२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हाङयुग : पालमको पहिचान

राजन मुकारुङ

आजभन्दा पन्ध्र वर्षअघि, फागुन महिनाको एक बिहान । मेरो पहिलो कवितासङ्ग्रह 'सेतो आरोहण' प्रकाशित भएको दुई साता नाघ्दै थियो ।

हाङयुग : पालमको पहिचान
आजभन्दा पन्ध्र वर्षअघि, फागुन महिनाको एक बिहान । मेरो पहिलो कवितासङ्ग्रह सेतो आरोहण प्रकाशित भएको दुई साता नाघ्दै थियो । अघिल्लो बेलुका फोनमा हाङयुग नामको व्यक्तिले किताबबारे कुरा गर्न बिहान भेट्न आउने भनेको थियो । उबेला, कसले पो लेखोस् र हाम्रो किताबबारे । यस्तो कुुराले को खुसी नहोस् ? भर्खर थालिएको थियो सैनिक आवाज, मासिकमा जिम्मेवारी । राति अबेरसम्मको लछारोले बिहान निकै बितिसक्दा पनि ओछ्यानमै तङ्गि्रन खोज्दै थिएँ म । कसैले बाहिरबाट ढोका ढक्ढकायो । मैले चुक्कुल हेरेँ, खुलै छ, पस्नोस् भन्दिएँ । ढोका ठेलेर पस्यो एउटा युवक । हट्टाकट्टा र खाइलाग्दो ज्यानको तर तालु भने उमेरभन्दा अलि खुइलिएको ।
राजन सर होइन त तपाईं ? युवकले सोध्यो ।
हो । बस्नोस् न, मैले उसलाई पल्लो खाट देखाएँ । मेरो कोठामा बस्नका लागि कुर्सी, सोफा-सेट थिएन, हुँदैन, छैन अहिले पनि ।
म हाङयुग अज्ञात, उसले मतिर हात बढायो ।
हामीले हात मिलायौं । ऊ पल्लो खाटमा बस्यो ।
के थरी पर्नुभो ?
थाम्सुहाङ । लिम्बू ।
अनि किन पो अज्ञात बनाउनु भाको आफैंलाई ?
ह्याह्याह्या, हाङयुग खुला रूपले हाँस्यो । भन्यो, म पो तपाईंंलाई सोध्न आको ।
हेहेहे । म पनि भर्खरै सम्पादक भएको छु । पेसाको परिचय दिन खोजेँ होला नि ।
त्यसपछि उसले सोध्दै ल्यायो । त्यसबेला शशि लुमुम्बु, पदम गौतम, अच्युत्तम भट्टराई र म सिर्जनशील अराजकता बारे छलफल गरिरहेका थियौं । प्रकाश साप्ताहिकमा पदमले हल्का लेखेका पनि थिए । हाङयुगले पढेको रहेछ । उसले किताबका बारे भन्दा पनि साहित्यिक आन्दोलनकै बारे बढी सोध्यो ।
उहाँहरू अराजकतासँग अलि डराइरहनुभएको छ । शालीन विद्रोह मा बढी जोड गरिरहनुभएको छ । मचाहिँ सिर्जनशील अराजकता कै पक्षमा बढी छु । मैले साँचो कुरा भनिदिएँ ।
पर्सि मङ्गलबार रूपरेखा साप्ताहिक हेर्नुहोला है । भनेर हाङयुग गयो ।
म ओछ्यानबाट उठेँ । त्यसबेला पो मलाई ज्ञात भयो, अहो ! म त हिजोजस्तो सुतेको त्यस्तै पो रहेँछु । धत् ! मेरो सुद्धि ! के ठान्यो होला गाँठे ? यस्तै पो लेखिदिने हो कि ? नभन्दै, मङ्गलबार रूपरेखा साप्ताहिक पढेँ । उसले लेखेको थियो, ... म राजनको कोठामा पुग्दा उनी ओछ्यानमै थिए । बेलुका सुतेकाजस्तै, अराजक पाराकै ।
म जिल्ल परिहालेँ । धन्न नाङ्गैचाहिँ भनिदिएनछ । बुझ्नेले त बुझिहाल्छन् । आफ्नो लेखको अन्तिम पङ्क्तिमा उसले यस्तो लेखेको थियो, ...राजन मुकारुङलाई पढिरहँदा लागिरहेछ कि म सानू बैरागी काइँला पढिरहेँछु... ।
यो वाक्यांशले भने मलाई चिमोटेको थियो । घोचेको हो मज्जैले । कसैको नामसँग जोड्यो कि उबेला साह्रै नमिठो लाग्थ्यो मलाई । हियाएकै आभास हुन्थ्यो । दिमाग तताइहाल्थ्यो । अहिलेजस्तो मोबाइल थिएन । उसको नम्बर पनि मागिनँ छु । नत्र राम्रै पाराको धन्यवाद दिन्थेँ हुँला । पिरोलिँदै थिएँ । दिउँसो दुई बजेतिर हाङयुगको फोन आयो । सोध्यो, रूपरेखा पढ्नुभयो त ?
पढेँ ।
कस्तो लाग्यो सर ?
राम्रै छ । यसरी नै मिहिनेत गर्दै जानुस्, भविष्यमा ईश्वरवल्लव बन्ने सम्भावना छ । मैले भनिदिएँ । ह्याह्याह्या ! गरेर ऊ हाँस्यो । भन्यो, भरै कतै भेटूम सर ।
भेट्ने ठाउँ, पुतलीसडकको पाल्पाली भोजनालय एन्ड रेस्टुरेन्ट तय भयो । भेट भयो । कुराकानी भयो । हाम्रो लागि त्यही सानू बैरागी काइँला र सम्भावित ईश्वरवल्लव को घोचपेची नै मित्रताको सबभन्दा मिल्ने बुटी बन्यो । पछि उपेन्द्र सुब्बा पनि थपिएपछि त झनै बलियो बनिहाल्यो । आजसम्म पनि हामी बेलाबेला, यस्तै घोचपेच गरिरहन्छौँ, यसरी नै । यस्तै घोचपेच नै सिर्जनशील अराजकता को आन्दोलनका लागि अरू ऊर्जा भएर थपिन्छ ।
.....
हामीजस्तै मान्छे हो ऊ
तर उसलाई
हाम्रो उत्पीडनको कथाले छुँदैन
अछुत
हामी कि ऊ ?
उसलाई
हाम्रो आँसुको नदीले पनि छुँदैन ।
आधारातको तङ्सिङ बाट ।

होङकोङ कवितासङ्ग्रह बजारमा आएको धेर भएको छैन, अस्ति मङ्सिरमा मात्रै हो । भदौमा दोस्रो संस्करण प्रकाशित करङको हिरासत मा पनि थप कविताहरू आएकै छन् । फेरि नयाँ सङ्ग्रह ? कि पैसा धेरै कमायौ ? कविताको कारखाना छ कि क्या हो हङकङमा ?- सोध्छु हाङयुगलाई । मेसिन छ मेसिन । यहाँ मेसिनसित काम गर्नुपर्छ अनि मेसिनबाट नै जन्मन्छ कविता, भन्छ ऊ । उसले भनेको मेसिन का कविताहरू होङकोङ मा सङ्ग्रहित छन्- चाउचाउ कविता को नामले । चाउचाउ भनेपछि धेरैले नेपालमा जङ्क फुड ठान्ने भइहाले । कुनै व्यापारी घरानाको ब्रान्ड एम्बेस्डर पो हो कि क्या हो यो मान्छे ? कि व्यवसाय पो थाल्यो चाउचाउको ? मलाई पनि लागेकै हो सुरुमा । बिस्तारै थाहा हुँदै आयो- चिनियाँ भाषामा चाउ को अर्थ हुँदो रहेछ टापु ।
हाङयुग जो जहाँ बस्छ वा जहाँ पसिना बगाउँछ, त्यो हङकङ आफैंंमा एउटा टापु हो । समुद्रले घेरिएको, समुद्रमाथि स्थापित । सोच्छु- यो जगत् समुद्रमय छ, प्रकोप कतिबेला आइपर्छ र यस्ता टापुहरू विलीन हुन्छन् समुद्रमै । कतिबेला नयाँ टापु पनि जन्मन्छ फेरि समुद्रमाथि नै । मानिसको जीवन केवल यही टापुजति, टापुजस्तै रहेछ । अनि पो भनेको रहेछ चाउचाउ कविता । भनेको रहेछ जीवन । आत्मिक अर्थ यस्तै लाग्दो रहेछ- टापुको । हाम्रो सन्दर्भमा सामाजिक अर्थले एक जाति पनि हुन्छ टापु । राजनीतिक अर्थले एउटा सङ्घ पनि हुन्छ टापु । अर्थ-राजनीतिबाट घोत्लिँदाचाहिँ पुँजीका लागि श्रमको प्रकार पनि हुन्छ टापु । यति बुझेपछि नाक खुम्चाउनु परेन चाउचाउ कविता सँग । हङकङको त्यही मेसिने बोध को आत्मकथन हो हाङयुगको होङकोङ । यसअघिको
कक्पिक मै पनि चाउचाउ को छनक पाइन्छ नै ।
हाङयुगको होङकोङ कविता कृतिमाथि मैले नबोलेकै हो । मैले नबोलेको प्रति उसले सामाजिक सञ्जालमार्फत् केही खिन्नताहरू व्यक्त गरेको थियो । उबेला मेरा केही रिजर्वभेसनहरू थिए । व्यवस्थाको नाम बदलियो, केही अवस्थाहरू बदलिए तर सोच्ने तरिका, काम गर्ने तरिका पुरानै छ, उल्टै अझ मौलाउँदै पो छ । अब पो झनै हामीले सिर्जनशील अराजकताको अभियानमा अझ दृढतासहित लाग्नुपर्नेछ, अब पो लड्नुपर्नेछ- कहाँबाट ल्यायो यो चाउचाउ ? तेस्रो आयाम बाट इन्द्रबहादुर राई लीला लेखन तिर लागे, हाङयुगले पनि लीला कै पारा कस्यो कि क्या हो ? लागेको यति थियो तर अब त्यो शङ्का छैन, रहँदैन । ऊ दृढतापूर्वक उभिएरै लेख्दो छ कविता । सांस्कृतिक सचेतता को पक्षमा, सामाजिक न्यायको पक्षमा अथवा राजनीतिक मुक्तिको पक्षमा दरिलो उपस्थिति जनाएकै छ कविताबाट ।
रङ्गीन आविस्कार -२०५७), ढुङ्गामुढाको मन -२०५८), करङको हिरासत -२०६०/७१), कक्पिक -२०६२) र होङकोङ -२०७१) पाँचवटा कविता कृतिहरू आइसकेपछि हाङयुगको लेखन-गतिशीलताबारे धेर भन्नु परेन । फेरि आएको छ, आधा रातको तङ्सिङ -२०७१) । यिनै कृतिहरू हुन् उसको परिचयको नाभि । खासगरी करङको हिरासत ले उबेला पनि, योबेला पनि धेरैको दिमाग खज्मजाइदिएको थियो, खज्मजाइरहेकै छ । बौद्धिकताको कसीमा होस् या प्रयोगका हिसाबले यो कृति बलियो छ । कवि बैरागी काइँलाले नै पनि स्विकारेकै छन्- यी कविताहरूमा रूपगत नयाँपन टड्कारो देखा पर्छ । नेपाली साहित्यमा राष्ट्रभरिको सांस्कृतिक धुकधुकीको प्रतिध्वनि सशक्त रूपमा गुन्जित हुन दिनका लागि आदिवासी र जनजातिका श्रुति परम्पराहरू, मिथकहरू र उपमाको प्रयोग कविले गरेका छन् ।
फलामका डन्डीहरूमा सुद्र बनाइएर
आज वणर्ाश्रमको म बन्दी
अब गोता मार्छु तमोरमा छप्लाङ
सायद गङ्गा नीलो बग्नुमा
घायल प्रतिबन्धित मान्छे
एकै ठाउँ
खान्छ- निरीक्षणको प्लेटभरि च्युरा
पिउँछ- ट्युबेलको मुखबाट पानी
हग्छ- सिद्धान्त/मुत्छ- भाषण/ सुत्छ- आन्दोलन
करङको हिरासत बाट ।

पुराना मान्यताहरूमाथि प्रश्न गर भन्छ हाङयुग । हिजो जबरजस्त पूज्य गराइएका मानकहरूको नाडी वा धुकधुकी आजको सापेक्षतामा जाँच भन्ने हो उसले । बैरागी काइँलाको गङ्गा नीलो बग्छु कवितालाई उसले आजको लिम्बुवानी पहिचान दिन तमोर हरियो बग्छु मा पुनर्विचरण गरेको हो ।
हाङयुगलाई उत्तरआधुनिकता -वाद) सँग बढी नै नजिक भएको आरोप लाग्छ, म पनि लगाउँछु । पश्चिमा मिथकहरूको अध्ययन गर्ने क्रममा हाङयुगले गहिरो गरी छामेको हो उत्तरआधुनिकतालाई । निकै लामो समयसम्म ऊ त्यसको छायामा छपक्कै छोपिएको हो । अझै पनि कतैकतै आभास नआउने होइन । बहुलता को सन्दर्भमा ऊ निकै प्रभावित पनि छ । पश्चिमा दर्शन र विचारहरूको बलियो हेक्का राख्ने भएकोले पनि उसमा यस्तो प्रभाव देखिनु स्वाभाविक हो । यद्यपि, उसले आजसम्मको कविता लेखनमा पश्चिमा मिथकहरूलाई थोरै मात्र प्रयोग गरेको छ । बरु, लिम्बू-मिथकहरूलाई अरू उज्यालो पार्ने काम गरेको छ । उसका कविताहरूमा पाइने लयात्मकताले लिम्बुपनाकै स्वाद दिन्छ । हङकङमा पुगेपछि अरूले जस्तै भावुक भङ्गीमा महेन्द्रीय राष्ट्रियताको फलक गाउनुपर्ने हो तर पालमकै विम्ब र भाकामा राष्ट्रियताको नयाँ परिभाषा गर्नुपर्ने जिकिर गरेको छ । परिवर्तनको पक्षमै दरिलो उपस्थिति देखाएको छ । रेमिट्यान्स को धाक पनि लगाउन छुट छ उसलाई तर कविता जतिकै वैचारिक कठोर छ ऊ । फक्ताङलुङको नोस्टाल्जिया होइन, उचाइमा शुद्ध चिन्तन गरेको छ हाङयुगले । अर्थात् लिम्बुवानी पहिचानका खातिर उसका कविताहरू व्यग्रताका साथ बग्छन् हरियो तमोरझैं ।

नयाँ सोच्नू
हाङयुगले हङकङमा सुनुवार नरेश, देवेन्द्र खेरेस, गणेश राई, भोगेन एक्लेहरूसित मिलेर सिर्जनशील साहित्य समाज स्थापना गर्यो, त्यसै मार्फत नेपाली भाषा र साहित्यको समृद्धिका लागि विचार र सिर्जना दुवै प्रक्षेपण गर्यो । उनलाई साथ र हात दुवै दिएका हुन् पत्रकार किसन राईले । यही बेला हो, देश सुब्बाले भयवाद भन्न भियाएको । दीपा एवाईले समुच्च विचार यही समय अगाडि सारिन् । रेखा साहित्य हङकङबाटै सुरु भयो । अर्थात् हाङयुग जहाँ जान्छ र वैचारिक बहसमा सामेल हुन्छ, त्यहाँ उसले सबैलाई नयाँ सोच्न बाध्य पार्छ । नेपालमै पनि पान्थर पुगेर सगुन सुसाराहरूलाई उत्तरवर्ती सोंच बनाउने बनाइदियो । यता सातदोबाटोमा तोङ्बा पिउँदापिउँदै धर्मेन्द्रविक्रमहरूलाई रङ्गवाद भन्ने बनाइदियो । उसलाई थाहा छ, साहित्यिक विचारका लागि सदस्यता-सङ्ख्या जरुरी छैन ।
हाङयुग, उपेन्द्र र म, कसैसित पनि राजनीतिक पार्टीको सदस्यता थिएन । शाही कदमका विरुद्ध केही दलहरू सडकमा थिए । प्रतिगमन आधा सच्चियो भनेर सत्तामा पुगेका दलको विरुद्ध पनि थियो आन्दोलन । निरङ्कुश सत्तालाई पूरापूर नहटाएसम्म हाम्रो आन्दोलन -सिर्जनशील अराजकता) को पनि अर्थ नहुने निष्कर्षसहित हामी पनि आन्दोलनमा सरिक भयौँ । हङकङ उड्ने अघिल्लो दिनसम्म पनि हाङयुग पीके क्याम्पसछेउ बागबजारमा प्रहरीलाई ढुङ्गा हान्दै थियो । जुध्दै थियो । त्यही दिन मेरो टाउको फुट्यो । म घाइते भएँ । हत्केला र नाडीमा कठबासको डाम बोकेरै हङकङ उडेको हो ऊ । त्यही कठबासको डामले
कक्पिक मा उसलाई लेखाएथ्यो
काट्दछौं फेरि पनि
पलाइबस्छ, बढिबस्छ
मनका औंलाहरूमा नङ
काट्दछौं फेरि पनि
तर नङ पलाइबस्छ
-नङ र निरङ्कुशता कविताबाट ।

उडिगएको जहाज
हाङयुग अज्ञातबारे बोल्दा उपेन्द्र सुब्बाले भनेका थिए, मचाहिँ हाङयुगको जस्तो कविता लेख्न चाहन्थेँ, हाङयुगचाहिँ मजस्तो विदेश जान चाहन्थेछ ।
कुरोले भेट खाएकै छ । विज्ञान पढ्न इलामबाट काठमाडौं पसेको हाङयुग अस्कल क्याम्पसमा दुई वर्षभन्दा बढी टिकेन । कला र साहित्य लाई
आफ्नो ठान्ने ऊ मानविकी पढ्न आरआरतिर हुँइकियो । यहीँबाट उसले समाजलाई नजिकबाट नियाल्न थाल्यो, सक्यो । मस्तिष्कभरि नयाँ केही गर्ने सोचसहित साहित्यिक अभियानमा होमिँदाहोमिँदै कठबासको डाम बोकेर नेपाल एयरलाइन्सको जहाजबाट उडेको हाङयुगको हङकङ-मोह उस्तरी हो भन्ने लाग्दैन । तर, जानै पर्ने थियो । उसको जीवनसाथी उतै थिइन् ।
हङकङ गएको पाँच वर्षपछि हाङयुग अज्ञात एकाएक गायब भयो । उतै रहेका साथीहरूले पनि भेटाएनन्, हामीले भेट्ने कुरै भएन । आक्कलझुक्कल सुब्बा सापको नाममा फेसबुकमा भेटिन्थ्यो, खासै कुराकानी हुँदैनथ्यो । पछि थाहा भयो, उसको पारिवारिक जीवनमा गडबड भएछ । मैले धेरै समयसम्म हाङयुगको पारिवारिक जीवनबारे सोधिनँ । उसलाई चोट नपरोस् भन्ने मेरो चाह हो । अब चालीसेले छोयो । घरबार जमेको छैन । भावुक नहुने कुरै रहँदैन । उपेन्द्रजी पनि यही कुरा गरिरहन्छन् । केही महिनाअघि फेसबुकको च्याटमा सोधेथेँ, बिहे कहिले गर्ने हाउ ? उसले तुरुन्तै जवाफ फर्काएको थियो, म व्यवहारमा बेइमान हुँला तर प्रेममा सधैं इमानदार छु सर । मैले अरू जोड गर्ने कुरा भएन । यति भन्न सक्छु, ऊ हिजोकै प्रेममा इमानदार छ अझै । त्यसैले उसले होङकोङ लेख्यो । यो उसको आदत नै भइसक्यो ।
यसपल्टको हिउँदभरि म गाउँमा अलैंची गोड्दै बसेँ । हिउँदको ठिही, अलैंचीघारीको चिस्यान, उसमाथि काठमाडौंले दिएको पिनासको बिमार, सहेरै गरेँ काम । अलैंचीघारीबाटै मोबाइलमा चलाउँथेँ फेसबुक । हाङयुगसँग भइरहन्थ्यो कुराकानी । ऊ पनि चाँडै नेपाल आउने र आधुनिक खेती गर्ने कुरामा सहमत छ । उडिगएको त्यो जहाज फर्केर आउने कुराले म धेरै उत्साहित छु ।
यता उपेन्द्र सुब्बाको कथा-सङ्ग्रह लाटो पहाड को पाण्डुलिपि-पाठक बन्नै पर्ने भएकोले म काठमाडौं आएँ । लाटो पहाड पढिरहँदा नै हाङयुगले १६ वटा पहिचानवादी कविता पठायो । मन पर्यो । किताब निकाल्ने कुरा भयो । आधारातको तङ्सिङ नाम जुर्यो । मैले भूमिका लेखिदिनुपर्ने प्रस्ताव उसले राख्यो । हाङयुगको कविताले बोक्ने सामथ्र्यमाथि भूमिका लेख्न सक्ने सामथ्र्य ममा कहाँ हुनु ? तर, हाङयुग अज्ञात अर्थात् पालमको भाकामा ऊ आफ्नो पहिचान खोज्छ, उसका बारे भने म केही लेख्न अवश्य सक्छु । त्यही लेख्ने हो मैले । जस्तो कि उसैको कविता छ आधारातको तङ्सिङ मा
जगाएर फकाउन
तिगेनजोङ्ना आमाको उत्पीडित आत्मा
विद्रोहका लस्कर लागेका छन् मेला परेड
अब फुट्छ मुटु ह्वालह्वाल्ती रगत छादेर
आधारातमा तङसिङ नाँचेर
निस्केका प्लेटोको गुफाबाट विचारका रेबिज चमेराहरू छानामाथि छाया उडेका
हलभित्र झ्यालबाट ढोकाबाट घुसेका बलात् हस्तक्षेपकारी षड्यन्त्रका मौन शङ्खध्वनि
तेत्लुङ तेत्लुङ तेत्लुङ
तेरे तेरे तेरे




प्रकाशित : चैत्र ७, २०७१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?