कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘भुइँमान्छे’ हरूको कथा

जीके पोख्रेल

मैले बुद्धिसागरलाई पहिलोपटक चिन्दा उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा आईए पढिसकेर भूपु विद्यार्थी भइसकेका थिए ।

‘भुइँमान्छे’ हरूको कथा

उनी गजल मण्डली धाइरहँदा म आफू भने त्यही रत्नराज्यको विद्यार्थीमाझ डरलाग्दो विम्ब/मास्टर भइसकेको थिएँ । त्यो ‘रारा जलेपछि’ गजलको किताबमा पनि छ । 

उनको दास्रो काव्यावतारमा उनी कवि भए र बजारमा राम्रै ताली सङ्कलन गरे । ताली रोपे र फलाए पनि । उनको ताली व्यवसाय यति फस्टायो कि उनको लेखनीलाई गाली गर्ने आँट कमैलाई पलायो । मेरो बुझाइमा उनले ‘मटेरा’ को ध्वनि गुन्जाउँदै लेखेको ‘कर्नाली ब्लुज’ ले बजारको तापमानको पारो निकै 
माथि चढ्यो ।
नयाँ पुस्ताका लागि खोपीको देउता बनिसकेपछि फेरि अर्को उपन्यासका साथ बाहिर आउन बुद्धिको लेखनी पटकपटक तुहियो । ‘फिरफिरे’ तेस्रो सिर्जनात्मक गर्भाधानको रूपमा जन्मियो । फरक यत्ति हो कि हामी रुँदै जन्मिन्छौँ, फिरफिरे हाँस्दै । बुद्धिसागरले आलोचना त अब ‘आलु–चना’ पचाएझैँ पचाइदिन्छन् । ‘कर्नाली ब्लुज’ कै पालामा ‘बुद्धिले भाषा र प्रस्तुतिको कारणले अरू लेखकलाई उछिन्यो’ भनियो । त्यो समाज र साहित्यको ‘अन्तर्घुलन’ माथिको अल्पदृष्टिकोण मात्रै थियो । किनकि ‘सुदूरपश्चिम’ को ‘तराई+पहाड=क्वाँटी जीवन’ को मालामा उनिदिएका थिए । 
यस सन्दर्भमा अल्लाहले ऊँट बनाएको सन्दर्भ जोड्न मन लाग्यो । संसारको सबभन्दा ‘राम्रो’ प्राणी बनाउने लालसा ‘फिरफिरे’ मा दोहोर्‍याएनन् । प्रकारान्तरले ‘फिरफिरे’ पनि ‘कनाली ब्लुज’ कै ‘सिक्वेल फिक्सन’ को रूपमा लेखे । म त भन्छु सिक्वेल लेखेर उनले ठीकै गरे । आफू लडिबुडी गरेको माटोको कथा लेखे, साइकलको चक्का गुडाएको बाटोको कथा लेखे, हाफ पाइन्ट मात्रै लगाउँदै हिँडेर घुँडाभरि खत उमारेको स्मृति लेखे । र त फिरफिरे पढ्दा स्मृतिदंशले भुतुक्कै बनाउँछ । 
फिरफिरेमा कुनै हात्ती जीउको डरलाग्दो विषय उठाइएको छैन । ‘वसन्त र पवनको मित्रता’ हो फिरफिरेको विषय । त्यस जुइनोमा बाँधिन आउने जुठीआमा, सर्वजित माड्साप, पिच्कु, कोहिनूर पनि राम्रै प्रभाव छाड्ने पात्र हुन् । टुक्रा–टुक्रामा आख्यान जोडिएको छ । फिरफिरे पढिसक्दा ‘किताबको भोल्युम किन यत्ति ठूलो बनाएको होला ?’ भन्ने लाग्छ । पढुन्जेल मज्जा आउँछ । पढिसकेपछि शून्य हुन्छ दिमाग । अझ केही समयको विश्रामपछि सम्झियो भने वा अरू लेखकका किताब 
पढ्यो भने फिरफिरे ठीक लाग्न थाल्छ । महत्त्वपूर्ण कुरा त फिरफिरे पढ्दा झिनो लागेको ‘विषय’ चुरे क्षेत्रमा गएर हेर्ने हो भने आज पनि ज्यूँका त्यूँ छ । धूलौटो बाटोमा ‘प्याँ प्याँ’ हर्न बजाउँदै आहोरदोहोर गर्ने ‘बाँसघारी’ जस्तै गाउँ यथावत् छ । मेरो छोटो बुझाइमा त्यही ‘भुइँमान्छे’ हरूको कथा नै हो फिरफिरे । 
यो ‘पीके’ जस्तो अद्वितीय पात्रको विषय उठाइएको किताब होइन । अझ यसले थपेको काव्यिक आयामको गहन पाटो त अर्कै छ । पिच्कु, कोहिनूर, मिथिलेश सर पवन, वसन्त आदि विविध पारिवारिक प्लस जातीय पृष्ठभूमिका पात्रहरूको मिश्रित समाज छ उपन्यासमा । जस्तो नेपाली समाजको चरित्र छ, ठ्याक्कै त्यस्तै । 
फिरफिरेको विषयसँग मेरो पनि गहिरो नाता छ । ‘बाँसबारी’ जत्तिकै पिछडा तर राजमार्गबाट केही किमि मात्र टाढाबाट राजधानी छिरेको हुँ म पनि । स्वप्न व्यापारको सिलसिलामा । त्यै भएर ‘बाँसघारी’ को धूलोमा आफ्नै पसिना चुहिएको हो कि झैँ लाग्छ । खोलैखोला खनिएको बाटोको किनारमा वस्तुभाउ चराएको सम्झनाले सायदै धेरैलाई रोमाञ्चित बनाउँछ । नवनिर्मित सहर, सदरमुकाम र राजधानीमा जन्मिएका मान्छेलाई ‘फिरफिरे’ लोककथाझैँ लाग्न सक्छ । तर कुनै न कुनै बेला ‘घाँसिया दैनिकी’ गुजारेर आएका ठेट नेपालीका लागि फिरफिरे खास जीवनको खसोखास आख्यानीकरण हो । 
 

फिरफिरेमा विचार छैन । किनकि यो दर्शनशास्त्रको किताब होइन । साहित्यिक मूल्यसँग साक्षात्कार हुन जति चाहिन्छ त्यति छ । भद्दा लाग्न सक्छ । पृष्ठसंख्या हेर्दा । तर, साहित्यिक ‘वाद र प्रतिवाद’ को बोझ र भद्दापनबाट मुक्त छ । जुठी आमालाई ‘बोक्सी’ को आरोपमा गाउँ निकाला गरिएको छ । फर्काएर ल्याइएको छैन । जुठी आमाले दक्षिण भारतीय नायकले बोक्नेजस्तो ‘खुर्पा’ बोकेर सामन्तलाई तीन टुक्रा बनाएकी छैनन् । पाठकको हृदयलाई करुणाले छिया–छिया बनाएकी छन् । 
फिरफिरेमा चित्रण गरिएको ‘कथा’ भन्दा यता पनि समयले दुई दशक बुत्याइसक्यो । बोक्सीको आरोपमा महिलाहरूलाई मलमूत्र कोच्याउने क्रममा घटोत्तरी भएको छैन । फिरफिरेमा बजारको शास्त्रीय व्याख्यानुकूल विद्रोह छैन, तर समाजको चित्र छ । नारावत् रोनाधोना छैन तर ‘औँसा’ परेको समाजको दुर्गन्ध छ । मेरो पठनमा लेखकले लेख्ने यत्ति नै र यसरी नै हो । बाँकी नीति–निर्माण गर्ने काम राजनीतिको हो । लेखनमै राजनीति गरेर राजनीतिज्ञलाई ‘बेराजगार’ पारेन फिरफिरेले । 
‘फिरफिरे’ को समाज स्थिर छ । जसरी दुई दशकयता नेपाली समाज स्थिर छ । पचासको दशकको उत्तराद्र्धपछि नेपाली समाजमा राजनीतिक चेतना, शिक्षा (प्रमाणपत्र वितरण मात्र) र सूचना प्रविधिबाहेक प्राय: विकासे गतिविधिमा यथास्थितिमा छन् । पुलपुलेसाको निर्माण, खानेपानी र बिजुलीका आयोजनाहरू, सडकको निर्माण तथा सुधार (ट्रयाक खोल्ने खाल्टे सडकबाहेक) ठप्प रोकिएको छ । त्यही स्थिरताको प्रतिविम्बन हो फिरफिरे । न कि उत्तर पञ्चायतको ‘रेड बुक’ । 
साहित्यमा राजनीति आउँदो चुनावको तिथिमिति तोकेजसरी ‘फलानो मितिमा आउँछु र फलानो नीति लिएर आउँछु’ भन्दैन । पात्रका गतिविधि र भोगाइको ‘आधार’ बनेर आउँछ । 
फुसको छानो भएको घरमा बस्ने तराईबासी (पहाडिया माइग्रेन्ट) र हाइबे आसपासका प्रत्येक व्यक्तिले आफ्नै कृत्यको प्रतिविम्ब भेट्छ फिरफिरेमा । यो फिरफिरेको ‘समय’ मा ‘केटाकेटी चोर आएको छ अरे’ भन्ने हल्लाले बालबालिका तस्त्र थिए । निदाउने बेलामा ‘आमाहरूले’ भन्ने किचकन्नी र टुनामुनाका ‘लोरी’ को पनि सम्झना गराउँछ । 
समय चेतनामा भने फिरफिरे कच्चा उत्रियो । जस्तो कि: पृ. १९८ ‘अनिद्रा’ मा भनिएको छ– ‘कोहिनूरले चिल गाडीतिर झुम्मिरहेको गाउँले तिर हेर्‍यो ।’यो २०५० साल वरपरको समयको कथा हो । त्यति बेलासम्ममा नेपालीहरू यतिसम्म अबोध थिएनन् कि जसले हवाइजहाजलाई चिल गाडी भनून् । किनकि म पनि ‘बाँसबारी’ कै गँवार जुनीमा अभ्यस्त थिएँ त्यतिबेला । १२/१५ वर्षको भइसक्दा हवाइजहाज भन्न जान्ने भइसकेको थिएँ । 
 

‘बुद्धिसागरले ‘फिरफिरे द ग्रेट’ लेख्यो भन्नु त ‘ढाक्रेवृत्ति’ मात्र हो । आख्यानीकरण गर्ने सिलसिलामा फिरफिरेमा सिनेमाको प्रभाव छ्यासछ्यास्ती छ । ठाउँ–कुठाउँ ‘तैँले फलानो सिनेमा हेरिस्’ भनेर पात्रलाई बोलाइएको छ । यसो गर्दा वसन्तको चरित्रमा लेखक आफैँले आफैँलाई आरोपित गरेको झैँ लाग्छ । जसरी ‘ज्वरो आयो बीसवटा सिटामोल खान्छु’ भन्ने बिरामीले ‘सिल्टिमुर’ खान्छ । त्यसरी नै ‘कोरियोग्राफी’ मा बुद्धिसागरले झन्डै एक दर्जन ‘सिटामोल’ खाएर गुल्टिएकाको ठीक साँचो हो । योभन्दा बढी भएको भए ‘कोरियोग्राफी’ को ओभरडोज हुने थियो । जति सिनेमाको प्रभाव आयो त्यै पनि बढी भयो । जस्तै : वसन्तले चिया सक्यो । गिलास टेबुलमा राख्यो । उसलाई बेलाबेला फिलिममा जस्तो पवनले टाउको झट्कार्दै पुराना कुरा सम्झिहाल्छ कि भन्ने आस थियो, तर त्यो चमत्कार हुने छाँट देखिएन ।... घामको किरणलाई अँध्यारोले सुरुप्प पारिसकेको थियो । 
यो लेखकले हेरेको फिलिमको प्रभावले ‘पात्र’ वसन्तमा जबरजस्त फिलिम मोह लादिएको झै लाग्छ । किनकि फिलिमको अवधि/प्रदर्शन अढाई तीन घन्टाको मात्र हुन्छ । तर, उपन्यासमा बीचमा वषौँको समय पनि वर्णनका क्रममा देखाउन सकिन्छ ।.झिनामसिना कुरा लेख्ने लेखेक चिप्लिने पनि झिनामसिना कुरामै हो । सिनेमाजस्तो उपन्यास हुने खतराको नजिकबाट ज्यान जोगियो फिरफिरेको ।
विषयवस्तु छरपस्ट छ । दाइँ गर्नलाई खलामा छिरलेको परालजस्तो । फेरि भेला गर्न मुस्किल पर्ने गरी छ्यालब्याल नै भइहालेको भने छैन । उपन्यासको मुख्य कथ्य ‘मातेको मान्छे’ हिँडेजसरी बेरोकटोक हिँड्छ । जति पृष्ठसंख्या बढ्दै जान्छ, उति नै विषय भाग्दै जान्छ । अब त सकिन्छ कि भन्यो सकिंदैन, अब त सकिन्छ कि भन्यो सकिंदैन । संवादमा भने फिरफिरे तेहरो मारमा परेको छ । भाषाको ‘आञ्चलिक’ मोहले फिरफिरेलाई निचोरेको छ । समाख्यान/न्यारेसनमा पनि आञ्चलिकता आएको छ । यसले पात्रगत सम्बोधन फितलो बनेको छ । जस्तै :सरका आँखा फेरि रजिस्टरमा दगुर्न थाले । सरले हाजिर सके । उनलाई मनमनै खुल्दुली भइरहेको थियो– पवनले सप्पै बिस्र्यो भन्छन्, के के बिर्से होला ? उनलाई जाँच्न मन लाग्यो । 
यहाँ सप्पै हुँदैन ‘सबै’ हुन्छ । पात्रले बोल्दा मात्र आञ्चलिक भाषा उपयुक्त हुन्छ । न्यारेसनमा हुँदैन । फेरि अघिल्लो वाक्यमा पवनले बिस्र्यो र पछिल्लो वाक्यमा ‘के के बिर्से ?’ भन्ने क्षम्य कमजोरी होइन । विम्बप्रधान कवितात्मक भाषा, पश्चिमको पर्वते बोली हिन्दीको क्वाँटी भाषामा फिरफिरे गुल्टिएको छ । पृ. २६७ मा हिन्दीमा लामो संवाद बोलेको बसिर दादा पछिल्लो पृष्ठमा मज्जाले नेपाली बोल्छ । लगत्तै अर्को वाक्य हिन्दीमा बोल्छ फेरि । 
 

जुठी आमाको ‘प्लट’ लाई मात्रै पनि लिने हो भने एक्लैमा गतिलो उपन्यासको थिम बन्न सक्छ । सर्वजित माड्साप र उसको छोरोको विषय पनि कर्नाली ब्लुजको झैँ राम्रो विषय बन्न सक्छ । यसरी हेर्न थाल्यो भने फिरफिरेभित्र अरू दुई चारवटा उपन्यास खाँदिएका छन् । इस्यु उठाउँदै छोड्दै हिँडेको देख्दा झनक्क रिस उठ्छ । छोटो कथालाई तन्काउन पनि हदैसम्म तन्काउँदा चाहिँदो नचाहिँदो ठाउँमा ‘घिसिरपिटिर’ कथा र पात्र पनि आएका छन् । हुन त मान्छेको जीवनमा पनि यस्ता बेतुकका पात्रहरू आउँछन् । दु:खको मात्र जति बढी हुन्छ त्यति नै जीवन तन्किएर बोझिल बन्छ । तर, गोड्दै र छाँट्दै खिरिलो आख्यान पढ्ने बानी परेका हामी बेफुसर्दिला पाठकको समय अनावश्यक ‘किल’ भएझैँ लाग्यो भने अचम्म नमाने हुन्छ । 
भाषा ‘फिरफिरे’ को मेरुदण्ड हो । जसरी मन्दिरभित्रको सुन्दर मूर्ति हेर्न मूलढोका खुला हुनुपर्छ त्यसरी नै साहित्यभित्रको सुन्दर विषयभित्र प्रवेश गर्न भाषा खिरिलो हुनुपर्छ । यस दृष्टिले फिरफिरे ‘कुमारी घर’ को ढोका हो । कवितै कवितामा भएको भाषाको फिनिसिङका माध्यमबाट पाठकको ध्यानाकृष्ट गर्न सकेको छ फिरफिरेले । हास्य चेतनाको यन्त्रवत् बहावले विम्बको सौन्दर्यमा रोकावट पैदा गरेको पनि छ । तर खैर ‘लाटो देशको गाँडो तन्नेरी’ नै ठहरियोस् भाषाको लगाम बुद्धिको नियन्त्रणमा छ । 
भन्नैपर्ने कुरा पनि छ जाँदाजाँदै खुसुक्क– ‘फिरफिरे’ ले पाठकलाई पढ्ने बानी बसाउँछ, लेख्नेलाई लेख्न सिकाउँछ ।

 


 

प्रकाशित : फाल्गुन २२, २०७२ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?