भुलेर दु:खहरू

रोजिता अधिकारी

सिन्धुपाल्चोक, चौताराको, टुँडिखेलमा त्रिपालको अस्थायी आश्रयस्थलमा बस्छिन् सरिता आचार्य। गत वैशाख १२ गतेको महाभूकम्पपछि उनी परिवारसहित यहाँ बस्दै आएकी हुन्।

विदेशीले दिएको त्यो त्रिपालमुनि अन्य तीन परिवारका २० जना पनि बस्छन्। ५ जना जति सजिलै अट्ने त्रिपालभित्र २० जनाको बसोबास। देख्नले पनि सजिलै भेउ पाउन सक्छ, उनीहरूको कठिनाइ।
बिहान उठेर टेन्टको एउटा कुनामा रहेको भान्छामा हतारहतार खानपिन सकाएर सरिता करिब साढे ९ बजे कापीकलमको बाकस बोकी नजिकैको अर्को सेल्टरमा पुग्छिन्। महाभूकम्पपछि सिन्धुपाल्चोक चौतारा वरवरका बालबालिकाका लागि सेभ आवर सोल (एसओएस) ले सञ्चालन गरेको आकस्मिक कक्षभित्र सरिताभन्दा पहिल्यै बालबालिका पुगिसकेका हुन्छन्।
भूकम्पमा घर ढलेपछि टँुडिखेल सेल्टरमा बसिरहेका र चौतारा वरपरका सयभन्दा धेरै बालबालिका त्यहाँ पढ्न आउँछन्। उनीहरूको उक्त आकस्मिक कक्षा औपचारिक रुपमै सुरु हुन्छ, राष्ट्रिय गान सयौं थुड्गा फूलका हामी एउटै माला नेपाली बाट। बिहान १० देखि बेलुका ५ बजेसम्म नर्सरी देखि ५ कक्षासम्मका बालबालिकालाई पढाउने, चित्र बनाउन लगाउने, गेम खेलाउनेलगायतका क्रियाकलाप हुन्छन् त्यहाँ। चौतारा वरपरका ४ जना स्वयंसेवी शिक्षिकाले बालबालिकाई पढाइरहेका छन्। उनीहरूमध्येकै एक हुन् सरिता। उनी पेसाले शिक्षिका होइनन्। शिक्षिका बन्ने रहर पनि थिएन उनलाई। बीए पढ्दै गरेकी उनी भूकम्पभन्दा पहिले किराना पसल सञ्चालन गर्थिन्। १२ गते सिन्धुपाल्चोक र दोलखाको सिमालाई केन्द्रबिन्दु बनाएर गएको ७.९ रेक्टरको भूकम्पले उनको दैनिकी बदल्दिएको हो।
केही वर्षअघि सरिताको पिताको मृत्यु भयो। त्यसपछि जेठो सन्तान भएकाले घर सञ्चालनको जिम्मा उनले पनि बहन गर्नुपर्यो। श्रीमान्को मृत्युपछि सरिताकी आमाले एक छोरी र दुई छोराको पालनपोषण र पढाइको लागि निकै संघर्ष गर्नुपर्यो। सम्पत्तिको नाममा चौतारामा एउटा घर थियो। उनीहरूले त्यही घरमा पसल सुरु गरे। सामान्य जीवन जिउन पुग्ने कमाइ हुन थाल्यो। तर परिवारको सुध्रँदो अवस्थालाई भूकम्पले एक्कासी हल्लाइदियो। एक्कासि एक दिन फेरि हामी पहिलेकै दिनमा पुग्यौं, सरिताले गला अवरुद्ध पार्दै भनिन्। गह भरिएर उनी एकछिन बोल्न सकिनन्। सम्पत्तिको नाममा भएको एउटा घर र एउटा मात्र आम्दानीको स्रोत पसललाई भूकम्पले तहसनहस बनाइदियो। अब कहाँ जाने? के गर्ने? कसरी भाइहरू र मेरो पढाइ खर्च निकाल्ने? घर कसरी बनाउने? त्यसको चिन्ताले आमा बिरामी नै पर्नुभयो, उनले सुनाइन्,एउटा पनि सामान निकाल्न नपाई घर गर्लम्मै ढल्यो, पसल पनि सबै पुरियो, त्यसपछि आमाको स्वास्थ्य पनि बिग्रन थाल्यो, मलाई अब कसो गर्ने र के गर्ने भन्ने मात्र सोच आउन थाल्यो जसले म पनि बिरामी परेझै भएँ।
त्यसपछि सरिताले दु:ख भुल्न र मन बहलाउन पढाउने बाटो रोजेकी हुन्। त्यत्तिकै बस्दा भत्केको घर, पसल, पढाइ, आमा र भाइहरूको बारेमा मात्र सोच आयो। सोच्दासोच्दा म नै बिरामी परेझै भएँ। यसो यताउति हेरें, चौतारामा मेरोजस्तो दु:ख अरूको पनि पाएँ। अनि सोचें यो विपत्को अवस्थामा आफ्नो दु:खलाई मात्र सोच्नुभन्दा केही त्यस्तो काम गर्नु उचित ठानें जसले आफ्नो दु:ख पनि भुल्न सहयोग गरोस्। अनि बालबालिका पढाउने निर्णय गरें। भूकम्प गएको चौथो दिनबाट म भूकम्पपीडित बालबालिका पढाउन थालें। आफूलाई बालबालिका पहिलेदेखि नै मन पर्ने उनले सुनाइन्।
उनीसँग कुराकानी गरिरहँदा दिउँसोको १२ बज्दै थियो। त्यति नै खेर दुई तीनजना बालबालिका सरिता मिस, सरिता मिस हामीलाई पेपर दिनुस् भन्दै आइपुगे। सरिताले बालबालिकाको हातमा पेपर र पेन थमाइन्। बालबालिकाको चित्र बनाउने समय भएको रहेछ। त्यत्तिकैमा एक बालिकाले सोधिन्, मिस केको चित्र बनाऊँ? सरिताले फ्याट्ट भनिन्, घरको चित्र बनाऊ। नजिकै बसेर ती बालिकाले चित्र कोर्न थालिन्। पहिले एउटा सग्लो घर बनाइन्, त्यसपछि एउटा भत्केको जस्तो घर बनाइन् र सग्लो घरको माथि बिफर र भत्केको घरको माथि आफ्टर लेखिन् अनि सरितालाई देखाइन्। ती बालिकाले बनाएका तस्बिरले सरिताका आाखा फेरि छचल्किए। भनिन्, सिन्धुपाल्चोकका अधिकांश बालबालिकामा अहिले यस्तै खाले फिलिङ छ। म एउटा २५ वर्षको केटीलाई त आफ्नो पीडा भुलाउन गाह्रो छ भने बालबालिकाभित्र रहेको डर चिन्ता कति गहिरो गरी गडेको होला? सरिताले प्रश्न गरिन्। यत्रो दिन बितिसक्दा पनि सरकारी तवरबाट बालबालिकामा कस्तो असर गरेको छ भन्नेबारे चासो नदिइएको उनको गुनासो थियो। अब यी बालबालिकाहरूले आफ्नो डर कसरी र कैले भुल्लान्? उनले भनिन्, सरकारले कक्षा सुरु गर्नुभन्दा पहिले बालबालिकाहरूको मनोविज्ञान कस्तो छ भन्नेबारे बुझे राम्रो हुने थियो।
भूकम्पले आफ्नो रुचि परिवर्तन गरिदिएको सरिताले अनुभव छ अहिले। भनिन्, केही समयसम्म भूकम्पपीडित बालबालिकालाई पढाउने रहर छ। तथापि हाम्रो आफ्नो जीवनको टुङ्गो भने छैन। न बस्ते ठाउ छ न त जाने ठाउँ। उनले थपिन्, घरबाट लगाएकै लुगामा भाग्नुपरेकाले अहिले मसँग फेर्ने एक जोर कपडाधरि छैन। म दिनदिनै एउटै मैलो लुगा लगाएर पढाउन जान्छु। बालबालिका नजिक पुगेपछि म मेरो मैलो लुगामा पनि ध्यान दिन्नँ, मेरो आफ्नो भत्केको घरको बारेमा पनि सोच्दिनँ।
भूकम्पमा श्री सम्पत्ति गुमाएर पनि बालबालिका पढाउन दत्तचित्त सरिताकै जस्तो मन कतिको होला?

प्रकाशित : जेष्ठ १६, २०७२ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

कुमारी दैनिकी

लक्ष्मीप्रसाद ङाखुसी

नेपालमा कुमारीलाई जीवित देवीका रूपमा पुजिने चलन छ। हिन्दु परम्पराअनुसार नेवार कुमारी बालिकालाई यसरी देवी मानिन्छ।

नेवार समुदायका मानिसहरूले विभिन्न चरणका छनोटका आधारमा कुमारी छान्ने परम्परा छ। यो निकै अघिदेखि चलिआएको हो। शाक्य र बज्राचार्य कुलका नेवारहरूले विभिन्न मन्दिर पीठमा कुमारी बसाउने गर्छन्।
स्मृति बज्राचार्य ललितपुर बुङमतिकी कुमारी हुन्। बज्राचार्य कुलकी यी कुमारी सात वर्षकी भइन्। स्मृति बुङमतिको जावलाखेलस्थित त्रिनेत्र सहकारी स्कुलमा कक्षा एकमा पढ्दै आएकी छन्। उनलाई २०७१ जेठ ०५ मा कुमारीका रूपमा छनोट गरिएको हो।
स्मृति वुङमति १ मा बस्ने शान्तिकर बज्राचार्य र सजिता बज्राचार्यकी छोरी हुन्। वैशाख १२ गतेको विनाशकारी भूकम्पले उनीहरूको घर पनि पूर्णरूपमा क्षति भएको छ। १२ गते नै उनीहरू घरबाट नजिकै आफन्तकोमा बस्न गएका छन्।
अब कहिले आफ्नो घरमा बस्ने भन्ने टुंगो नलागेकाले के गर्ने भन्ने सोच्न सकिरहेको छैन, कुमारीका बुबा शान्तिकर भन्छन्।
यो वर्ष सहकालका देवता मानिने मच्छिन्द्रनाथको १२ वर्षे मेला परेको छ। तर, वैशाख ९ मा तान्न सुरु गरिएको मच्छिन्द्रनाथको रथ भूकम्पका कारण ललितपुरको छ्यासीकोटमा अड्किएको छ। रथ तान्दा केही मुख्य ठाउँमा कुमारी पनि साथै रहने चलन छ।

प्रकाशित : जेष्ठ १६, २०७२ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्