस्त्र युद्धका बेला भत्काइदिएको छ । त्यो अझै बनाइएको छैन ।
मेरो घरको अति महत्त्वपूर्ण हस्तलिखित ग्रन्थ ढकुल्ल्या का भित्री पानाको एक ठाउँमा रुप्स्यापानी तोड्याको भनी तिथि मिति लेखिएको छ जुन मैले अन्तिमपटक २०३० सालमा पढेको थिएँ । र मेरा पिताजीले यस टिपोटका पछाडिको रहस्यबारे मलाई बताउनुभएको थियो । रुप्स्या पानी भन्नाले रूपसी पानी हो । लोकचर्चा अनुसार त्यस अद्भुत जलमा मानिसको रूप बदलिदिने गुण थियो । त्यसमा नुहाउँदा शरीरका सारा रोगहरू निर्मुल हुन्थे, कलौटो गोरो हुन्थ्यो, घीनलाग्दो वर्णका मानिस राजकुमार राजकुमारीजस्तै उज्याला हुन्थे । त्यसैले त्यो दरबारका राजा रानी र तिनका पि्रय सन्तानबाहेकका अरू कसैले पनि प्रयोग गर्न पाउन्नथ्यो । त्यतिबेलाको कडा राजकीय ऐलानका अगाडि त्यहाँ पुग्ने हिम्मत कसैको थिएन । तर त्यसकै छेउबाट दरबार उक्लने बाटो थियो ।
एक दिन दुल्लु दरबारभन्दा निकै टाढाकी एक गरिब दलित महिला -सर्किनी) आफूमाथि परेको अन्यायबारे तत्कालीन राजासमक्ष फिराद गर्न साहस बटुलेर आई । उसको सामाजिक र आर्थिक हैसियतअनुसार ऊ दरबारमा जाँदै भए पनि न ऊसँग सफा पोसाक थियो, न त नियमित रूपमा नुहाउने धुने संस्कार नै । अत: यथा हालतमा ऊ राजाको दरबारतर्फ लागी ।
दरबारको नजिक आइपुग्दा हठात् उसले सोची, यति फोहोरी छ भनेर राजाका मानिसले हप्काएर उसलाई फिर्ता पठाइदेलान् । छेउतिर कतै पानी भए, हातमुख धोएर जानुपर्यो । उसले बाटोको दायातर्फ पानीको निर्मल कुवा देखी । न उसलाई यो राजाले मात्र प्रयोग गर्ने पानी हो भन्ने थाहा थियो, न त्यो थाहा दिने मानिस अर्थात् पाले नै त्यहाँ थिए । राजाज्ञाले त्यस वरपरका मानिस डराएरै त्यस कुवातिर जाँदैनथे । तर यस दलित महिलाले त्यस पानीलाई साधारण नै ठानी र सरासर गएर हातमुख धोई ।
तत्काल उसको शरीरमा अनौठो फुर्ती उत्पन्न भयो । यो उसले महसुस गरी । तर उसलाई निर्मल पानीले मुख धोएको र थकाइ मरेको कारणले यस्तो फुर्ती आएको ठानी । सरासर दरबारतर्फ उकालो लागी । उसलाई दरबार वरिपरिका सबैले बडो रुचिपूर्वक हेरिरहेका थिए । ऊ सोध्दै गई । सेनाका पहरेदारहरूलेे पनि झुकेर कुर्नेस कुर्नेस गरिरहेका थिए । द्वारेहरूले पनि उसलाई भाला हटाएर भित्र प्रवेश गराए । अत्रानताबसै ऊ राजाको सम्मुख पुगी । राजाले त उसको दर्शन गरिरहेका छन् ! आज्ञाकारी पुत्रले आफ्नी मुमा महारानीलाई गरेझैं व्यवहार गरिरहेका छन् । ऊ छक्क परी । केही बोल्न सकिन ।
मुमा, राजाले सोधे, यस्ता चिथडा कपडामा कता सवारी होइस्याथ्यो ?
उसले बोल्ने केही थिएन । ऊ प्वाक्क परेर राजातर्फ हेरिरहेकी मात्र थिई । त्यति नै बेला मुमा महारानी राजाको कक्षमा प्रवेश गरिन् । राजा जति चकित भए, उनी पनि उत्तिकै चकित भइन् ।
सर्किनीले आफू आउनाको कारण बताइन् । राजा झल्यास्स भए । उनले त्यस पानीमा त्यस महिलाले नुहाएकी थिई कि भनी सोधे । जब नुहाएको थाहा पाए, तब उनी लज्जित भए । र, सर्किनी महिलाकोे फिराद सुनेर भाइभारदारका जिम्मा लगाए । यस घटनाबाट लज्जित राजाले तत्काल रुप्स्या पानीको नाउलो -जलकूप) सदाका लागि ढाकिदिने आज्ञा जारी गरे । र, निकै ठूलो तामाको ढकनी बनाएर त्यसलाई तोडिदिए -ढाकिदिए) ।
त्यही मिति ढकुल्ल्यामा लेखिएको छ । यो रुप्स्या पानी साहित्यकार डा. मधुसूदन गिरीको घरबाट दुल्लू दरबार उक्लने बाटोमा पर्छ । मेरा सम्म्मानित मित्रहरू खगेन्द्र संग्रौला -जसले स्व. राजा दीपेन्द्रलाई भतिज भन्नुहुन्थ्यो) र विमल निभालाई पनि त्यो ठाउँनिरै पुगेर मैले देखाएको थिएँ । उहाँहरूको स्मृतिमा सायद त्यो तोड्याको रुप्स्या पानी जीवितै हुनुपर्छ ।

प्रकाशित : चैत्र ७, २०७१ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?