हिमालको हीरा रारा

विनु पोखरेल

काठमाडौँ — हामी मुगु विमानस्थलबाट ४ घन्टा बाटोमा कतै सुकिला गोरेटा त कतै ढुङ्गेदार उकालीहरू काटेर चिसो हावाले छुने सल्लाघारीको बीचमा पुगेका थियौं ।

हिमालको हीरा रारा

सल्लाको सुसेलीमा हाम्रो मुस्कानको मात्रा थपिंदै थियो । केही तेर्सो बाटो हिँडेपछि हामीले यस्तो दृष्य देख्यौं कि, खुसीले हामी उफ्रियौं, दगुर्‍यौं, चिच्यायौं र करायौं । एउटा सानो फूल देख्दा टुक्रुक बसेर फोटो खिचाउनुपर्ने हामीलाई वरिपरि सारा फूलैजस्तो सुन्दर संसार देख्दा शरीरका हरेक अङ्ग खुसी भए ।

काठमाडौंको धूलो, धूवाँ, त्यसमाथि पनि सिमेन्टीको चौघेरामा निसास्सिएको मन खुला आकाश, हिउँले ढाकिएका हिमाल, वन, बुट्यान,अनि निलो तालमा एकतमासले लठ्ठियो । नीलो आकाश, तालका माथि माथि छिसिक्क छोए पनि कस लाग्लाझैं विभिन्न आकृति बनाएर बसेका सेता बादल । अनि, ताल वरिपरि हिउँको घुम्टोमा मुस्कुराइरहेका हिमालका लामा लस्कर, अलि तल सल्लाले छोपिएका पाहाड । सल्ला नभएका ठाउँमा पनि माया लाग्ने बुट्टेदार रङ्गीबिरङ्ग पात भएका बुट्यानहरू, लाग्थ्यो उनीहरू नै तालको रेखदेख गरिरहेका छन् । आहा † हीराको हारजस्तै, त्यो पनि कुनै परीको गलामा टपक्क टाँसिएझैं ।
मन हर्‍यो तालको सुन्दरताले । लाग्यो, मोहनी भन्ने शब्दसँग बल्ल मेरो भेट भयो । नजिक भएर पनि नपुगेजस्तो । चोरौं चोरौं, कतै लुकाऊँ, घुटुक्कै निलिदिउँजस्तै लाग्ने । मनले भन्यो कहाँ लिएर आइस् ? बल्ल रमाउन दिइस् मलाई ? मनसँग बोलिरहेकी म रमाउँदा रमाउँदै कतिबेला चिच्याएछु पत्तै भएन । भुइँमा खस्दा पो हामी सँगै रहेका सबै गल्ल हाँसेका ।
मुगुको गमगढीबाट ११ बजे हिँडेका हामी ताल पुग्दा २ बजेको थियो । पेट भोकले च्याम्म परेको थियो । तर त्यो खाली पेटले पनि हाम्रो खुसीको चमक खोस्न सकेको थिएन । रारा ताल घुम्न जानेलाई खाना वा नास्ता खान र बस्न तालकै किनारमा रहेको डाँफे होटलबाहेक अरू विकल्प छैन । त्यहाँ नजिक निकुन्ज सुरक्षाका लागि बसेको आर्मीको भवन र निकुन्जको अफिसबाहेक अरू घरहरू नजिकै देख्न सकिन्न ।
म जन्मेको त पूर्वको पहाड इलामको एक गाउँ लक्ष्मीपुर, बर्दुमा हो । तर थाहा पाउँदादेखि नै तराईका फाँटमा सुपारीको पातलाई तानातान गरेर खेली हुर्केको म । जिन्दगीका २५ वसन्त झापाको समथर तातो भूभागमा बिताएकी मलाई त्यो हिमालमा जाडो नहुने कुरै भएन । तर त्यो नीलो पानी नछोई मन मानेन । जुत्तामोजा खोलें अनि पानीमै पसें । चिसो पानी । हातभरि उठाएर फ्याँके आकाशतिर । पानीमा आकाशको छाया पर्दा कस्तो राम्रो । यी सबै मेरो चर्तिकाला हेरिरहेकी सहयात्री राधी भने उसले भरखरै किनेको क्यामेरामा मेरो पागलपन रिठ्ठो नबिराई कैद गर्दै थिई । उसले सोधी, ‘ओइ जाडो भएन ?’ मैले भनें, ‘छैन यार ।’ अनि ऊ पनि ज्याकेट खोलेर तयार भई फोटो खिच्न । अरू बेला ऊ भन्थी हेर अरू जे नि सहन सक्छु, भोक खप्न सक्दिनँ । भोकले मेरो रिसको पारो तात्छ । तर करिब ४ बज्न लग्दा पनि उसको मुस्कानकै पारो बढिरहेथ्यो ।
साँच्चै स्वर्ग चियाउन मन भए मुगु गए हुन्छ । जहाँ रारा तालको रूपमा स्वर्ग नै दिएको छ प्रकृतिले । त्यस वरपरको वातावरण सुन्दर नै छोडिदिएका छन् हाम्रा पूर्वजहरूले । हामी राराको सामीप्यले तृप्त नभएर त्यो दिन त्यतै बस्यौं । भोलिपल्ट बिहान ५ बजे आँखा खुल्यो । हिउँको चिसोलाई छोएर आएको घामको कलिलो किरण तालमा पर्‍यो । एकैछिनमा तिहारको दिनको झिलीमिलीझैं झकिझकाउ देखियो ताल । तालको त्यो गहिराइमा भएको अर्को ‘घाम’ (छाया) माथिको घामसँग मायालु कुरा गरेझैं ।
टलल्लै टल्किएको त्यो पानी । लाग्थ्यो ताल एउटा ठूलो मोती हो र ऊ अरू त्यस्तै ससाना धेरै मोती जन्माउँछ हरेक दिन यसैगरी । हिजोको नीलो हीरा आज मोती भएथ्यो । लाग्थ्यो ऊ अनेक रूप देखाएर हामीलाई नजानलाई आग्रह गर्दै थियो । बिहानदेखि बेलुकीसम्म रूप फेरी फेरी लोभ्याउने त्यो चालाले हामीलाई केटाकेटी बनाउँथ्यो । हामीसँगै आएको अरू सबै फर्किए । हामीलाई भने तालको साथ छोड्न मन भएन । राधी र म गोपाल भाइलाई साथ राखी त्यतै बस्यौं । तालको वरिपरि घुम्न पैदल, घोडा, साइकल जेमा गए नि सकिने रहेछ । हामीले एक एकवटा साइकल लियौं अनि तालको एक फन्को लगायौं । यति सुन्दर तालको पानी बगेर कर्णाली नदीमा मिसिँदो रहेछ । त्यही भएर रहेछ कर्णाली नदी तराई पुग्दा पनि त्यति सुन्दर भएको ।
रहर न हो, घोडा चढेर पनि एक छिन घुमियो । र त्यही होटलमा खाना खाएर, तालका रूप आँखा क्यामेरामा कैद गर्दै तालको किनारै किनार बाटो लाग्यौं । बिदा माग्न गएका हामीलाई आर्मीका क्याप्टेन भन्दै थिए ताललाई हेर्नलायक त चैतदेखि जेठसम्म हुन्छ । त्यो बेला यहाँ भुइँ नै नदेखिने गरी पहेंलै फूल फुल्छ अनि नीलो तालमाथि छपक्कै हिउँ । ओहो कस्तो राम्रो देखिन्छ
होला है ?

प्रकाशित : पुस ११, २०७२ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?